त्यो घटना : छोराको शव गाड्ने जमिन नहुँदा नदीमा बगाउन विवश परिवार

50 Hits

काठमाडाैं ।संस्कृतिमन्त्री रवीन्द्र अधिकारी, व्यवसायी चन्द्र ढकाललगायत अतिथि ड्यासमा आसीन थिए । उनीहरूकै लाइनमा फोटोग्राफर नरेन्द्र श्रेष्ठको छेउमा फुदन सदा बसेका थिए । फुदन ती व्यक्ति हुन्, जसको मृत छोरा कमल सदा चिहानका लागि एक टुक्रा जमिनअभावका कारण बाढीमा बगाइएका थिए । फुदन सबैको अनुहारमा टुलुटुलु हेरिरहन्थे । उनको निर्दोष अनुहारमा अन्जानपन प्रस्टै देखिन्थ्यो । रोस्ट्रममा गएर बोल्नेहरू सबैलाई जिज्ञासु नजरले हेरिबस्थे । अरूले ताली बजाए बजाउँथे, नबजाए उनी पनि नबजाई बस्थे ।

जब फोटोग्राफर नरेन्द्र श्रेष्ठ रोस्ट्रममा गएर बोल्न थाले । उनले कमल सदाको प्रसंग निकाले । सबैजना नरेन्द्र श्रेष्ठलाई नै हेरिरहेका थिए । तर, फुदन सदा भने अनुहार निन्याउरो बनाएर घरी नरेन्द्रलाई हेर्थे, घरी दर्शकदीर्घातिर । फुदन दुई हात माडिरहन्थे । उनको आँखा आँसुले डम्म भएका थिए । आँखा झिमिक–झिमिक पार्थे । गलामा लगाइदिएको खादा फुदनले समाते । हातमा बटारे । चुराजस्तो बनाएर घुमाइरहे । म्याजिक चप्पलबाट खुट्टा निकाले, फेरि लगाए । काखमा रहेको फुस्रो झोलाको चेन सारिरहे, घरी बन्द गर्थे, घरी खुल्ला ।

उनको अनुहारमा पुरानो घाउ बल्झिएर दुखिरहेको जस्तो देखिन्थ्यो । यो बबरमहलस्थित आर्ट काउन्सिलमा ‘फोटो अफ द इयर’ पुरस्कार वितरण तथा फोटो प्रदर्शनी उद्घाटन कार्यक्रममा देखिएको दृश्य हो । फोटोग्राफर नरेन्द्र श्रेष्ठले खिचेको पानीमा बग्दै गरेको उनै कमल सदाको फोटोले ‘फोटो अफ द इयर’ पुरस्कार जितेको थियो ।

०००
२०७४ साउन । फुदन धरानको रोडमा पाइप बिछ्याउने काम गरिरहेका थिए । ८ वर्षीय छोरा कमल सदा बितेको खबर साँझपख अचानक उनको कानमा प¥यो । उनले छोरा बितेकाले घर जानुपर्ने विवशता ठेकेदारलाई सुनाउँदै ज्याला मागे । तर, ठेकेदारले ‘आज पैसा छैन, भोलि बिहान १० बजेपछि बैंक खुल्छ, अनि दिउँला र जानू’ भने । एउटा बाउको मन कसरी थामिन्थ्यो र ! कमल फुदनका छोरा मात्र थिएनन् ।

रहर, खुसी सपना जे भने पनि त्यही छोरा थियो, उनको । त्यही छोराका लागि उनी रोडमा पाइप बिछ्याउनेदेखि भिरमा सडक खन्नेसम्मको काम गर्न मन्जुर थिए । छोराको मृत्युको खबरले विह्वल बनेका फुदन सदाले भोलिसम्मको बिहान कुर्न सकेनन् । रातारात हिँडेरै जाने निधो गरे । उनले केही लुगा झोलामा खाँदेर धरानबाट बाटो तताए । रातभर हिँडेर सप्तरीको कुलारी गाउँ पुगे । जहाँ उनको झुपडी थियो, जग्गा थिएन र आज छोरा पनि थिएन ।

जमिनदारको जग्गा कमाएर, काम गरिदिएर गुजारा चलाउने फुदनका बा र हजुरबुबाले पनि त्यही काम गर्थे । छोराको शव बगाउनु पर्दाको क्षण स्मरण गर्दै भन्छन्, ‘नबगाएर के गर्नु, घरभर यति पानी थियो (घुँडा देखाउँदै) । पानी नभएको भए पनि जग्गा थिएन, कतै जंगलमा लगेरसम्म ‘राखिन्थ्यो’ होला।’

गाड्ने ठाउँ नपाएकाले उनका दाइले उनी पुग्नुअघि नै छोरालाई सप्तकोशीको उर्लंदो भेलमा बगाइदिएका थिए । फुदनकी श्रीमती विमलीदेवी सदा पुत्रवियोगमा विलाप गरिरहेकी थिइन् । साउनको झरीजस्तै उनी पनि लगातार रोइरहिन् । उनले श्रीमतीलाई सम्झाए । निकै सम्झाएपछि केही दिनमा उनी रुन छाडिन् । फुदन भन्छन्, ‘तर म त रुन सकिनँ, घाँटी सुकेको थियो । शब्द नै रोकिन्थ्यो।’

विदेश जाने चाहना हुँदा पनि उनी जान सकेनन् । भन्छन्, ‘अरब जाने मन त थियो । तर, म गरिब मान्छ, कहाँबाट एक–डेढ लाख ल्याउने ?’ फुदनको सम्पत्तिको नाममा अब विमलीदेवी अनि सानो छोरा मात्रै छन् । काम गरेर सबैभन्दा पहिला जग्गा किन्ने उनको धोको छ । अहिले पुख्र्यौली जमिनदारको १० कठ्ठा जग्गामा धान रोपेका छन् । पाकिसकेपछि आधा जमिनदारले राख्छन् र आधा फुदनको भागमा आउँछ । त्यसले वर्षभरि धान्नुपर्ने हुन्छ । उनी काम खोजेर हिँड्छन् र साथीहरूसँगै ज्यालामजदुरी गर्छन् ।

फोटोग्राफर नरेन्द्र श्रेष्ठले आफूले जितेको एक लाखबाट उनलाई ७० हजार रुपैयाँ दिए । अब घर पुगेर यो पैसाले के गर्नुहुन्छ ? भनेर सोध्दा भन्छन्, ‘अब व्यापार गर्छु । भैँसी किन्ने पनि मन छ । त्योबारे बिमलीसँग सल्लाह गर्छु ।’


फुदनलाई स्वर्गीय छोरा कमल भाग्यमानी लाग्छ । ‘मर्दा त यत्रो मान्छेले चिने, बाँचेको भए झनै ठूलो मान्छे हुन्थ्यो होला,’ फुदन भन्छन् । एउटा बाबुको सन्तानप्रतिको कत्रो विश्वास ! कस्तो सपना ! बितिसक्दा पनि छोरा ‘केही बन्थ्यो’ भन्ने विश्वास ।

उनको अब एक छोरा छन् । फुदन चाहन्छन्, ऊ आफूजस्तै भएर नबाँचोस् । छोराका लागि भए पनि अलिकति जग्गा किनदिने उनको हुटहुटी छ । भन्छन्, ‘मेरो छोराले मैले जस्तै गरी जमिनदारकोमा
बस्नु नपरोस् ।’

उनकी श्रीमती विमलीदेवीले घरको काम धानिरहेकी छिन् । १० कठ्ठा जमिनमा लगाएको अधिया धानको रेखदेख गर्छिन् । छोरालाई स्यााहार्छिन् । फुदन प्रायः घरबाहिर कामका लागि कुदिरहेका हन्छन् । अब फेरि साउन लाग्यो । पीर गर्दै उनी भन्छन्, ‘फेरि बाढी आउने वेला भयो । के गर्ने केही सोचेको छैन ।’

हरेक साउन आएपछि उनीजस्ता धेरै फुदनहरूको ‘निद हराम’ हुन्छ । धेरै कमलहरूले कोमल अवस्थामै संसार त्याग्नुपर्छ । गाडिने जमिन नपाएर पानीमा हेलिँदै अनन्त यात्रामा निस्किनुपर्छ । धेरै फुदनहरूको अधिया बाली नाश हुन्छ र भोकै बस्नुपर्ने अवस्था आइलाग्छ ।

पोहोरदेखि बाढी भन्नासाथ उनी डराउँछन् । जुन महिनाले उसको खुसी र सपनाको फूल चुँडेर लगिदिएको थियो । भन्छन्, ‘बाढी देख्यो कि छोरालाई सम्झिन्छु अनि डर लाग्छ ।’

०००
फुदनको छोरा कमलको लास पानीमा बगेको तस्बिर सार्वजनिक भएपछि त्यो भाइरल बन्यो । एक किसिमको बहस पनि चल्यो । त्यो पीडादायी दृश्यले धेरैलाई स्तब्ध बनायो । कमलको बगिरहेको लासको फोटो देख्नेहरूको मन मर्माहत भयो । धेरैले कमलको आत्माको शान्तिको कामना गरे । कविहरूले त्यो विषयमा कविता लेखे । यसमा पनि विवश पोखरेलले लेखेको कविता सर्वाधिक चर्चित बन्यो :

ढुंगो बनाएर एउटी आमाको मुटु
पानीमा बगाइदिएकी छु
मेरो खुसी-मेरो प्राण-मेरो सपना
जानू, बग्दै बग्दै जानू
जहाँ माटो भेटिन्छ, त्यही टक्क अडिनू
र समाधिस्थ हुनू
तर, फुदन सदालाई यो कविताबारे केही पत्तो छैन । अहिलेसम्म सुनेका पनि छैनन्, उनले । यस कविताबारे जिज्ञासा राख्दा उनले भने, ‘मलाई था’ छैन ।’ जसका बारे कविता लेखियो, उसैलाई आफूमाथि लेखिएको कविताबारे थाहा छैन । हुन पनि हो, फुदन अर्को संसारमा बाँचिरहेका मान्छे हुन् । जसले संसारबारे होइन, बिहान–बेलुकाको गास जुटाउने उपायबारे सोच्नुपर्छ ।

त्यस्तै, त्यही आर्ट काउन्सिलमा पनि पानीमा बगिरहेको छोराको शवको फोटोमाथि हात राख्न लगाएर फोटो पत्रकारहरूले उनको फोटो खिचिरहेका थिए । उनी क्यामेरातिर फर्किरहेका वेला छोराको शवको फोटोतिर हेर्न लगाइन्थ्यो । झोला भिरेका फुदन छोराको फोटोतिर फर्किंदा घरीघरी आँखा चिम्म गर्थे । तर, क्यामेराहरू भने फोटो खिच्नमै व्यस्त थिए । त्यतिवेला पानीमा बगिरहेको छोराको शवको फोटोसँग आफ्नो फोटोभन्दा आफ्ना दुखाइहरूको फोटो आफैँ खिच्न फुदनलाई मन थियो कि!

०००
फोब्र्सले हरेक वर्ष सार्वजनिक गर्ने गर्छ, संसारका सर्वाधिक धनीहरूको सूची । यदि गरिबहरूको सूची पनि सार्वजनिक गर्दो हो त फुदन र कमलजस्ता कति मान्छे त्यो सूचीमा पर्थे होलान्, जसले आफ्नो चिहान बाढीमा खोज्नुपर्छ ।

विश्वमा विभिन्न खोज तथा अध्ययनका लागि प्रसिद्ध स्टाटिस्टाका अनुसार सन् १९०० देखि २०१६ सम्ममा विश्वभर ४५ लाखभन्दा बढी मानिसले बाढीका कारण ज्यान गुमाएका छन् । नेपालमा पनि वार्षिक सयौँले ज्यान गुमाउँछन् । त्यसभित्र पनि आधाभन्दा बढी ज्यान गुमाउनेहरूको नियति कमल सदाको जस्तै हुन्छ । जसको दुई पैताला अड्याउनका लागि आफ्नो जमिन पनि हुँदैन ।

फुदन सदा र कमल सदाजस्ता मानिस कति होलान्, जोसँग करिब ६ फिट लम्बाइ र दुई फिट चौडाइकोे जमिन पनि छैन । उनीहरू मरेपछि पानीमा बग्नुपर्छ । जो आफ्नै देशमा पनि शरणार्थीजस्तो भएर बाँचेका छन् । कमल सदाजस्ता अभागी बालक कति होलान् ? जमिनदारलाई आधा कमाइ दिने फुदन सदाजस्ता मजदुर मानिस कति होलान् ? जसले आफ्नो पसिना पनि बाँडेर बाँच्नुपर्छ । जसको जिन्दगी पनि निजी हुन सक्दैन ।

–नवीन प्यासी/नयाँ पत्रिका
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी