भूतघरमा बस्नेकाे कहानी

111 Hits

काठमाडौं , जेठ ।

चिहानमा भूत प्रेत हुन्छ र तर्साउँछ भनिन्छ । त्यहाँ जिउँदो मानिस सुत्नुहुन्न भन्ने चलन पनि छ तर त्यही चिहान घरमा डेढ महिनादेखि नुवाकोटका ६५ वर्षीय केशवप्रसाद आचार्यको गाँस र बास चल्दै आएको छ ।  तारकेश्वर नगरपालिका वडा नं. ४ को सानो पुलनजिक स्थानीय नगरकोटी (पुतुवार)हरूको घाट (चिहान घर) रहेको छ । त्यहाँ प्राचीनकालदेखि नै नगरकोटी (पुतुवार) समुदायका मानिसको निधन हुँदा जलाउने चलन छ ।

त्यही चिहान घरमा खाने र बस्ने गर्दै आउनुभएका आचार्यलाई भेट्न बिहीबार बिहान चिहान घरमा पुग्दा आचार्यले ओढ्ने, ओछ्याउने थोत्रा र मैला थिए । भाँडाकुँडाका नाममा एउटा फुटेको कराईमा तरकारी पाकेको थियो । भात किन पकाउनु भएन भनी सोध्दा आचार्यले ‘चामल खोज्नै बाँकी छ’ भन्नुभयो ।
चिहान घरमा सुत्दा तर्साउँछ, नराम्रो सपना देखिन्छ अरे हो भन्ने जिज्ञासामा आचार्यले फिस्स हाँस्दै भन्नुभयो, “नराम्रो सपना पनि देखेको छैन र अहिलेसम्म तर्साएको पनि छैन, मनमा डर लियो भने जे पनि हुन्छ नत्र केही हुँदैन । ”
जल्दोबल्दो उमेरमा आचार्यले गीत गाएर मासिक १२ हजार रुपियाँसम्म गाउँघरमा कमाउनुभएको जानकारी दिनुभयो । उहाँले असारे गीत बढी गाउने गरेको जानकारी दिँदै ‘सानो माया लगाउनै गाह्रो…’ बोलको गीत पनि गुन्गुनाउनु भयो ।
आचार्य चिहान घरमा आउनुको पीडा छुट्टै छ । उहाँले आफ्ना बाबु–आमा, दाजु–भाउजू, दुई नाति, श्रीमती ईश्वरी र छोरा श्याम आचार्यलाई जलाइसक्नुभएको छ । पछिल्लोपटक छोरा श्यामको निधनपछि निकै विरक्त लागेको गहभरि आँसु पार्दै आचार्यले भन्नुभयो, “म त्यसै यहाँ आएर बस्ने मान्छे होइन, बसेको कोठमा श्रीमती मरी, त्यहीँ छोरा पनि म¥यो, घरपट्टीले कोठा खाली गर भनेपछि कहाँ जाने ?’’
नुवाकोटको थानसिं स्थायी ठेगाना भएका आचार्य सुख खोज्दै चितवन पुग्नुभयो । जग्गा किन्नुभयो, घर बनाउनुभयो तर त्यो खुसी लामो समयसम्म टिकेन । घर पनि जल्यो । त्यसपछि उहाँ श्रीमती र छोरासहित काठमाडौँ फर्केर मजदुरी गर्दै आउनुभयो ।
आचार्यले छोराको निधनको स्मरण गर्दै भन्नुभयो, ‘‘बाउछोराबीच राम्रो सल्लाहका साथ म काम गर्न गएँ, छोरा पनि काम गथ्र्यो तर दिउँसो ३ बजे कोठामा आउँदा छोरालाई जिउँदो भेटिनँ । ’’
नुवाकोटबाट नागरिकता बनाउनुभएका आचार्यको घर जल्दा नागरिकता जल्यो र फेरि बनाउनुभएको छैन । उहाँको एउटा छोरा सागर आचार्य हाल चितवनको भण्डारामा खेतीपाती गर्दै आएको र एक नाति र नातिनी भएको सुनाउनुभयो । छुट्ने बेलामा उहाँका लागि चामलको व्यवस्था मिल्यो अनि आचार्य सुखी हुँदै निभेको आगो फुक्न थाल्नुभयो । अनि लाग्यो, यसरी पनि चल्दो रहेछ जिन्दगी !

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी