यस्तो थियो मोदीसँग उच्चस्तरीय भेटमा माओवादी मन्त्रीहरुलाई बाइपास गर्नुको कारण

133 Hits

काठमाडौं, ३० बैशाख।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा संबोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण अत्यन्त सफल रहेको अभिब्यक्ति दिँदै गर्दा सत्ता साझेदार माओवादी केन्द्र भने असन्तुट देखिएको छ ।

मोदी भारत फर्किएलगत्तै प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच भेट समेत भएको थियो । भेटमा एमाले अध्यक्षसमेत रहेका ओलीले मोदीको भ्रमण सफल भएको र आफू निकै प्रसन्न रहेको सुनाएका थिए । तर, प्रचण्डले औपचारिक प्रतिक्रिया मात्र दिए । उनले रिजर्व बसेर मोदीको भ्रमणमा आफूहरुलाई बाइपास गरेकोमा असन्तुष्टि जनाएको उनी निकट स्रोतले जनाएको छ ।

एमाले र माओवादी पार्टी एकताको प्रक्रियामा छन् र सत्तारुढ प्रमुख घटक हुन् । तर, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका क्रममा आफूहरुलाई त्यसअनुसार व्यवहार नभएकोमा माओवादी नेताहरु असन्तुष्ट देखिएका छन् । माओवादी केन्द्रको पहिलो असहमति हो, सत्तारुढ दलको हैसियतमा छलफल नै भएन । मोदी नेपाल आउनेपूर्व प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्रमामिलाका जानकारहरुसँग परामर्श गरे । तर, सत्तारुढ घटकका रुपमा ओलीले माओवादी नेतृत्व र मन्त्रीहरुसँग कुनै छलफल नै गरेनन् ।

माओवादीको दोस्रो अहसहमति हो, वर्षमान पुन र शक्तिबहादुर बस्नेतलाई बाइपास गरिनु । २८ गते प्रधानमन्त्री ओली र मोदीबीच द्वारिकाज होटलमा वान टु वान वार्ता भयो । लगत्तै द्वीपक्षीय वार्ता भयो र दुई प्रधानमन्त्रीले अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गरे । तर, उर्जामन्त्री वर्षमान पुन देखिएनन् । उनलाई नेपाली टोलीमा समावेश नै नगरिएको माओवादी निकट स्रोतको दाबी छ ।

द्वीपक्षीय वार्तामा माओवादीबाट मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादल मात्र थिए । एक नेता भन्छन्, ‘यो भ्रमणका क्रममा भएका वार्ताहरुमा उर्जामन्त्री र वनमन्त्रीलाई समावेश नै गरिएन । यसमा हाम्रो असन्तुष्टि छ ।’ द्वीपक्षीय वार्तामा उर्जा, जलश्रोत र सिञ्चाइका विषय थुप्रै थिए र छलफल पनि भए । तर, सम्बन्धित मन्त्रीलाई सहभागी नगराउनु गम्भीर भएको भन्दै माओवादीका एक नेताले यसबारे प्रधानमन्त्रीसँग गम्भीर कुरा हुने बताएका छन् ।

एमाले र माओवादी केन्द्रबीच गत वैशाख ९ मा नै पार्टी एकता एकता गर्ने भनिएको थियो । तर, यो सम्भव भएन र जेठ पहिलो साताको नयाँ भाका राखिएको छ । तर, माओवादी र एमाले नेतृत्वमा भने अविश्वास बढ्दो छ । अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहतमा लगेकोदेखि सचिव सरुवाका असन्तुष्टि पहिल्यै थिए । यसबीचमा प्रचण्डलाई लक्षित गरी ओलीकोे ट्वीट आयो, जसले विवादलाई मलजल गर्‍यो ।

मोदीको भ्रमणमा माओवादीका दुई मन्त्रीलाई बाइपास गर्दा एमाले नेतृत्व र त्यसमा पनि प्रधानमन्त्री ओलीप्रति रहेको आशंका थप बढाएको नेताहरु बताउँछन् ।

Related News

Comments are closed