विप्लव र राउतको ‘साइज’ बढेको सेनाको रिपोर्ट र राजनीतिक तरंग

131 Hits

काठमाडौं- तराईमा सीके राउत र पहाडमा विप्लव माओवादीको ‘साइज’ बढेको रिपोर्ट जंगीअड्डाले सरकारलाई बुझाएको छ।

राजनीतिक तहको सतर्कता र सरोकारको अपेक्षासहित सेनाले रिपोर्ट बुझाएपछि राजनीतिक नेतृत्व तरंगित भएको छ। सेनाको यो रिपोर्ट रक्षा मन्त्रालयमार्फत् प्रधानमन्त्री, राष्ट्रपति र राष्ट्रिय सुरक्षा परिषद्‌मा पनि पुगेको छ। प्रधानसेनापति राजेन्द्र क्षत्रीले प्रधामन्त्री र राष्ट्रपतिलाई भेटेर यसबारेमा ‘ब्रिफिङ’ गरिसकेका छन्। दुई दिनसम्म जंगीअड्डामा चलेको जर्नेल सम्मेलनमा प्रस्तुत देशभरको सुरक्षा अवस्था र छलफलका आधारमा सेनाले रिपोर्ट तयार गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अचानक मुख्य दलका नेताहरूलाई शीतल निवास डाक्नुको पछाडिको पृष्ठभूमि सेनाको त्यही रिपोर्ट र ‘ब्रिफिङ’ थियो । साँझतिर शीतलनिवास पुगेका नेताहरूलाई राष्ट्रपतिले गम्भीर मुद्रामा अतिवादीहरूले टाउको उठाउन लागेको भन्दै त्यसमा सचेत हुन आग्रह गरेकी थिइन् । खासगरी, तराईमा सीके राउत समूहको गतिविधि र पहाडी भेगमा विप्लव माओवादीको सक्रियतालाई संकेत गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेकी हुन्।

सेनाले सरकारले बुझाएको रिपोर्टमा अतिवादी तथा विखण्डनकारीहरूको सक्रियताले ‘सुरक्षा थ्रेट’ बढाउने चिन्ता व्यक्त गर्दै यसलाई बेलामै सम्बोधन गर्न सुरक्षा रणनीति र राजनीतिक तहमा विमर्श हुनुपर्ने सुझाव दिएको छ । विप्लव र राउतबीचको कनेक्सन र त्यसमा हुनसक्ने बाह्‌य र आन्तरिक घुसपैठबारे पनि राजनीतिक तहमा अध्ययन र विश्लेषण हुनुपर्ने सेनाको निश्कर्ष छ । राउतको आफ्नै संगठन र प्रभाव कमजोर भए पनि विप्लवसँगको कनेक्सनले त्यो चुनौतीपूर्ण हुनसक्ने देखिएको छ । यसमा हिन्दुवादी तथा राजावादीहरू पनि जोडिन सक्ने आशंका गरिएको छ।

स्रोतका अनुसार आगामी दिनमा राजनीतिक स्थिरता तथा राष्ट्रिय सुरक्षाका लागि अति हिन्दुवादी, उग्र वामपन्थी र क्रिस्चियन सक्रियता चुनौतीपूर्ण हुनसक्ने विश्लेषण सेनाले गरेको छ । यी तीन वटा आवरणमा अतिवाद मौलाउने खतरातर्फ सेनाले पहिलेदेखि नै राजनीतिक नेतृत्वलाई सूचित एवं सचेत पनि गराउँदै आएको छ । हिन्दुत्वमा दक्षिणी छिमेकीको सद्‌भाव छ भने क्रिस्चियानिटीको कभरमा पश्चिमा स्वार्थ हावी भएको छ । नेपालमा क्रिस्चियानिटी विस्तारप्रति चीनले पनि पटक-पटक चिन्ता र चासो व्यक्त गर्दै आएको छ।

सेनापतिले कुनै पनि आवरणमा विखण्डनकारी र अतिवादी सक्रियता सह्‌य नहुँने भन्दै पटक-पटक सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। सेनापति राजेन्द्र क्षत्रीले पहाड तथा तराईका ब्यारेकहरूमा गरेको शृखंलावद्ध भ्रमणका क्रममा स्थानीय कमान्डरहरूलाई यसबारेमा सचेत गराएका थिए।

माओवादी एकतासँग असमहत भएको माओवादीको एउटा तप्का यतिबेला विप्लवसँग नजिकिएको छ भने एकतामा सामेल नभएको र संविधानमा समेत असन्तुष्ट रहँदै आएको मोहन वैद्य नेतृत्वको माओवादी ‘विप्लव लाइन’तिर ढल्किएको छ। ‘प्रचण्ड कम्युनिस्ट नरहेकाले अब उनीसँग कुनै सहकार्य र एकता हुननसक्ने’ वैद्यको पछिल्लो अभिव्यक्तिले पनि त्यही संकेत दिएको छ ।

दलहरूको ‘आन्तरिक इन्टेलिजेन्स’मा पनि विप्लव र राउतहरूको सक्रियता बढेको रिपोर्ट प्राप्त भए पनि त्यसलाई बाहिर ल्याएका छैनन् । आन्तरिक छलफलमा भने नेताहरूले कार्यकर्ता तहमा यो चिन्ता व्यक्त गर्न थालेका छन् ।

प्रचण्डले एमालेसँग एकता गरेपछि नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले संगठन विस्तारका लागि उपयुक्त वातावरण बनेको निश्कर्ष निकाल्दै असन्तुष्टहरूलाई आफ्नो मोर्चामा समेट्ने रणनीति बनाएको छ। एकतापछि पहाडी इलाकामा विप्लवको सक्रियता बढेको देखिन्छ । पछिल्लो समय विप्लवले हिंसात्मक त्राससँगै राजनीतिक प्रभाव पनि बढाएका छन् । विप्लवको गठबन्धनमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सामेल भइसकेका छन् । २२ चैतमा विप्लवकै पहलमा चार कम्युनिस्ट घटकहरूको बैठक बसेर नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने आधार तय गर्न छलफल र बहस अघि बढाउने निर्णयसहित संयुक्त विज्ञप्ती सार्वजनिक गरेका थिए । त्यसमा चुनावमा एमालेसँग सहकार्य गरेर एक सिट जित्‍न सफल जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन वैद्य, ऋषि कट्टेल र खड्गबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका छन् ।

‘छुट्टै मधेश देशको माग गर्दै’ पृथकतावादी अभियान चलाउँदै आएका सीके राउत मधेश आन्दोलनदेखि नै सुरक्षा निगरानीमा छन्। उनी पटक-पटक पक्राउ पर्दै छुट्दै आएका छन् । पहिले डेरामा बस्दै आएका राउतले अहिले जनकपुरमा आफ्नै घर बनाएका छन् । ‘मधेश स्वराज’ नामको पुस्तकमा उनले आन्दोलनलाई प्रभावकारी बनाउने क्रममा सैन्य र प्रहरी संरचना बनाउने, नाकाबन्दी, सैनिक र सिपाही विद्रोहसम्मका योजना उल्लेख गरेका छन् । त्यसैगरी, आफ्नो अभियानको बचाउमा अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्नेदेखि राष्ट्रसंघमा हुनेसम्मका कुरा उनले उल्लेख गरेका छन् । सीके राउतको गतिवधिमा बेला-बेलामा प्रकट हुने भूराजनीतिक चासो तथा बाह्य सद्‍भावलाई पनि सेनाले अर्थपूर्ण रूपमा हेर्दै आएको छ ।

जंगीअड्डामा १३-१४ जेठमा दुई दिन चलेको सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, राजनीतिको घरेलु वस्तुस्थिति र भूराजनीतिक परिवेशबारे गम्भीर छलफल भएको थियो । पृतनापति समन्वयात्मक बैठकको रूपमा आयोजना गरिने जर्नेल सम्मेलनलाई सेनाको नीति निर्माण तथा नेतृत्वमा रहेका अधिकांश जर्नेलहरू एकै ठाउँ बसेर मुलुकको वस्तुस्थिति र सुरक्षाबारे रणनीतिक छलफल गर्ने सेनाको सबैभन्दा महत्वपूर्ण मञ्चको रूपमा लिने गरिएको छ । यसले सेनाको अप्रेसनल नीति तथा कार्यदिशासमेत निर्धारण गर्छ । मुलुकको सुरक्षा अवस्थाको नियमित समीक्षा तथा विश्लेषणसँगै राजनीतिक परिस्थितिबारेमा समेत सुक्ष्म अध्ययनमा आधारित सघन छलफल हुन्छ । यहाँ हुने छलफल र निश्कर्षलाई राजनीतिक तहमा पनि अर्थपूर्ण रूपमा लिने गरिएको छ। by-nepalsamay

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी