के गर्दैछन् कछाड लगाएर संसद छिर्ने पहिलो सांसद बर्मन बुढा ?

73 Hits

काठमाडौं, १६ कात्तिक-

‘बिहान सबेरै निद्रा खुल्छ। चिसो छ। घाम निस्कियो भने यता उति खुट्टा तान्छु। बुढाबुढी बस्छौं। डाडामाथि डुब्न लागेको जुन न परियो। कति बाचिएला खै’, यसै बर्ष राष्ट्रपतिबाट पाएको ‘राष्ट्रदीप पदक’ देखाउदै पूर्व सांसद बर्मन बुढाले भने। रोल्पा थवाङ घर भएका पुराना कम्युनिष्ट नेता बर्मनको दैनिकी एकतमासको छ। ‘टिभी हेर्ने त हो तर छैन्। रेडियो बटारेर मिलाउनु पर्छ। आखा देखिँदैन्। पत्रपत्रिका बासी बने पछि आउँछन्। हिजो आज राजनीति र संचारबाट टाढा छु। देशको अबस्था बुझ्ने रहर त हुन्छ तर मेरो पहुँचमा छैन्। गाउँले जीबन दुःख सुख चलिरहेको छ। पद नहुदा राजनिति गर्नेको महत्व नहुदो रैछ।’

तत्कालिन माओवादी बिभाजन भए संगै मन दुखाएका बर्मन अहिलेको एकता पछि पनि त्यती धेरै खुसी छैनन्। ‘२००७ सालमा राजा त्रिभुबनले संबिधान सभा बनाउ भनेका थिए। संबिधान नबनाउँदै आम चुनाब गराए। त्यहि भएर त्यो बेलाको दुई तिहाई सकियो। अहिले संबिधानसहित दुई तिहाई छ तर पनि जनमानसमा असन्तुष्टि छ। दुरदर्शी तरिकाले सोच्न सकिएन भने परिणाम राम्रो हुँदैन। मैले नजिकबाट राजनीति देखेको छुँ। यहि तरिकाले देशमा केही हुनेवाला छैन्। नहुनेले कमाए र कमाएकाहरुले गुमाए। राजनीति आर्थिक उपार्जनको पेशा बनाइनु गलत हो’, ८९ बर्षिय बर्मन भन्छन्।

२०१२ सालमा कम्युनिष्ट नहुँदै कम्युनिष्ट भनिएर मुद्दा खेपेका उनी २००७ सालको आन्दोलनमा दाङ गएको तर आफन्तले फर्काएर ल्याएको बताउँछन्। ‘उति बेला दाङ बिजौरीको छिल्लीकोटमा भेडा चराउन जान्थ्यौं। त्यहि बेला म पनि राजनीतिमा चलखेल गर्न थालेको थाहा पाएर भिनाजुले रोल्पा फर्काउनु भयो।’ उनी त्यो बेलाको जीवनस्तर अत्यन्त असहज भएको बताउँछन्। ‘अहिले जस्तो कपडा लगाउने चलन थिएन। माथि गादो र तल लगौटी लगाईन्थ्यो। अरुले त बिस्तारै कपडा फेरे पनि मैले त आजसम्म पनि कछाड नै लगाई रहेको छु।’

थवाङमा २०१२ सालमा कम्युनिष्टको ‘क’ भित्रिएको थियो। कृष्ण झाक्री नामका मुखियाले त्यो समयमा सुगुर, बुगुर, कुखुरा, कुकुर, गाउँमा खुलारुपमा नछोड्न आदेश गरे। झयाली पिटाए। कटुवाललाई हाँक हाल्न लगाए। तर गाउलेले टेरेनन्। स्थिति फेरिएन। अनि मुखियाले जनावरमाथि आक्रमण शुरु गरे। सुगुर, बुगुर, कुखुरा, कुकुर रक्तीमुसल भएर घरगोठ पुगे, उनीहरुका घाउ पाके। भरुवा वन्दुक, खुकुरी, भालाका, घाउले जनावर हेरिनसक्नु भए। विरोधमा वोल्ने हिम्मत कसैमा भएन।

असाध्यै भएपछि वर्मन बुढा लगायतका युवाहरुले प्रतिकार सुरु गरे। मुखियाले प्यूठानबाट प्रहरी बोलाए। मुद्दा चल्यो अनि बर्मन जेल पुगे। रोल्पा जिल्ला जन्मिएको थिएन, त्यसैले उनलाई प्यूठानको जेल पु¥याइयो। संयोग कम्यूनिस्टका हस्ती मोहन बिक्रम सिंहले उदयमान युवालाई भेटे। अनि प्रशिक्षण शुरु गरे। त्यसको केही समय पछि जेलबाट छुटेका मोहन बिक्रम दाङ, सल्यान रुकुम हुँदै २०१३ सालमा थवाङ पुगे। कमिटी गठन गरे। कम्यूनिस्टको पक्का राजनीति सुरु भयो।

तीन पटक प्रधानपञ्च बनेका बर्मन २०३७ सालमा प्रधान भएकै बेला २७ महिना जेल बसेको सुनाउँछन्। ‘जनमत संग्रहमा थवाङको सबै मत बहुदलमा परेपछि रिसाएको प्रशासनले २७ महिना जेल पो हाल्यो। जेलबाट निस्किदा श्रीमतीलाई क्यान्सरले भेटेको रै छ। उपचारमा दौडिए। तर बचाउन सकेन। यस्तैमा २०४६ को आन्दोलन सुरु भयो। बहुदल आयो। २०४८ को चुनाब हुने भएपछि मलाई उम्मेद्वार बनाउने निर्णय भयो, बर्मनले सुनाए।

पुष्पकमल दाहाल र बाबुराम भट्टराईको करले उम्मेद्वार स्वीकार गरेको बताउँदै तत्कालीन जनमोर्चाका लागि कमजोर क्षेत्रमा आफुलाई उठाएको गुनासो गर्छन्। ‘म सोझो मगर परे। मलाई मेरो क्षेत्रमा नउठाएर कमजोर मानिएको १ न. क्षेत्रमा उठाए। मेरो आफ्नो २ न. क्षेत्रमा कृष्णबहादुर महरालाई उठाए। बर्षौसम्म मन्त्री बनेका बलिया उम्मेद्वार बालाराम घर्ती संगको चुनावी भिडन्त मैले नै जिते। हहाहा, उज्यालो अनुहार बनाउँदै उनले सुनाए।

‘चुनाब जितियो। काठमाडौं संसद भबनमा जानु पर्ने। छातिमा सांसदको ब्याज लगाएको हुन्थे तर पहिरन कछाड हुन्थ्यो। सुरक्षाकर्मीले असजिलो मान्दै हेर्थे। एकदिन मुख्य सचिवले अरु दिन नलगाए पनि राजाले सम्बोधन गर्ने दिन राष्ट्रिय पोशाक लगाउनुस भने। मैले यो अन्तर्राष्ट्रिय पोशाक हो र भनेपछि उनी चुप लागे’, बर्मनले अनुभब सुनाए। ‘राजाको सम्बोधनका दिन खै कुन संयोग प¥यो। कोही नआउँदै म संसदमा पुगेछु। अघिल्लो लाइनमा गएर बसे। दर्शक र पत्रकारहरु टन्न बसेका थिए। सबैले आखा ठुलो ठुलो बनाएर मलाई हेरिरहेका थिए। सायद कुन पागल आयो भने होलान जस्तो लाग्छ।’ द्धन्द्धकालमा ज्वाई गुमाएका बर्मनसंग लाउने मात्र होइन कतिपटक खाने बिषयमा असहज भएका अनुभब पनि पर्याप्त छ।

कान्छी श्रीमतीका साथ रोल्पा थवाङमा दैनिकी गुजारा चलाईरहेका बर्मनका ३ छोरा र दुई छोरी छन्। बरण्डा भरी मकै सुकाएका उनी स्थायी शान्ति र समृद्ध नेपाल देखेर मर्ने धोकोमा छन्। ‘धेरै बाच्ने रहर त छैन। देश राम्रो भएको हेर्न पाए सन्तोष हुनेथ्यो।’ पुष्पकमल, बाबुराम, बैद्य लगायतका नेतृत्वसंग जीवनको लामो समय संगै बिताएका बर्मन बाँकी जीबन गाउँमै बिताउने पक्षमा छन्।- नागरिकमा प्रकाशीत स्टोरी सान्दर्भिक लागेर साभार गरिएको

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी