लाभकरमा पुरानै व्यवस्था

69 Hits

२४ जेठ, काठमाडौं ।

सरकारले बोनस र हकप्रद सेयरमा अंकित मूल्यलाइ आधार मानी पुँजीगत लाभकर लगाउने व्यवस्था कार्यान्वयन स्थगित गरेपछि १५ दिनको लागि समस्या टरेको छ ।

लगानीकर्ताले बुधबार पनि सेयर खरिद बिक्री नगरेर बजार ठप्प पारेपछि अर्थ मन्त्रालय आफ्नो निर्णय स्थगित गर्न बाध्य भएको हो । तत्कालका लागि पुरानै व्यवस्थाअनुसार लाभकर लिने निर्णय गरिएको अर्थ मन्त्रालयले जनाएपछि बुधबार अबेर कारोबार सुरु भएको थियो । सामान्यतयाः ४ घन्टा कारोबार हुने सेयर बजारमा सहमतिपछि बुधबार डेढ घन्टामात्रै कारोबार भयो ।
मंगलबार एउटा पनि कारोबार नगरेर बजार नै ठप्प बनाएका लगानीकर्ताले बुधबार पनि बजारमा कारोबार रोकेपछि अर्थले बाध्य भएर पुनः छलफलमा बोलाएको थियो । मंगलबारको छलफलमा कडारूपमा प्रस्तुत भएको सरकारका अधिकारीहरु बुधबार भने नरम भएका थिए । लगानीकर्ताले बोनस र हकप्रद सेयरको लाभकर अंकित मूल्यमा गणना गर्ने व्यवस्था फिर्ता नलिएसम्म कारोबार नगर्ने अडान लगानीकर्ताले लिएपछि अर्थ मन्त्रालय अन्ततः पछि हटेको हो ।
अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, केन्द्रीय निक्षेप सेवा तथा लगानीकर्ता संघका प्रतिनिधिबीच भएको छलफलपछि तत्कालका लागि पुरानै व्यवस्थामा कारोबार हुने सहमतिपछि बुधबार नेपाल स्टक एक्सेचन्ज(नेप्से)को नियमित कारोबार समय अढाइ घण्टा ढिलो सुरु भयो । विगतमा अभ्यासमा रहेको व्यवस्थाअनुसार नै लाभकर लिने सहमति भएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले जानकारी दिए । “अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठन भएको कार्यदलको प्रतिवेदन नआउँदासम्म पुरानै व्यवस्था लागू हुन्छ,” उनले भने ।
लगानीकर्तासँगको छलफलपछि लाभकरसम्बन्धी नयाँ व्यवस्था तत्कालका लागि फिर्ता भएको अर्थका प्रबक्ता झक्कप्रसाद आचार्यले बताए । “पुँजीगत लाभकरसम्बन्धी आवश्यक अध्ययन गरेर सुझाव दिनका लागि गठन भएको कार्यदलले प्रतिवेदन नबुझाउँदासम्म पुरानै व्यवस्थाअनुसार कारोबार हुन्छ,” आचार्यले भने,“कार्यदलको प्रतिवेदन आएपछि सुझावका आधारमा निर्णय हुन्छ ।”
बुधबार करिब डेढ घण्टा कारोबार भएको सेयर बजारमा करिब २४ करोड रुपैयाँ बरावरको सेयर कारोबार भएको छ । बजार परिसूचक पनि १३.९१ अंकले बढेको छ ।
कारोबार दैनिक

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*