राष्ट्रवादको लेफ्ट–राइट मार्च

250 Hits

काठमाडौँ —

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनै बाँकी छ, तर उनको भ्रमण तालिकाको तरंग भने यत्रतत्र छाइसक्यो । हिन्दु अतिवादका नायक मानिएका मोदी जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथमा पूजा गर्न जाँदैछन् । उनलाई साथ दिन प्रधानमन्त्री केपी ओलीले पनि कुशको औंठी लाउनेछन् ।

 

जनकपुर र काठमाडौंमा मोदीको नागरिक अभिनन्दन गर्ने तयारी भैरहेको छ । जनकपुरमा हजारौं दर्शक उतार्न प्रदेश नं. २ को सरकारले उर्दी जारी गरेको छ । काठमाडौं महानगरले पनि सार्वजनिक बिदा घोषणा गरिसक्यो । उता मुक्तिनाथमा पाहुनाको छेउछाउ कोही देखापर्ला कि भनेझैं अन्नपूर्ण पदमार्ग तीन दिनदेखि खाली गराउने आदेश दिइएको छ ।

भारतीय दूतावासले ५ करोडसम्मका साना परियोजनामा सिधै लगानी गर्न पाउने ‘स्मल ग्रान्ट एग्रिमेन्ट’लाई यही बेला नवीकरण गरेर ओली सरकारले थप उदारता प्रदर्शन गरेको छ । बहुरङ्गी राष्ट्रवादको रङ फेरिएको समय हो, यो । प्रधानमन्त्री ओलीको भारत भ्रमणपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालको हैसियत बढेको टिप्पणी गरेका थिए । अहिले उनको यो टिप्पणी नै संकटमा परेको छ । ओलीको कथित् राष्ट्रवादी छविमा मखलेल एकथरी मानिसहरू खराब सपनाबाट भर्खरै व्युँझिएझैं हतास देखिन्छन् ।

मोदीको भ्रमण सुरु भएपछि यो निराशा अझै बढ्ने संकेत छ, मुलुकमा । त्यसैले त्यसअघि नै निराश जनको शिर उठाउन माङ्गेना गर्नुपर्ने आवश्यकता पैदा भएको छ । र माङ्गेना मन्त्र यस प्रकार छ : नेपालमा राष्ट्रवाद एक भ्रामक अवधारणा हो । जनताको जीवनलाई कहिल्यै नछुने र शासकले आफ्नो शक्तिका लागि जुवाको खालमा थाप्ने गरेको एक दाउ हो, राष्ट्रवाद । त्यसैले नत ओली हिजो राष्ट्रवादी थिए, न आज अराष्ट्रवादी भएका छन् । पार्टीभित्र र बाहिर शक्ति हासिल गर्न उनले राष्ट्रवादको दाउ थापे, चुनाव पनि जिते । शक्तिशाली प्रधानमन्त्री पनि भए । राष्ट्रवादको काम तमाम भयो । यो हो, राष्ट्रवादको राजनीति ।

किन हुन्छ यस्तो ?
राष्ट्रवादको अवधारणा युरोपमा उत्पत्ति भएको हो । यसको चरम विकास फासीवाद र नाजीवादका रूपमा भयो । साम्राज्यवाद र उपनिवेशवाद विरोधी आन्दोलनमा अर्को प्रकारको राष्ट्रवाद संसारभरि देखापर्‍यो । बिसौं शताब्दीको बीचतिर देखिएको यो राष्ट्रवाद युरोपेली उपनिवेशबाट मुक्त हुने आन्दोलनको औजार थियो । दोस्रो विश्वयुद्धपछि साम्राज्यहरू क्रमश: समाप्त भए । त्यसपछि दोस्रो विश्वयुद्धको विजेताको रूपमा उदाएको अमेरिकाले नयाँ प्रकारको वित्तीय साम्राज्यवादको बिउ रोप्यो ।

बाइबल र बन्दुक बोकेर उपनिवेश बनाउन आउने दिन सकियो । प्रविधि, पैसाको बलमा विकासको नयाँ मन्त्र बोकेर उनीहरू धमाधम पूर्वउपनिवेश र गरिब मुलुकमा छिर्न थाले । इतिहासको यही चरणमा विकास र प्रयोग गरियो, वैदेशिक सहायताको राजनीति । शक्तिशाली मुलुकले नयाँ फर्मुला विकास गरिसकेका थिए । अब न सेना पठाउनुपर्‍यो, नत टार्गेट मुलुकमा शासन गर्ने झन्झट नै उठाउनुपर्‍यो । नेपाल जस्तो देशका शासक वर्गलाई हात लिए पुग्यो । शासकीय दोषको भागिदार पनि हुनुपरेन, लोकतन्त्र र मानव अधिकारको दुहाइ दिइरहन पनि पाइयो । र यसैले जन्मायो, सहायता थाप्ने मुलुकहरूमा अवसरवादी राष्ट्रवाद ।

विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंकजस्ता अन्तर्राष्ट्रिय वित्तीय संस्थामार्फत वैचारिक, राजनीतिक, आर्थिक कमाण्ड आफ्नो हातमा लिइराख्ने शक्तिराष्ट्रहरूको काइदा गजब छ । यसका लागि विकास गरिएको आधुनिक जादुगरी जिनिस हो– वित्तीय पुँजीवाद । हिजो बन्दुकले बनाउन नसकेको सफेद उपनिवेश आज भूमण्डलीकृत पुँजीले बनाइरहेको छ । वित्तीय पुँजीवादको यही भुमरीमा फँसेका नेपालजस्ता मुलुकमा जन्मिएको अवसरवादी राष्ट्रवाद झन् विचित्रको छ ।

युरोप, अमेरिकालाई थाती राखेर ताजा सन्दर्भमा भारतकै कुरा गरौं । भारतको नाममा नेपालमा सबैभन्दा धेरै राष्ट्रवादको खेती गर्ने गरिएको छ । २००८ सालमा त्रिभुवन विमानस्थल र त्रिभुवन राजपथ निर्माण गर्न भारतीय सेनाको मिसन नेपाल आएको थियो । उपत्यकामा भारतीय सेनाको त्यो उपस्थितिले पहिलोपटक भारत विरोधी राष्ट्रवादको विजारोपण गरेको थियो । त्यसो त राणाशासनको अन्त्य नै तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा भएको दिल्ली सम्झौताले गरेको थियो । त्यसपछिका क्याबिनेट बैठकमै भारतीय राजदूत केएन सिंह पनि बस्थे भनिन्छ । बेलायती साम्राज्यको दूतावास रहेको लैनचौर नै पछि भारतीय दूतावासमा परिणत भएको थियो र त्यसपछि लगातार लैनचौर नेपाली राष्ट्रवादको भाष्यमा एक विम्बको रूपमा रहेको छ ।

कोशी, गण्डक सम्झौता हुँदै महाकाली सन्धिसम्म आइपुग्दा भारत विरोधी राष्ट्रवादले विभिन्न रङ फेरिसकेको छ । राजा महेन्द्रले २०१७ सालमा निर्वाचित सरकारलाई कू गरेपछि भारतले पहिलोपटक नाकाबन्दी लगाएको थियो । त्यतिबेला दरबारियाहरूले राष्ट्रवादको नारा उग्र तुल्याएका थिए । महेन्द्रले ‘चाइना कार्ड’ खेल्ने कोसिस पनि नगरेका होइनन् । तर छिटै नै उनले भारतसँग मेलमिलाप गरे र पूर्व–पश्चिम राजमार्ग लगायत कैयौं परियोजनामा भारतले लगानी गर्‍यो । २०४६ को जनआन्दोलनताका दोस्रोपटक भारतले नाकाबन्दी लगायो । राजा वीरेन्द्रले केही समय राष्ट्रवादी हुने अवसर पाए । २०७२ मा तेस्रोपटक नाकाबन्दी लाग्दा केपी ओलीले राष्ट्रवादको फसल काट्ने मौका उम्काए ।

प्रधानमन्त्री निर्वाचित भएर भारत भ्रमणमा जानु अघिसम्म ओली पञ्चायत कालमा रचित राष्ट्रवादी भाषा बोल्दै थिए । सगरमाथा र बुद्धको दुहाइ दिन केही दिन अघिसम्म पनि उनी चुकेका थिएनन् । स्वाभिमान र वीरताको गाथा उनी हिजो–अस्तीसम्म गाउँदै थिए । अचानक मोदी भ्रमणको रन्कोमा उनी व्यस्त भए र यता उनको राष्ट्रवाद सगरमाथा र बुद्धले बोक्न नसक्नेगरी भारी भयो । हुन त कटवाल काण्डपछि माओवादी अध्यक्ष प्रचण्ड पनि बानेश्वरको चोकमा उभिएर भारतलाई ललकार्दै थिए । ओलीसँग वाम गठबन्धन गर्नु अघिसम्म उनैलाई एमालेजनले लम्पसारवादीको बिल्ला भिराइदिएका थिए । वाम गठबन्धनले त्यो बिल्ला खारेज गरिदियो, उनी फेरि ओलीसँगै राष्ट्रवादी मार्गमा हिँडे । भारत विरोधी राष्ट्रवादलाई मात्र केलाउने हो भने यस्ता उदय–अस्तका कहानी थुप्रै भेटिन्छन् ।

आखिर यस्तो किन हुन्छ ? सबैभन्दा पछिल्ला केही तथ्यले यसको जवाफ दिन्छन् । भारत र चीन दुवै नेपालका छिमेकी, दुवै शक्तिशाली हुने होडमा । डा. बाबुराम भट्टराई एक समय भन्थे– भारत र चीनको गतिशील पुल भएर नेपालले लाभैलाभ पाउँछ । त्यसबखत माओवादीले यस्तै नीति पनि बनाएको थियो । चुनाव जित्नासाथ दलबल लिएर ओली रसुवागढी नाका घुम्न गएका पनि हुन् । अनि पहिलो राजकीय भ्रमणमा भारत जाने परम्परा धान्न आधा सय जन्ती लिएर दिल्ली पुगेका पनि हुन् । चीनबाट आउने भनिएको रेलको कुरो छँदै थियो, भारतले पनि रेल ल्याइदिने आश्वासन थपिदियो । यति भैसकेपछि बन्ने भएन त गतिशील पुल ? झन्डै–झन्डै गंगामा नेपाली पानीजहाजको उद्घाटन भैसकेको । नाकाबन्दीका बेला चीनबाट तेल ल्याउने कुरा थियो, भ्रमणका बेला भारतबाट आउने पेट्रोलियम पाइप लाइनको उद्घाटन गरे ओलीले ।

खास्सा तथ्यचाहिँ के भने पोहोर सालसम्म भारतसँग नेपालको व्यापार घाटा ६४ प्रतिशत थियो, यो वर्षको ६ महिनामै त्यसमा पनि १८ प्रतिशत बढिसकेको छ । रेमिटेन्सको चक्करमा लाखौं युवा विदेश पठाउने व्यवस्था मिलाउने सरकारलाई ५० प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो पल्टिएको ख्यालै छैन । पेट्रोलियम त आयात गर्नैपर्‍यो रे, ठिकै छ । दाल–चामल, तरकारी लगायतका चिजमा पनि पुरै भारतसँग निर्भर भएपछि मोदीको छेउमा बसेर कुश नसमाते प्रधानमन्त्री ओलीले गर्ने के ? परनिर्भरतको चक्रव्यूह तोड्न त श्रमजीवी र किसान जनताको आँगनमा पुगेर हात नजोरी सुख्खै छैन । सपना जब रेल र पानीजहाजको देखिन्छ, श्रमजीवी जनताभन्दा मोदी नै निकट लाग्छन् ।

मधेस र मोदी
नेपाल भ्रमणको सुरुवात मधेसबाट गर्नुमा मोदीको कुनै तुषले काम गरेको हुनसक्छ । हिन्दुवादको नाराले चुनावी फसल काट्न माहिर मोदीका लागि जानकी मन्दिरमा गरिने पूजाको अर्थ होला । तर यो कुरा मोदीको हो, मधेसको होइन । तर मधेसी नेतृत्वको मोदी मोहचाहिँ विचित्रकै देखिन्छ । मधेसी जनताको आन्दोलनलाई मोदीको नाकाबन्दीसँग जोड्नु हिजो पनि नेतृत्वको गल्ती थियो र मोदीको सहायताले मधेसको समृद्धिको सपना देख्नु अर्को भ्रम हुनेछ ।

जनताको उत्पादकत्व र हितमा भर नपर्ने राष्ट्रवाद जसरी अवसरवादी राष्ट्रवाद हुन्छ, त्यसरी मोदीको आशिर्वादमा भर पर्ने मधेसी राजनीति पनि अवसरवादी नै हुन्छ । मोदीको सामरिक स्वार्थकै चक्करमा परेर तेस्रो मधेस आन्दोलन तुहिएको तथ्यलाई यो सन्दर्भमा बिर्सन मिल्दैन । मधेसको हित श्रमजीवी मधेसीको सीप, शिल्प, ऊर्जा र श्रमबाट मात्र सुरक्षित हुनसक्छ । मधेसको विविधताको रक्षा कसरी गर्ने ? त्यो विविधतालाई उत्पादनसँग कसरी जोड्ने ? सबैभन्दा ठूलो कृषिको सम्भावना भएको मधेसले किसानको माङ्गेना कसरी गर्ने ? श्रमजीवी मजदुरको उत्तिकै बाहुल्य छ, मधेसमा । त्यो जनशक्तिलाई इज्जतका साथ कृषि र औद्योगिकीकरणमा कसरी जोड्ने ? ठूलो सम्भावना बोकेको मधेस प्रदेशले सोच्ने यतातिर हो, मोदीको जयजयकारमा समय र सामथ्र्य खेर फाल्नु बुद्धिमानी होइन ।

अन्त्यमा,
आफ्नै मुलुकमा मोदी एक अनुदार शक्तिको नेताका रूपमा चित्रित छन् । सिमान्तकृत मुस्लिम, दलित र महिलाले मोदीराजमा तमाम हिंसा भोगिरहेका छन् । पत्रकार र लेखकको हत्या भएको छ । तिनै मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्य आफैंमा उनको अनुदार सत्ताको अनुमोदन हुन जान्छ । मधेस आन्दोलनको पक्षमा मैदानमै उत्रेको एक पात्रको हैसियतले यो पंक्तिकारले हिजो पनि नाकाबन्दीको विरोध गरेको थियो । नाकाबन्दीले स्वयम् मधेस आन्दोलनलाई आघात गरेको विश्लेषण अन्तत: सही सावित भयो । त्यसैगरी उनको नागरिक अभिनन्दन गर्ने उत्साह अन्तत: समग्र नेपाली जनताको अधिकार र समृद्धिको संघर्षमा एक खड्गो हुनेछ ।

अवसरवादी राष्ट्रवाद चाहे गाढा होस्, चाहे फिका, यसले शासकको शक्तिमा उक्लने र टिक्ने अभिलाषालाई मात्र फाइदा पुर्‍याउँछ । विदेशी सहायताको परियोजनाले सदैव कुलीन शासक वर्गलाई मात्र फाइदा पुर्‍याएको छ र उनैको शासन टिकाएको छ । त्यसैले फाइदा आफ्नो पोल्टामा परे विदेशी शक्तिको अभिनन्दन र नपरे आँेठे विरोधको पासा
फ्याँकेर शासकहरू अवसरवादी राष्ट्रवादको उपयोग गर्छन् । जनताको सीप, ज्ञान र श्रममा भर पर्ने र आफ्नै धरातलमा टिक्ने अर्थतन्त्रको निर्माण गर्नु आजको आवश्यकता हो । उडन्ते विकासको रेल सपनाबाट ब्युँझेर माटोबाट उमार्ने समृद्धिको लिकमा नउत्रुन्जेल राष्ट्रवादको नक्कली फसल काट्ने शासकको कमी हुने छैन ।

ट्विटर : @YugPathak

-(सान्दर्भिक लागेर कान्तिपुरबाट साभार गरिएकाे हाे)

Related News

हिन्दुले फेर्नुपर्ने मृत्यु संस्कार

-किरण विक- पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि…

विज्ञकाे कुरा नसुन्ने समाज (सरकार) !

-उत्तम बाबु श्रेष्ठ- अहिलेकाे संसारमा काेहि पनि मान्छे लियाेनार्दाे दा भिन्ची भएर जन्मेका छैनन् जाे विहान माेनालिसाकाे तस्वीर काेर्दथे, दिउँसाे…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी