मृत्युको ‘कारखाना’ बन्दै वैदेशिक रोजगार, ४५ दिनमै १ सय ६ शव आए

182 Hits

 काठमाडौं– वैदेशिक रोजगारीका लागि विदेश जानु अधिकांश नेपालीका लागि बाध्यता हो। परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने लक्षका साथ दिनहुँ १५ सयको हाराहारीमा नेपाली कामदार विदेशिने गर्दछन्। तर पैसा कमाउन विदेश गएका कतिपय भने काठको बाकस (कफिन)मा आँफै भरिएर आउँछन्।

नेपालको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने हो भने यस्ता कफिन देख्नु नौलो लाग्दैन। तर, सरोकारवालाहरुले बेलैमा ध्यान नपुर्याउँदा कफिनभित्र सजिएर नेपाल फर्किएकाहरुको जीवन संघर्षको कथा तथा परिवारको कारुणिक अवस्था देख्नु/सुन्नु पर्ने वातावरण भने घट्न सकेको छैन।

यसैबीच बिहीबार एकैदिन एकै समय ५ वटा कफिन नेपाल भित्रिएका छन्। बिहीबार भित्रिएका ५ जनाकै वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ।

स्याङ्जाका दिपक बहादुर दर्जी (कुवेत), रोल्पाका लडक बहादुर महरा (कतार), कास्कीका तिर्थ बहादुर विक (कुवेत), मोरङका सुर्यप्रसाद सुवेदी (युएई) र सप्तरीका सरवान कुमार चौधारी (मलेसिया) को शव नेपाल ल्याइएको बोर्डले जानकारी दिएको छ। एकै समयमा कुवेतबाट दर्जी र विकको शव नेपाल आएको छ।

विभिन्न गन्तव्यका लागि विमानस्थल पुगेका यात्रुको बीचमा विदेशमा ज्यान गुमाएका कामदारको शव बुझ्ने आफन्तजन दैनिक विमानस्थल पुग्ने गरेका छन्। विमानस्थलको शव प्रतिक्षालय भित्र दिनहुँ विदेशमा ज्यान गुमाएका कामदारका आफन्तजनको भीड लाग्न गरेको छ। सरदरमा दैनिक २ देखि ३ वटा शव नेपाल आउने गरेको सरकारी तंथ्याकमा उल्लेख छ।

४५ दिनमा १ सय ६ शव आए

चालु आर्थिक वर्ष २०७५/०७६ सुरु भएको ४५ दिनमा वैदेशिक रोजगारीमा गएका १ सय २ पुरुष र ४ महिला गरी १ सय ६ जनाले ज्यान गुमाएको बोर्डले जनाएको छ।

यो अवधिमा सबैभन्दा धेरै साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिकले ज्यान गुमाएको बोर्डको तंथ्याकमा उल्लेख छ। साउदीमा ३५ जना, मलेसियामा ३० जना, कतारमा २३ जना, युएईमा ७ जना, दक्षिण कोरियामा ३ जना र जापानमा १ जनाले रोजगारीमा क्रममा ज्यान गुमाएका छन्।

गत आर्थिक वर्षमा खाडी मुलुक, मलेसिया र अन्य देश पुगेका ९ सयभन्दा बढी नेपालीको मृत्यु भएको थियो। यो अवधिमा सबैभन्दा धेरै मलेसियामा नेपाली श्रमिकले ज्यान गुमाएको देखिन्छ।
विदेशमा ज्यान गुमाएका श्रमिकको शवलाई नेपाल ल्याउँदा लाग्ने खर्च सरकारले ब्योहोर्ने गरेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का