शहीद रामवृक्ष यादवलाई सम्झींदै नेकपा अध्यक्षले भने -‘शहीदहरुको सपना पुरा हुँदैछ’
धनुषा, ३ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री के पी शर्मा ओलीले शहीदहरुको सपना पुरा हुँदै गरेको बताएका छन् ।
धनुषाको बरमझियामा आयोजित महान् सहिद रामवृक्ष यादवको २४ औं स्मृति सभामा सम्बोधन गर्दै उनीहरुले शहीदहरुको सपना पुरा गर्न कम्युनिष्ट नेतृत्वको दुई तिहाई सरकारले काम शुरु गरिसकेको बताएका थिए ।
नेकपा अध्यक्ष एवं पुर्व प्रधानमन्त्री प्रचण्डले नेपालको राजनीतिक परिवर्तन र क्रान्तिमा महान् शहीद रामवृक्ष यादवको वलिदानको सबैभन्दा ठूलो प्रेरणा र योगदान रहेको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले मुलुकमा राजनीतिक आन्दोलन सम्पन्न भई समृद्धिको आन्दोलन थालिएको बताए । दुवैले सहिद यादवको सपना साकार पार्न कटिबद्ध रहेको बताए ।
महान् सहिद रामवृक्ष यादवको २४ औं स्मृति सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड ।। बर्मझिया, धनुषा २०७५ भदौ २ गते शनिवार, दिउँसाे गर्नुभएकाे सम्बाेधनकाे अडियाे…
Posted by क. प्रचण्ड / Comrade Prachanda on Saturday, August 18, 2018
माओवादी जनयुद्धको क्रममा यादवको परिवारका चारजनाको शहादत भएको थियो । माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी रोशन जनकपुरीका अनुसार यादव, उनका छोरा शेखर, ज्वाइँ डम्बरनारायण र अर्को नातामै पर्ने भाइसहित चारजनाको जनयुद्धकै लडाइँमा शहादत भएको हो । यादवकी पत्नी रामकुमारीको काठमाडौं तिनकुनेमा कोठामा ग्यासको चुल्हो लिक भएर निधन भएको थियो ।
यादवकी छोरी सुनिता यादव माओवादी नेतृका रुपमा जिल्लामै क्रियाशील रहेकी छिन् ।
घोषित रूपमा माओवादी जनयुद्ध २०५२ साल फागुनदेखि सुरु भए पनि बरमझियामा सशस्त्र संघर्ष त्यस अघि नै सुरु भइसकेको थियो ।
जनयुद्धको तयारीमा रहेको एकता केन्द्र मसाल र संयुक्त जनमोर्चा नेपालका केन्द्रिय सदस्य यादव सर्वहारा वर्गको नेतृत्व गरिरहेका थिए ।
जनयुद्ध सुरु हुनु पूर्व बरमझियामा दुवै पक्षका गरी ४ जनाको हत्या भएको थियो । ०५१ साल भदौ १ गते संयुक्त जनमोर्चा नेपालले आह्वान गरेको नेपाल बन्द कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा भदौ २ गते उनको गाउँनजिककै कमला नहरनजिक यादवको हत्या भएको थियो ।
कार्यक्रममा प्रचण्डले शान्ति, प्रगति र स्थायित्वका लागि विश्वसमुदायले आफूहरुलाई सकारात्मक साथ दिने बताए । कम्युनिष्ट एकतापछि दुई तिहाई बहुमतको सरकारलाई विश्वले महत्वका साथ हेरेको अध्यक्ष प्रचण्डको भनाई थियो ।
अध्यक्ष प्रचण्डले दुई कम्युनिष्ट पार्टीको एकताले संसार भरिका कम्युनिष्टहरुको ध्यान केन्द्रित गरेको पनि बताए । पार्टी एकता २०१९ सालदेखिको विभाजन र कम्युनिष्ट आन्दोलनको एकिकरणका लागि भएको बताए । एकताबाट बनेको पार्टीलाई कमजोर बनाउन, सरकारलाई काम गर्न नदिने षडयन्त्र भैरहेको भन्दै प्रचण्डले जनताको बलबाट स्थापित शक्तिले सबै प्रतिक्रियावादीहरुलाई परास्त गर्न तयार रहेको बताए ।