जोशीको विषयमा चौतर्फी विवाद, पक्षमा कांग्रेस सडकमा, के होला आज ?

61 Hits

काठमाडौं, १६ साउन /

प्रधानन्यायाधिश नियुक्तिको लागि सुनुवाई प्रक्रियामा रहेका कामु प्रधानन्यायाधिश दीपकराज जोशीको नाममा सर्वसम्मति जुट्न सकिरहेको छैन । उनले सुनुवाई समितिलाई दिएको जवाफ चित्तबुझ्दो नभएको देखि उनले पेश गरेका शैक्षिक योग्यताको प्रमाण पत्रहरुबारे पनि प्रश्नहरु उठेका छन् ।


उनको बारेमा विवाद आएपछि सुनुवाई समितिको बैठक केही दिनदेखि स्थगित रहेको छ । आज पुन समितिको बैठक बस्ने कार्यसूची रहेको छ तर आजको बैठकमा के हुन्छ यसै भन्न सकिने स्थिति छैन ।
सत्तारुढ नेकपाले उनको पक्षमा धारणा बनाइसकेको छैन भने प्रतिपक्षी कांग्रेसले उनलाई कुनै हालतमा पनि सिफारिस गर्नुपर्नै अडान राख्दै आन्दोलनसमेत शुरु गरिसकेको छ । स्वतन्त्र न्यायलयको पक्षपाती कांग्रेसले मैदानमै उत्रिएर जोशिको पक्षमा लविंग गरेर न्यायलयमा राजनैतिक हस्तक्षेप कायम गर्न खोजेको देखिएको छ ।

सुनुवाइ भएको ६ दिन पुगिसक्दासमेत संसदीय समिति निर्णयमा पुग्न सकेको छैन । प्रधानन्यायाधीश हुनुअघि नै शैक्षिक प्रमाणपत्रदेखि फैसलासम्मका विषयमा चौतर्फी विवाद भएको भन्दै सत्तारुढ नेकपा जोशीको नाम अनुमोदन नगर्ने पक्षमा छ । गत बिहीबार सुनुवाइ सकिए पनि पार्टीभित्र थप छलफल गर्ने भन्दै नेकपाले बिहीबार, शुक्रबार र आइतबारको बैठक स्थगित गर्न आह्वान गरेपछि सरेको थियो ।

सोमबारको बैठकमा सत्तारुढ दलले जोशीलाई सर्वसम्मत अस्वीकृत गर्ने प्रस्ताव समिति बैठकमा राखेपछि कांग्रेसबाट समितिमा रहेका सांसदले पार्टी नेतृत्वसँग छलफल गर्नुपर्ने समय मागेका थिए । मंगलबार कांग्रेस देशव्यापी आन्दोलनमा रहेकाले आज (बुधबार) अपराह्न ३ बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।

जोशी अस्वीकृत हुनुपर्नाका कारण
संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ ।

समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा १० कक्षा पढेको र नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका परीक्षा दिएको बताएका छन् । ‘०२७ मा विजय मेमोरियल स्कुलबाट एसएलसी अर्थात् त्यसवेला भनिने प्रवेशिका परीक्षा दिएको प्रमाण भेटिएको छ । उनको सिम्बोल नम्बर १२५८ बी हो,’ समिति स्रोतले भन्यो ।

त्रिविको नेपाल ल क्याम्पसमा जोशीले बुझाएको प्रोगेस रिपोर्टमा विजय मेमोरियल स्कुलबाट प्रवेशिका परीक्षा दिएको र त्यतिवेलाको सिम्बोल नम्बर ३६६७ भनिएको छ । उनकै अर्को शैक्षिक प्रमाणपत्रमा नेपाल राष्ट्रिय विद्यापीठबाट ३६६७ सिम्बोल नम्बरमा प्रवेशिका परीक्षा दिएको उल्लेख छ । ‘विजय मेमोरियल र नेपाल राष्ट्रिय विद्यापीठ दुवैबाट प्रवेशिका दिए । दुवैको सिम्बोल नम्बर एउटै भएको डकुमेन्टमा उल्लेख छ, एउटा संस्कृत स्कुल अर्को जनरल स्कुल । यस्तो कसरी हुन्छ ?’ स्रोतले भन्यो ।

डिल्लीबजारको विजय मेमोरियल स्कुलबाट जोशी वीरगन्जमा संस्कृत पढ्न गएकोसमेत जनाइएको छ । स्रोतका अनुसार दुईतिर कसरी एउटै सिम्बोल नम्बर भयो भन्ने प्रश्नमा जोशीले आफूले टेस्टसम्म विजय मेमोरियल र त्यसपछि नेपाल राष्ट्रिय विद्यापीठमा पढेकाले त्यस्तो भएको भन्ने अपत्यारिलो जवाफ दिने गरेका छन् ।

जोशीले आफ्नो दाबी गरेको सिम्बोल नम्बरमा हिमबहादुर लेकाली

-क्याम्पसमा जोशीले पेस गरेको प्रोगेस रिपोर्टमा विजय मेमोरियलबाट ०२९ मा एसएलसी गरेको उल्लेख छ । तर, उनले ०२७ मा एसएलसी दिएको अर्को डकुमेन्ट सुरक्षित छ । ‘परीक्षा नियन्त्रण कार्यालयमा हेर्दा ०२९ मा ३६६७ सिम्बोल नम्बरमा हिमबहादुर लेकालीले परीक्षा दिएको भेटिन्छ । लेकालीले नारायण विद्या मन्दिर हाईस्कुल काठमाडौंबाट परीक्षा दिएका हुन् ।

जोशीको सर्टिफिकेटले यो सिम्बोल नम्बर जोशीकै हो र ०२९ मा विजय मेमोरियलबाट एसएलसी दिएको भन्ने छ । तर, ०२९ मा विजय मेमोरियलको एसएलसीको सिम्बोल नम्बर १५१७३ देखि १५२३० सम्म मात्र छ । ०२९ को लिस्टमा दीपकराज जोशी भन्ने मान्छे नै छैन,’ स्रोतले भन्यो ।

जन्ममितिसमेत फरक

विजय मेमोरियलबाट ०२७ मा एसएलसी दिएका जोशीको जन्ममिति २४ कात्तिक ०११ भन्ने उल्लेख छ । तर, अन्य डकुमेन्टमा जोशीको जन्ममिति एक महिनाअघि अर्थात् २४ असोज ०११ छ । स्रोत भन्छ, ‘जन्ममितिदेखि सर्टिफिकेटसम्म विवादास्पद छ ।’ जोशीको विजय मेमोरियल स्कुलमा अध्ययन गर्दाको कक्षा ९ को सर्टिफिकेट र कक्षा १० को सर्टिफिकेटमा विद्यालयको लेटरहेड नै फरक भेटिएको छ ।

एउटा लेटरहेडमा विद्यालयको नाम अंग्रेजी अक्षर ‘बी’ र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यति मात्र नभई एउटै स्कुलको नाम लेटरहेडमा विजय लेख्दा एउटामा ‘बी’बाट र अर्कोमा ‘भी’बाट सुरु भएको छ । त्यस्तै विद्यालयको नामलगत्तै एउटामा ‘को एजुकेसन’ र अर्कोमा ‘गभर्मेन्ट रेकोग्नाइज्ड…’ भनिएको छ ।

समितिको अंकगणित

१५ सदस्यीय समितिको ‘सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट अस्वीकृत नभए अनुमोदन भएको मानिने’ भन्ने संसद् नियमावलीमा व्यवस्था छ । समितिका १५ मध्ये १० जना सदस्यले प्रस्तावित नाम अस्वीकृत नगरे संवैधानिक परिषद्ले सिफारिस गरेको नाम अनुमोदन हुनेछ ।

तर, समितिको सम्पूर्ण सदस्यको दुईतिहाइ बहुमतबाट अस्वीकृत भए प्रस्तावित नामको व्यक्ति सम्बन्धित पदमा नियुक्त हुन नसक्ने व्यवस्था छ ।

हालको सुनुवाइ समितिमा नेकपाका नौ र फोरमका एक गरी सत्तारुढ दलको १० अर्थात् दुईतिहाइ छ । कांग्रेसका चार र राजपाबाट एकजना सुनुवाइ समितिमा सदस्य छन् । राजपाका लक्ष्मणलाल कर्णले ज्येष्ठताका आधारमा समितिको अध्यक्षता गरिरहेका छन् । मत विभाजन भई निर्णायक मत दिनुपर्ने अवस्था नआएसम्म उनले मतविभाजनमा सहभागिता जनाउन पाउनेछैनन् ।

-नयाँ पत्रिकाबाट

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी