सभामुख र सिचुवान प्रान्तका उप गभर्नरबीच भेटवार्ता, पुर्वाधार विकासमा चिनिया आकर्षण

103 Hits

काठमाडौं,  जेठ । सभामुख कृष्णबहादुर महरासँग चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङ नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित संसद सचिवालयमा सिचुवान प्रान्तका उपगभर्नर नेतृत्वको प्रतिनिधि मण्डलले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेको हो ।


भेटवार्तामा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो र गहिरो रहेको बताउँदै नियमित भेटघाट र भ्रमणले सम्बन्धलाई थप नजिक र बलियो बनाउने बताउनुभयो । नेपाल तीन तहका निर्वाचन सम्पन्न गरी आर्थिक समृद्धि, स्थायित्व र विकासतर्फ लम्किएको बताउँदै महराले नेपालको समृद्धिका लागि चीनको सहयोगको खाँचो रहेकोमा जोड दिनुभयो ।
विगतमा आफूले नै चीनको वान वेल्ट वान रोड ९ओविओआर० परियोजना सम्झौता गर्न चीन पुगेको स्मरण गर्दै सभामुख महराले भन्नुभयो, ‘चीनको महत्वपूर्ण परियोजना वान वेल्ट, वान रोड ९ओविओआर०को समिटमा म आफै सहभागी भएको थिएँ, यस परियोजनाबाट नेपालको विकासमा धेरै ठूलो भूमिका हुनेछ ।’
सो अवसरमा सिचुवान प्रान्तका उपगर्भनर पेङ युसिङले चीन र सिचुवानले नेपालको पूर्वाधार विकासमा लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले ऊर्जा, कृषि, पर्यटन, रेलमार्ग र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न तथा संस्कृति, प्रविधि र समाजका विविध विषयमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो ।
चीनमा बौद्ध धर्मावलम्बीहरु ठूलो संख्यामा रहेको भन्दै उपगर्भनर पेङले बुद्धको जन्मस्थल लुम्बिनी आफूहरुका लागि ठूलो पर्यटकीय तथा धार्मिक स्थल भएको बताउनुभयो । सिचुवानका थुप्रै ठाउँहरुमा बुद्ध र बौद्ध धर्मसम्बन्धी पर्यटकीय तथा धार्मिक केन्द्र रहेको र त्यसले नेपाल र सिचुवानलाई झन नजिकबाट जोड्ने विश्वास व्यक्त गर्नुभयो ।
आफूहरु नेपालमा पहिलोपटक आएको बताउँदै पेङले आफूहरु यहाँको प्राकृतिक सौन्दर्यता, हावापानी र नेपालीहरुको मायाले प्रभावित भएको बताउनु भयो । उहाँले नेपाल–चीनका उच्चस्तरीय भ्रमणहरुलाई बढाउने बताउँदै सिचुवानमा नेपालको महावाणिज्य दूतावास खोल्नका लागि आग्रह समेत गर्नुभयो ।
जवाफमा सभामुख महराले नेपालको पूर्वाधार विकासमा लगानी गर्ने चाहनाप्रति खुसी व्यक्त गर्दै नेपालको विकासमा चीन र सिचुवानको विशेष भूमिका रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

Related News

Comments are closed