उज्यालोको खोजी गर्दै आस्थाले ल्याइन् गजल संग्रह

51 Hits

काठमाडौं, २४ असार ।
जनयुद्धकी एक यात्री तथा कवि, गजलकार अस्था केसीले उज्यालोको खोजी नामक गजल संग्रह बजारमा ल्याएकी छिन् ।
पत्रकार आस्थाको गजल कृति ‘उज्यालोको खोजी’ एक कार्यक्रमका बीच राजधानीको अनामनगरमा शनिवार विमोचित गरियो ।

शनिबार संवाद डबलीमा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मंचको आयोजनामा भएको कार्यक्रममा आस्थाको उज्यालोको खोजी र प्रदीप थापाको रुवाई, गीत, गजलकृति ‘प्रयास’ र एल्बम ‘प्रयास’ विमोचन गरिएको हो ।

कार्यक्रममा राजनीतिक नेताहरु भन्दा साहित्यकारकै वढि उपस्थिति र सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि गजलकार ललिजन रावलले गजल तथा साहित्यले समाजलाई परिर्वतनमा अहम् भूमिका खेल्ने बताए। गजलकार रावलले अन्य साहित्य जस्तै गजलको रचना र संरचना प्रक्रियालाई समय क्रमसँगै श्रष्टाहरूले आफूअनुकूल व्याख्या गर्ने गरेको र रचना गर्न थालेको धारणा राखेका थिए ।
उनले गजल साहित्यको गम्भीर विधा भएकाले गजलका आधारभूत मान्यताअनुसार रचना गरिनुपर्नेमा जोड दिए।

कार्यक्रममा विमोचित ‘उज्यालोको खोजी’ गजलसंग्रहकी गजलकार आस्था केसीले आफू १५–१६ वर्षको किशोरी अवस्थामा जनयुद्धमा लागेको र त्यही समयबाट नै गीत, कविता, गजल पढ्न र लेख्न थालेको बताइन्।

हिजोको जनयुद्धकालीन मुक्तियात्राले साहित्यमा लाग्नसमेत प्रेरित गरेको उल्लेख गर्दै केसीले आफूहरूले जनयुद्ध तथा मुक्तियात्रामा हुँदा देखेका सपना नेतृत्वले चकनाचुर परेकोप्रति पीडा व्यक्त गरिन्। उनले हिजो आफूहरू वर्गीय मुक्तिको यात्रामा लागेको र आज साहित्यमा पनि त्यही वर्गीय मुक्तिको लागि साहित्यिक सिर्जना गरिरहेको बताइन्।

त्यसैगरी अर्को विमोचित एल्बम ‘प्रयास’का स्रष्टा प्रदीप थापाले आफू लेखन विधामा एकदम कलिलो भएको र लेखनमा निरन्तर लागिरहने बताए। लेखक थापाले पहिले र अहिलेका पठकहरू माया प्रेमसम्बन्धी विषयमा रुचि राख्ने नै बढी भएकाले आफूले पनि यस्तै विषयलाई बढी जोड दिने गरेको बताए।

विमोचित पुस्तक तथा एल्बममाथि समालोचकहरू प्रभाती किरण, ज्ञानु विद्रोही, शैलेन्द्र अधिकारीले टिप्पणी गरेका थिए। केसीको गजलकृति उज्यालोको खोजीमाथि टिप्पणी गर्दै समालोचक शैलेन्द्र अधिकारीले आस्थाको राजनीतिक पृष्ठभूमि, भूमिगत जीवन र प्रगतिशील चेतना उनका गजलमा आएको बताएका थिए ।

अधिकारीले भने, ‘आस्थाका गजलमा सवाल्टर्नका पीडा, अपेक्षा र आक्रोश अभिव्यक्त छन्।’ प्रदीप थापाको एल्बम प्रयासबारे बोल्दै समालोचक ज्ञानु विद्रोहीले थापाका गीत अत्यन्तै सुललित, सरल र प्रेमिल भएको टिप्पणी गरे।
कार्यक्रममा साहित्यकारहरू डा। भोजराज घिमिरे, नरेन्द्रजंग पिटर, बाबु त्रिपाठी, राधा कणेललगायतले लेखकद्वयलाई शुभकामना दिएका थिए।

अन्तर्राष्ट्रिय नेपाली गजल मंचका अध्यक्ष घनेन्द्र ओझाले स्रष्टाद्वयमा रहेको लेखनको ऊर्जा नसेलाओस् भन्ने कामना गरे। अन्तर्राष्ट्रिय नेपाली गजल मंचका नेपाल च्याप्टर संयोजक भरत पौडेलको सभापतित्वमा संपन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसचिव प्रभात चलाउने, प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्का, समालोचक डा. नेत्र एटम, डा. विन्दु शर्मा, देशभक्त गणतान्त्रिक मोर्चाकी अध्यक्ष बाबा बस्नेतलगायतको उपस्थिति रहेको थियो।

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*