अहिंसा र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्वको तयारी सुरु

25 Hits

२५ कार्तिक,जनकपुरधाम– हिन्दू धर्माबलम्बीहरुको प्रमुख पर्वमध्येको एक छठ पर्वको तयारी सुरु भएको छ। अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ पर्व मनाउन तराई–मधेशका विभिन्न जिल्लामा तयारी थालिएको देखिन्छ।

मिथिलाञ्चलबासीको महत्वपूर्ण पर्व छठ मनाउन जनकपुरसँगै विभिन्न जिल्लाहरुमा किनमेल गर्ने, पोखरी सफा गर्ने तथा घाट सजाउने काम भइरहेको छ। यस्तै, कठोर पर्वको रुपमा चिनिने छठपूजाका लागि आवश्यक सामग्री बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती र माटोका सामग्रीहरु दीयो, हाथी, कुरुवार (ठूलो घैटो) नरिवल, सख्खर किनमेल गर्न सर्वसाधारण व्यस्त देखिएका छन्।

नियम, निष्ठा र विधिपूर्वक मनाइने र साझा संस्कृतिको रुपमा रहेको छठ पर्वमा आवश्यक पर्ने सामग्रीहरुको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन्। यस्तै, छठ पर्व मनाउने विपन्न वर्गले भिक्षा मागेर नै छठ गर्दै आएका छन्। एक वर्ष छुटाउँदा अर्को वर्ष छठमा दोब्बर पुजन सामग्री चढाउनु पर्ने धार्मिक मान्यता छ।

छठ मनाउन पनि माग्नु पर्ने बाध्यता
जनकपुरमा अहिले विपन्न वर्गका महिला तथा बालबालिकाहरुले छठका लागि पैसा अन्न माग्ने गरेको देखिन्छन्।

सार्वजनिक ठाउँ तथा मठमन्दिरमा दर्शन गर्न जानेहरुसँग प्रांगणमा बसेका उनीहरुले बाँसको नाग्लोमा पैसा माग्ने गरेका छन्।

छठको जोहो गर्नकै लागि पैसा माग्न बढीजसो बालबालिकाहरु देखिएका छन्। विपन्न महिलाहरु घर–घर पुगेर छठका लागि कपडा, पैसा र अन्न माग्ने गर्छन्।

यसरी चार दिनसम्म मनाइन्छ छठ
कात्तिक शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने छठमा सूर्यको पूजा गरिन्छ। चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौँथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर पारणपछि (ब्रत तोडेर) विधिवत रुपमा समापन हुने गर्छ।

छठ पर्व ब्रत अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्य वस्तुहरु अनिवार्य रुपमा बार्ने चलन छ।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न जनकपुरको ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर, अग्नीकुण्ड, रत्नसागर, बाल्मिकीसर लगायतका दर्जनौं पोखरी र सरोवरहरुलाई विभिन्न संघ–संस्था र युवा क्लबहरुले सरसफाई तथा बिजुली र पण्डाल लगायतका सामग्रीको व्यवस्थापन गर्न व्यस्त छन्।

मधेशी समुदायका बीचमा मनाइँदै आएको महत्वपूर्ण छठ पर्व करिब एक दशकदेखि यहाँका पहाडी समुदायका बीचमा पनि लोकप्रिय हुँदै गएको छ।

प्रत्येक वर्ष छठ पर्व मनाउने मिथिलाञ्चलका महिलासँगै अब नेपाली समुदायका महिलाहरु पनि छठ पर्व मनाउन थालेको जनकपुरकी रीता लामा बताउँछिन्। उनले भनिन्, ‘पहिले हामी मनाउँदैन्थ्यौं, तर छठको महत्व बुझेपछि विस्तारै हामीले छठ मनाउन थालेका हौँ।’

छठको गीतले गुञ्जयमान जनकपुर
आन दिन उगै छल हो दीनानाथ,
आहे भोर भिन्सर।
आजुके दिनमा हे दीनानाथ,
आहे लागल एति बेर।।

मिथिलाञ्चलमा मनाइने प्रत्येक पर्वहरुका आ–आफ्नै लोकगीत रहेका छन्। प्रत्येक पर्वको एउटा–एउटा विधि (साइत) को गीत रहेको मैथिली संस्कृति तथा मधेशी समुदायमा छठको गीतले विशिष्ट महत्व बोकेको पाइन्छ।

दसैँतिहारमा करिब १० दिनसम्म माताको आराधना गीत बजाउने गरिन्छ। तिहारमा मातालक्ष्मीको बन्दना गर्ने गरिन्छ। तर, छठ गीतको आफ्नै मौलिक विशेषता रहेको विज्ञहरु बताउँछन्।

तिहार सकिएपछि मिथिलाञ्चलको घर, पसल र सार्वजनिकस्थलमा छठविशेष लोकगीत गुञ्जन सुरु हुन्छ। छठको यो लोकगीतले कामकाज तथा पढाईका कारण बिर्संदै गएको संस्कृतिको अनुभूति गराउने गरेको स्थानीय विकास झा बताउँछन्।

छठ मनाउन भारतको बैंग्लोरदेखि घर आएका विकासले भारतीय साथीहरुलाई पनि छठ अवलोकन गराउनका लागि जनकपुर ल्याएका छन्।

आधुनिक समयमा युवाहरुमा हिन्दी अंग्रेजी गीत सुन्ने चलन बढ्दै गएको बेला छठका अवसरमा छठविशेष गीत मनपर्ने गरेको युवा दिवाकर उप्रेती बताउँछन्। यस्तै, छठको यो लोकगीतहरुले अपनत्वबोध गराउँदै आएको अर्का युवा राहुल कश्यप बताउँछन्।

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी