गृहमन्त्रीको आश्वासन पन्तका हत्यारालाई छिट्टै कारवाही
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिए ।
“पन्तको हत्यारालाई कानूनी कठघरामा ल्याउन सकिन्छ । म यसमा विश्वस्त रहन सबैलाई आग्रह गर्दछु । जाँचबुझ आयोगले दिएको प्रतिवेदनका आधारमा थप अध्ययन अनुसन्धान भइराखेको छ । नतिजा छिट्टै आउँछ ।” प्रतिनिधिसभा, महिला र सामाजिक समितिको आजको बैठकमा गृहमन्त्री थापाले महिला माथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकारले उच्च प्राथमिकता दिएको छ भने । महिला माथि हुने हिंसा अपराध नै हुन्, यस्ता अपराधलाई अन्त्य गर्न सामूहिक प्रयासको खाँचो औँल्याउँदै गृहमन्त्री थापाले हिंसालाई राजनीतिकरण नगर्न आग्रहसमेत गरे ।