कोरियाली प्रायद्वीपमा शान्तिको अपेक्षा

93 Hits

नारायण पौडेल

विभिन्न आशंकाबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुप्रतिक्षित ऐतिहासिक भेटवार्ता परमाणु निःशस्त्रीकरणको प्रतिबद्धतासहित चारबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सिंगापुरमा सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले १९८० को मध्यदशकदेखि उच्चस्तरीय आणविक वार्ताको केन्द्रमा अमेरिका रहेको कल्पना गरिरहेका बेला आफैंले एक आणविक वार्ता सफल गरेका छन् ।
अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्ने पहिलो उत्तर कोरियाली नेता बनेका किमले अमेरिकीले मान्नुपर्ने एक शक्ति आफू पनि भएको देखाउन सफलता प्राप्त गरे । साथै, उत्तर कोरियालीका लागि डोनाल्ड ट्रम्प र किम जोङ उनले हात मिलाएको देख्न पाउनु धेरै आश्चर्यजनक क्षण थियो । किनकि, उनीहरूले दशकौंदेखि भोगेको विभाजन र आणविक उत्पादनका कारण यी दुवै नेता गत वर्ष युद्धको नजिकै पुगेका थिए । भनिन्छ, किमले आणविक हतियार बनाएका थिए र अमेरिकी राष्ट्रपतिसँग भेटवार्ता गर्न पाए, जसले उनको सत्तालाई वैधानिकता दियो ।

गत वर्ष किमविरुद्ध आगो ओकल्दै आक्रमणको चुनौती दिने ट्रम्प किमप्रति केही महिनायता नरम बनेकै कारण सिंगापुरबाट विश्वमञ्चमा आफ्नो छवि प्रदर्शन गर्नमा दुवै नेता सफल भए । भेटवार्तापछि ट्रम्पले छलफल निकै राम्रो भएको बताउँदै आफू र किम मिलेर ठूला समस्याको समाधान निकाल्ने आशासमेत व्यक्त गरे । यो नयाँ कूटनीतिक तथा रणनीतिक भेटघाट केवल शक्तिको आधारमा मात्रै नभई केही आवश्यकताको कारण पनि महŒवपूर्ण मानिएको छ र यसले विश्वशान्तिको आधारशिला खडा गर्न सक्ने अनुमानसमेत गरिएको छ । किनकि, केही समय अघिदेखि उत्तर कोरिया र अमेरिकाबीचको वाकयुद्धले कतै तेस्रो विश्वयुद्धको प्रारम्भ त हुने होइन भन्ने आशंका जन्माएको थियो ।

अहिलेको परिस्थितिमा किम जोङ उन उत्तर कोरिया कुनै पनि प्रकारले अन्य देशहरूको घेराबन्दीमा परेको छैन भन्ने सन्देश विश्वव्यापी रूपमा दिन चाहन्छन् भने अमेरिका आफ्नै नेतृत्वमा दुई कोरियालाई एकीकरण गरी आफ्नो व्यापार विस्तार गर्न चाहन्छ । हुन त आफ्नो देशको सिमाना जोडिएकै कारण किमले रुस र चीनसँग पनि उत्तर कोरियाको हितमा वार्ता गरिरहेका छन् । अर्कोतर्फ उत्तर कोरियासँग सिरियाका राष्ट्रपति बसर अल असदको सुमधुर सम्बन्ध अमेरिकासहित संयुक्त राष्ट्रसंघका लागि पनि चिन्ताको विषय बनिरहेको छ । किनकि, सिरिया उत्तर कोरियाको पुरानो सहयोगी मित्र हो र दुवै देशबीच सन् १९६६ देखि कूटनीतिक सम्बन्ध कायम रहँदै आएको छ । यस्तो परिवर्तित अवस्थामा किमका लागि चीन सबैभन्दा महŒवपूर्ण छ ।

चीन उत्तर कोरियाको सबैभन्दा मुख्य व्यापारिक साझेदार मुलुक हो र यदि उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रद्द गर्दै छ भने उसमाथि लगाइएका सम्पूर्ण प्रतिबन्धहरू पनि हटाइनुपर्छ ताकि उत्तर कोरियाको अर्थव्यवस्था स्थिर बन्न सकोस् भन्ने चाहना चीनले राखेको छ । त्यसैले, किमले अहिले राजनीतिक खेलका सबै नियम बदलिदिएका छन् । फलस्वरूप गत वर्षसम्म परमाणु शक्ति उत्तर कोरियाका लागि एक ठूलो आणविक हतियार बनिरहेको थियो भने अहिले त्यसलाई उसले राजनीतिक हतियारका रूपमा प्रयोग गर्ने कोसिस गर्दै छ । उत्तर कोरिया र चीनबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताइन्छ । किनकि, अघिल्लो शताब्दीदेखि नै चीन उत्तर कोरियाको सबैभन्दा बलियो राजनीतिक तथा सैन्य सहयोगी देशका रूपमा रहँदै आएको छ भने अमेरिका र उत्तर कोरियाको विवादित सम्बन्धमा चीनले जहिले पनि मध्यस्थताको भूमिका निभाएको छ । त्यस्तै, सन् १९५३ मा दक्षिण र उत्तर कोरियाबीचको युद्धमा चीनले उत्तरलाई साथ दिएको थियो । जुन युद्धमा चीनका डेढ लाखभन्दा बढी सैनिक मारिएका थिए र त्यति बेलादेखि बेइजिङ र प्योङयाङबीचको सम्बन्ध बलियो हुँदै आएको छ । साथै चीन र सोभियत संघले युद्धमा मात्र उत्तर कोरियालाई सहयोग गरेका नभई युद्धपछि पनि सहारा दिएका छन् । त्यस्तै, चीन र उत्तर कोरियाबीचको सम्बन्धको सबैभन्दा बलियो आधार सन् १९६१ मा दुवै देशले हस्ताक्षर गरेको सन्धिलाई मान्ने गरिन्छ । जसलाई उनीहरूले मित्रता तथा पारस्परिक सहयोगको सन्धि भन्ने गर्छन् ।

उत्तर कोरियामा समाजवादी सत्ता पल्टाउन अन्य शक्तिले अनेक कोसिस गरे पनि सफल भएनन् किनकि उत्तर कोरियाले आफ्नो बचाउका लागि सैन्य प्रविधि, आणविक अस्त्र तथा परमाणुको विकासमा निकै ठूलो फड्को मारिसकेको छ

दोस्रो विश्वयुद्धको परिणामस्वरूप विश्वका विभिन्न देशहरू विभाजित भए र केही समयपछि एकीकरण पनि भए । तर, कोरिया भने अहिलेसम्म पनि समाजवादी उत्तर कोरिया र पुँजीवादी दक्षिण कोरियाका रूपमा विभाजित रहेको छ । इतिहासमा कोरिया सन् १९१० देखि जापानको अधीनमा थियो । तर, दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गरेपछि उत्तर कोरियामा सोभियत सेना रहने तथा दक्षिण कोरिया अमेरिकी सेनाको नियन्त्रणमा रहने समझदारी भयो । फलस्वरूप किम इल सुङ नेतृत्वको पार्टीले उत्तर कोरियामा समाजवादी सत्ता स्थापना ग¥यो र सोभियत सेना फर्कायो ।

यसरी, एकातिर चीन र उत्तर कोरियाली सेना तथा अर्कोतिर अमेरिकी र दक्षिण कोरियाली सेनाबीच चलेको करिब तीन वर्ष लामो युद्ध नै कोरियाली युद्धका नामले चिनिने गर्छ । जसमा स्टालिन नेतृत्वको सोभियत संघले चीन र उत्तर कोरियाको पक्षमा अघोषित र अप्रत्यक्ष सहयोग गरेको थियो भने अमेरिका र दक्षिण कोरियालाई बेलायत, फ्रान्स, क्यानडा, अस्ट्रेलियालगायत १६ देशको समर्थन थियो । साथै, संयुक्त राष्ट्रसंघले पनि अमेरिका र दक्षिण कोरियाकै पक्षमा काम गरेको थियो । यस युद्धमा माओका छोरासहित दुवैतर्फका गरी कम्तीमा ६ लाख सेना र १० लाख जनता मारिएका थिए भनिन्छ ।

त्यसयता विश्वको शक्ति सन्तुलनमा निकै फेरबदल भइसकेको छ । उत्तर कोरियामा समाजवादी सत्ता पल्टाउन अन्य शक्तिले अनेक कोसिस गरे पनि सफल भएनन् किनकि उत्तर कोरियाले आफ्नो बचाउका लागि सैन्य प्रविधि, आणविक अस्त्र तथा परमाणुको विकासमा निकै ठूलो फड्को मारिसकेको छ । केही समय अघिसम्म उत्तर कोरियाले क्रमिक रूपमा क्षेप्यास्त्रहरू परीक्षण गर्दा त्यसविरुद्ध संयुक्त राष्ट्रसंघसमेतको नाकाबन्दी तथा अमेरिकासँगको वाकयुद्ध आदिको परिस्थितिमा कोरियाली प्रायद्वीपमा अर्को युद्ध हुने आशंका पैदा भएको थियो । तर, आफ्नो देशको प्रतिरक्षाका लागि न्यूनतम आणविक प्रविधि विकास गर्न सक्षम भइसकेपछि उत्तर कोरियाली नेता किम जोङले जसरी दक्षिण कोरिया तथा अमेरिकासमक्ष वार्ताका लागि प्रस्ताव प्रस्तुत गरे, यसले नेता किमको रणनीतिक तथा कार्यनैतिक कुशलता देखाएको छ । किनकि, कोरियाली युद्ध भएको करिब ६५ वर्षपछि पहिलोपटक उत्तर कोरियाली नेताले दक्षिण कोरियामा पाइला टेक्दै दुई कोरियाबीच एकीकरण गर्ने सन्दर्भमा ८ करोड कोरियाली जनता र विश्वसामु ‘हामी घोषणा गर्छौं कि अब कोरियाली प्रायद्वीपमा युद्ध हुनेछैन’ भन्ने महŒवपूर्ण सम्झौतासमेत गरेका छन् ।

गत वर्ष संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली शासकले अलिकति पनि चकचक गरे भने उनको मुलुकलाई आक्रोश र आगोको वर्षा गराएर निमिट्यान्न पार्न ढिलो गर्न नहुने अभिव्यक्ति दिएका थिए र त्यसको प्रतिउत्तरमा किमले पनि ट्रम्पलाई दिमागी सन्तुलन खुस्केको पागलको संज्ञा दिँदै आफ्नो विनाशका लागि आगोसँग जिस्किने दुस्साहस गरिरहेको भनेका थिए । यस्ता अभिव्यक्तिले विश्व नै युद्धको खतरनाक मोडमा उभिएको प्रतीत गराइरहेका बेला अमेरिका र उत्तर कोरियाबीच भएको वार्ताले विश्व शान्ति स्थापना गर्नमा महŒवपूर्ण साबित हुने अनुमान गरिएको थियो ।

रुस र पूर्वी युरोपबाट सन् १९९० को दशकमा सुरु भएको कम्युनिस्ट शासनको पतनले रसियालाई आफ्नै आन्तरिक मामिलातर्फ संकुचित बनाउँदा रुसले गरिरहेको आर्थिक र सैन्य सहयोगमा अचानक ठूलो कटौती हुनपुग्यो भने तीव्र आर्थिक विकासलाई साध्य बनाएको चीनले आफैंले जन्माए हुर्काएको उत्तर कोरियालाई सकेसम्म आर्थिक, सैनिक र राजनीतिक सहयोग तथा समर्थन दिइरहेकै छ । यसैका कारण आफ्नो देशको जनसंख्याको ठूलो हिस्सा राष्ट्रिय सेना बनाएर राख्नु, मुलुक र नागरिकलाई बाँकी संसार सैतान छ र हामी आÏनो सुरक्षार्थ ज्यान दिन हरपल तयार हुनुपर्छ भनेर प्रशिक्षित गर्नु, मुलुकको सम्पूर्ण स्रोत, साधन र सम्पत्तिलाई सैन्य, हतियार र सामरिक उद्देश्यका लागि एकल रूपमा प्रयोग गर्नु उत्तर कोरियाली शासनका विशेषता भएका छन् । त्यसैले, गर्दा उत्तर कोरियाले अनुमान गर्न नसकिने र अप्रत्याशित क्षति पु¥याउने सामथ्र्य अवश्य राख्छ । तथापि, अमेरिका, चीन र रुसको सामरिक स्वार्थले यो क्षेत्रमा तनाव कायम गराउन जति काम गरिरहेको छ, युद्ध रोक्न पनि त्यति नै भूमिका खेलिरहेको हुन सक्छ । यस्तो अवस्थामा पछिल्लो समय विकसित घटनाक्रमलाई अप्रत्याशित रूपमा हेरिएको छ । किनकि, उत्तर कोरियाली नेताले आवणिक निःशस्त्रीकरण र कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि महŒवपूर्ण पहल गरेका छन् । जसलाई अमेरिका तथा दक्षिण कोरियाले साथ दिएको देखिन्छ भने चीन र रुसले पनि यसरी नै साथ दिने हो भने कोरियाली प्रायद्वीपमा शान्ति स्थापना हुन सक्छ । साभार-राजधानी दैनिक

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी