मन्त्रीको हातमा म्याकबुक, मन्त्रिपरिषद् बैठक अब कागजबिहीन !
काठमाडौं– केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले कागजको ठाउँमा म्याकबुक ऐर को प्रयोग गर्न थालेको छ । मन्त्रिपरिषद् बैठकलाई ‘पेपरलेस’ बनाउने सरकारी नितिअनुरुप प्रधानमन्त्री र मन्त्रीहरुले कागजको साटो म्याकबुक ऐरको प्रयोग गर्न थालेका छन् ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले मन्त्रिपरिषद्को बैठक कागजबिहिन हुने क्रममा रहेको बताए । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकमा पनि यही अभ्यानअनुसार प्रधानमन्त्रीसहितका मन्त्रीहरुले म्याकबुकको प्रयोग गरेका छन् ।
मन्त्रिपरिषद् कार्यालयको सूचना प्रविधि शाखाले साउनदेखिका मन्त्रिपरिषद् बैठकमा कागज प्रयोग नगर्ने नीति अख्तियार गरेको थियो । सोहि अनुसार बिहिबारको बैठकमा पहिलो पटक कागज प्रयोग नगरिएको हो ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सबै मन्त्रीका हातमा म्याकबुक हुनेछ भने बैठकका विषय मन्त्रीहरूलाई इमेल गरिनेछ। त्यही हेरेर मन्त्रीले छलफलमा भाग लिनेछन्।
यसअघि नै प्रधानमन्त्री कार्यालयले मन्त्रीलाई ‘म्याकबुक ऐर’ खरिद गरिदिन सबै मन्त्रालयलाई पत्राचार गरेको थियो। सबै मन्त्रीलाई समान किसिमको ल्यापटप होस् भनेर प्रधानमन्त्री कार्यालयले तोकेरै ‘म्याकबुक ऐर’ खरिद गर्न भनेको हो।