नयाँ युगमा प्रवेश गर्न आतुर जनता

113 Hits

श्रीकान्त रेग्मी-/मुलुकका दुई प्रमुख साम्यवादी शक्तिहरू नेकपा एमाले र माओवादी केन्द्र एकआपसमा विलय भई नेपाल कम्युनिस्ट पार्टीमा परिणत भएका छन् । यो घटना विकास नेपालको राजनीतिमा ऐतिहासिक महत्वको रहेको तथ्यमा कुनै सन्देह छैन । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धन गराएर सहयात्रा रेका नेकपा एमाले र माओवादी केन्द्र अन्ततः एउटै कम्युनिस्ट पार्टीका रूपमा एकीकृत भए उपरान्त मुलुकमा कम्युनिस्ट शक्ति सर्वाधिक सबल बनेको स्पष्ट छ । एकीकरणपछि लामो समयदेखि विद्यमान अनुमान, शंका, उपशंका, एकता हुन्छ हुँदैन भन्ने अन्योल र अनिश्चयको पनि स्वतः अन्त भएको छ । साम्यवादी शक्तिहरू एकआपसमा जुट्नेभन्दा फुट्ने गरेको स्थापित नजिरविपरीत दुई ठूला कम्युनिस्ट पार्टीहरू एकताबद्ध भएर मुलुकमा जबर्जस्त राजनीतिक ध्रुवीकरणलाई प्रेरित गरेका छन् । नेकपा एमाले र मओवादी केन्द्र दुवैको विघटन भई नेपाल कम्युनिस्ट पार्टी नयाँ संस्करणका रूपमा देखापरेको छ ।
अब नेकपा संसद्, प्रदेशसभा र स्थानीय तह सबैतिर बढी स्थान प्राप्त शक्तिशाली दल बनेको छ । नेकपाले प्रतिनिधिसभामा झन्डै दुई तिहाइ स्थान ओगटेको छ भने सात प्रदेशमध्ये ६ वटा प्रदेशमा एकल नेतृत्वमा सरकार सञ्चालन गर्दै आइरहेको छ । ७५३ स्थानीय सरकारमध्ये ४ सयभन्दा बढीमा सोही दलको स्पष्ट बहुमत छ । यसरी हेर्दा सम्पूर्ण मुलुकभर नै वाम वर्चस्व स्थापित भएको छर्लंग हुन्छ । यो एकीकरणले मुलुकभरका साम्यवादी कार्यकर्ताहरूमा अपार उत्साहभाव देख्न सकिन्छ ।

एकीकृत पार्टीको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैले संयुक्त रूपमा गर्ने भएका छन् । बिलकुलै भिन्न पृष्ठभूमिका यी दुई नेताले नेतृत्व गर्ने पार्टीको कार्यदिशा समाजवादउन्मुख जनताको जनवाद हुने तय गरिएको छ । फरक पाठशालाबाट दीक्षित यी दुई नेताले नयाँ पार्टीलाई कसी हाँक्ने हुन् ? आमकौतुहलको विषय भएको छ । दुई ठूला वाम पार्टीहरूको एकीकरण नेपालको राजनीतिक इतिहासमा यथार्थमै महŒवपूर्ण मोड हो । एकतापछि नयाँ राजनीतिक परिस्थिति पैदा भएको छ ।
यो एकता नेपालको लोकतान्त्रिक आन्दोलनका लागि भने एउटा धक्का हुने अनुमान गरिएको छ । एकीकरणको संयुक्त घोषणामा लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध रहेको भनिए पनि नेपाल कम्युनिस्ट पार्टी स्थापनाकालकै समाजवाद अंगीकार गर्ने महान् लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न दृढ रूपले रहने दाबी गरिएको छ । यहाँ यो दोहो¥याउनु जरूरी छैन कि कम्युनिस्ट पार्टी स्थापना गर्दा निर्धारित महान् लक्ष्य समाजवाद लोकतान्त्रिक समाजवाद होइन । नयाँ पार्टीको वैचारिक–सैद्धान्तिक मान्यता पुरानै छ । अहिले नयाँ पार्टीको कार्यदिशा समाजवादउन्मुख, जनताको जनवाद स्वीकार गरेर जनवाद अगाडि रहने गरेको बहुदलीय शब्दलाई हटाइएको छ । यसबाट नवगठित नेपाल कम्युनिस्ट पार्टी जननवादका दिशामा अगाडि बढेको हो कि भन्ने आशंका पैदा हुनु अस्वाभाविक हुँदैन ।

नेकपा एमाले र माओवादी केन्द्र दुई पार्टी आपसमा मिसिएका छन् । दाहालले यो एकतालाई मिश्रण नभएर यौगिकको नाम दिएका छन् । अक्सिजन र हाइड्रोजन जब उपयुक्त परिमाणमा मिलेपछि रासायनिक प्रक्रियाका माध्यमबाट पानी बन्छ । पानी बनिसकेपछि हाइड्रोजन र अक्सिजनको पृथक अस्तित्व समाप्त हुन्छ भनेर दाहालले उदाहरणसमेत प्रस्तुत गरेका छन् । त्यस्तै, ओलीले हिन्द महासागरमा गण्डकी र कोसीको अस्तित्व खोजेर नपाइने भन्दै दुई पार्टीको विलयलाई महासागरमा समेटिएका नदीहरूको अस्तित्वसरह हुने उपमा दिएका छन् ।
विज्ञानका विद्यार्थी दाहाललाई इलेक्ट्रोलाइसिस प्रक्रियाद्वारा पानीलाई विच्छेद गरेर हाइड्रोजन र अक्सिजनलाई पुनः स्वतन्त्र गर्न सकिने तथ्य थाहा हुनुपर्छ । त्यस्तै, हिन्द महासागरमा समाहित हुन गण्डकी र कोसीले सर्पाकारको धेरै लामो यात्रा तय गर्नुपर्ने तथ्यबाट ओली पनि अपरिचित छैनन् । त्यसैले, दुई पार्टीबीचको यो मिश्रण दाबी गरेजस्तै छिट्टै सरोवर वा समान जातीय बन्न निकै कठिन छ । विजातीय वा भिन्न जातीय गुणहरू लामै समयसम्म नरहलान् भन्न सकिन्न । माक्र्सवादी र मालेको एकीकरण पनि एमालेमा तत्तत् पार्टीका नेताहरूको आपसी सम्बन्ध सबैले बुझेकै विषय हो । दुवै पार्टीका नेता कार्यकर्ताबीच तादात्म्य कायम गर्ने कार्य त्यति सजिलो छैन । यो चुनौती ओली र दाहालले झेल्नुपर्ने हुन्छ ।

विज्ञानका विद्यार्थी दाहाललाई इलेक्ट्रोलाइसिस प्रक्रियाद्वारा पानीलाई विच्छेद गरेर हाइड्रोजन र अक्सिजनलाई पुनः स्वतन्त्र गर्न सकिने तथ्य थाहा हुनुपर्छ । त्यस्तै, हिन्द महासागरमा समाहित हुन गण्डकी र कोसीले सर्पाकारको धेरै लामो यात्रा तय गर्नुपर्ने तथ्यबाट ओली पनि अपरिचित छैनन्
बहुदलीय प्रजातन्त्रमा पार्टीहरूको एकीकरण र विभाजनको प्रक्रिया चलिरहन्छ । समयान्तरमा असान्दर्भिक बन्ने पार्टीहरू इतिहासमा सीमित हुन पुग्नु पनि कुनै अनौठो हुँदैन । खासगरी वाम पक्षका नेताहरूले व्यक्तिपिच्छे अलग पार्टी बनाउने गरेका दृष्टान्त अनेक छन् । मधेसी जनअधिकार फोरमको विखण्डन निकट विगतको यथार्थ रहेकै छ । नेतृत्वमा दलीय चरित्रको कमी यसको एउटा कारण हो । सैद्धान्तिक वैचारिक राजनीतिक सवालमा मतमतान्तर भएर भन्दा व्यक्तिगत अहं, पद प्रतिष्ठा र अवसरकै कारण कम्युनिस्ट पार्टीहरू फुट्दै र जुट्दै आइरहेका छन् । त्यसैले, दुई पार्टीको एकता हुँदैमा मुलुक नयाँ युगमा प्रवेश गरेको दावी अतिशयोक्तिपूर्ण हो । पार्टीहरूको एकीकरण र विभाजनले मुलुकमा के कस्तो प्रभाव पार्छ भन्ने कुरा महŒवपूर्ण हुन्छ । कतिपय राजनीतिक विश्लेषकहरूले एमालेको विभाजनलाई जन युद्ध विस्तारको कारण मान्छन् । जनयुद्धले मुलुकलाई पछाडि धकेलेकै हो । अहिले दुई पार्टीबीचको एकता मुलुकको सामाजिक आर्थिक विकास र जनताको करुणाजनक जीवनस्तरमा सुधारका लागि हुनुपर्छ ।
दुई ठूला कम्युनिस्ट पार्टीहरूले आपसमा एकता गरेर निर्वाचनअघि गठबन्धनका क्रममा व्यक्त आफ्नो वाचा पूरा गरेका छन् । यो एकताले निर्वाचनमार्पmत प्राप्त जनादेशको सम्मान भएको छ । संसद्मा झन्डै दुई तिहाइनिकट बलियो पार्टीका रूपमा उपस्थित यो पार्टीले आफ्नो शक्ति मुलुक र जनताको सर्वोपरि हितमा काम गर्न परिचालित गर्नु जरुरी छ । पार्टी नयाँ बने पनि पात्रहरू पुरानै र परीक्षित छन् । पात्रहरूको मनोदशा र शैली बदलिएन भने नयाँ पार्टी पनि जनताका लागि कागलाई बेल पाकेर हर्ष न बिस्मात भनेझैं हुने निश्चित छ । त्यसैले, अब यो पार्टी हरदृष्टिले नयाँ पहिचानमा प्रस्तुत हुनु पर्दछ । एकीकृत पार्टीमा आफ्नो राजनीतिक भविष्य सुनिश्चित हुने ओली आश्वासनपछि नै दाहाल एकीकरणका लागि तयार भएको तथ्य खुलस्त भएकै छ । एकअर्काप्रति लामो समयदेखि सशंकित ओली र दाहाल आपसमा विश्वस्त भएपछि एकता सम्भव भएकाले यी दुई नेताबीचको सम्बन्धमा भोलिका दिनमा आउन सक्ने आरोह अवरोधले एकताको अक्षुण्णता प्रभावित हुन सक्ने तथ्य मननीय छ ।

पार्टी एकता मूलतः ओली–दाहालबीचको पारस्परिक विश्वास र समझदारीमा अडेको बुझिन्छ । माओवादी केन्द्रमा चलनअनुसार दाहालबाटै अन्तिम निर्णय लिइएको छ । ओली–दाहालबीचको समझदारी दुवै पार्टीका अन्य नेताका लागि कति मान्य हुन्छ ? दाहालको राजनीतिक भविष्य र ओलीको सत्ता नेतृत्व सुरक्षित हुँदैमा ती दुई पार्टीका अन्य नेता कार्यकर्ताको स्वार्थ सुरक्षित हुन्छ भन्न मिल्दैन । पार्टी ठूलो र नेताहरू धेरै भए पनि पार्टीमा सीमित अवसर हुने भएकाले सबै नेताहरूका लागि पद व्यवस्थापन गर्न सम्भव हुँदैन । फेरि सबै नेताहरूले आफूलाई योग्य, सक्षम र बढी सक्रिय ठान्ने गर्छन् । पार्टीलाई समावेशी गराउनुपर्ने अर्को चुनौती पनि छँदै छ । त्यसैले, तत्काल देखानपरे पनि समयान्तरमा असन्तुष्टि प्रकट नहोला भन्न सकिँदैन । एकता गरेर ऐतिहासिक कार्यभार पूरा गरेको स्पष्टीकरणले यो असन्तुष्टिको व्यवस्थापन हुन सक्दैन । यो असन्तुष्टि व्यवस्थापनको जिम्मेवारी पनि ओली दाहालको काँधमा आउयने कुरा निर्विवाद छ ।
दुई पार्टीको एकीकरणपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति उदय भएको यथार्थ हो, नवीन राजनीतिक इतिहासको प्रारम्भ भएको भने होइन । दुई पार्टीबीचको यो एकता न अनपेक्षित न अप्रत्याशित नै हो । निर्वाचन परिणामपछि धेरैले यो अनुमान गरेकै हुन् । एकता दुवै नेताको चाहना मात्र नभएर आवश्यकता पनि रहेको हो । दाहालका लागि एकताको आवश्यकता अझ बढी रहेको स्पष्ट छ । शान्ति प्रक्रिया प्रारम्भ भएपछि दाहालको आरोह अवरोधपूर्ण राजनीतिक चरित्र नियाल्दै आइरहेका विश्लेषकहरूले माओवादी केन्द्रलाई एमालेमा अवतरण गराउनुबाहेक दाहालका लागि अर्को सुरक्षित गन्तव्य बाँकी नरहेको धारणा व्यक्त गरेका छन् । एमाओवादी केन्द्रलाई एमालेमा विलय गराएर दाहालले आफ्नो भावी राजनीति बढी सुरक्षित हुने ठानेका हुन् भने त्यो अन्यथा होइन । अब नवगठित नेकाले मुलुकमा राजनीतिक स्थायित्व, दिगो शान्ति र सामाजिक आर्थिक विकासलाई द्रुतत्तर तुल्याई आवश्यकता र जनताको चाहना पूरा गर्नुपर्छ ।
पार्टीहरू मिल्दैमा स्वयमेव सुशासन, विकास र समृद्धि हासिल हुन सक्दैन । सुशासन, विकास र समृद्धि पार्टी एकताबाट हर्षित देवगणले वृष्टि गर्ने विषय होइन । मुलुकमा पूर्ण रूपमा विधिको शासन बहाल नभई सुशासन सुनिश्चित हुन नसक्ने तथ्य स्पष्ट छ । दुई वाम पार्टीबीचको एकताले राजनीतिक शक्ति संरचनामा निःसन्देह परिवर्तन आएको छ, अन्य कुनै परिवर्तन आउन बाँकी नै छ । मुलुकको आवश्यकता भने नेतृत्वको चिन्तन, प्रवृत्ति र आचरणमा परिवर्तन हो ।

दुई पार्टी एक भएपछि सरकार निश्चित रूपमै सबल भएको छ । सवल हुनु र सक्षम हुनु बिलकुल फरकफरक विषय हुन् । नेपाली जनताको चाहना सबलभन्दा पनि सक्षमत, कार्यकुशल र प्रभावकारी सरकार हो । सरकारको सक्षमता कार्यसम्पादनबाट प्रस्टिनुपर्छ । सरकार कति सक्षम रहँदै आएका छन् भन्ने तथ्य राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयन स्थितिबाट स्पष्ट हुन्छ । अब यस्ता कुराहरू सच्चिनु जरुरी छ । आफ्नो कार्यक्षमता देखाउन नसक्ने सरकार जतिसुकै बलियो भए पनि त्यसको कुनै अर्थ हुँदैन ।
देशको आर्थिक विकास नै अब हाम्रो सर्वाधिक ठूलो मुद्दा हो । कोरा भाषण र खोक्रा नाराका भरमा आर्थिक विकासले गति लिने होइन । लगानीकर्ताहरू मुलकमा राजनीतिक जोखिम बढी देख्छन् । अब सही नीति निर्धारण गरी राष्ट्रलाई विकास निर्माणका मार्गमा अघि बढाउनुपर्छ । मुलुकले धेरै लामो समय अलमल र अन्योलमा बिताएको छ । सामाजिक, आर्थिक विकास र औद्योगिकरणलाई गति दिँदै लाभप्रद रोजगारीका अवसरहरू सिर्जना गरी जनजीवनस्तरमा सुधार ल्याउन जरुरी छ । सबै हिसाबले अनुकूल अहिलेको अवसर इमानदारीपूर्वक मुलुक र जनताको हितमा सदुपयोग गर्ने कार्यक्षमता देखाउनुपर्छ । सकारले दिने आश्वासन, व्यक्त गर्ने वाचाको कुनै अर्थ छैन । सरकारले के गर्छ ? त्यो अर्थपूर्ण हुने निश्चित छ ।
अहिलेसम्म जनता अलमल्याउने भन्दा सरकारले अन्य सारभूत कुनै काम गरेकै छैन । नेपाली जनता विकास, परिवर्तन र समृद्धिको नयाँ युगमा प्रवेश गर्न आतुर छन् । त्यसैले, सरकारले अब यसै दिशामा नयाँ प्रारम्भ गर्नुपर्छ । सर्वसाधारण जनताको प्रत्यक्ष हितमा हुने कार्यसम्पादनबाटै सरकारको मूल्यांकन हुने तथ्य स्मरणीय छ । सरकारले आफ्नो शक्ति नेपाल र नेपाली जनताका साझा शत्रु तह लगाउन उपयोग गर्नु आवश्यक छ ।राजधानी दैनिकबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी