कविताले बनायो उनलार्इ ‘तुलसी दिवस’

181 Hits
काठमाडौं- कवि मन लिएर अझै पनि कविताको वकालत गरिरहेका छन् तुलसी दिवस। सात दशक पार गरिसकेका उनी कविता साहित्यको जिउँदो धरोहर हुन् । कविता मात्रै होइन, उनी लोक साहित्यलाई दुनियाँसामु ल्याउन गाउँ-गाउँ पुग्छन्।

उनी भन्छन्, ‘कविताकै कारणले संसारको तीन चौथाइ घुमिसकें।’ कवितामा उनी साह्रै गम्भीर छन्। तुलसीप्रसाद जोशी खास नाम भएका उनी अहिले पनि कविता कर्ममै सक्रिय छन्। लोकसंस्कृतिविद् पनि उनको चिनारी हो।

कवितामा पछिल्लो समय युवापुस्ताको जमघट तानिएको छ। त्यसप्रति उनी खुशी छन्। तर, कविताले खान-लाउन पुग्ला त? के कविता लेखेर अहिलेका कविहरू बाँचेर ऐतिहासिक बन्न सक्लान र? उनी भन्छन्, ‘हरेक लेखक, कवि त्यतिकै विशेष र महत्वपूर्ण हुन सक्दैन। तर, भिन्न र अलग रहेर लेख्ने प्रयत्न गर्नेहरूप्रति म विश्वस्त पनि छु।’

कविता राम्रो लेख्नमा जोड गर्नुपर्ने उनको तर्क छ।  स्थापित हुन स्वयम् कविले मिहिनेत गर्नुपर्ने देख्छन्। कविता समूहमा लेख्न थालेका छन्, युवा। सामूहिक वकालत गरिरहेका छन्। तर, राम्रो कविता लेख्न समूह नै चाहिन्छ भन्ने पक्षमा छैनन्। भन्छन्, ‘कवितामा एक्लो कवि नै समूहभन्दा बलियो हुन सक्छ।’

कवितात्मक चेत, कवितात्मक विशेषता, खुबीचाहीं कविमा हुनुपर्नेमा उनको जोड छ। अन्य विधाभन्दा कविता विशेष रहने उनको मान्यता पनि छ।  शायद संसारमा कविता र कविकै बढी चर्चा बढी छ। उनी भन्छन्, ‘अहिलेसम्म र यदि अन्त्य कतै छ भने त्यतिखेरसम्म कविता रहन्छ।’

‘हरेक लेखक, कवि त्यतिकै विशेष र महत्वपूर्ण हुन सक्दैन। तर, भिन्न र अलग रहेर लेख्ने प्रयत्न गर्नेहरूप्रति म विश्वस्त पनि छु।’

कविताले प्रचार दिन्छ। कविताले खान भने दिन सक्दैन भन्नेहरू पनि छन्। कविताले जीवनलाई स्थापित गर्न सक्दैन भन्नेहरू पनि छन्। तर, उनी यसलाई भ्रम ठान्छन्।

मान्छेको सिर्जनशीलता

मान्छेको महान धन सिर्जनशीलता हो। सिर्जनाशीलताले नै मान्छेलाई महान बनाएको छ। यसलाई मान्छेले चिन्न सक्यो भने उसले आफ्नो समयलाई केही दिएर जानेछ। उनी भन्छन्, ‘मान्छे हुनु भनेको सबैभन्दा ठूलो विशेषता मान्छेमा निहित उसको सिर्जनशीलता हो। त्यही सिर्जनशीलताको आधारमा इतिहासमा अघि कहिल्यै अस्तित्वमा नभएको वस्तुको सिर्जना गर्ने क्षमता रहन्छ।’

मान्छेले संसारमा केही नयाँ गरेको भनेको सिर्जनशीलताबाटै हो। कुनै पनि विधामा पहिला सिर्जना हो। सिर्जनशीलताको आधारमा मान्छे मान्छेजस्तो भएको हो। त्यसैले कविताले केही पनि गर्दैन भन्ने भ्रम नपालौं भन्ने उनको तर्क छ।  उनले कविताकै नाममा, संस्कृतिकै नाममा संसारको फेरो मारेका छन्। कतै प्रमुख अतिथि भएर, कतै विशिष्ट अतिथि भएर, कतै कविता लिएर, कतै लोकभाका र लोकवार्ता लिएर। उनले निजी खर्च विरलै गरेका छन्। र, यतिखेर लन्डनको अन्तर्राष्ट्रिय साहित्यमा सहभागिता जनाइरहेका छन्। भन्छन्, ‘कविताकै कारणले म तुलसी दिवस भएको हुँ।’

कविताले धेरैथोक गर्नसक्ने उनको बुझाइ छ। केवल कवितालाई इमानदार भएर लेख्ने कोशिस गर्नुपर्ने भन्ने छ। र, कवि स्वयम्ले कविताको वकालत गर्नुपर्ने उनको अडान छ। कवितालाई समालोचक, आलोचकलाई मात्रै जिम्मा लाउनु भएन भन्ने उनको अनुरोध पनि छ।

कवि देशभित्र मात्रै होइन, कवि देशबाहिर पनि छन्। संसारभरि कविहरू छरिएर बसेका छन्। र, एउटा कवि जाँदा सिंगो नेपाली कविताको प्रतिनिधित्व हुने देख्छन्, उनी। नेपाली संस्कृति, चिन्तन, भाषा, सौन्दर्यचेतना पनि जाने उनको तर्क छ। भन्छन्, ‘सिर्जनाशील विधाहरूमा इमानदार भएर लेखे भविष्य उज्यालो छ। र, आफ्नो क्षमतालाई देखाएर बाँच्न सक्ने समय हो यो।’

‘मान्छे हुनु भनेको सबैभन्दा ठूलो विशेषता मान्छेमा निहित उसको सिर्जनशीलता हो। त्यही सिर्जनशीलताको आधारमा इतिहासमा अघि कहिल्यै अस्तित्वमा नभएको वस्तुको सिर्जना गर्ने क्षमता रहन्छ।’

समूहले बोकेको कवि

नेपाली कविता समूहमा बाँचेको छ। कविहरू गुटमा दौडिएका छन्। कवितालाई गुटले उठाउने र पछार्ने भइरहेको नेपाली कविता साहित्यमा हल्ला कुदिरहेको छ । यस किसिमको कविता साहित्य धान्न सकिन्छ कि सकिँदैन होला त ? उनी भन्छन्, ‘समूहमा भन्दा व्यक्ति विशेषको विशिष्ट सिर्जनाशील प्रतिभा निश्चित रूपले महत्वपूर्ण हुन्छ। तर, समूहलाई पनि नकारात्मक लिनुपर्छ भन्ने सहमत छैन मेरो।’

कोही तालीका लागि लेखिरहेका छन्। कोही गालीका लागि लेखिरहेका छन्। कोही कविहरू प्रचारप्रसारका लागि लेखिरहेका छन् भन्ने उनको तर्क छ। कोही आफ्नै सुक्ष्म संवेदना र अनुभूतिलाई अभिव्यक्त गर्नलाई लेखिरहेका छन्। उनी भन्छन्, ‘विचारका आधारमा समूहहरूको निर्माण हुन्छ भने त्यसलाई अन्यता लिनु हुँदैन।’

समूहभित्र बसेर लेखिएका कविताहरू कवि गुणात्मक छन्। कति मौलिक छ। कति नवीन छ र निजात्मक कति छ भन्ने कुरा महत्वपूर्ण रहने बताउँछन्, उनी।

व्यक्त भइसकेको विचार, भावना, शैली लिएर कविता लेखिएको छ कि छैन भन्ने खोज्नुपर्ने लाग्छ उनलाई। उनी भन्छन्, ‘कवितामा नवीनता, मौलिकता, निजात्मकताको बढी ख्याल गर्नुपर्ने हुन्छ।’

कविता केको लागि लेखियो त्यो विचार विमर्श गर्नुपर्ने लाग्छ उनलाई। र, त्यो असम्भव हो भन्ने लाग्दैन। कविता निकै लामो समय बाँचिरहने खालको बनाउन गम्भीर हुनुपर्ने ठान्छन्। समकालीन कविहरूको विभिन्न शैली हेर्न जोड गर्छन् उनी। कवितामा प्रस्तुति, अनुभव, अनुभूति, पकड, ढंग, भावना, संवेदना, विचारलाई कति इमानदार भएर दिएको छ कविले भन्ने कुरालाई हेर्नुपर्ने लाग्छ उनलाई। उनी भन्छन्, ‘कवितालाई हेर्ने दृष्टिकोण परम्परागत हुनुभएन।’

आफू बाँचिरहेको समय। आफूले भोगिरहेको स्थिति र अवस्था। गुज्रिरहेको परिवेश। आफ्नो अनुभवजन्य स्थितिबाट कति इमानदार भएर लेखियो भन्ने कुरामा सचेत हुनुपर्नेमा उनी जोड गर्छन्। भन्छन्, ‘हामीले कविलाई सोझै आरोप लगाउनु त भएन। प्रत्येक कविले सुख संवेदनालाई अभिव्यक्त गर्ने कोशिस गरेको हुन्छ भन्ने मेरो विश्वास छ।’

उनको भनाइ छ, कविले कहिलेकाहीं बाटो भुल्छन्, त्यसो किन गरे भन्ने कुरालाई ध्यानमा राख्नुपर्छ।

तर, कविहरू बाटो बिराइरहेका छन्। उठाउनैपर्ने मुद्दालाई बिर्सेर आफनो भाव पोखिरहेका छन् तर गहिराइ छैन। सामाजिक, सांस्कृतिक पाटोलाई छुँदैन भने कविता धेरै टिक्दैन पनि। उनी भन्छन्, सिर्जनशील लेखक विज्ञानभन्दा अझ माथि हुन्छन्।’

विज्ञान प्रकृतिमा निहित सत्यको अनुद्घाटित गर्ने काम वैज्ञानिकहरूले गर्दै आएका छन्। गरिरहेका छन्। तर, स्रष्टा, कवि, लेखकहरू अघि कहिले नभएको वस्तुको सिर्जना गर्छन् भन्ने उनको ठम्याइ छ। भन्छन्, ‘किनभने तिनका कविता अघि कहिल्यै थिएनन्। यो अन्तरलाई पनि हामीले ग्रहण गर्नुपर्छ।’

वैचारिक स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता, विषयको स्वतन्त्रता कविको निजी अधिकारभित्र पर्छ। त्यसलाई अन्य दृष्टिकोणबाट हेर्नु नहुने उनको भनाइ छ। तर, कविको कति चिन्तन छ भन्ने ख्याल सधैं राख्नुपर्नेमा उनको जोड छ। उनी भन्छन्, ‘त्यो चिन्तन नगरिकन लेखिएका कविताहरू केही समयपछि किनार पुगेर टुंगिन्छन्।’

इतिहासमा छुटेको लोकवार्ता

उनी साहित्य गाउँका कुना-कुनामा भेट्छन्। त्यहाँ लोकभाकाहरू अझै ओझेलमा परेको देख्छन्। मौखिक बाँचेको भाषा साहित्यलाई अझै लिपी गर्न नसकेको उनको गुनासो छ। उनी भन्छन्, ‘आम मान्छेहरूको इतिहास अझै लेखिएको छैन, पढे–लेखेकाहरूको मात्रै इतिहास अंकित भयो।’

उनलाई नेपालको इतिहास अझै अपूर्ण लाग्छ। गाउँ-गाउँमा लुकेको लोकवार्ता उठान गर्न नसकेको देख्छन् उनी। त्यो नखोजेकोप्रति चिन्तित छन् । एक सय २५ जाति बस्ने र एक सय २३ भाषा बोलिने नेपालको सरकारी तथ्यांक छ। तर, उनलाई त्यो गलत तथ्यांक लाग्छ। उनको  अनुसन्धानमा भने एक सय ४० जातजाति र एक सय ४० भाषाभाषी बोल्ने भेटिएका छन्।

यस दृष्टिकोणबाट देशको राष्ट्रिय इतिहास खण्डित र अपूर्ण रहेको मान्छन् उनी। उनी भन्छन्, ‘जबसम्म यो देशको हरेक जातिको मौखिक परम्पराको आधारमा तिनीहरूको इतिहासलाई राष्ट्रिय तवरमा समावेश गरिँदैन, हाम्रो देशको राष्ट्रिय इतिहास अपूर्ण नै रहनेछ।’

अहिले उनी तिनै लोकवार्तालाई राष्ट्रिय पहिचान दिलाउन लागिपरेका छन्। छुटेका मौखिक इतिहासलाई अंकित गर्नमा जोड गरेका छन्। यसलाई ऐतिहासिक तत्वमा समावेश गर्न जरुरी ठान्छन्। त्यसैका लागि उनी निरन्तर गाउँदेखि विदेशमा बसोबास गर्ने कला-साहित्य प्रेमीसँग भेटघाट गरिरहेका छन्।

विशेष गरेर नेपाली चिन्तनधारा र नेपाली दर्शन सोच र प्रगतिशील चिन्तनमा परिवर्तन आउनुपर्छ भन्ने सोचका साथ उनले वकालत गरिरहेका छन्। उनी भन्छन्, ‘दुई हजार वर्ष अगाडिका मान्यता र मूल्यांकन समालोचना गर्ने दृष्टिकोण र सोचलाई हामीले बिदा गर्नुपर्छ।’

कवितामा छुटेको दर्शन र प्रेम

पछिल्लो समय देशमा कविताको बाढी आएको छ। कोही माक्र्सवादी चिन्तनमा आधारित कविता कोरिरहेका छन्। कोही देशको समसामायिक राजनीतिलाई व्यंग्य गर्न कविता लेखिरहेका छन्।

प्रेम र दर्शनमा पनि कविता आएका छन्। तर, टिकाउ कविता खड्केको अवस्था छ। कविता प्रेम र दर्शनमा मात्रै सीमित हुँदैन भन्ने तर्क छ उनको। कविता प्रेम र दर्शनको सतहमा मात्रै बस्दैन। कहिलेकाहीं अग्लिएर सगरमाथाभन्दा माथि पुग्नसक्छ भने। कहिले प्रशान्त महासागरमा गहिराएर जान पनि सक्छ भन्ने उनको सोच छ।

उनी अन्य दृष्टिकोणबाट हेर्न चाहँदैनन्। विभिन्न किसिमका राजनीतिक दर्शन र सिद्धान्तहरूसँग प्रभावित भएर कविहरूले कविता लेख्न पनि सक्छन् भन्ने तर्क छ। उनी भन्छन्, ‘अहिले वैचारिकता बहुलता, लोकतन्त्र र गणतन्त्रमा त्यसको विशेषता र सौन्दर्य भएको छ।’

प्रत्येक व्यक्तिको निजी स्वतन्त्र ठान्छन् । कवि दर्शनको आधारमा आफू वैचारिक रूपमा अगाडि बढ्न सक्ने हो। तर, आरोपित भएर नआओस् भन्नेमा सचेत रहनुपर्नेमा जोड छ उनको। ‘अर्कोलाई उपदेश दिने हिसाबले नआओस्,’ उनी भन्छन्, ‘आफ्नो बाटो हिँड्नलाई कर लगाउने किसिमको कविता नआओस्।’

उनको बुझाइमा हरेक व्यक्तिले आफ्नो ढंगले हिँड्न पाउने स्वतन्त्रता राख्छ। त्यो चिन्तनले मात्रै अन्य सोच, चिन्तन, आदर्शहरूबाट पनि कविहरू प्रभावित नभएका होइनन्। तर, सबैले त्यसलाई पछ्याएका पनि छैनन्। उनी भन्छन्, ‘मौलिकता, नवीनता, निजात्मक, विशिष्ट आफ्नोपन कति छ भन्ने कुरा महत्वपूर्ण कुरा हो ।’

साँघुरिएको लोकसाहित्य फराकिलो बन्दैछ।

नेपालीपन अहिले कुनै एउटा भौगलिक क्षेत्रमा अडिन सक्ने अवस्था छैन। समाज छ्यासमिस छ। सबै जाति र धर्मका मान्छेहरू एउटा बस्तीमा बस्न लागे। उनी भन्छन्, ‘कुनै एउटा जातिमा, कुनै एउटा भाषामा, कुनै एउटा संस्कृतिमा लोकभाषालाई बन्दी बनाएर राख्ने दृष्टिकोण हटाए हुन्छ।’

र, नेपालीपन व्यक्तिविशेष, कुनै भाषाविशेष, धर्मविशेष, संस्कृतिविशेष निजी र पेवा होइन। त्यो सबै सामूहिक हो। त्यो सबैको हो। सामूहिक सम्पदा हो। एक वा अर्को प्रकारले वर्तमान नेपालभित्र बसोबास गरिआएका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि मधेशसम्म विभिन्न भाषा संस्कृति हरेक जातजातिको अधिकार हुन्छ । उनी भन्छन्, ‘तिनीहरू सबैको प्रतिनिधित्व निश्चित रूपले गर्नुपर्छ।’

विभिन्न विधा र शैलीहरूलाई त्यो भौगोलिक मात्रै नभएर विस्तारित रूपमा फैलिन लागेको छ। विभिन्न सञ्चारमाध्यमले त्यसलाई उठान गर्न अझ पहल गरेका छन्।

सबैले भावनात्मक सुरक्षा अनुभूत पनि हुनुपर्छ भन्ने माग हो उनको। नेपाली साहित्यको इतिहासको चिन्तन गर्दा विभिन्न बेलामा देखापरेका सोच र चिन्तनका आधारमा परिष्कारवादी स्वच्छन्दवादी भनेर हेर्दा त्यो अनुपयुक्त र गलत छ भन्ने पक्षमा छन् उनी। उनी भन्छन्, ‘हामीले आफ्नै ढंगले ऐतिहासिक क्रममा साहित्य र कविताको चर्चा गर्नुपर्छ भन्ने हो। कवितामा निहित विशेषताको आधारमा त्यो समयको नामाकरण गरिनुपर्छ।’

त्यो दृष्टिकोणबाट हेर्दै जाँदा नेपालीमा लेख्दैमा नेपाली कविता हुँदैन। नेपालभित्र लेख्दैमा नेपालीपन हुँदैन । नेपालीत्व हुनुपर्‍यो। नेपालीपन हुनुपर्‍यो। सोच, चिन्तन, व्यवहार, आचरण, विचार, ढंग, पद्धतिलगायत कुरामा कविताले प्रतिनिधित्व गर्नुपर्‍यो।

आजको मान्छे कुनै भौगलिक, राजनीतिक, आर्थिक घेरामा मात्रै सीमित छैन। मान्छेमा केही त्यस्ता सिर्जनशील क्षमता हुन्छन् र तिनलाई समयले बाँध्दैन । भूगोलमा सीमित हुन सक्दैन। त्यसले फराकिलो ठाउँ खोजिरहेको हुन्छ।

उनले सोचेका छन्, ‘फोक एलिमेन्ट’, लोकतत्व अथवा कविता उपन्यास, निबन्ध, नाटकमा कत्तिको छ। त्यो लोकतत्वको उपस्थिति मात्रै होइन। दुरुपयोग मात्रै होइन । त्यसको सदुपयोग पनि कसरी भइरहेको छ भन्नेलाई हेर्नुपर्ने बताउँछन्।

कविताको सिद्धान्तका आधारमा लोकलाई प्राथमिकतामा राखेर हेर्छन्, उनी। नेपालीमा पनि कुनचाहीं किताब बढी लोकप्रिय छ त? लोकतत्वको ‘ग्यादरिङ’ जहाँ छ, त्यहाँ लोकप्रिय हुन्छु भन्ने लाग्छ उनलाई।

मौखिक बाँचेको लोक संगीत

मान्छेको जीवनसँग लोक साहित्य जहिल्यै नजिक छ। लोक संवादहरूले परम्परागत साहित्य जोगिएको छ। लोकसंगीतले नेपाली कला–साहित्य विश्वव्यापी बनिरहेको छ। तर, त्यही लोक संगीतमा धेरै ठूलो विकृति भित्रिएको छ। उनी भन्छन्, ‘नेपाली लोकवार्ता मौखिक छ। मौखिक रूपमै एक व्यक्तिबाट अर्काे, एउटा समयबाट अर्कोमा हस्तान्तरण भइरहेको परम्परा छ।’

कला एउटा भौगोलिक सीमाभित्र मात्रै छैन। निश्चित सीमामा सीमित छैन। त्यो विश्वव्यापी रूपमा छरिएको छ। र, विश्वमा बसेकाहरूसँग पनि त्यो नेपालीपन आएको छ। त्यहाँको नागरिक नभए पनि जातीय र सांस्कृतिक रूपमा लोकवार्ता बाँचेको छ। यसलाई केलाउनुपर्ने महत्वपूर्ण देख्छन् उनी।

चलनचल्तीका पुराना गीतलाई ‘कभर’ गीत गराएर मेलोडी नै तोडमोड गरिएको छ। लोकभाका र भाषालाई नै केही संगीतकारले ‘फ्युजन’को नामाकरण दिएर ल्याउन खोजिएको छ। ‘लोक परम्पराका जति पनि सिर्जना छन्, तिनलाई व्यक्तिगतभन्दा सामूहिक रूपमा लिने गरिन्छ,’ उनी भन्छन्, ‘मौलिकतामाथि अतिक्रमण भयो। उपयुक्त ढंगले प्रतिनिधित्व भएन।’

सबैले देख्ने गरी सबै जातिका उत्सवहरू हुन थाले। संस्कृतिलाई उठान गर्न मिडियाले भूमिका खेल्न थाले। त्यो राजधानीमा पनि हुँदै आइरहेको छ। उनीहरूको उच्चारण पद्धति छ। त्यो यहाँ आउँदासम्म केही तलमाथि हुन पुगेकोप्रति उनी पनि दुःखी छन्। सांगीतिक, नृत्यगत, भाषागत सही ढंगले उठान गरेमा त्यसले आघात पुग्न जालाजस्तो लाग्दैन उनलाई। भन्छन्, ‘प्रस्तोता र गायकहरू संवेदनशील हुनुपर्छ भन्ने लाग्छ।’

कोठामा बसेर रचना गरिरहेका छन्। कतिपय त्यस्ता गीतहरू पनि लोकप्रिय भएका छन्। उनी भन्छन्, ‘प्रतिभा सम्पन्न छन् तर प्राज्ञिक रूपले ती प्रशिक्षित भएका छैनन्। अब लोक परम्पराका विभिन्न सांस्कृतिक सम्पदाहरूलाई संरक्षण, संकलन र प्रबद्र्धन गरिनु आवश्यक छ।’

परिवर्तनलाई उनी अस्वाभाविक पनि ठान्दैनन्। समयगत परिवर्तन, रुचिगत परिवर्तनले परिवर्तनले  निजी चिन्तन र मौलिक व्यक्तित्वमा आघात नपार्ने तथा तिनले सचेत रूपमा गरेमा राम्रो हुन्छ भन्ने पक्षमा छन् उनी। उनी थप्छन्, ‘हरेक स्रष्टाले कहाँबाट संकलित गर्ने र स्रोत स्रष्टाले भन्न सक्नुपर्छ। त्यसले सबैलाई न्याय हुन सक्छ।’

प्रेममा बाँचेका अविवाहित हस्ती

साहित्यमा लामो यात्रा गरिसके उनले। उमेरले चार-बीस लाग्दैछन्। तैपनि, कविताका कार्यक्रमहरूमा कवित्व प्रेम बाँड्न पुग्छन्।

प्राध्यापकबाट अवकाश पाएपछि कविताको प्राध्यापक भए। लोकवार्तामा प्राध्यापक भएर शहर संसार सुनाउँदै आएका छन्। उनले देखेको प्रेम के त? उनी भन्छन्, ‘अहिले प्रेम विशुद्ध छैन।’

प्रेमका परिभाषाहरूले समानान्तरता नपाएको बताउँछन्। अनेक मिसिन लागेको देख्छन्, प्रेममा। भन्छन्, ‘राजनीतिक, आर्थिक, समाजिक सबैमा प्रेम मिसियो।’

मान्छेका कठिनाइ, अभाव र जीवन पद्धतिसँग प्रेम जोडिएको छ। उनी थप्छन्, ‘प्रेमलाई अलग्गै टापु बनाएर पुरुष र महिलाबीचको सम्बन्धमा मात्रै सीमित गर्नु हुँदैन।’

उनीहरूले भोग्नु परेका वर्तमान जीवनका जटिलता र कठिनाइहरूलाई समान रूपमा हेरिनुपर्छ। उनी जातपातको मात्रै होइन भन्ने ठान्छन् । अन्य समस्याहरू मसिनो गरी आउन थालेका छन्। उनी थप्छन्, ‘म एक्लै छु, मैले विवाह गरेको छैन। प्रेम त गरेको छु।’

प्रेमको भौगोलिक सीमा हुँदैन। भाषिक सीमा पनि हुँदैन। सांस्कृतिक सीमा पनि हुँदैन। त्यो जहाँ पनि ‘क्लिक’ हुन सक्ने उनी बताउँछन्। र, जतिबेला पनि ‘क्लिक’ हुन सक्ने बताउँछन्। शारीरिक सम्बन्धसँग मात्रै प्रेमलाई जोड्नुपर्छ भन्ने उनलाई लाग्दैन। उनी भन्छन्, ‘प्रेमको परिभाषा र अवधारणालाई पनि हेर्नुपर्छ।’

प्रेम महिला र पुरुषबाट मात्रै हुन्छ भन्ने होइन। सँगै बस्न सक्ने हुन्छ। हिन्दु धर्ममा अर्ध नारिश्वरको कल्पना नभएको होइन। उनी भन्छन्, ‘प्रेममा कविता कम लेखेको छु। तर, अन्य कवितामा प्रेमका शब्द कम प्रयोग भएको भने होइन।’

मानव जातिमा मात्रै सीमित नगरिकन जहाँ पनि प्रेम हुन सक्छ भन्छन् उनी। त्यहाँ भावनात्मक समबन्ध स्थापित हुन सक्छ।

तर, प्रेम कुन जाति, कुन समाज, कुन धर्म, कुन विश्वास, कुन संस्कृतिको मान्छेको हो भन्नेमा बहस भइरहेको छ । अर्को जाति र अर्को संस्कृति भयो भने गाह्रो हुन सक्ने बताउँछन्। मानवीय आकर्षणले एकअर्कामा खेल्दो रहेछ । परम्परागत ढंगले भाषिक रूपमा अभिव्यक्त गर्नुपर्दैन । सुक्ष्म सांस्कृतिक ढंगले पहल गर्नुपर्नेमा जोड छ, उनको।

प्रेमलाई संवेदनशील भएर ग्रहण गर्नुपर्ने बताउँछन्। प्रेम अमर हुन्छ। अजर हुन्छ। सत्य हुन्छ र प्रेम कैयौंसँग हुन पनि सक्छ। उनी भन्छन्, ‘प्रेम धेरैसँग हुन सक्छ, मान्छे आफैंमाथि पनि नियन्त्रण हुन सक्दैन। तर, त्यस्तो बेलामा संवेदनशील हुनुपर्छ।’

जीवनको मुक्ति नै सन्तोष

जिन्दगीमा पूर्ण रूपले मान्छे सन्तुष्ट हुँदैन। केही छुट्छ र केही प्राप्ति पनि हुन्छ। आफूले खोजेको भन्दा नखोजेको बढी पाइरहन्छन्, मान्छेले। आफ्ना अनुभवको आधारमा भन्छन्, ‘जीवन देखेकोभन्दा नदेखेको ज्यादा, सुनेकोभन्दा सुनेको ज्यादा। पाएकोभन्दा नपाएको ज्यादा। भोगेको भन्दा नभोगेको ज्यादा अथवा कोही पनि मान्छे पूर्ण रूपमा सन्तुष्ट हुँदैन।’

चाहेको खोज्ने आधारबाट जीवन बाँच्ने योग्य छ। र, अगाडि बढ्ने उत्साह र प्रेरणा बढी हुन्छ । जिन्दगीमा असन्तुष्टिको कारण नै मान्छे अगाडि बढ्ने गरेको बताउँछन्।

परम्परा र सोच र चिन्तनको कुरा हुन्छ। नवीनता निजत्वमा पनि देखा पर्छ। उनी भन्छन्, ‘जिन्दगीलाई एउटा साँचोमा ढालेर हेर्ने हो भने मुक्ति पाउँछ। मुक्ति नपाई धरै छैन। कविताकै कारणले म तुलसी दिवस भएको हुँ ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी