बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको दाहसंस्कार गरियो
साउन १४, काठमाडौं, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको दाहसंस्कार गरिएको छ । बालिका पन्तको केही दिनअघि बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा शव फेला परेको थियो ।
घटनालाई लिएर कञ्चनपुरमा व्यापक विरोध प्रदर्शन भएको थियो । प्रदर्शनकारीहरुले बलात्कारमा संलग्नहरुलाई पक्राउ परेर कारबाही गर्न र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरेका थिए । उनीहरुले दोषीलाई कारवाही नगर्दासम्म शव उठाउन नदिने अडान लिएका थिए ।
स्थानीय प्रशासनले घटनामा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने आश्वासन दिएपछि स्थानीयले शव उठाउन दिएका हुन् । पीडित पक्ष र प्रहरीबीच शव उठाउने सहमति भएपछि बालिका पन्तको आज अन्त्येष्टि गरिएको हो ।