परदेशबाट अायाे यस्ताे भावुक पत्र : ‘मेरो घर ! तिमीलाई दशैं आउदैन’

166 Hits

-भरत मरहट्टा-

काकाले बनबाट बन्चरोले ताछेर डोकोभरि ल्याउनुभाको सालका लोप्रालाई छोटो-छोटो छाटी ताउलोमा हालेर “खोटो” पकाउन बसाल्दै गर्दा रातमाटा डाँडाबाट पनि काकीहरुले बोरा/थुन्सेमा “रातोमाटो” बोकेर ल्याईसकेका थिए l लिप्नको लागि “फुस्रोमाटो”, जहा मडकिलो भेट्यो त्यहिबाट कोट्याए पाईहालिन्थ्यो l “कमेरो” लिन त अघिल्लो हप्ताको शनिबारनै आमाको पछिलाग्दै चुच्चे-खन्ती बोकेर गएका गाउघरकै टोलिसग सुगुरपानी खोल्सामा म पनि गएको थिए l

“अघिल्लो सालको पनि छ, म त थोरैनै लान्छु । “- भान्जी दिदीले धेरै बोक्न नपर्ने जाहेर गर्नुभाथ्यो ।

“यो च्यासेले के बोक्न सक्छ र, यतिले नपुगे फेरी लिन आउनि हो l” मलाई हेर्दै आमाले भारी धकेल्दिन लगाउनुभाथ्यो l

चिसो फुस्रो सेतो नरम ढुङ्गा धेरै बोक्न नसकिनी । खनी-खोस्री सबैले आ-आफ्नो भारी पुर्याएरै ल्याएका थिए l

असारको वर्षा र साउनको भेलले धुलो-मैलो पखालेर सोह्री सकेकाले असोजको मास कन्चन देखिन्थ्यो l तर हिउद-वर्षा घामपानी झेलेको खरको छानामा उम्रिएको झार, बाछिटाले ठोक्दा लेपन उप्किएका भित्ताहरुमा पानी बग्दा छोडेका धर्षाका निशानहरु अनि बलिन्द्र बलेसीका धाराले खोपेका आगनका डोबहरुले हाम्रो घर भने उराठलाग्दो/ कुरुप देखिन्थ्यो l दुई बर्ष पहिले बाउ घरमा हुदा मुसेपालिमा छर्किएको कमेरोमा हिम्मत गरेर कसले नै पो थप्न सक्यो र? झ्याल-ढोकाकामा झारा टारेर दलिएको ब्याट्रीको कालो कति नै पो टिक्न सक्यो र ? तसर्थ, हामी सबैको माया गडेको हाम्रो घर फुङ्ग उडेको देखिन्थ्यो ।

खेतबारीमा पाक्दै गरेका भरिला बाला झुलिरहदा हरेकको मन दशैं आगमनको उल्लाहसमा भुलिरहन्थ्य्यो; आ-आफ्नै चाहना बोकेर l पुस्टिएको/छिप्पिएको ठुलै सिङ्गवाला मार काटेर परिवारलाई ख्वाउन पाएहुन्थ्यो भन्ने हजुर्बाको रहर, “आम्मुई नाना” लाउदै सिङ्गवालाको कान चपाउदै पिङ्गमा चरर गर्न पाउने फुच्चाफुच्चीको रहर, सिङ्गवालाको मासु डकार्दै आफ्नो कानमा पहेला रिङ्ग हल्लाउदै निधारभरी अक्षता र शिरभरी जमरा लाउदै माइत-मावली गर्दै आशिष बटुल्ने आमा/काकीहरुको रहर l सिङ्ग-पिङ्ग-रिङ्गको ऒजलाई बोझ नमानीकन फत्ते गर्नपाएहुन्थ्यो भन्ने बाउहरुको रहर l यी साह्रा फरक-फरक रहर उत्साहित लहर बनेर आउनी दशैंमा सबैको साझा रहर चाही घर सिगार्नी नै हुन्थ्यो l

आमाले गोरुको गोबर फुस्रो माटोमा मुछेर पिढीभित्ताका चरहरु ल्याप्पै टालेसी घरले पहिलो संचार पाएछ क्यारे सफा पो देखिन थाल्यो l अघिल्लो दिनदेखि पकाउन थालिएको ताउला भरिको झोल सुकेर दुई माना जति बसेको खोटो खवाटामा राखेर हजुर्माले काठमा दल्न के सिकाउनु भाथ्यो मैले आखिझ्याल पुरै रङ्गयाई हाले नि l पिढीका खामामा के दल्नु थियो र! धाइरा काठ…कर्मीले रन्द लाको भए पो चिल्लो बस्थ्यो र l कमेरो छर्किन मुसेपालिमा गार्हो हुनी भाकोले होला बासको भर्यांगमा टेकेर बाबियोको कुचोले कान्छो काका छयाप-छयाप छर्किरहदा काकी भने बाल्टी भर्याभर्यै l भर्खर-भर्खर विवाहिता जोडी भएर पनि होला मायापिरतीका गुपचुपे बातमा कुनै थकान उत्साहै उत्साहमा दुवैले कमेरो छर्कीनै रहे l कर्सापट्टिको भाग छोडेर अगाडीको भाग पुरै कमेरो छर्की सक्दा त हाम्रा काका ठ्याक्कै रामलिलाका ढेडु जस्तै देखिएका नि…सेतै अनुहार l अरु काकीहरुले धागोले रेखा लाइ-लाई भित्तामा सिधा गरेर रातो माटोले पोतेसी हाम्रो घरको चमक उजेलिन थाल्यो l सेतो कमेरो मुनि रातो माटोको बीचमा कालो खोटोको लामो पेटी बनाएर सझाइएको हाम्रो घरको भित्ता कुनै सोह्र/सत्र बर्षे तरुनीको मोहकता भन्दा कमि थिएन l अझ सुन्दर त त्यति बेला देखियो जब काकाले भित्तामा “पुरानी बुट्टा” कोरेर त्यसमा रङ्ग भर्नुभो l मूल ढोकामा का~आ~लो खोटो डबल्याई-डबल्याई दलेसी हाम्रो घर सजाउनी साझा रहरलाई शहरको कुनै महङ्गो रङ्गले माथ गर्दैनथ्यो l बिहान बेलुका कोदालोले खनीखोस्रीएर हजुर्बाले आगन डिलको झारबुट्यान फ्याकेपछी घरले पूर्ण सौन्दर्यताको संचार पायो l दशैँलाई स्वागत गर्यो l

मेरो त्यो बाल्यकालको गाउका सबै घरहरु पुरै रङ्गीएका थिए, आ-आफ्ना पाराले l सजिएका सुन्दर घरभित्र अनेकन सपनाहरु पक्कै थिए होलान हाम्रा जस्तै l सपनाहरु पूर्ति गर्न सम्भब /असम्भब जे त थियो होला तर घरको सजावटले भन्थ्यो त्यहा दशैं आउदै छ, ठू~लो रहर पूर्ति गर्न l पिङको चचहुइसंगै बच्चाहरुले चिची खान नाना लाउन पाउदै थिए l सुन्दर, सफा र प्यारो घरको न्यानोमा सबैका रहर कोरलिदै थिए; दशैको पखेटाले छोप्दै, जिम्बेवारी प्यारा ठुडहरुले खोप्दै l यवमस्तु: मेरो देशले पनि कयौ हिउद-बर्षा खायो l अझै फुङ्ग उडेको कुरुप आवरण लिएर बाचीरहेछ l भाग्यबस यहा तन्त्रै-तन्त्रको लहरोमा एउटा गणतन्त्रे दशैँ फुल्यो; स्वभावतह: देशबासीहरुको रहर झुल्यो l रहरको लहरमा फुस्रो-रातो-सेतो माटो धेरै जोरजाम गरियो l नेताका मन्त्रै-मन्त्रका भुकाइमा विभिन्न “बाद”का ब्रान्डेड रङ-रोकन दल्नि/छर्किनी कयौ कुरा भए l कोही अनबिज्ञ छैनन् …शहिदको रगतको खोलाबाट ल्याइएको सेतो मक्किएको हड्डीको कमेरो बाकीनै छ, पोहोर-परार सालको देखिको l तर, यहा न कुनै आमा-काका/काकी उत्साहित देखिए न त कुनै बूढा हजुर्बा/ हजुर्मा न त कुनै “म” l मेरो घर! तिम्रो मुसेपालीमा कमेरो छर्किनी बाउ अझै आएका छैनन् l परन्तु बिचरा  मेरो घर (नेपाल), तिमीलाई दशैं आउदैन किनकी यहा साझा रहर छैनन् l तर पनि तिमीलाई सम्झदै परदेशबाट दशैंको शुभकामना;

पहाडको पल्लोपट्टि डाँडामा छ गाउ
घर छ मेरो खरले छाएको
हो~नी~हो;
घर छ मेरो खरले छाएको

  • कतारबाट
Loading...

Related News

नेपालका सरकारी संस्थानहरु र बायु सेवा निगम

-विनोद नेपाल- नेपालका सरकारी संस्थानहरू बोझ बनिरहेको कुरा लामो समयदेखि चल्दै आएको हो । यिनमा गरिएको लगानीले अपेक्षित प्रतिफल दिन…

बिप्लवकाे महापतनमा के छ ?

-डा. ऋषिराज बराल-  विषयप्रवेश ‘महापतन’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लिखित पुस्तकको नाम हो । नेपालीमा प्रायः सकारात्मक…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी