तीज :आङमा च्यादर छैन, बजारको डेरा

78 Hits

-माधव घिमिरे अटल-

प्राचीनकालदेखि मनाइँदै आएका अनेकौँ हिन्दू पर्वहरूमध्ये तीज यस्तो पर्व हो जसले नारीहरूको सन्ताप हरण गर्छ भन्ने मानिएको छ, भलै सत्यताको कसीमा यो गलत सावित नै किन नहोस् ।

त्यसो त सनातन हिन्दु परम्परामा नारीको स्थान अस्पष्ट र विरोधाभासपूर्ण छ । एकातिर अधिकांश पर्वमा नारी शक्तिलाई नै पूजा–अर्चना गर्ने प्रचलन छ र भनिएको छ– ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता ।’ अर्कातिर तीजजस्ता पर्वमा आफ्नै श्रीमान्लाई भगवान मानेर पुज्ने र उसैको चरण पखालेर जल आचमन गर्ने परम्परामा झन् बढोत्तरी आएको आभास हुन्छ पछिल्लो कालखण्डमा । संस्कृतिलाई मानव निर्मित प्रकृति मान्ने हो भने परम्परागत पर्वबाट एकाएक विमुख हुन न त ठूलो समूहले स्वीकार्छ, न त आम जनताको नजरमा सान्दर्भिक देखिन्छ ।

परन्तु हाम्रा पर्वहरूबारे अनेक धार्मिक कहानी र कहावत जोडेर बेसी नै उपयुक्त भएको व्याख्या, विश्लेषण त गरिन्छ किन्तु बहस गरिन्न, न त युगानुकूल परिवर्तनबारे पैरवी नै हुने गरेको छ । वास्तवमा परिवर्तित सन्दर्भ र समय सापेक्ष बहसको उठान भएमा मात्र यस्ता पर्व मनाउनुको उपयुक्तता, सहजता, उपादेयता र आवश्यकता वा औचित्य पुष्टि हुन सक्छ र समयानुकूल परिमार्जनबारे पनि जनमानस एकमत हुनेछ । औचित्यको बहस नहुनु भनेको वा बहसको निषेध गर्नु भनेको समयक्रममा पर्वलाई अलोकप्रिय बनाउनु हो ।

सांस्कृतिक बहस र विकल्प

त्यसो त कुनै पनि संस्कृतिको जरा समाजको नशा नशासम्म फैलिएको हुन्छ । समाज विकासका अनेक चरणहरू पार गर्दै निर्माण भएको हुन्छ । संस्कृति जसलाई परित्याग गर्न जनमानस हतपत तयार हुँदैन । विकल्प भएमा सहजता हुन सक्छ भन्ने मत राख्नेहरूदेखि एउटा नभत्काई अर्को निर्माण हुनै सक्दैन भन्नेहरूबीच मतैक्य छैन । सर्वसाधारणलाई मानिरहेका पर्वहरू ‘जुद्धको बेलामा बुद्धको पुराण’ प्रतीत भए भने विकल्प सहित तयार हुन्छन् भन्ने धारणा पनि उत्तिकै बलशाली छ । फेरि एउटा चरणमा पर्वहरूले निकै सकारात्मक योगदान गरेका र परोक्षरूपमा अहिले पनि तिनको औचित्य धेरथोर देख्नेहरू पनि यहीँ छन् । तीजकै दृष्टान्त दिने हो भने पनि समाज परिवर्तनमा तीजमा गाइएका गीतले उल्लेख्य जनजागरण ल्याएको र पुरातन समाज रूपान्तरणमा किञ्चित भूमिका निर्वाह गरेको कुरा नकार्न सकिन्न ।

जहाँसम्म तीजको परम्पराको धार्मिक पाटो छ, यो भने महिलाहरूलाई चरणकै दास बनाउने खालको छ । वास्तवमा महादेवलाई पति पाउनका निम्ति पार्वतीले खेपेका दर्जनौँ हण्डर, गरेका स्तुति र प्रार्थना तथा निराहार उपवास बसेका वृत्तान्तको समष्टिरूप नै हो– तीज । अनगन्ती बुहार्तन झेलेर पनि श्रीमान्को सुस्वास्थ्य, दीर्घायु तथा प्रगति, समृद्धिको कामना गर्ने चाड हो यो । यसको जरासम्म पुग्ने हो भने महिला दासी र पुरुष मालिक हो भन्ने पुरातन मान्यतालाई स्थापित गराइराख्नु र मलजलसमेत गर्नु भन्ने नै हुन्छ । तीजमा गाइने अधिकांश गीतहरूले पनि सासू, नन्द, भाउजू आदिले दिएका सासना मात्र अभिव्यक्त गर्छन्, परन्तु पुरुष उत्पीडनबारे ती मौन देखिन्छन् ।

यस्तो भान हुन्छ– ‘लोहाको शत्रु लोहा’ । पुरुषचाहिँ पानीमाथिको ओभानो । संरचनागतरूपमा नै यस्तो मनोविज्ञान तयार गरियो कि पुरुष संरक्षक र विघ्नहर्ता हो । पुँजिवादले निमोठेको गला– सामन्तवादको पतनसँगै त्यसले गर्ने गरेका कुकृत्यको सोलोडोलो जिम्मा विकृत पुँजीवादले लिएको छ । हिजो दास बनाइएका चेलीहरू घरायसी चौघेराबाट बाहिर त आएका छन् परन्तु उनीहरूलाई विज्ञानपनको माध्यम र क्रयविक्रयको साधन बनाइएको छ, जो ठूलो महिला जनमतले मनन गर्न सकेको छैन । द्रव्यभन्दा माथि दया छैन भन्ने मान्यता समाजमा प्रतिस्थापित गर्नु र हरेक वस्तुलाई सौदा वा द्रव्यमा परिणत गर्नु पुँजीवादको मूल ध्येय हो । भावना, माया, मानवता, सम्बन्ध, आफ्नो–विरानो भन्ने कुरा पैसामा लगेर जोडिदिने काम गरेको छ पूँजीवादले जहाँ हाँस्न, रुन वा आत्महत्या गरी इहलीला समाप्त गर्न पनि स्वतन्त्रता दिइएको छ । तीज पनि पुँजीवादको नग्न प्रदर्शनका रूपमा अघि आएको छ ।

एकातिर महिलाहरूले आफ्ना गहना गुरिया प्रदर्शन गरेर गौरवशाली महसुस गर्ने र तिनका पति वा परिवारका सदस्यहरू त्यसैमा गर्व गर्ने परम्पराले मलजल प्राप्त गदै आएको छ भने सञ्चार माध्यमहरू तिनैका तस्विर तथा भिडियो कैद गर्न र प्रचार गर्न व्यस्त छन् । नागपञ्चमीदेखि नै पार्टी प्यालेस र रेष्टुरेन्टमा मदिराका प्यालासँग झुम्ने महिलाहरूद्वारा अपहरित बनिसकेको तीज । पीडा, वेदना, रोदन र क्रन्दनलाई गीतद्वारा अभिव्यक्त गर्ने प्रचलन क्रमशः भड्किला परिधानमा नृत्य गर्ने छाडा गीतमा रूपान्तरित हुँदैछ ।

दशैं पन्ध्र दिन मनाइन्छ, तिहार पाँच दिन मनाइन्छ भने तीज कति दिन मनाइन्छ भन्नेसम्मका सवालहरूले समाजिक सञ्जालका भित्तहरू पोतिएका छन् । कसैकसैको त पैसा उठाएर पार्टी आयोजना गर्ने धन्दा नै चलेको छ । भ्रष्टाचार, ठगी, छलछाम गर्नका निम्ति यसले अभिप्रेरित गरेको छ भने तिनैको सानशौकत बढाउने र कालोधनलाई उजिल्याउने काम पनि भएको छ, तिजलाई बैसाखी बनाएर । पूँजीवादले आफ्नो बजार विस्तार गर्ने एउटा उत्तम अवसर बनाएको छ, तीजलाई ।

निदान कि समाधान ?

भनिन्छ, बाघलाई गीता सुनाएर गाई मार्न छोड्दैन । अर्थात् एकाएक जजसलाई तीजले सार्वजनिक सञ्चार माध्यममा बढो महŒव दिएको छ, कालोधन एकाएक सेतोमा परिणत गराइदिएको छ, सान र मान बढेको छ, तिनले यो परम्परालाई अक्षुण्ण राख्नका निम्ति हर प्रयास गर्ने नै भए । परन्तु जसले एक दशकभन्दा बढी सामाजिक विकृति र विसंगति विरुद्ध निर्मम संघर्ष गरे तिनीहरू समेत यही भुलभुलैयामा परिराखेका छन् र सामन्तवादले तयार गरेको दलदलमा फसिरहेछन् ।

जुन मूल्य, मान्यताका विरुद्ध हजारौँले उत्सर्ग गरे, तिनै बलिदानीपूर्व इतिहासका निर्मातालाई तिनैका गुरुहरूले अपमान गरिरहेछन् र तिनले देखाएको बाटोलाई खिसिट्यूरी गरिरहेछन् बाँचेका सहयात्रीहरू । यो एउटा रूपान्तरणको अभियानविरुद्ध भद्दा मजाक हो । हाम्रो बीचमा देखिएको विभेदको गुढ रहस्य पत्ता लागिसकेपछि त्यसको निराकरणका निम्ति पाइला चाल्न नसक्नु नै अहिलेको मूल समस्या हो ।

अहिले त यस्तो भएको छ कि– जसकी आमा भान्छे, उसैको छोरो भोको ¤ समाजलाई यसरी भ्रष्टीकरण गरिएको छ कि मान्छेहरू ‘आङमा च्यादर छैन, बजारको डेरा’ भनेजस्तो अवस्थामा छन् । तीजजस्ता भड्किला बनाइएका पर्वद्वारा यही आहान सिद्ध गर्न खोजिएको छ । यदि यसको विकल्प दिइएन भने तीज केही वर्षपछि रेष्टुरेन्ट, पार्टी प्यालेसमा आयोजन गर्ने भव्य भोजहरूमा खुम्चिने छ भने परिवर्तनका यात्रीहरू दोबाटोका बुर्की सरह हुनेछन् ।

टुङ्ग्याउनी

या त तीज आम महिलाको पहुँचभित्र रही हर्ष र उल्लासमय ढंगले मनाउने संस्कृतिका रूपमा अनन्तकालसम्म पूज्य हुनेछ, या छोटो कालखण्डमै त्याज्य । धर्म र अन्ध परम्परा हुबहु अन्धानुकरण गरियो भने तीजको आयु छोटिने कुरामा दुबिधा छैन । यसलाई भेटघाट, नाचगान र कमभन्दा कम खर्चिलो चाडको रूपमा विकास गर्न चौतर्फी प्रयास भयो भने वा यसको अन्य विकल्पतिर जान प्रयत्न गरियो भने यो नै महिला मुक्ति, समानता तथा न्यायिक समाज निर्माणको कोसेढुंगा सावित हुनेछ ।

हेर्नुछ, आफूलाई अग्रगामी चेत भएका रूपान्तरणकारी भन्न रुचाउने महिलाले यसबारे आफूलाई कहाँनेर उभ्याउँछन् आगामी दिनमा, त्यसैले निर्धारण गर्नेछ आगामी यात्रा । आखिर हुने भनेको ‘यथा बीजम् तथाङ्कुर’ नै न हो ।

-(लेखक प्रगतिवादी साहित्यकार हुन्)

Loading...

Related News

उपचार गर्न हार्माेनियम बेचे जनयुद्धका घाइते कलाकारले

काठमाडाै‌, २१ साउन । नेपालमा चलेको १० वर्षिय जनयुद्धले देशमा धेरै परिवर्तन ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको कुरामा सायदै कसैको…

स्याङजामा लेखिएको गीत भारतमा सुटिङ भयो ‘सिमली छायाँमा’

राजु पौडेल काठमाडौं, १९ साउन । ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’ यो गीत सायदै मान्छेले नसुनेका होलान्। २०४३…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी