वर्षाले देखाउन थाल्यो वितण्डा, २ को मृत्यु, कहाँ कहाँ भए क्षती ?

60 Hits

काठमाडौं, १८ असार ।
ढिलो गरी शुरु भएको मौसमी झरीले दुई दिनमै देशभर वितण्डा देखाउन शुरु गरेको छ ।

पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले पुरिएको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ ।

दुई दिनदेखि परेको अबिरल वर्षा पछि आएको बाढीले बगाउँदा बाँकेमा दुई जना बेपत्ता भएका छन् ।

जेठी नालामा आएको बाढीले दुई जना बगेर बेपत्ता भएका हुन् । बैजनाथ ३ का ६५ वर्षीय तुला बुढा खोला तर्ने क्रममा बगेका हुन भने वडा नम्बर ५ का लोकबहादुर सुनार पौडी खेल्दा बगेको प्रहरीले जनाएको छ । बेपत्ता उनीहरुको खोजी कार्य भइरहेको कोहलपुर प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै बाढीका कारण नेपालगञ्ज—गुलरिया हुलाकी सडकको खजुरामा अवरोध सृजना भएको छ । पेडारी नालामा आएको बाढी हुलाकी सडकको माथिबाट बग्न थालेपछि अवरोध भएको हो । बाढीले मोटरसाईकल बगाई रहँदा स्थानीयले उद्दार गरेर चालकको ज्यान जोगाएका छन् ।


वर्षाका कारण नेपालगञ्ज जलमग्न भएको छ । नेपालगञ्जको सेतु विक चोकमा पानी जमेर पोखरी बनेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।

रातिदेखि भइरहेको अविरल वर्षाका कारण आर्थिक राजधानी वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।

केही दिन यत्ता परेको नियमित वर्षाका कारण सिदार्थ राजमार्ग अवरुद्व भएको छ । वर्षाका कारण जिल्लामा पहिरो जाने क्रम बढेको छ । सोमबार दिउँसो साढे १२ बजे गएको पहिरोका कारण सिदार्थ राजमार्ग अवरुद्ध भएको छ ।
वालिङ नगरपालिका १० स्थित गाहाखोलामा माथिबाट पहिरो खस्दा राजमार्ग नै अवरुद्व भएको हो । गाहाखोला स्थित डाँडाबाट खसेको पहिरो २ सय मिटर लामो रहेको जिल्ला प्रहरी प्रवत्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

मोरङका दर्जनभन्दा बढी गाउँहरु बाढीको उच्च जोखिममा परेका छन् । बक्राहा, रतुवा, लोहन्द्रा, चिसाङ, सिंगिया, केसलियालगायत खोलाका कारण आसपास क्षेत्रका गाउँ बस्ती जोखिममा परेका हुन् । केही दिनयताको वर्षाका कारण दर्जनभन्दा बढी गाउँ जलमग्न बनेका छन् ।
रेडक्रस सोसाइटीको अध्ययन अनुसार सम्भावित जोखिमस्थलहरुमा तत्काल सचेतनामूलक कार्यक्रम गर्नुका साथै सतर्कता र उद्धारको पूर्वतयारी आवश्यक देखिएको छ । बक्राहा खोलामा आएको बाढीका कारण आसपासका मधुमल्ला, गोविन्दपुर, इटहरा, बरडंगा, हसन्दहलगायत गाउँबस्ती जलमग्न हुन थालेका छन् ।
यसैगरी रतुवा खोलाका कारण सिजुवा, महादेवालगायत गाउँ प्रभावित बनेका छन् ।
अविरल वर्षाका कारण पश्चिम नवलपरासीको विभिन्न स्थान डुबानमा परेका छन् । बर्दघाटको धनेवा, सरावलको जनकपुर, प्रतापपुर क्षेत्रमा डुबान हुँदा जनजीवन प्रभावित बनेको हो । पानीको निकास नहुँदा अधिकांश बस्ती डुबानमा परेका हुन् ।

लगातारको बर्षाले मुलुकका बिभिन्न नदीमा बाढीको जोखिम बढेको छ । १२ घण्टायता मुलुकको पश्चिम क्षेत्रमा वर्षा जारी रहेको तथा आज दिउँसो पनि सो क्रम जारी रहने भएकाले बबई र राप्ती नदी आसपासको क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
अविरल वर्षाले बबई नदीको सतह बढेसँगै बर्दियाका बिभिन्न स्थान जलमग्न भएका छन् । बर्दिया प्रशासनले सतर्क रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ । कर्णालीमा भने जलस्तर बढेको छैन । अविरल वर्षाले गुलरिया लगायत जिल्लाका अधिकांश ठाउ‘ डुवानमा परेको प्रहरीले जनाएको छ । निर्माणाधिन गुलरिया(राजापुर सडक खण्ड अन्तर्गत गमक्कामा यातायात सेवा ठप्प भएको छ । निर्माणाधिन पुल नजिक बनाइएको डाईभर्सन डुवानमा परेकोले आउजाउ ठप्प भएको हो ।
लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ ।
नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो ।

चितवनको पर्यटकीय केन्द्र सौराहाको राप्ती किनार नजिकका रेष्टुरेन्टहरु सम्भावित बाढीको डरले सुरक्षित स्थानमा सार्न थालिएको छ । राप्ती नदीको तटिय क्षेत्रमा नदीको बहाव बढ्दै गएको छ ।

पर्यटकहरु रमाउने पव क्षेत्रमा पानीको सतह आइसकेको छ । हेटौंडा र पूर्वी चितवनका विभिन्न खोलाहरुमा पानीको सतह बढेका कारण बाढीको खतरा सौराहामा बढी हुने गरेको छ । आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ ।

इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो ।
वर्ष वढेसँगै वितण्डा र क्षतीका खबरहरु निरन्तर वढ्दै जानेछन् । क्षतीको एकीन तथ्यांक भने गृह मन्त्रालयले सार्वजनीक गर्नेछ ।

Related News

महलिसागर बाँधका कारण नेपालीकाे ७ सय हेक्टर खेत डुवानमा

कपिलवस्तु,  ६ साउन । महलीसागर बाँधका कारण बर्खाको पानीले सहज निकास नपाएपछि धुनिया, यादव र धोबीमात्र होइन पूरै चार गाउँको…

देशैभर बाढी र डुवान : ११ काे मृत्युु , दर्जनौं बस्ती डुवानमा, गृहकाे यस्ताे तयारी

काठमाडौं, १९ असार । देशभर अाएकाे भिषण वर्षाका कारण अाएकाे वाढी र पहिराेले ११ जनाको मृत्यु हुनुका साथै जनजीवन नराम्ररी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी