सात नम्बरमा शुरु भयो गौरा पर्व

296 Hits

धनगढी- प्रदेश नं ७ मा  गौरा पर्व शुरु भएको छ। यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्।

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ।

त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती)को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन्। विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ।

सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको छ। सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन्। यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ।

गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको छ। गौरा पूजा गरी सकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिन्छ। गौरा पर्वमा नयाँ कपडा लगाउनाका साथै सेल, पुरी र चामलको पिठोबाट बनेको माणा, खीर, मालपुवा, बटुकजस्ता शाकाहारी पकवान खाने गरिन्छ। यो पर्व प्रदेश नं ७ सहित भारतको कुमाँउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ।

गौराका फागमा पूर्वीय मान्यता अनुरूपको वैदिक सामाजिक परम्परामा पाइने मानवीय गतिविधिको चित्रण मनग्य रूपमा पाइन्छन् । जेठी गौरा र महेश्वरलाई भित्र्याएदेखि पूजा शुरु हुने अवधिसम्म सबै व्रतालु पूजा गरिने घरमा जम्मा हुन्छन्। दिनभरि व्रत बसेर रातिमात्र खाना खाने यस दिनका व्रतालुहरू भोजनोपरान्त फेरि गौरा राखिएको घरमा भेला हुन्छन्।

उगाण उगाण इजू रूपाइका दुवार
उगाण उगाण इजू सुनैका केवाड
गावको मजेली इजू बत्ती जगाइदिय
आजको दिन नाच इजु रनझनिया
इति क्या उजालो भयो रनझनिया
कि त बाबु लोली गौरा रनझनिया
तम घर आइन कि हो रनझनिया
तिर्तियैका दिन इजू विरुडि खोजाया
चौथियैका दिन इजू विरुडि निकेया
पञ्चमीका दिन इजू विरुडि भिजाया
षष्ठीका दिन इजु विरुडि धोएया
सप्तमीका दिन इजू म माइत बोलाय 

आरती, अवतारगीत, सृष्टिगीत, सगुन र फागजस्ता गीत गाउँदा पूजनस्थलका एउटा छेउ वा सम्बन्धित देवीदेवताको मूर्ति वा मण्डपमा चारैतिर फिंजिएर बसी अथवा उभिई सामूहिक रूपको स्वरलहरी फिंजाइन्छ। यस प्रकारका गीतमा नृत्यचाहिँ हुँदैन। धमारी, चैत, भोलाउलो प्रायः पुरुष समूहले गाउने गीत हो। अर्को दिन अर्थात् भाद्र शुक्ल वा कृष्ण अष्टमीका दिन बिहान स्नानध्यान गरी, घर आँगनको सफाइ, दैलोको लिपपोत र द्वारपूजन समाप्त गरेपछि गौरा महेश्वरको प्रातःकालीन पूजा व्रतालुद्वारा संयुक्तरूपमा गरिन्छ।

फरक के देखिन्छ भने हिजोको सामालाई जेठी गौरा वा लोली गौरा भनिएको थियो आजको सामालाई कान्छी गौरा वा सन्जा गौरा अर्थात् कान्छी गौरा भनिन्छ। आजकी गौरा ल्याउनु भनेको जेठी पत्नीको कुरा र व्यवहार नरुचाएर भगवान् शङ्करले मलयागिरि पर्वतबाट कान्छी पत्नी बिहे गरेर ल्याउनु हो। जेठी गौराको मेख मार्न अर्को बिहे गरेर घर फर्केका महेश्वर सुरुवाल भिजिसक्दा र छाता फाटिसक्दा पनि ढोका नखोलिएकोमा रिसाएर काम नचल्ने तथा दुलहा भएका बेला रिसाउनु कराउनु उचित नहुने देखेपछि बाहिरबाटै जेठी गौरालाई दुःख नदिने, पटरानीको पदमै राख्ने, माया गर्ने, राजपाटको जिम्मेवारी दिने, दरबारका साँचाताल्चा उनीबाट नखोस्ने, धनसम्पत्तिको जिम्मा दिने, हर्ताकर्ताको प्रमुख बनाउनेजस्ता आश्वासन दिन्छन् र सोका लागि वाचाबद्ध पनि हुन्छन्। त्यसपछि दुवै गौराको सामा एउटैमा मिसाइन्छ । यस बखत पनि एउटा छुट्टै फाग गाइन्छ।

जेठी र कान्छी गौरालाई मिलाएर एउटै गौरा पारिसकेपछि पूजाको क्रम शुरु हुन्छ । सती र पार्वती शारीरिक दृष्टिले भिन्नभिन्न भए पनि आत्मिक हिसाबले एकै हुन् भन्ने अर्थ एउटै गौरा बनाउने यस चलनले प्रकट गर्छ । गौरापूजाका लागि विवाहोपरान्त नारीले सुन्नुपर्ने र दिनहुँ साँझबिहान जप्नुपर्ने मन्त्र विधिवत् गुरुस्थापना गरी यसै पर्वमा वा कुनै शुभ दिनमा सुनिसकेको हुनुपर्छ । प्रायः यसै पर्वका अवसरमा सासू, जेठानी, आमाजू, फुपू सासूजस्ता मान्य व्यक्तिबाट उक्त मन्त्र सुन्ने गरेको देखिन्छ।

यस्तै दुबोधागोको चलन यस पर्वमा देखिने अर्को रोचक कुरा के हो भने रक्षा बन्धनका दिन बाहुन क्षेत्रीय पुरुषले नयाँ जनै फेरेझैं यस पर्वका अन्तमा व्रत गर्ने नारी घाँटीमा बाँध्ने धागो फेर्छन्। यसलाई दुबोधागो भनिन्छ। रातो, पहेंलो र कालो धागोबाट बनाइएको यो सामान्यतया पोतेजस्तै देखिन्छ। गौरी महेश्वरको पूजा गर्ने बाहुन र क्षेत्रीका विवाहिता र सधवा नारीहरूका लागि शुरु हुने यो पर्व केवल तिनीहरूमै सीमित हुँदैन । नाचगान र खुसी उमङ्गद्वारा प्रफुल्लित तुल्याउन यस पर्वले सबै जातका महिला, पुरुष तथा केटाकेटीलाई बराबर रूपमा समेटेको हुन्छ। व्रत र पूजाआजा बाहुन तथा ठकुरीका विवाहित सधवाले मात्र गरे पनि महिलाको समूहमा गौरा राखिएको घरका आँगनमा राति गाइने गीत सबै जातका नारीको सहभागितामा गाइन्छन्।

केही वर्षयता कैलाली जिल्लाका वनदेवी, नैनादेवी, शिवमन्दिर, गोदावरी, बोराडाँडी, मटियारी र कञ्चनपुरका बैतडी-दार्चुला–डडेल्धुराका बस्ती बहुलक्षेत्रमा धूमधामसित गौरा विसर्जन गरिन्छ। यस्तै दार्चुलाको बन्तोली, मालिकार्जुन, जैपुर, कुणी, धापमा पनि विशेष महात्वका साथ मनाउने गर्दछन्। काठमाडौंको टुडिखेलमा पनि गौरा पर्वलाई सुदूरपश्चिमकै संस्कृति भेषभुषाअनुसार मनाइने गर्छन्।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी