दोरम्बाको भयानक नरसंहारबारे जिउँदो शहीद मोक्तानको संस्मरण

95 Hits

काठमाडौं, ३१ साउन ।
आज साउन ३१ गते । आजैका दिन अर्थात साउन अन्तिम दिन रामेछापको दोरम्बामा शाही नेपाली सेनाले २१ जना माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या गरेको थियो ।

२०६० साल साउन ३२ गते रामेछाप, दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा (पुष्प), अम्बिका दाहाल (ललिका), उमा कार्की (सहारा), विष्णुमाया थापामगर (बिमा), विमला, उषा, रक्तिम, हर्कबहादुर तामाङ (यथार्थ, रवि चौहान (समीर), श्याम तामाङ (इन्क्लाब), पदमराज गिरी (असल), ठूलोराम तामाङ (छोक्पा), सानोराम तामाङ (तारा), लक्ष्मण तामाङ (छायाँ, जमिन, सोम, युवराज मोक्तान, लीला मोक्तान, टेकबहादुर थापामगर (विवेक), चतुर्मान थामी (समर)सहित २१ जनाको बर्बरतापूर्वक हत्या गरेको थियो ।

उक्त हत्याकाण्डमा बालबाल बाँचेका मैन कुमार मोक्तानले उत्त काण्डको यसरी गरे स्मरण ।


उनकै शव्दमा ः

युद्धविरामको समय भएकाले हामी अर्धभूमिगत जस्तै थियौं । खुलेआम सदरमुकाम र सुरक्षाफौज भएका ठाउँतिर नगए पनि हामी युद्धको अवस्थामा थिएनौं । ०६० साउन ३२ गते रामेछाप काभ्रे विशेष जिल्ला कमिटीअन्तर्गत इलाका कमिटीको बैठक बस्ने भएकाले हामी दोरम्बातिर लाग्यौं ।

तत्कालीन जिल्ला इन्चार्ज हरि दाहाल ९ललित०, सेक्रेटरी म, जिल्ला जनसरकार प्रमुख बाबुराम लामा ९पुष्प० सहितको टोली गुन्सीबाट दोरम्बातर्फ लाग्यौं । हामीसँग जनमिलिसिया हेडक्वार्टरका कमाण्डर रक्तिम र जनमुक्ति सेनाको सानो टुकडी पनि थियो । युद्धबिरामको बेला भएकाले कुनै भिडन्तको आशंका थिएन ।

युद्धविरामको मौका, त्यसमा पनि तत्कालीन शाही सेना ब्यारेक वरिपरिको केवल ५ किलोमिटर क्षेत्रभन्दा बाहिर निस्कन नपाउने आचारसंहितामा सरकारले सहमति गरेको थियो । सेनाभन्दा करिव २५ कोष टाढा दोरम्बामा पार्र्टी बैठक राखेका थियौं हामीले ।

साउन ३१ गते बेलुका हामी दोरम्बा पुगेर स्थानीय शिक्षक युवराज मोक्तानको घरमा बास बस्यौं । युवराज माओवादीका समर्थक थिए । उनका छोरा लीला पनि हामीसँग आवद्ध थिए । राति हामीले त्यहीँ बसेर योजना बनायौं । इलाका सेक्रेटरी ललिका पनि हुनुहुन्थ्यो । विहान हामी नेताहरुको टिम बसेर इलाका बैठकको योजना बनाउँदै थियौं ।

साथीहरु कोही मेसमा खान बनाउँदै थिए, कोही आराम गर्दै थिए । आ–आफ्नो धुनमा थियौं सबैजना । दोरम्बाको भिरकुनाभन्दा त्यो ठाउँमा सधैं कुहिरोले ढाकेको हुन्छ । साउन मसान्तको दिन सिमसिम पानी र कुहिरोले ढाकेकोको थियो ।

बिहान ११ बजेतिर सेनाले हामी बसेको एरिया घेरा हालिसकेको रहेछ । तर, हामीले चाल पाएनौं । हामी बसेको घरभन्दा केही पर सेन्ट्री बसेकी एकजना बहिनीलाई गोलीले ढालेर उनीहरु अघि बढ्दासम्म हामीले थाहा पाएनौं ।

बैठकस्थलमा आउँदै गरेका टेकवहादुर थापा मगरलाई पनि उनीहरुले कब्जा गरेर हत्या गरेपछिमात्रै हामीले सेना आयो भन्ने थाहा पायौं । तर, त्यतिबेला हामीले केही गर्न सक्ने अवस्था नै थिएन ।

घरभन्दा बाहिर रहेका साथीहरु भाग्न सफल भएछन् । हामी मुख्य टिम घरभित्रै थियौं । घरबाहिर १०÷१२ जना साथीहरु थिए । उनीहरु सेनाले टेकबहादुरलाई समातेर मारेको खबर सुनेपछि भागेछन् । घरभित्र हामी मुख्य नेतृत्वसहित २१ जना थियौं ।

अब के गर्ने भनेर सोच्न नपाउँदै सेना घरभित्र प्रवेश गर्न थालिसकेको थियो । हामी बसेकै घरको करेसाबारीमा प्रदीप दोङ ‘रक्तिम’ लाई पनि हत्या गरेपछि हामी बसेकै ठाउँसम्म बन्दुक पड्केको आवाज आयो ।

युद्धविरामको समय हो, किन आएको भन्ने पनि सोध्न पाइएन । यिनीहरुले मार्छन् भन्ने लागेपछि मैले भागौं साथी हो भनेँ । मचाहिँ घरभित्र माथिल्लो चोटाको झ्यालबाट हामफालेर बारीको कान्लाबाट ठाडै ओरालो भागेँ ।

मेरो पछि–पछि दर्जनौं राउण्ड गोली चल्यो । तर, संयोगवश मलाई एउटै पनि लागेन । ओरालो बाटो, साउनको मकैबारी भएका कारण पनि लुक्दै गोली छल्दै भाग्न सकियोजस्तो लाग्छ ।

जिल्ला इञ्चार्ज हरि दाहाल अलमलमा पर्नुभएछ । उहाँकी पत्नी ललिका, जो इलाका सेक्रेटरी पनि हुनुहुन्थ्यो, उहाँ अलि विरामी भएकाले के गर्ने भन्ने परेछ । तर, उहाँ पनि अन्तिममा ढोकामा उभिएका सेनालाई घचेटेर भाग्दै तल मलाई नै भेट्न आइपुग्नुभयो ।

हामी ओरालो भाग्दै–भाग्दै खोल्सो तरेर पारिपट्टि पुग्यौं । अरु साथी के भए भन्ने थाहा हुनै सकेको थिएन । आँगनमा भएका साथीहरु हामीभन्दा पहिले भागिसकेका थिए । उनीहरु पनि पारि पुग्दा भेटिन थाले । भाग्न सफल भएका १४÷१५ जना जम्मा भएर हामी भागेको घरमा के भयो होला भन्ने चिन्ताले खबर बुझ्न थाल्यौं ।

सेनाले घरमाथि मात्र घेरा हालेकाले हामी भागेर बाँच्न सफल भएका थियौं । यदि घरमुनि पनि घेरा हालेको थियो भने हामी कोही नबाँच्ने रहेछौं ।

हामी उकालो लागेर पारिगाउँमा पुग्दा साथीहरुलाई लहरै लाइन लगाएर हिँडाएको देख्यौं । त्योबेला कुहिरो भागेकाले देख्न सकियो । हामीलाई लाग्यो, साथीहरुलाई गिरफ्तार गरेर लगेको होला । उहाँहरुलाई पनि सायद गिरफ्तार मात्रै गर्ने होला, हत्या गर्दैन भन्ने विश्वासले नै भाग्नुभएन ।

घेरामा पर्नुभएका सबै साथीलाई शाही सेनाले हात पछाडि लगेर डोरीले बाँधेको दृश्य हरि दाहालले अलि परको घरबाट देख्नुभएको रहेछ । हात बाँधेका निहत्था सबैलाई शाही सेनाले १ घन्टा हिँडाएर डाँडाकटेरी भन्ने ठाउँमा पुर्‍याएर लाम लगाएर एक–एक गर्दै गोली ठोकेर मारेको रहेछ ।

हामीले पारिपट्टि बन्दूक पड्केको र महिला साथीहरु चिच्याएको आवाज सुनेपछि शाही सेनाले सिध्यायो भन्ने अनुमान गरिहाल्यौं । साथीहरुलाई लस्करै लाइन लगाएको रहेछ ।

जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङले म कमाण्डर हुँ, जे गर्ने होला मलाई गर, अरु साथीहरुलाई छाडिदेऊ भन्नुभएको रहेछ । त्यसैले अरु सबै साथीहरुलाई मारेपछि उहाँलाई यातना दिएर मारेको भन्ने प्रत्यक्षदर्शीले बताए ।

उनीहरु सबैजनालाई लाइन लगाएर हत्या गरेपछि लासहरु त्यतिकै छाडेर हिँडेछन् । त्यसदिन त्यतिकै रात परेको थियो । हामीले केही साथी पठायौं र लासहरु संकलन गर्न भन्यौं । भोलिपल्ट शवहरु गाडियो ।

त्यो घटनामा जिल्ला जनसरकार प्रमुख बाबुराम तामाङ, इलाका सेक्रेटरी ललिका, जनमिलिसिया प्रमुख रक्तिम, चतुरमान थामी, टेकबहादुर थामा मगर, बिष्णुमाया मगर, पदमराज गिरी, घरधनी युवराज मोक्तान र छोरा लीलालाई पनि सेनाले हत्या गरेको थियो ।

हत्या हुने अरु कमरेडहरुमा उमा कार्की ‘सहारा’, ठूलोराम तामाङ ‘छोप्पा’, सोमई थामी ‘संगिता’, श्याम तामाङ ‘इन्क्लाव’, हर्क घिसिङ ‘यथार्थ’, रवि चौहान ‘समिर’, उषा, हर्कलक्ष्मी राई ‘विमला’, लक्षुमन तामाङ र जमिन लगायतका साथी पनि परे ।

दोरम्बा हत्याकाण्ड तत्कालीन सेनाका मेजरको सनकमात्र थियो कि राज्यले नियोजितरुपमा गराएको थियो रु अहिलेसम्म प्रष्ट छैन । मानवताविरुद्धको अपराध गर्ने शाही सेनाका कमान्डरलाई कारबाही गर्नुको साटो पुरस्कृत गर्नु दुःखद् हो

साथीहरुलाई हत्या गरेको थाहा पाउनासाथ अब के गर्ने भन्ने भयो । त्यतिबेला अहिलेजस्तो सञ्चार सम्पर्क सहज थिएन । मसँग एउटा नोकिया मोबाइल थियो । जिल्ला हेडक्वार्टरले प्रयोग गर्ने सो मोबाइलबाट मैले क्षेत्रीय व्यूरो इन्चार्ज अग्नि सापकोटालाई फोन लगाएँ । उहाँलाई सबै जानकारी गराएपछि आफू सुरक्षित हुन भन्नुभयो ।

त्योबेला आफ्नो च्यानलभन्दा भन्दा बाहिर कसैसँग कुरा गर्न पाइन्नथ्यो । मैले उहाँलाई फोन गरेपछि उहाँले अध्यक्ष प्रचण्डलाई फोन गर्नुभयो होला । त्यसपछि पार्टीले केही समयमै वार्ता भंग गरेर युद्धमा फर्किने निर्णय गर्‍यो । हामी त्यहाँबाट हिँडेर दिमीपोखरी पुग्यौं । यति ठूलो त्रासदी युद्धकालमा कहिल्यै भोगिएको थिएन । नसोचेको घटना भएको थियो ।

दोरम्बा हत्याकाण्डपछि हामीले यसको कारण खोज्न थाल्यौं । हामीले धेरैसँग वयान लिएपछि त्यसक्रममा स्थानीय स्वास्थ्यकर्मी समेत रहेकी रेलिमाया मोक्तान र अर्का एकजनाले खबर गरेर सेना आएको भन्ने थाहा भयो । उनीहरुको पनि हत्या भयो ।

कृष्णजंग रायमाझी नेतृत्वको छानविन आयोगले पनि अनुसन्धान गरेर राज्यबाट युद्दविराम विपरीत निहत्थाको हत्या गरेको रिपोर्ट दिएको थियो । सायद त्यो रिपोर्ट अहिले पनि होला ।

त्यो घटनापछि दोरम्बामा सेनाको ब्यारेक बसेको अहिलेसम्म उठेको छैन । वास्तवमा दोरम्बा हत्याकाण्ड तत्कालीन सेनाका मेजरको सनकमात्र थियो कि राज्यले नियोजितरुपमा गराएको थियो रु अहिलेसम्म प्रष्ट छैन । तर, यसप्रकारको मानवताविरुद्धको अपराध गर्ने शाही सेनाका कमान्डरलाई कारबाही गर्नुको साटो पुरस्कृत गरेर सरकारले शान्ति सेनामा पठायो ।

हामीले पनि केही असावधानीका कारण ठूलो क्षति भोग्यौं कि जस्तो लाग्छ । युद्धविराम भए पनि सेनाको गतिविधि हामीले वाच गर्नुपथ्र्यो । हामी बढी विश्वासमा परेका थियौं । हामीलाई सेनाबाट धोका हुन्छ भन्ने थाहा भएको भए हतियार हामीसँग पनि थियो । तर, हामीले हतियार चलाउनै पाएनौं ।

हाम्रा साथीहरुले बन्दूकहरु दाउराको चाङमा राख्नुभएको रहेछ । केही दिनपछि हामीले त्यो घरमा गएर बन्दूक जहाँ राखिएको थियो, त्यहीँ भेट्यौं । मसँग पनि सानो हतियार थियो, तर चलाउन पाइएन । यदि हामीले पनि हतियार चलाएको भए हाम्रोतर्फ त्यति ठूलो क्षति हुने थिएन होला ।

आज पनि दोरम्बामा मारिएका कमरेडका परिवारका सदस्य भेट्दा हामी भावविव्हल हुन्छौं । अब कहिल्यै त्यस्तो नहोस् भन्नु बाहेक हामी केही गर्न सक्दैनौं । तर, पीडितले न्याय पाउनुपर्छ । हामी त निरन्तर क्रान्तिमा छौं, बाटोमात्र फरक हो ।

-अनलाइनखबरबाट साभार

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी