यी हुन् नेकपाका भातृ संगठनमा नेतृत्वका दाबेदार (नामावलीसहित)

629 Hits

काठमाडौं, १० भदौ ।

सत्तारूढ नेकपाका भातृ संगठनहरूमा एकताकाे प्रकृया अगाडि बढिरहँदा नेतृत्व टुंग्याउन सकस देखिएकाे छ । नेकपा माअाेवादी केन्द्र र एमाले निकट संगठनहरूमा अा अाफ्नै नेतृत्व दावी गरेपछि टुंगो लगाउन अध्यक्षहरूलाई नै जिम्मा दिने तयारी भएको अाजकाे नयाँ  पत्रिकामा खबर छ ।

अनेरास्ववियुमा ९ जनाको दाबी
विद्यार्थी कार्यदलले प्रतिवेदन बुझाएपछि एकीकृत संगठन अनेरास्ववियुको संयोजकका लागि ९ जना नेता दौडमा लागेका छन् । तत्कालीन एमाले विद्यार्थी संगठन अनेरास्ववियुबाट उपाध्यक्षहरू रश्मि आचार्य, सुनिता बराल, सैलेश लामा, महेश बर्तौला र महासचिव ऐन महरले दाबी गरेका छन् । संघीय संसद्को सांसद भएपछि अध्यक्ष नविना लामा भने प्रतिष्पर्धामा छैनन् । यस्तै, तत्कालीन माओवादी केन्द्रनिकट विद्यार्थी संगठनको अध्यक्ष रञ्जित तामाङ एकीकृत विद्यार्थी संगठनको संयोजकका लागि लबिङमा लागेका छन् । संगठनमा उपाध्यक्ष सुरेन्द्र बस्नेत, दीपक देवकोटा, पञ्चा सिंह र महासचिव उत्तम अधिकारीलगायतले पनि संयोजक दाबी गरेका छन् । तर, तामाङ नै बलियो दाबेदार देखिएका छन् ।

युवामा पौडेल र सापकोटाको दाबी
युवा संगठनको अध्यक्षमा रमेश पौडेल र रामप्रसाद सापकोटा ‘दिपशिखा’ले दाबी गरेका छन् । पौडेल युवा संघ नेपालका अध्यक्ष र दिपशिखा वाइसिएलका अध्यक्ष हुन् । दिपशिखा पार्टी केन्द्रीय सदस्य भइसकेकाले एकीकृत संगठनको संयोजक आफू हुनेमा पौडेल ढुक्क छन् । तर, दिपशिखाले पनि एकीकृत संगठनलाई उचाइमा पुर्‍याउन आफ्नो आवश्यकता रहेको बताएका छन् । युवा कार्यदलमा नेतृत्व, संगठनको नाम र झन्डाको विषयमा सहमति हुन सकेको छैन । जसकारण कार्यदलले प्रतिवेदन बुझाउन सकेको छैन ।

मजदुरमा श्रेष्ठ र रेग्मीको दाबी
मजदुरका विभिन्न विधाका उपसंगठनहरू भएकाले एकता गर्न सकस भएको छ । धेरै विषय मिल्न बाँकी रहेकाले मजदुर कार्यदलले अझै प्रतिवेदन बुझाएको छैन । तत्कालीन एमालेनिटक मजदुर अध्यक्ष विनोद श्रेष्ठ र माओवादी मजदुर अध्यक्ष गणेश रेग्मीले एकीकृत संगठनको संयोजक दाबी गरेका छन् । मजदुर संगठनमा तत्कालीन माओवादीको पकड भएकाले एकीकृत संगठनको नेतृत्व दाबी गरेको छ भने ठूलो पार्टी भएकाले तत्कालीन एमालेको दाबी छ ।

महिला नेतृत्वमा आ–आफ्नै दाबी
महिला कार्यदलमा संगठनको नाम, नेतृत्व र केन्द्रीय समितिमा रहने सदस्य संख्याबारे सहमति भएको छैन । नेतृत्वका लागि महिला नेत्रीहरू लबिङमा लागेका छन् । संयोजकका लागि तत्कालीन एमालेबाट राधा ज्ञवाली, सीता पौडेल, गोमा देवकोटा तथा तत्कालीन माओवादीबाट उर्मिला अर्याल र अमृता थापामगर लबिङमा छन् । कार्यदलमा संगठनको नाममा सहमति हुन नसकेको कार्यदल सदस्य उर्मिला अर्यालले बताइन् ।

प्रेस संगठनमा ७ जनाको दाबी
प्रेस संगठन नेपालको संयोजकका लागि ७ जनाले दाबी गरेका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालका नेता संयोजकका लागि लबिङमा लागेका छन् । प्रेस चौतारीबाट पूर्वअध्यक्ष गगन विष्ट, अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल तथा प्रेस सेन्टर नेपालबाट अध्यक्ष महेश्वर दाहाल, उपाध्यक्षद्वय बलराम थापा, ओम शर्मा र महासचिव विष्णु सापकोटा ‘जुगल’ले दाबी गरेका छन् ।

किसानमा वामदेवले चाहे अरूले छाड्ने
अखिल नेपाल किसान महासंघको संयोजकमा वामदेव गौतम, प्रेम दंगाल, केशवलाल श्रेष्ठ, हरिबोल गजुरेल र चित्रबहादुर श्रेष्ठको नाम चर्चामा छ । ‘वामदेव गौतम आफैँले इच्छा देखाएका छैनन्,’ एक किसान नेताले भने, ‘तर, पार्टीले गौतम हुनुपर्छ भन्ने अवस्था छ । त्योवेला अरू नेताले सजिलै मान्नेछन् ।’

दलितमा ३ जनाको दाबी
नेपाल दलित मुक्ति संगठनको संयोजकका लागि तीनजनाले दाबी गरेका छन् । तिलक परियार, दलजित श्रीपाइली र बमबहादुर विश्वकर्माले संयोजकमा दाबी गरेका छन् । कार्यदलमा सहमति हुन नसकेपछि तीनजनाकै नाम सिफारिस गरिएको छ । परियार र श्रीपाइली तत्कालीन माओवादी तथा विश्वकर्मा तत्कालीन एमाले नेता हुन् ।

बुद्धिजीवीमा पूर्वएमालेकै २ जनाको दाबी
नेपाल बुद्धिजीवी संघको संयोजकका लागि प्रा.डा. गणेशमान गुरुङ र डा. दिनेशचन्द्र देवकोटा लबिङमा छन् । तत्कालीन माओवादी केन्द्रले संयोजकको अडान छोडे पनि तत्कालीन एमालेका देवकोटा र गुरुङले दाबी गरेका छन् । कार्यदलमा सहमति हुन नसकेपछि दुवैको नाम सिफारिस गरिएको छ ।

जनसांस्कृतिकमा राई र सहयात्रीको दाबी
जनसांस्कृतिक महासंघको संयोजकमा खगेन्द्र राई र सरल सहयात्रीले दाबी गरेका छन् । कार्यदलमा सहमति हुन नसकेपछि दुवैको नाम सिफारिस गरिएको नेता मणि थापाले बताए । राई तत्कालीन एमाले र सरल सहयात्री माओवादीनिकट हुन् ।

मुस्लिममा दुई पूर्वअध्यक्षको दाबी
मुस्लिम इत्तिहात मोर्चाको संयोजकमा पूर्वअध्यक्ष सराज अहमत फारुखी र अतहर हुसेनले दाबी गरेका छन् । फारुखी तत्कालीन एमाले र हुसेन तत्कालीन माओवादीटिकट हुन् । कार्यदलले प्रतिवेदन बुझाए पनि संयोजकको नाम भने सिफारिस गरेको छैन ।

कर्मचारीमा प्याकुरेल र खनालको दाबी
राष्ट्रिय पेसागत महासंघ नेपालका संयोजकका लागि विश्वनाथ प्याकुरेल र प्रेमल खनालले दाबी गरेका छन् । कार्यदलमा नेतृत्व तत्कालीन एमालेनिकटले लिने र सहसंयोजक माओवादीले लिने सहमति भएको थियो । प्याकुरेल र खनालबीच सहमति नहुँदा नेतृत्व टुंगो लागेको छैन ।

मानवअधिकारमा शाही
मानवअधिकार तथा सामाजिक अभियान नेपालको संयोजकमा मीनबहादुर शाही र सहसंयोजकमा हुकुम पोखरेल छानिएका छन् । शाही तत्कालीन एमाले र पोखरेल माओवादीनिकट हुन् । कार्यदलले सहमतिमा प्रतिवेदन बुझाए पनि एकता घोषणासभा हुन भने बाँकी छ ।

कानुन व्यवसायीमा नेपाल
नेपाल कानुन व्यवसायी संगठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दीनमणि पोखरेलको नाम सिफारिस गरिएको छ । नेपाल तत्कालीन एमाले र पोखरेल माओवादीनिकट हुन् ।

इन्जिनियरमा श्रेष्ठ
प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपालको संयोजकमा शम्भुबहादुर श्रेष्ठ र सहसंयोजकमा हरि पराजुली छानिएका छन् । श्रेष्ठ तत्कालीन एमाले र पराजुली तत्कालीन माओवादीनिकट हुन् । २२ संगठनमध्ये इन्जिनियरिङ संगठनले मात्र एकता घोषणासभा गरेको छ ।

Loading...

Related News

प्रचण्डद्धारा म्याग्दीमा विभिन्न स्थलको अवलोकन, म्याग्दीवासी खुशी

काठमाडौं । सोमबार म्याग्दी पुग्नुभएको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले आज बिहान म्याग्दीका विभिन्न स्थलहरुको अवलोकन भ्रमण गर्नुभएको छ ।…

पत्नीको उपचारका लागि प्रचण्ड बेनीमा, प्रचण्डसँगै बादल पनि डुबे  तातोपानीमा

म्याग्दी २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नशा सम्बन्धि रोगबाट थलिएकी श्रीमती…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी