भोजपुरका गुमनाम शिक्षा सेवी- सुवाससिंह तामाङ

158 Hits

-रामकुमार कार्की- नवीन।

-लेखक-//

-पूर्वी नेपालको पहाडी जिल्ला भोजपुरको साविक किमालुङ गाविस वडा नं. २, हाल षडानन्द नगरपालिका वडा नं. ८, वैदाभञ्ज्याङ, त्यहाँको वस्तुगत अवस्था पुग्ने जोकोहीले नजरअन्दाज गर्न सक्छ ।

वर्तमान परिस्थितिमा कयौं समस्याले जकडिएको छ । हुन त त्यहाँ मात्र होइन, नेपालका अधिकांश पहाडी भूभागमा यस्तै भौतिक संरचना– सडक, बत्ती, खानेपानी, हाटबजारका समस्यादेखि स्वास्थ्य–शिक्षाको अभावका समस्याहरु ज्युँकात्युँ छन् ।

यो ठाउँ ती कुराबाट अछुतो रहने कुरै भएन । आजभन्दा ३० वर्ष अगाडिको त्यहाँको वस्तुगत अवस्था कल्पना गरौं– कति कहालीलाग्दो थियो ? हुन त भोजपुरलाई पहिले ‘माझकिराँत’ भनिन्थ्यो । उक्त समयमा यसै जिल्लाको दिङ्लामा जन्मनुभएका स्वामी बालागुरु षडानन्दले शैक्षिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा ठूलो सुधारको प्रयत्न गर्नुभएको थियो । स्वपहलबाट भएको उक्त प्रयत्नको प्रभाव उक्त क्षेत्रभरि नै प¥यो ।

तर, व्यवस्थित र राज्यस्तरबाट ठोस व्यवस्थापन नहुँदा पहाडका भञ्ज्याङ, खोंच, डाँडाकाँडाहरु; त्यसमा पनि दलित जनजातिका वस्तीहरु शिक्षाको उज्यालोबाट वञ्चित नै रहिरहे । त्यसै समयमा, यसै ठाउँमा वि.सं. २०१० सालमा जन्मनुभएका सुवाससिंह तामाङ पनि शिक्षाको ज्योतिबाट वञ्चित रहनुभयो । आर्थिक अभाव र अशिक्षाबाट थलिएका सुवाससिंह तामाङ २०१९ सालतिर साथीभाइसँग काठमाडौं छिर्नुभयो ।
काठमाडौं प्रवेश जति सपना लिएर हुन्छ, यहाँ प्रवेशपश्चात दुःख, हण्डर उति नै हुन्छ । त्यो बेलामा स्थानीयसँग भाषा नमिल्ने, काम नपाइने, त्यस्तै पञ्चायती व्यवस्थाको कडिकडाउ भनिसाध्य छैन । तर पनि उनले हरेश खाएनन्, ज्यामी–कुल्ली काम गर्दागर्दै शेर्पाहरुको संगतमा परे र २०३१ सालदेखि नै पर्यटकहरुको कुल्ली काम गर्न थाले । त्यसै क्रममा उनी बेला–बेलामा गाउँघर पुग्थे । उनका बुबा लछुसिंह तामाङ दोस्रो विश्वयुद्धमा भाग लिएका एक सिपाही थिए ।

शिक्षा नभएका कारणले अगाडि बढ्न नसकेर गाउँघरतिर आएर शिक्षाको प्रचारप्रसार गरिरहेका थिए । आफ्नै लगानीमा भोजपुरमा विभिन्न ठाउँमा ४–५ वटा पाटी विद्यालय खोलेर अक्षर चिनाइरहेका थिए । उनै बुबाले भेटैपिच्छे ‘छोरा ! पैसा कमाइस् भने गाउँमा विद्यालय बनाउनुपर्छ है’ भन्ने गर्दथे । तर, ऊ बेला सुवाससिंह तामाङले खासै पैसा कमाउन सकेका थिएनन् । विवाह गरी बालबच्चा हुर्काउन नै दुःख–कष्ट थियो । तैपनि बुबाले भनेको कुरा मनमा बिझिरहन्थ्यो । जब उनी किचन कुक बने, अलि–अलि पैसा कमाउन थाले अनि बुबा लघुसिंह तामाङलाई पनि बेला–बेलामा काठमाडौं बोलाउन थाले ।

त्यसै क्रममा वि.सं. २०४१ पुस ८ गते तुम्लिङटारबाट उडेको जहाज दुर्घटना भयो । त्यसैमा परी बुबा लछुसिंह तामाङको पनि निधन भयो । अब उनलाई झनै बुबाले ‘विद्यालय खोल्नुपर्छ’ भनेको कुराले पीडा दिन थाल्यो । साथै, बुबाले सुरु गरेको अभियानलाई कसरी सार्थकता दिने भन्ने चिन्ताले सताउन थाल्यो ।

बुबाको सपना कुनै हालतमा पनि पूरा गरिछाड्ने अठोट लिएर उनका बुबाले भनेका शब्द दिनहुँ मन्त्रजस्तै जप्न थाले । उनका बुबाले भन्ने गर्दथे– ‘अशिक्षित भएकै कारण मैले दुःख पाएँ, तैंले पनि पढ्न नपाएर दुःख पाइस्, यस्तै रहे तेरा छोराछोरीले पनि दुःख पाउँछन् । त्यसैले बाबु ! पैसा कमाइस् भने गाउँमा विद्यालय खोल्नुपर्छ है !’ बुबाको निधनपश्चात सुवाससिंह तामाङले आफ्नो भाग काटेर, बालबच्चाको मुख मोसेर पैसा जम्मा गर्न थाले । अलि–अलि पैसा जम्मा भएपछि विद्यालय खोल्ने उद्देश्य र सपना बोकी गाउँ पुगे ।
सुवाससिंह तामाङ गाउँ पुगेर बैदार भञ्ज्याङमा सार्वजनिक जग्गाको ढुंगा फोर्न थालेको देखेर केही मानिसले तत्कालीन प्रधानपञ्चलाई उजुर गरिदिएछन् । प्रधानपञ्च आफैं आएर यी ढुंगा किन फोरेको भनी सोध्दा उनले त्यहाँ विद्यालय खोल्ने मेरो इच्छा छ भन्दा प्रधानपञ्चले विद्यालय होइन, यहाँ गुम्बा बनाउनुपर्छ, तिम्रो ढुंगा सबै गुम्बा बनाउन प्रयोग गरिन्छ भनेछन् ।

प्रधानपञ्च नाताले उनका मावली बाजे थिए । उनको कुराले केही निराश पारिदिए पनि उनले जिल्ला शिक्षा शाखामा गएर आफ्ना कुरा सविस्तार राखे । तत्कालीन शिक्षा अधिकारीले विद्यालय स्थापना गर्न भवन बनाउने बजट दिन नसकिने तर पुस्तक दिने वचन दिए । सुवाससिंह तामाङले त्यसलाई सहर्ष स्वीकारे अनि एक ढाकर (७० सेट) किताब बोकी गाउँ पुगे ।

गाउँमा घर–घरमा पुगेर किताब बाँड्नुका साथै ‘विद्यालय खोल्ने हो, पढ्न आउनोस्, बालबच्चालाई पठाउनोस्’ भन्दै घुमे । तर, त्यो बेला पशुपालन, खेतीकिसानी धेरै हुने भएकाले बालबच्चाको काम भाँडिन्छ भनेर कमैले मात्र पढ्न पठाउने आश्वासन दिए । ३–४ वटा बच्चा हुनेले समेत ‘तँ आएर धेरै कराइस्, ल एकजनासम्म चाहिँ पठाइदिन्छु’ सम्म भने । यसरी करिव ७० जना बालबच्चा जम्मा हुने स्थिति बनाए ।


विद्यार्थी र पुस्तकको जोहो त भयो तर विद्यालय भवन नै छैन । सुवाससिंह तामाङले आफैले फोरेको ढुंगा बिच्छ्याई चित्राले बेरेर विद्यालय बनाउनुभयो । अनि तिनै प्रधानपञ्च फुर्बा शेर्पालाई बोलाई २०४६ साल माघ ५ गते श्री लालीगुराँस प्राथमिक विद्यालय, किमालुङ– २, बैदार भञ्ज्याङ स्थापना गरी उद्घाटन गराउनुभयो । त्यही साल ऋणपान गरी १–२ किलोमिटर टाढादेखि ट्यांकी बनाई विद्यालयमा खानेपानीको व्यवस्थापन गर्नुभयो ।

त्यसको २ वर्षभित्र ढुंगा–माटोको भवन पनि निर्माण गरिदिनु भयो । विद्यालय र खानेपानीको स्थापना गरेपछि सुवाससिंह तामाङ बुबाको सपना पूरा गरेको खुशीले गद्गद् हुँदै शिक्षकहरुलाई आफैंले तलब खुवाउने भनेर आर्थिक व्यवस्थापनको जिम्मा लिँदै ट्रेकिङको काममै फर्कनुभयो ।

त्यसपछि उहाँ हिमाल पनि चढ्न थाल्नुभयो । यसरी हिमाल चढ्ने क्रममा विदेशी पर्यटकहरुलाई रिझाएर साथी बनाउन थाल्नुभयो । उहाँले आफ्ना पर्यटकहरुलाई आफूले गाउँमा विद्यालय खोलेको र गाउँमा अझै शिक्षा–स्वास्थ्यको अभाव रहेको कुरा राख्न थाल्नुभयो । उहाँको कुराबाट क्रिस्टियन गुइनिक भन्ने स्वीस नागरिक निकै प्रभावित भएछन् । पछि उनै क्रिस्टियन गुइनिकको माध्यमबाट वेर्नहाट नाम गरेका स्वीस नागरिक अन्नपूर्ण हिमाल आरोहण गर्न आए । उनकै इच्छाअनुसार सुवाससिंह तामाङको गाउँ पनि घुम्न गए ।

त्यहाँ सुवाससिंह तामाङले गरेको सराहनीय कामबाट प्रभावित भई फोटो समेत खिँचेर स्विट्जरल्याण्ड पुगेपछि उनले क्रिस्टियन गुइनिकलाई सविस्तार बताएछन् । पछि क्रिस्टियन गुइनिक र वेर्नहाट मिली सुवाससिंह तामाङलाई स्विट्जरल्याण्ड घुम्ने निम्ता दिए । र, उनीहरुकै खर्चमा सुवाससिंह तामाङ स्विट्जरल्याण्ड गए । त्यहाँ पहिले सोलुखुम्बुमा विद्यालय स्थापना र सामाजिक काममा महत्वपूर्ण भूमिका खेलेकी आनी गन्टली समेत जम्मा भई सुवाससिंह तामाङले खोलेको विद्यालयलाई सहयोग जुटाउने निर्णय गरे । उनीहरुले हरेक चर्चहरुमा गई सुवासले गरेको कामको प्रशंसा गरेर चन्दा संकलन गरे ।
उक्त संकलित रकम त्यहीं खातामा जम्मा गर्न लगाई उनी नेपाल फर्के । नेपाल आएर पुनः भोजपुर पुगी त्यहाँका राजनीतिकर्मी, सामाजिक प्रबुद्ध र जिल्ला शिक्षा कार्यालय समेतसँग छलफल गरी उक्त प्राथमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउने निष्कर्ष र निर्णयमा पुगे ।

सबैको साथ–समर्थन प्राप्त भयो । गाउँले र जिल्ला शिक्षाको शर्तवमोजिम विद्यालयलाई आवश्यक पर्ने ७१ रोपनी जग्गा निःशुल्क प्रदान गरियो । स्विट्जरल्याण्डका सहयोगी मित्रहरुले जम्मा गरेको रकम मगाई त्यसमा अझै अपुग रकम आफ्नै आम्दानीबाट समेत हाली सुवाससिंह तामाङले माध्यमिक विद्यालयलाई चाहिने १२ कोठे भवन समेत निर्माण गर्नुभयो ।

२०५१ सालमा श्री लालीगुराँस प्रा.वि. लाई समेत ‘मर्ज’ गरी चन्द्रसूर्य मा.वि. स्थापना गरियो । सुवाससिंह आफू पनि गाउँमै बसी विद्यालयको रेखदेख गर्न थाल्नुभयो । विद्यालयहरु समुदायलाई हस्तान्तरण गर्ने आएपछि उहाँले पनि उक्त विद्यालय समुदायलाई हस्तान्तरण गरी आफ्नो काममा फर्कनुभयो ।
विद्यालयलाई समुदायमा हस्तान्तरण गरेपछि विद्यालयको स्थिति दिनदिनै नाजुक हुँदै गयो । शतप्रतिशत विद्यार्थीलाई एसएलसी उत्तीर्ण गराएको विद्यालयले २–३ प्रतिशत पनि विद्यार्थी पास गराउन हम्मे–हम्मे पर्न थाल्यो । उहाँलाई आफूले दुःख गरेर निर्माण गरेको विद्यालय त्यो अवस्थामा पुगेको देखेर सुवाससिंह तामाङलाई दुःख लाग्नु स्वाभाविकै थियो ।

त्यसपछि पुनः गाउँमै गएर विद्यालय व्यवस्थित गराउन कोशिस गर्नुभयो । केही न केही सुधार त भयो तर सोचेजस्तो भएन । यसै क्रममा २०७२ वैशाख १२ गते मुलुकमा विनाशकारी महाभूकम्प गयो । विद्यालयका भवनहरु लडे । पहिलेका भवनहरु सार्वजनिक जग्गामा भएकाले त्यहाँ पुनः भवनहरु बनाउन नमिल्ने भएपछि फेरि आफैंले विद्यालयका लागि ५ रोपनी जग्गा प्रदान गरेर सुवाससिंह तामाङले आफ्नै पहलमा ६ कोठे भवन बनाई पुनः विद्यालय सुचारु गराउनुभयो ।

विद्यालयसम्म पुग्ने मोटरबाटो पनि निर्माण गर्नुभयो । विद्यालयमा बालबच्चाहरुको शैक्षिक स्तर कमजोर भएको र अहिले सबैको ध्यान अंग्रेजी विषयमा गएकाले उहाँ नजिकै एस.के. सनराइज बोर्डिङ स्कुल समेत स्थापना गरी शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील रहनुभएको छ ।
त्यति मात्र नभएर किमालुङ बैदार भञ्ज्याङमा मंगलबारे बजार समेत स्थापना गराएर हाल पनि शिक्षा क्षेत्रमा कसरी सुधार गर्ने र उक्त विद्यालयलाई कसरी उच्च मा.वि. बनाउने भन्नेमा चिन्तित सुवाससिंह तामाङ आफैं भने राज्य र राजनीतिक नेताहरुका नजरमा गुमनाम हुनुहुन्छ ।
समाजमा केही न केही योगदान गर्नु पर्दछ भन्ने मानिस कमै भेटिन्छन् । आजभोलि त राज्य र समाजलाई केही दिनु पर्दछ भन्ने भन्दा पनि राज्यबाट के प्राप्त गर्ने भन्ने मानसिकता बढिरहेको छ । राज्यले पठाएको बजेटमाथि नै ब्रह्मलुट भैरहेको छ । एक सयको बजेटमा २० रुपैयाँको पनि काम नगरी मिलेमतोमा राज्य डुबाउने, व्यक्ति मोटाउने काम भैरहेको छ ।

यस्तो परिस्थितिमा समेत आफ्नो निजी जग्गाजमिन र निजी आम्दानी राज्य र समाजलाई प्रदान गर्दै समाजसेवामा लाग्ने मानिस सबैको प्रेरणाका स्रोत हुन् । तर, यस्ता मानिसलाई सम्मान गर्दै थप समाजसेवामा लाग्न हौसला प्रदान गर्नुको साटो अहिले राज्यसञ्चालक राजनीतिकर्मीहरु उपयोग गरी निराशा मात्र प्रदान गरिरहेका छन् । काम परेको बेला, सहयोग माग्नु परेको बेला र चुनाव आउँदा मञ्चमा राखी ठूलठूलो प्रशंसा गर्ने र त्यसपछि बिर्सने गरेकोप्रति सुवाससिंह तामाङको ठूलो गुनासो छ ।
उनले ज्यामी–कुल्ली काम गर्दै पर्यटन क्षेत्रमा किचन कुक र सिरदार समेत बनी कमाएको पैसाले नपुगेर पुख्र्यौली जग्गाजमिन समेत करिव १०० रोपनी प्रदान गरी विद्यालय निर्माण गरे । तर, राज्यले कुनै प्रशंसापत्र समेत प्रदान नगरेकोमा दुःखी छन् ।

उनको अब एउटा इच्छा छ– उनले बनाएको विद्यालयको नाममा उनको नाम पनि जोडियोस् र उक्त विद्यालय उच्च मा.वि. बनोस् । उमेरले डाँडा काट्दै गरे पनि यो पंक्तिकारले भेट्दा समेत सुवाससिंह तामाङमा ३० वर्ष अगाडिको युवावस्थाको जत्तिकै जोश–जाँगर र शैक्षिक–सामाजिक चिन्ता प्रकट गरिरहेका थिए ।
यस्ता समाजसेवी, शिक्षासेवीलाई बेवास्ता गर्नु केवल भोजपुर षडानन्द किमालुङवासीलाई मात्र नभएर पूरै मुलुकवासीलाई समेत लाजमर्दो कुरा भएको छ ।

समाजसेवा गरौं भन्ने सोच भएकाहरुलाई समेत निराश पैदा गरेको छ । बरु पञ्चायती व्यवस्थाले बालागुरु षडानन्दलाई सम्मान गर्दै विद्यालय शिक्षामा समेत उनको जीवनी उल्लेखित थियो । तर, लोकतन्त्र तथा गणतन्त्रकालमा यसता समाजसेवी, शिक्षासेवी गुमनाम पात्रका रुपमा रहनु दुःखद कुरा भएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी