व्यापारमा लाग्दा गुम्याे डिअाईजि र पत्रकारकाे ज्यान !

129 Hits

काभ्रे, १२ कात्तिक  –

काभ्रेमा भएकाे सडक दुर्घटनामा एक वरिष्ठ प्रहरी अधिकृतले ज्यान गुमाएकाे दुखद खबर अायाे। शनिबार सार्वजनिक विदाकाे दिन नेपाल प्रहरीका बहालवाला डिअाइजि  सुशील भण्डारिसँगै  पत्रकार जीवन पराजुली र नेपाली काँग्रेस निकट युवाले पनि ज्यान गुमाए । जिल्लाकाे मण्डन देउपुरमा भएकाे दुर्घटनामा अन्य ३ जना घाइते अवस्थामा उपचाररत छन् ।

डीआईजी भण्डारीले काभ्रेका खानी सञ्चालक व्यवसायी प्रदीप बोगटीसँग मिलेर ढुंगा तथा क्रसर उद्योगमा लगानी गरेको पाइएको छ । उनी शनिबार सोही व्यवसायको नयाँ काम शुरु गर्ने सिलसिलामा काभ्रेको मण्डन देउपुर गएका थिए ।

मण्डन देउपुरको पाटीडाँडामा राम्रो बुलावाखानी सञ्चालन गर्न सकिने ठाउँ रहेको सूचनापछि उनले बोगटीलाई सो ठाउँमा शनिवारै जान दबाब दिएको स्रोतले जनाएको छ । उनीहरु त्यस दिन खानी निरीक्षण गरेर नगरकोट जाने र राति उतै बस्ने कार्यक्रम बनेको थियो ।

दुर्घटना भएको दिन पत्रकार जीवन पराजुली मण्डन देउपुर नगरपालिकाका मेयर टोकवहादुर वाइबासँगै खाना खाएर काभ्रेको जिरो किलोमा पुगेका थिए । उनी बालुवाखानी रहेको नजिकैका स्थानीय बासिन्दा पनि भएकाले बाटो देखाउनका लागि बोगटीको आग्रहमा डीआईजीको टोलीसँगै गाडीमा बसेर गए । गाडी बोगटीले नै चलाए ।

बालुवाखानी पाटीडाँडा र घटनास्थल ढकालथोक सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाको गाउँमा पर्छ । मृतक पत्रकार पराजुली पनि बास्कोटाकै छिमेकी हुन् । नेकपाको चियापानमा रहेका बेला मन्त्री बास्कोटाले सो खबर सुनेका थिए ।

पत्रकार पराजुली र कांग्रेस नेता विनोद कार्की साथी मात्रै गएका थिए कि उनीहरु पनि खानीमा आबद्ध थिए भन्ने खुलेको छैन । तर पराजुलीले पछिल्लो समय खानी सञ्चालकलाई भाडामा लगाउन एउटा टिपर किनेका थिए ।

आफू सोमबार अष्टे्रलिया जानुपर्ने भएकाले त्यसअघि नै खानी निरीक्षण गर्न डीआईजीले दबाब दिएपछि बिरामी अवस्थामा पनि बोगटी गाडी लिएर हिँडेको पारिवारिक स्रोतले जनाएको छ । बोगटी र डीआईजी भण्डारीबीच लामो समयदेखिको सहकार्य थियो ।

तीन दर्जन टिपरका मालिक

बोगटीको पनौती नगरपालिका-१२ मा ढुंगाखानी छ । उनी जिल्लामा राम्रो छवि बनाएका प्रतिष्ठित व्यवसायी हुन् । डीआईजी भण्डारीको भने बेथानचोक गाउँपालिकामा सञ्चालित क्रसर उद्योगमा पनि लगानी रहेको काभ्रे प्रहरी स्रोतले जनाएको छ । त्यस्तै रोशीमा पनि उनको क्रसर उद्योगमा लगानी रहेको छ ।

डीआईजी भण्डारीका आफ्नै करीव तीन दर्जन टिपरसमेत रहेको काभ्रेको प्रहरी नेतृत्व सम्हालिसकेका एक उच्च अधिकारीले जानकारी दिए । बेला-बेलामा स्थानीय प्रहरीले अप्ठेरो पार्दा भण्डारीले सिधै काभ्रेका प्रहरी प्रमुखलाई फोन लगाउथे । उनको गुण्डा नाइक गणेश लामासँग पनि क्रसर उद्योगमा साझेदारी रहेको हल्ला प्रहरीमा चले पनि पुष्टि नभएको ती अधिकारीले बताए ।

प्रहरी हेडक्वार्टरलाई प्रश्न

डीआईजी भण्डारीको निधनपछि प्रहरी संगठनका विशेषगरी उच्च अधिकारीहरुको व्यवसायिक संलग्नताको विषय फेरि बहसमा आएको छ ।

प्रहरी नियमावली र आचारसंहितामा जे लेखिएको भए पनि अपवादबाहेक धेरै उच्च अधिकारीहरुले नाफामूलक ब्यापार व्यवसाय चलाइरहेको खुला सत्य हो । आईजीपी सर्वेन्द्र खनालले पछिल्लो समय आचरण खराब हुने र संगठनको नियमभन्दा बाहिर गएर धन्दा गर्नेमाथि आफू कठोररुपमा प्रस्तुत हुने चेतावनी दिइरहेका छन् ।

खनाल आफैंले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यापार-व्यवसाय गरेका छैनन् । तर उनको चेन अफ कमाण्डभित्र व्यवसायिक अफिसरमात्र नभएर व्यवसायी अफिसरहरुको संख्या पनि ठूलो छ भन्ने कुरा भण्डारीको निधनबाट खुलेको छ । अब आईजीपीले आफ्नो मातहतका उच्च अधिकारीहरु कस्ता व्यापार व्यवसायमा संलग्न छन् भनेर ध्यान दिनुपर्ने छ ।

समाजलाई चाहिएको व्यवसायिक प्रहरी हो । प्रहरीलाई व्यवसायिक बन्न नदिने सबैभन्दा ठूलो रोग भनेकै व्यवसायी प्रहरी हुन् । जसरी सेवाग्राहीसँग घुस खाने प्रहरी अधिकृतलाई कारवाही गर्न आइजिपी कठोर भए, अब व्यवसायी प्रहरीमाथि उनी कति कठोर हुन्छन् ? – अनलाइन खबरबाट

Loading...

Related News

झापामा पिकअपको ठक्करबाट महिलाको मृत्यु

झापा, २५ कात्तिक झापामा पिकअपको ठक्करबाट एक महिलाको ज्यान गएको छ । झापाको कनकाई नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा…

तिहारकै मुखमा जीप दुर्घटना, १० को मृत्यु, २ गम्भीर

काठमाडौं, १९ कात्तिक – तिहारकाे रमझमले देशभर खुसी छाइरहेका बेला डाेल्पामा भने सडक दुर्घटनामा १० जनाले ज्यान गुमाएकाेे दुखद खबर…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी