हिन्दुले फेर्नुपर्ने मृत्यु संस्कार

73 Hits

-किरण विक-


पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि गर्न दिएनन् । बरु सपरिवार चुनावी कार्यक्रम गर्दै हिँडे । आमसभाहरू बीचै श्रद्धाञ्जली सभाहरू भए । यसबारे सकारात्मक, नकारात्मक अनेक टिप्पणी भए । वास्तवमा हिन्दु धर्म निर्देशित मृत्यु सम्बन्धी कर्मकाण्डमा ब्यापक सुधार आवश्यक छ ।

पुरातन समाजमा जे–जे कारणले ठिक भए पनि आधुनिक समाजमा यस्तो चलन कुनै मानेमा ठिक छैन । बदलिँदो नेपाली समाजमा मृत्यु संस्कार एकदमै अव्यावहारिक देखिन्छ ।

मान्छे मरेपछि परिवारजनलाई धेरै पीडा हुन्छ । त्यस्तो शोकमा पनि १३ दिनसम्म कोठाको कुनामा एकसरो कपडामा कपाल खौरिएर, महिलाको हकमा नखौरिएरै एकछाक निस्तो भातमात्र खाएर कसैलाई नछोई बस्नु विलकुल अव्यावहारिक छ । मान्छे मर्नु भनेको अकल्पनीय र अपुरणीय क्षति हो । त्यस्तो पीडामा त झन् धेरैभन्दा धेरै मान्छेका बीचमा बस्नुपर्ने हो । बढीभन्दा बढी मान्छेका काखमा रहनुपर्ने हो ।

धेरैभन्दा धेरैले शोकमा परेकाहरूको मन बहलाउन सहयोग गर्नुपर्ने हो । छुनै नमिलेपछि परैबाट गरिने सम्झाइ–बुझाइ प्रभावकारी हुँदैन । कसैको अँगालोमा हुँदा धेरै रुन मन लाग्छ । धेरै रोयो भने आसुँबाट पीडाहरू छिटो बग्छ । मन हल्का हुन्छ । अरूले परबाट टुलुटुलु हेर्दैमा पीडा कम हुँदैन । हिँड्दा, डुल्दा कसैलाई छोइन्छ कि भनेर चनाखो हुनुपर्ने भएकाले अझ झन्झट थपिएको छ, यस्तो प्रचलनले ।

धेरै रुँदा शरीरको धेरै शक्ति नाश हुन्छ । २४ घन्टामा जम्मा एकपटक खाएपछि त शरीर कमजोर हुने नै भयो । यो त पीडामाथि अर्को पीडा हो । त्यसमाथि नुन खान पनि वर्जित छ । निस्तो भात र घिउमात्रै खाने चलन छ, त्यो पनि आफैंले पकाएर । शरीरमा शक्ति नभएको बेलामा आफै पकाउनु दुखिया काम हो । त्यही भएर १३ दिने किरिया बस्दा कति आफैं मरेका छन् ।

अर्कोतर्फ समयको महत्त्वका हिसाबले पनि १३–१३ दिन ९कसैको ७ दिन० सम्म किरिया बस्नु अत्यन्तै अव्यावहारिक छ । १–१ घन्टाको महत्त्व भएको युगमा १३ दिन निकै बढी हो ।

किरिया बस्ने क्रममा परिवारका धेरै मान्छे संलग्न हुन्छन् । उनीहरू सबैको दैनन्दिन कार्य रोकिन्छ । बैठक, अन्तर्वार्ता हुन्छ, यात्रा, लेनदेन सबै काम पछिलाई सर्छन् । कति कामहरू गर्न फेरि अर्को समयनै आउँदैन । हुन त एकपटक मर्ने मान्छेका लागि १३ दिन पनि समय नदिने भन्ने तर्क पनि छ । तर १३ दिन भनेको अति धेरै समय हो । मृत्यु एउटा अनिवार्य सर्त हो, जीवनको । मृत्यु हुँदा दुस्ख मनाउनु पनि पर्छ । तर यति धेरै दिन होइन । शोकमा परेकाहरू जति सक्यो, छिटो सामान्य दैनिकीमा फर्किन सक्छन्, उति नै उनीहरूको पीडा कम हुन्छ ।

लामो मृत्यु संस्कार हाम्रो परिवार र समाजको विकासको गतिको अवरोध पनि हो । यो जमानामा १३ दिनसम्म किरिया बस्नु असाध्यै महँगो पनि छ । एउटा मध्यम स्तरको नेपालीलाई त परिवारका सदस्यको मृत्युले ऋण नै बोकाउँछ । त्यतिबेला भेट्न र दुस्ख बाँड्न पर–परका आफन्त पनि आइरहेका हुन्छन् । उनीहरूलाई चिया नै खुवाउँदा पनि ठूलो खर्च लाग्छ । अझ चोखिने अन्तिम दिनको खर्च त छुट्टै छँदैछ ।

सुरुका केही दिन आफन्तको मृत्यु एकदमै अपत्यारिलो हुन्छ, फर्केर आई पो हाल्छ कि जस्तो । दाहालले छोराको मृत्युपछि नयाँ घरमा बसाइ सरे, यो पनि व्यावहारिक रूपमा सही छ । किनभने त्यो घरसँंग प्रकाशको धेरै सम्झना जोडिएको थियो । त्यही घरमा बसुन्जेल प्रकाशलाई बिर्सन सजिलो थिएन । तर सबैले घर फेर्न सक्दैननन् । त्यसो भए के गर्ने त रु शोकमा परेका बेलामा सुधारका कुरा सोच्न भ्याइन्न । त्यस्तो माहोलमा अचानक सुधारका कुरा गर्नु अपाच्य पनि हुनसक्छ ।

मृत्यु संस्कार फेरि बडो भावनात्मक हुन्छ । सबै विधि प्रक्रिया पुर्‍याएर बितेर गएकाको स्वर्ग जाने बाटो सहज बनाइन्छ । अलिकति पनि विधिमा तलमाथि भयो भने मृतकको आत्मा बीचमा भड्किन्छ भनिन्छ । तर मृत्यु संस्कारको अवधि घटाउन सकिन्छ । त्यसका लागि मृत्युअघि व्यक्ति आफैंले परिवारका सदस्यलाई भन्नुपर्छ– मेरो काजकिरिया थेरै दिन गर्नु । त्यसपछि बितेको मान्छेको खुसी भनेर परिवारका सदस्यले पनि अवधि घटाउन सक्छन् । खासमा मृत्यु संस्कार ३–५ दिनमा सकाउनु सबैभन्दा उत्तम हुन्छ ।
(सान्दर्भिक लागेर कान्तिपुरबाट साभार गरिएको सं)

Related News

महिला र बाल अधिकारबारे अहिले नबोले कहिले बोल्ने ?

-लक्ष्मी बस्नेत– ‘बालश्रमको प्रयोग नगरौं’ यहि भावको नारा बनाएर गएको जुन १२ मा बालश्रम विरुद्धको दिवस मनायौं । हामी वर्षैंदेखि…

घातक बन्दै सामाजिक सञ्जाल

-शैलेन्द्र थापा- साउदी अरबबाट इमो, भाइबर र फेसबुकमार्फत चिठ्ठा परेको छ भनेर ठगी गर्ने समूहका नौ जना केही समयअघि पोखराबाट…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी