अाँपकाे अर्थतन्त्र -चन्द्र किशोर

87 Hits

गएको मध्य चैतमा रौतहटको मत्सरी गाउँपालिकाका गोविन्द मिश्र (७३) आफ्नो आँप बगैंचामा भेटिए । देहातमा यस्तो बगैंचालाई फूलबारी पनि भनिन्छ ।

आँपका ढकमक्क मुजुराहरू देखाउँदै उनले यो वर्ष मिहिनेतको फल निकै मीठो हुने अनुमान गरेका थिए । मिश्रले यो उमेरमा पनि बिहानबिहानै खटेर आँपका फेदमा बाल्टिनका बाल्टिन पानी हालेका थिए ।

नभन्दै, आँपमा लाग्नुपर्ने जति मुजुरा लागेको थियो । रूख नै किन्ने व्यापारीहरूले सम्पर्क गर्न पनि थालिसकेका थिए । मिश्रलाई लागिरहेको थियो– जसरी मुजुरा आएको छ, त्यही अनुसार टिकोला (चिचिला) लाग्यो भने यो ‘आँपको साल’ हुने पक्का छ ।

आफ्नै फूलबारीबाट पनि सवा लाख रुपैयाँ भन्दा माथि नै आम्दानी हुने उनको मुँहजवानी हिसाब थियो । तर, वैशाखबाट आउन थालेको पटके आँधीले मधेशका सारा आँप किसानको उत्साहलाई सखाप पारिदियो । सिरहा जिल्ला कृषि कार्यालयका अनुसार त्यो जिल्लामा मात्र आँधीहुरीले करीब पाँच अर्बको क्षति गरेको छ ।

नेपाली फूलबारीमा भारतीय व्यापारीहरूले रूख नै किन्छन् र बाहिरको बजारमा मनमाफिक बेच्छन् । यसपटक कतिपय ठाउँमा उनीहरूले दिएको बैना आँधीहुरीपछि फिर्ता लिएका छन् ।

तराई–मधेशको अर्थतन्त्रको एउटा आधारका साथै सामाजिक–सांस्कृतिक प्रतीक पनि हो, आँप । गाउँघरमा गर्मी याममा मधेशीहरू आँपको बगैंचामा सुस्ताउन रुचाउँछन् । त्यसो गर्दा आँपको रखवाली पनि हुन्छ, शीतल छायाँ पनि मिल्छ । आँपमा जस्तो स्वाद र ‘निराला अंदाज’ अर्को कुनै फलमा पाइँदैन पनि ।

मधेशमा वैशाखदेखि विवाहको मौसम चल्छ । बेहुलीलाई लिएर ‘आम महुवा’ पूजा गर्न झुण्डका झुण्ड मानिसहरू फूलबारीतिर पसिरहेका हुन्छन् । गाउँभर ‘अमवा मउलवा के लामी लामी पतवा, एक डार झुकियो ना जाला अहो’ जस्ता गीत लोककण्ठबाट गुञ्जन्छ । भैसी चराउँदै फूलबारी पसेका कोही तरुण गाइरहेका हुन्छन्– ‘अमवा की डार चढल कोइली पुकारे… ।’

मधेशमा जेठदेखि भदौसम्म रूखमै आँप पाइन्छ । तिनमा मालदह, कृष्णभोग, बम्बई, सेनुरिया, केरवा, सिपिया, जरदवा (जर्दा), आम्रपाली, कलमिया, दसहरी, सफेदा, घिउवा, लडुवा, भदया, कलकतिया आदि नामी छन् । मालदह आँपमा विशिष्ट स्वाद र सुगन्ध हुन्छ । यो मौसमका चाडपर्व र हुने भोजभतेरमा आँप एउटा विशेष परिकार हुने नै भयो । बिहे भोजमा खानपिन सकेपछि जन्तीका अगाडि खास मूल्य तोकेर आँप प्रस्तुत गरिन्छ ।

आँपको मौसममा नातेदार, इष्टमित्र कहाँ पनि आँप कोसेली पुर्‍याउने चलन छ । जिल्ला सदरमुकाम होस् वा राजधानीमा, कर्मचारी सरुवा बढुवा, नोकरी, चाकरीका लागि ‘आँपको टोकरी’ लगिन्छ, पठाइन्छ । पहाडतिरका मित्रलाई दिइने मधेशको खास कोसेली पनि आँप नै हुन्छ । आँप सुकाएर अमावट वा आम पापड बनाइन्छ । आँपको रसमा दूध र चिनी मिलाएर बनाइने ‘मेङ्गो शेक’ को राम्र्रो बजार शुरू भएको छ ।

मधेशमा काँचो आँपको दर्जनौं प्रकारका चटनी, खट्टाई, अमचुर आदि बनाइन्छ । यी परिकारहरूका कारण सानो ‘टिकोला’ अर्थतन्त्र चलिआएको छ । लटरम्म टिकोला लागेको हेरेरै आँपको भावी व्यापारको हिसाबकिताब गरिन्छ । यसपटक भने आँधीले यस्तो हिसाब गर्न दिएन ।

कतै व्यावसायिक बगैंचा छ त कतै सामान्य तवरले आफ्नै उपयोगका लागि लगाइएको आँपका फूलबारीहरू छन् । यिनको प्रवद्र्धनमा ‘आँप महोत्सव’ भने हुनसकेको छैन ।

जबकि, किसान र पर्यटनलाई लक्षित गरी यस्तो महोत्सव गर्नु जरूरी छ, जहाँ विभिन्न नाम र विशेषताका आँपहरूको प्रदर्शन मात्र होइन, दर्जनौं प्रकारका परिकार आँपकै फूलबारीमा पस्कन सकिन्छ । यसरी आँपको मौसममा मधेशलाई पर्यटकमय बनाएर अर्थतन्त्र बढाउन सकिन्छ ।

स्वदेशी–विदेशी पर्यटकलाई ‘आँप खाने’ वा झटारो हानेर रूखबाट आँप झर्ने प्रतियोगिता गराएर प्रचुर मनोरञ्जन दिन सकिन्छ । त्यसरी ‘आँप अर्थतन्त्र’ बढाउन सबभन्दा पहिले आँपमा विषादि वर्जित हुनुपर्‍यो ।

आँपको राजधानीका रूपमा रहेका सिरहा र सप्तरीमै समेत आँपको बहुआयामिक सम्भावना छ । अब स्थानीय र प्रान्तीय सरकारले यसमा ध्यान दिनुपर्छ । त्यो अवस्थामा संघीय सरकारले लिएको पाँच वर्षभित्र दुई अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर बनाउने लक्ष्यमा पनि सघाउ नै पुग्ला । – हिमालखबर

Related News

ज्योति र लुम्बिनी विकास बैंकबीच यस्तो भयाे सम्झाैता

काठमाडौं, ३१ जेठ । ज्योति विकास बैंक लि. र लुम्बिनी विकास  लि. बीच मि रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता…

सिजीले बाड्यो विजेता ग्राहकलाइ ३२ इन्चको एलइडि टिभी, कसले पाए ?

काठमाडौं, १३ जेठ । प्रतिष्ठीत व्यापारिक घराना चौधरी ग्रुपले आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्न सञ्चालन गरेको उपहार योजना अन्तरगत विजेता ग्राहकलाइ…

Comments are closed