हाेला त खुला कारागार सँचालन ? यस्ताे छ सरकारी तयारी

139 Hits

भउचप्रसाद यादव

काठमाडौँ, १८ वैशाख  ।

नेपालको कारागारको इतिहासमा पहिलोपटक खुला कारागार सञ्चालनमा आउने भएको छ । नेपालको कारागारको एक सय वर्षभन्दा लामो इतिहासमा पहिलोपटक खुला कारागार सञ्चालनमा आउन लागेको हो ।
यस वर्षको भदौदेखि बाँके जिल्लाको गानापुर भन्ने ठाउँमा खुला कारागार सञ्चालनमा आउने कारागार व्यवस्थापन विभागले जनाएको छ । सो ठाउँमा विगत पाँच वर्षदेखि खुला कारागार निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।
विभागका शाखा अधिकृत दीपक न्यौपानेले अहिले जारी दण्डसंहितामा भएको व्यवस्थाअनुसार बाँकेको गानापुरमा खुला कारागार सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । खुला कारागारको व्यवस्था गरिएको दण्डसंहिता भदौ १ देखि लागू हुँदैछ ।
“सम्पूर्ण संरचना तयार नभए पनि दण्डसंहितामा गरिएको बाध्यकारी व्यवस्थाअनुसार थोरै सङ्ख्यामा भए पनि भदौदेखि खुला कारागार सञ्चालन गर्नैपर्ने हुन्छ”, उहाँले भन्नुभयो । खुला कारागार निर्माण भइरहेको सो ठाउँमा अहिले दुईतले भवन निर्माण भइसकेको जानकारी दिँदै शाखा अधिकृत न्यौपानेले सोही भवनबाट नै भदौदेखि खुला कारागार सञ्चालन गरिने तयारी भइरहेको बताउनुभयो ।
कारागार ऐन, २०१९ र नियमावली, २०२० मा खुला कारागारसम्बन्धी व्यवस्था गरिए पनि अहिलेसम्म मुलुकमा खुला कारागार निर्माण हुन सकेको छैन ।
समाजसँग नजिक रहेर कैदीको आचरणमा सुधार ल्याउन तथा कैदबाट छुटेका व्यक्तिलाई सामाजिकीकरणमा समस्या नहोस् भन्ने उद्देश्यसहित खुला कारागारको अवधारणा ल्याइएको हो ।
“अपार्टमेन्ट प्रणालीअनुसार हरेक कैदीलाई कोठा उपलब्ध गराइनेछ”, शाखा अधिकृत न्यौपानेले भन्नुभयो, “निर्माण हुन लागेको खुला कारागारमा कैदीले कारागार प्रशासनको सम्पर्कमा रही दिनभरि कारागारबाहिर काम गर्न सक्छन् तर रात कारागारमा नै बिताउनुपर्छ । ” कारागारमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै ब्लक भए पनि पुरुष कैदीले श्रीमतीसँग र महिला कैदीले श्रीमान्सँग बाँकी कैद भुक्तान गर्न पाउँछन् ।
कारागार ऐन, २०१९ मा ‘खुला कारागार’ भन्नाले कैदीले तोकिएको समयमा आफूलाई राखिएको ठाउँभन्दा बाहिरसमेत गई कुनै काम गर्न पाउने गरी त्यस्तो राख्नका लागि सरकारले तोकेको ठाउँ सम्झनुपर्छ भन्ने उल्लेख छ ।
सो ऐनअनुसार तीन वर्षभन्दा बढी कैद सजाय भई कम्तीमा एक तिहाई कैदको अवधि भुक्तान गरिसकेको कैदीलाई तोकिएको अधिकारीले खुला कारागारमा बस्ने अनुमति दिन सक्नेछ । “खुला कारागारमा बसेको अवधिलाई कैद भुक्तान गरेसरह मानिनेछ”, कारागार ऐनमा उल्लेख छ ।
बाँकेको गानापुरको ६ बिघा क्षेत्रफलमा खुला कारागार निर्माण भइरहेको छ । यो जग्गा नेपालगन्ज बजारबाट १० किलोमिटरको दूरीमा विमानस्थलसँगै जोडिएको छ ।
यो जग्गा नेपालगन्ज बजारबाट १० किलोमिटरको दूरीमा विमानस्थलसँगै जोडिएको छ ।
बाँके जिल्लाको गानापुरमा रहेको किता नं. ६५ को जग्गा प्राप्त गरी खुला कारागार निर्माण गर्ने लक्ष्य राखिएकोमा ६ बिघा जग्गा अहिले जिल्ला कारागार कार्यालय बाँकेको भोगचनमा छ ।
नेपालमा कारागारको इतिहास १९७१ सालबाट सुरु भएको हो । नेपालको पहिलो कारागार
कारागार शाखा काठमाडौँ जगन्नाथदेवल हो । सुरुमा यसलाई सदर जेल भनिन्थ्यो र अहिले केन्द्रीय कारागार भनिन्छ । पहिले जेल मुख्तियारको मातहतमा रहन्थ्यो र यसको प्रमुख जर्नेल रहने व्यवस्था थियो । २००७ सालको जनक्रान्तिपछि कारागार प्रशासन गृह मन्त्रालयअन्तर्गत रहने व्यवस्था भयो

Loading...

Related News

केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी !

काठमाडौं, १६ साउन काठमाडौं, काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । केन्द्रीय कारागार कार्यालयले…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी