चौकीदार बन्न नख्खु कारागारमा आफ्नै साथीको हत्या गराए सिरीयल किलर सिंहले

32 Hits

ललितपुर-

गत वैशाख २२ गते ललितपुरको नख्खु कारागारमा कैदी भक्तबहादुर सुनारको रहस्यमय मृत्यु भयो । कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गर्दै आएका भक्तबहादुर वैशाख १९ गते अचानक बिरामी परेका थिए । बर्दियाको साविकको ठाकुरद्धार गाविस–५ घर भएका ३२ वर्षीय भक्तबहादुरलाई एकै पटक ज्वरो आउने, वान्ता आउने र ब्लड प्रेसर कम भएको थियो ।

बिरामी परेपछि उनलाई बेलुका ८ बजे उपचारका लागि वीर अस्पताल लगियो । आइसियुमै राखेर उपचार गराउनु पर्ने अवस्थामा देखिएपछि वीर अस्पतालमा आइसियु खाली नभएको भन्दै उनलाई २१ गते राति पाटन अस्पताल लगियो । पाटन अस्पतालमा उपचारको क्रममा उनको बेलुका ८ बजे मृत्यु भयो । उक्त मृत्युको घटना रहस्मय भन्दै गृहमन्त्रीसम्म पुगेपछि छानविन समिति नै बनाएर छानविन गरिएको थियो । छानविनपछि भक्तबहादुरको हत्या योजना जेलमै बनेको र उनको षडयन्त्रपूर्व विष खुवाएर हत्या गरिएको देखिएको छ ।

यस्तो छ घटना

मृतक भक्तबहादुरले कारागारको आन्तरिक प्रशासनमा हुने गरेको अनियमितताका बारेमा गृहमन्त्रीलाई सम्बोधन गरी पत्र लेखेको फेला परेपछि घटना रहस्यमय भन्दै छानविन गरिएको थियो । घटनाको छानविनका लागि कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको नेतृत्वमा ५ सदस्ययी समिति गठन भयो ।

समितिले उक्त घटना गम्भीर रहेको भन्दै कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्नु पर्ने भन्दै गृहमन्त्री रामबहादुर थापा बादल समक्ष प्रतिवेदन पेश गर्यो । त्यसपछि गृहमन्त्री कै निर्देशनमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले घटनाको अनुसन्धान सुरु गरेको थियो । सिआइबीको अनुसन्धानले भक्तबहादुरलाई योजनाबद्ध तरिकाले तीन जना मिलेर विष खुवाएर हत्या गरिएको देखिएको छ । सिआइबीले तीनैलाई दोषी बनाउँदै मुद्दा दर्ता गर्न लागेको छ ।

सिआइबीले भक्तबहादुरको हत्यामा मुख्य योजनाकार अभिषेकराज सिंह भएको जनाएको छ । नख्खु जेलमै रहेका अभिषेकको योजनामा भक्तबहादुरको हत्या भएको सिआइबीको अनुसन्धानले देखाएको छ । अभिषेकको योजनामा वनस्पतिजन्य पदार्थको विष बनाएर उनको हत्या गरिएको हो । अभिषेकले खाना विष हाली भक्तबहारदुरको हत्या गर्ने र योजनाबद्ध ढंगले जेल प्रशासन र आन्तरिक प्रशासन तथा तत्कालीन चौकिदारलाई दोषी साबित गराई आन्तरिक प्रशासनमा आफ्नो बर्चश्व स्थापित गर्दै चौकिदारको पद प्राप्त गर्न भक्तबहादुरको हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।

अभिषेक राजले बिष तयार पोरर भक्तबहादुरलाई खुवाउन मनोज कुमार चौरसियाको सहयोग लिएका थिए । बिष बनाउन आवश्यक पर्ने बनस्पतिजन्य पदार्थ धु्रबकृष्ण शर्माले जेल भित्र पुर्याउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । यीनै तीन जनालाई दोषी बनाउँदै मुद्दा दायर गर्न सिआइबीले सरकारी वकिलको कार्यालय ललितपुरमा रायसहितको प्रतिवेदन पेश गरेको छ । मृतक भक्तबहादुरले जेलको आन्तरिक प्रशासनमा भएका कमिकमजोरी र आफूमाथि भएको दृव्र्यवहारबारे गृहमन्त्रीलाई लेखिएको भनिएको पत्र पनि नक्कली भएको अनुसन्धानबाट खुल्न आएको छ ।

अभिषेक सिंहकै योजनामा जवरजस्ती मृतक भक्तबहादुरलाई पत्र लेख्न लगाएको पाइएको छ । मर्नु एक दिन अघि अभिसेक सिंहले उनलाई पत्र लेख्न लगाएका थिए । त्यो पत्र अभिषेक सिंहले धु्रबकृष्णलाई मृतकको दाजुलाई दिनु भनि लगाएको पाइएको छ । धु्रबकृष्णले उक्त पत्र ललितपुरको एक साइबरबाट स्क्यान गरी गृहमन्त्रालयमा मेल गरी पठाएको खुल्न आएको छ ।

भक्तबहादुरको हत्या गर्ने को हुन् अभिषेक ?

भक्तबहादुरको हत्या योजनाका मुख्य योजनाकार अभिषेक सिंह ज्यान उद्योगमा सजाय भोगिरहेका व्यक्ति हुन् । अभिषेकलाई सिरियल किलर पनि भनिन्छ । उनले ४ वटा भन्दा बढी हत्या गरेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–४ घर भएका अभिसेक सिंह भक्तपुर जिल्ला अदालतबाट ३५ वर्ष, सुर्खेत र जनकपुरबाट २०÷२० वर्ष जेल सजाय सुनाएका व्यक्ति हुन् ।

उनले विगतमा पनि सुर्खेत, भक्तपुर, जनकपुर र रुपन्देहीमा उनले विषादी प्रयोग गरी ज्यान मार्ने उद्योग गरेको पाइएको थियो । हत्या गर्न अभिसेक सिंहलाई सहयोग गर्ने अर्का व्यक्ति हुन् मनोजकुमार चौरसिया । सप्तरीको बैरवा गाउँपालिका–८ घर भएका ३५ वर्षीय चौरसिया बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट ५ वर्ष कैद र २८ करोड जरिवाना सुनाइएका व्यक्ति हुन् ।

उनले भक्तबहादलुरलाई मार्न खानामा मिसाएर विष मिसाएर खुवाउने काम गरेका थिए । त्यस्तै अर्का आरोपति ३० वर्षीय धु्रबकृष्ण शर्मा दोलखाको बैतेश्वर गाउँपालिका–६ स्थायी बासिन्दा हुन् । उनी २०७२ कात्तिक १६ गते चोरी मुद्दामा ललितपुर जिल्ला अदालतका आदेश अनुसार ४५ दिन कैद र २ लाख ४० हजार जरिवाना हुने फैसला भई २०७३ माघ १७ गते जेलमुक्त भएका व्यक्ति हुन् । उनले विष बनाउने वनस्पति ल्याउने र चिठी गृहमन्त्रालयमा मेल गर्ने काम गरेका थिए ।

-samachardainik.com

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी