नेपाली कामदार युएई जाँदा शुल्क तिर्नु नपर्ने व्यवस्था गर्न श्रम मन्त्रीले गरे पहल
काठमाडौं, ११ असाेज –
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली कामदार युएई जाँदा शुल्क तिर्नु नपर्ने व्यवस्था काे लागि पहल गरेका छन् ।
विष्टसँग नेपालका लागि युएईका राजदूत सइद हमदान अल नाक्बीले बिहीबार गर्नुभएको शिष्टाचार भेटमा उक्त विषयमा छलफल भएकाे हाे ।
भेटमा उनीहरुबीच श्रम सम्झौता परिमार्जन गर्न आवश्यक तयारी गर्ने र छिट्टै प्राविधिक टोली गठन गरी द्विपक्षीय श्रम सम्झौता गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएको हो ।
भेटमा मन्त्री विष्टले नेपाली कामदार वैदेशिक रोजगारीमा जाँदा कुनै प्रकारको शुल्क तिर्नु नपर्ने वातावरण सिर्जना गर्न युएईसँग आग्रह गरेेेेका थिए । उनले युएईमा कार्यरत नेपाली कामदारको २४ घण्टे बीमा, श्रम करारनामा बमोजिमको न्यूनतम् तलब र अन्य सेवा सुविधाको सुनिश्चित हुनुपर्नेमा समेत जोड दिए ।
मन्त्री विष्टले निश्चित मापदण्ड निर्धारण गरी सरकारले तोकेका जुनसुकै स्वास्थ्य संस्थाबाट श्रमिकको स्वास्थ्य परीक्षण भएकामा मान्य हुने व्यवस्था सुनिश्चित हुनुपर्ने बताएका थिए ।
नेपाली कामदारलाई रोजगारीका लागि युएई जाँदा खुशी र गर्वको अनुभूति हुने गरी श्रमिकको सेवा सुविधाका पक्षमा त्यहाँको सरकार संवेदनशील बन्नुपर्नेमा जोड दिँदै नेपाल र युएईबीचको सम्बन्धलाई मजबुत तुल्याउन निरन्तर समन्वय र द्विपक्षीय छलफल जारी रहनु आवश्यक भएको बताए ।
भेटमा श्रम स्वीकृति नलिई ‘भिजिट भिसा’ लगायतका माध्यमबाट युएई जाने र काममा लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नमा समेत दुवै देशका सरकारको संयुक्त प्रयास हुनुपर्नेमा दुई पक्षबीच सहमति जुटेको श्रम मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।