फुटबलले जगाएको आशा

108 Hits

बागलुङ, १८ वैशाख।

 

एक महिनाको अवधिमा बागलुङमा ठूलो पुरस्कार राशिका तीन फुटबल प्रतियोगिता भए । पहिलो– बागलुङ नगरपालिकाको आयोजनामा प्रदेशस्तरीय ‘मेयरकप फुटबल प्रतियोगिता’, दोस्रो– स्ववियु धवलागिरि बहुमुखी क्याम्पसले आयोजना गरेको ‘अन्तर कलेज फुटबल प्रतियोगिता’ र तेस्रो– युवा तथा खेलकूद विकास समितिद्वारा आयोजित फुटबल प्रतियोगिता ।

 

‘मेयरकप’ हालसम्मकै ठूलो पुरस्कार राशिको प्रतियोगिता थियो जसका विजेताले नगद रु दुई लाख २२ हजार २०२ हात पारे । अन्य दुई प्रतियोगिताको पुरस्कार भने नगद रु एक–एक लाखको थियो । उल्लेखित विवरणले जिल्लामा फुटबलको बढ्दो विकासक्रमलाई चित्रित गर्छ ।
बागलुङको झण्डै ४४ वर्ष लामो फुटबल इतिहासको जगमा आजको स्थिति निर्माण भएको हो । यसलाई खेल क्षेत्रका पदाधिकारीले सुखद मात्र मानेका छैनन् फुटबलको भविष्य सुन्दर बन्नेमा दृढ छन् । लगानी, पूर्वाधार र जनशक्ति अभाव भएपनि फुटबलले गरेको गतिप्रति सन्तुष्ट हुनुहुन्छ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङ । उहाँले भन्नुभयो, “बागलुङमा फुटबलको राम्रो सम्भावना छ ।”

अध्यक्ष गुरुङले व्यवस्थित फुटबल मैदानलगायतका खेल पूर्वाधारको भने खाँचो रहेको बताउनुभयो । खेलको विकास स्थानीय सरकारको पनि दायित्वमा पर्ने हुँदा खेल क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो । सदरमुकाममा रहेको बाङ्गेचौर खेल मैदानबाहेक अन्य ठाउँमा रहेका फुटबल मैदान मापदण्डमा छैनन् । बागलुङ नगरपालिका–१० भकुण्डे, तमानखोला गाउँपालिका–४ र गलकोट नगरपालिका–११ रिघामा रहेको फुटबल मैदान स्तरोन्नतिको पर्खाइमा छन् ।

राष्ट्रियस्तरका खेल खेल्न मिल्ने फुटबल मैदानको अभाव रहेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष धनबहादुर परियारले बताउनुभयो । “बाङ्गेचौरमा क्षेत्रीय प्रतियोगिताहरु भइरहेका छन्”, उहाँले भन्नुभयो, “अन्यमा ठूला खेल खेलाउन नसकिने अवस्था छ ।” अध्यक्ष परियारले बाङ्गेचौरलाई आधुनिक रंगशालाका रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । “रंगशाला निर्माणको गुरुयोजना बन्दैछ”, अध्यक्ष परियारले भन्नुभयो, “बागलुङको खेलकूदमा यसले ठूलो महत्व राख्छ ।”

पछिल्लो समय रुग्ण अवस्थामा रहेको बाङ्गेचौर खेल मैदानको स्तर सुधार भएको छ । सरकारी सहयोग र निजी क्षेत्रको पहलमा खेल मैदान चौडा गर्ने, सतह मिलाउने, तारबार गर्नेलगायतका काम भएका छन् । मैदानको सुधारपछि प्राय नियमित फुटबल प्रतियोगिता आयोजना भइरहेका छन् । खेलाडी उत्पादनका लागि पनि बाङ्गेचौर खेल मैदानले ठूलो योगदान दिएको छ । यही मैदानमा फुटबल सिकेका खेलाडी अहिले राष्ट्रियस्तरसम्म पुगेका छन् ।

युवा पुस्तामाझ फुटबलप्रतिको आकर्षण बढ्दै गएको अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रशिक्षक भीम बोहराले बताउनुभयो । “खेलको स्तर पनि बढ्दो छ, प्रतियोगिता भइरहेका छन्”, उहाँले भन्नुभयो, “सरकारी, निजी क्षेत्रबाट प्रतियोगिता आयोजना गरिनु सुखद छ ।” फुटबलको प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादन गर्न प्रतियोगिता जरुरी रहेको उहाँको भनाइ थियो । प्रशिक्षक बोहराले पनि खेल पूर्वाधार निर्माणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयोे ।

जिल्लामै पहिलो पटक महिला खेलाडी उत्पादनका लागि अहिले प्रशिक्षण पनि चलिरहेको छ । चौध वर्षमुनिका किशोरीलाई प्रशिक्षण दिइरहेको प्रशिक्षक बोहराले बताउनुभयो । छ । जिल्ला र बाहिर हुने फुटबल प्रतियोगितामा खेलाडी प्रमेश थापाले बागलुङको कप्तानी सम्हाल्दै आउनुभएको छ । “अहिले प्रतियोगिता बढी हुन्छन्, पुरस्कारको राशि पनि बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “फुटबलको व्यावसायिक विकास शुरु भएको छ ।”

बागलुङका खेलाडी कमल थापा, आशिष केसीलगायतले ‘ए डिभिजन’ का राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन् । खेलाडीलाई फुटबलमा टिकाउनु मुख्य चुनौती रहेकामा जोड दिंदै खेलकूद विकास समितिका अध्यक्ष परियारले खेलाडीको व्यावसायिक सुरक्षाको सुनिश्चितता हुनुपर्ने धारणा राख्नुभयो ।

खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो । उहाँले खेलकूद प्रवद्र्धनका लागि पूर्वाधारमा लगानी बढाउने प्रतिबद्धता जनाउनुभयो । “हाल भएका खेल मैदानको स्तरवृद्धि र वैकल्पिक मैदानको पनि खोजी गर्ने तयारीमा छौँ ।”
नगरपालिकाकै आर्थिक सहयोगमा यसै वर्ष बागलुङको भकुण्डेमा रहेको ठूलाताल फुटबल मैदानको स्तरोन्नति भएको छ । गत माघमा भएको ‘मेयरकप’ फुटबल प्रतियोगिताको एउटा खेल सोही मैदानमा खेलाइएको थियो । पर्यटकीय गाउँ भकुण्डेमा भएको फुटबल मैदानले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने ठानिएको छ । सदरमुकाममा रहेको बाङ्गेचौर खेल मैदानलाई रंगशालाका रुपमा विकास गर्न सके त्यसले खेल क्षेत्रमा ठूलो परिवर्तन ल्याउने देखिन्छ । – गोरखापत्र

Loading...

Related News

José Mourinho hails ‘phenomenal’ Paul Pogba after Manchester United sink City

  Paul Pogba was the pivotal figure in the memorable Manchester derby that prevented the Premier League leaders wrapping up…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी