बुद्व जयन्ती, स्वदेशीलाई नै उपेक्षा ?

117 Hits

अाज गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीसँगै देश–विदेशका थुप्रै स्थानमा बुद्धको स्मरण र विश्वशान्तिको कामना गर्ने चलन छ। लुम्बिनीमा सरकारकै अगुवाइमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गरिन्छ। तर, लुम्बिनी र बुद्धसँग जोडिएका अन्य स्थानको हविगत हेर्ने हो भने प्रत्येक वर्ष बुद्धको स्मरणमा हुने यस्ता समारोह औपचारिकता सिवाय केही होइन भन्न कर लाग्छ।

यो तर्क पुष्टि गर्ने अनेकौं प्रमाण छन्। लुम्बिनी विकास कोष राजनीतिक भर्तिकेन्द्र बनेका कारण वर्षौंदेखि रोगी छ। चारदशकअघि बनेको लुम्बिनी गुरुयोजनाको काम अहिले पनि सकिएको छैन। विदेशी, स्वदेशी सबैको लापरबाहीले लुम्बिनी स्वयं शिथिल छ। बुटवलस्थित हिमाल का विशेष संवाददाता दीपक ज्ञवालीले लुम्बिनीको हाल र यसका कारण खोतल्ने प्रयास गरेका छन्।

मायादेवी मन्दिरमा दर्शनार्थी । तस्वीरहरु: दीपक ज्ञवाली

कहिल्यै नसकिने गुरुयोजना !
बुद्ध जन्मस्थल लुम्बिनीको एकीकृत विकासका लागि जापानका वास्तुकलाविद् प्रा. केन्जो टाङ्गेले सन् १९७८ मा लुम्बिनी गुरुयोजना तयार पारेका थिए । अहिलेसम्म गुरुयोजनाको ८१ प्रतिशत काम मात्र पूरा भएको छ । तर, जानकारहरू अहिलेकै गतिमा बाँकी १९ प्रतिशत काम सकिन अझै १५ वर्ष लाग्ने बताउँछन् ।

१५ वर्षको शुरूआती लक्ष्य रहेको गुरुयोजनाका काम दुई वर्षभित्रै सिध्याउन प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको यसअघिको सरकारले निर्देशन दिएको पनि हो । तर, गुरुयोजनाको बजेट भने पछिल्लो दुई वर्ष झनै कम भयो ।

कोषका लागि चालू आर्थिक वर्षमा विनियोजित रु.७१ करोडमध्ये रु.४० करोड मात्र विकास निर्माणमा खर्च गर्न मिल्छ । “वार्षिक रु.४० करोडको हिसाबमा गुरुयोजना पूरा हुन अझै १५ वर्ष लाग्छ”, कोषका प्रोजेक्ट म्यानेजर सरोज भट्टराई भन्छन् । उनका अनुसार गुरुयोजना दुई वर्षभित्र पूरा गर्न रु.६ अर्ब आवश्यक पर्छ ।

गुरुयोजनामा रहेका ६ वटा पार्किङ स्थल, विद्युतीकरण, सूचनाप्रविधि, पोखरी निर्माण, खोलो व्यवस्थापन, हरियालीस्थल निर्माण, कर्मचारी कोलोनीलगायतका १८ वटा संरचना निर्माण गर्न बाँकी छ ।

२७ वर्ष, ३४ अध्यक्ष
२०४८ सालपछि संस्कृति मन्त्री पदेन अध्यक्ष हुने व्यवस्थाअनुरूप लुम्बिनी विकास कोषले अहिलेसम्म ३४ जनाको नेतृत्व पाइसकेको छ । पदेन अध्यक्षहरूले १४ उपाध्यक्ष, ५ कोषाध्यक्ष, १७ सदस्यसचिव र १६ योजनाप्रमुख नियुक्त गरिसकेका छन् ।

राजनीतिक नियुक्ति बन्द गरेर कि सोझै  मन्त्रालयले हेर्ने कि त लोकसेवा आयोगबाट परीक्षा लिएर नियुक्तिको स्थायी संरचना नबनाएसम्म यस्तो अस्थिरता नरोकिने जानकारहरू बताउँछन् । “राजनीतिक भर्तिकेन्द्र बनेको कोषमा नियुक्तिको आधार बदलेर दक्ष र आवश्यक कर्मचारी थपिनुपर्छ”, बुद्धदर्शनका अध्येता लक्ष्मण पोखरेल भन्छन् ।

पर्यटकः पस्छन् तर बस्दैनन्
सन् २०१७ मा मात्रै तेस्रो मुलुकका एक लाख ५५ हजारसहित १५ लाख ५२ हजार पर्यटकले लुम्बिनी भ्रमण गरे । तीमध्ये करीब ९० प्रतिशतले लुम्बिनीमा रात नबिताएको कोषको तथ्यांक छ ।

दुई वर्षअघि पहिलो कार्यकालमा लुम्बिनी गुरुयोजनाको प्रगतिबारे बुझ्दै प्रधानमन्त्री केपी ओलीलगायत ।

संख्या बढे पनि पर्यटकको बसाइ अवधि बढेको छैन । यसले अपेक्षाकृत रूपमा पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । स्थलमार्गबाट आउने प्रायः सार्क मुलुकका पर्यटक भारतीय बाटो भएर आउ“छन् र त्यही दिन फर्किन्छन् ।

“पर्यटकको बसाइ बढाउन आसपासका सबै बौद्ध क्षेत्र घुम्ने सडक, दक्ष पथप्रदर्शक र मनोरञ्जन स्थलको अभाव छ” संस्कृतिविद् डा. गितु गिरी भन्छन् ।

लुम्बिनी आसपास बुद्धसँग जोडिएका करीब ३०० वटा पुरातात्विक क्षेत्र छन् । तिलौराकोट, देवदह र रामग्रामसहित १२ स्थान धार्मिक र अध्ययनको दृष्टिले बढी महत्वपूर्ण मानिन्छन् ।

योसँगै बुद्धले ज्ञान पाएपछि कपिलवस्तुमा पहिलो पटक आएर बसेको कुदान, क्रकुछन्द बुद्धको जन्मस्थान गोटिहवा, हजारौं बौद्ध अनुयायी अर्थात् शाक्यहरूको बध गरिएको सगरहवा, कनकमणि बुद्धको जन्मस्थान निग्लिहवा, कनकमणि बुद्धको गृहनगर अरौराकोट, शाक्यहरूद्वारा स्थापित प्राचीन स्तूपका भग्नावशेष भएको सिसहनिया पनि विशेष छन् ।

ती क्षेत्रको भ्रमण गर्न चाहने पर्यटकहरू सडक, यातायात, सूचना र व्यवस्थापनको अभावमा अलपत्र पर्ने गर्छन् । सहज सडक सञ्जाल, पूर्वाधार विकास र संरक्षणका काम नहुँदा उनीहरूलाई ती बौद्ध क्षेत्रमा पुर्‍याउन सकिएको छैन” पर्यटन व्यवसायी लीलामणि शर्मा भन्छन्, “यसले पर्यटन फस्टाउन नसकेको मात्र होइन, धार्मिक र पुरातात्विक महत्वका क्षेत्र पनि ओझेलमा परेका छन् ।”

लापरबाहीका उदाहरण
बौद्धमार्गीहरू बुद्ध जन्मस्थल लुम्बिनीमा टेक्न पाउनु पनि ठूलो अवसर ठान्छन् । तर उनीहरूको आस्था, विश्वासलाई सम्मान गर्ने वातावरण भने छैन । एउटा उदाहरण हो– मासु र मदिराको उपलब्धता । शान्ति गेटको छेवैमा पशुबध गरिन्छ, वरपरका होटलमा खुलेआम मदिरा बेचिन्छ ।

१५ चैतमा मायादेवी मन्दिर नजिकै गाडिएको अवस्थामा शंकास्पद वस्तुहरू भेटिए । जसमा, ३२ वटा ठूला र १०० भन्दा बढी साना थैलाहरूमा मान्छेका दाँत, नङ, कपाल, खरानी, सिक्का पाइएका थिए ।

मानव अङ्गसहितका ती वस्तुहरू २४ सै घण्टा हतियारधारी सुरक्षाकर्मीको पहरा हुने लुम्बिनीको ‘कोर जोन’ क्षेत्रमै ताईवानका बौद्ध धर्मावलम्बीहरूले १२ चैतमा गाडेका थिए । स्थानीयको विरोधपछि ती सामग्री निकालियो ।

घटनाबारे अनुसन्धान गर्न कोषले छानबिन समिति पनि बनायो तर प्रतिवेदन सार्वजनिक गरिएन । मायादेवी मन्दिर अगाडिको दानपेटिकाबाट दान हराइरहनु, वृक्षरोपण क्षेत्रमा आगो लगाइनु जस्ता घटना त सामान्य मान्न थालिएको छ ।

लुम्बिनी विकास कोष क्षेत्र बनाउन थुप्रै स्थानीयवासीले जग्गा दान गरेका थिए । तर कसले कति जमीन दान दिए भन्ने अभिलेख छैन । स्थानीय अगुवा वीरेन्द्र मिश्रा कोषले जग्गादातालाई बेवास्ता गरेकै कारण बेला–बेला कोष र स्थानीयबीच तनाव हुने गरेको बताउँछन् ।

कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी अब सबै जग्गादाताहरूको विवरण खोजिने बताउँछन् । “सबै जग्गादाता पत्ता लगाएर नागरिक अभिनन्दन गरिनेछ”, उनी भन्छन् । उनी आफ्नै बुबाले पनि जग्गा दान गरेको तर अभिलेख नभेटिएको बताउँछन् ।

२० लाखको लक्ष्य
भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि लुम्बिनीमा वार्षिक २० लाख पर्यटक भित्याउने सरकारी लक्ष्य छ । यसका लागि नेपाललाई अन्तर्राष्ट्रिय बुद्धिष्ट हब र लुम्बिनीलाई विश्वकै आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने योजना छ ।

योजनाअनुसार, बुद्ध जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको तिलौराकोट, मावली देवदह र अष्टधातु रहेको भनिएको नवलपरासीको रामग्रामलाई समेटेर १५७ किलोमिटर क्षेत्रलाई बृहत्तर लुम्बिनी क्षेत्र बनाइनेछ ।

यसका लागि कम्तीमा चार लेनको सडक र सडक आसपास हरियाली वातावरण बनाउने भनिएको छ । तर यसतर्फ काम भने शुरू भएकै छैन । “लुम्बिनीको महत्व नबुझे झै गर्ने योजनाकार र कर्मचारीका कारण योजनाहरू कागजमै सीमित छन्” पूर्व अर्थमन्त्री तथा सांसद् विष्णु पौडेल भन्छन् ।

मायादेवी मन्दिरमा दर्शनार्थीकाे भीड ।

भारतीय पथप्रदर्शक हावी
पछिल्लो समय निर्मित संरचना छाडौं, लुम्बिनी आसपासका पुरातात्विक स्थलका साथै महत्वपूर्ण सम्पदा क्षेत्र वर्णन गर्दै पर्यटक घुमाउने दक्ष पथप्रदर्शकको पनि अभाव छ । ठूलो ओहोदाका व्यक्तित्व आए कोषका कर्मचारी आफैंले घुमाउँछन् । नत्र पर्यटक एक्लै भौंतारिन्छन् ।

भारतीय बाटो हुँदै आउने पर्यटकसँगै आउने पथप्रदर्शकले आफू अनुकूल लुम्बिनीको व्याख्या गर्छन् । “सही मानेमा लुम्बिनीको प्रचार र व्यवस्थापन नै हुनसकेको छैन” लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्टार तिलक आचार्य भन्छन्, “हामी त माल भएर पनि चाल नपाएका जस्ता भएका छौं ।”

बौद्ध परम्परा हराउने खतरा
अघिल्लो वर्षसम्म लुम्बिनीमा हुने १५ दिने शान्ति पूजा यसपटक भारतको बोधगयामा भयो । यस्ता अरू थुप्रै बौद्ध परम्परा लुम्बिनीबाट हराउन थालेका छन् ।

आत्मशान्ति र विश्व शान्तिको कामनार्थ आयोजना गरिने थुप्रै पर्वमा विश्वका विभिन्न कुनाबाट आउने भिक्षुहरूको संख्या पछिल्लो समय पातलिएको छ । बुद्ध जन्मस्थलबाट क्रमशः हराउँदै गएका पर्वहरू सहजताका लागि भन्दै बोधगया, कुशीनगरलगायतका भारतीय बौद्धस्थलमा मनाइन थालिएको छ ।

“लुम्बिनीलाई साँच्चिकै बौद्धमार्गीको आस्था केन्द्र बनाउन विस्तारै यी पर्व फर्काउनुपर्छ” बौद्ध विश्वविद्यालयका पूर्व प्रमुख इन्द्र काफ्ले भन्छन् ।

सामथ्र्य र अपेक्षा
बौद्ध संस्कृतिको अध्ययनमा दक्षिण कोरियाली नागरिक जी योन तीन वर्षमा लगातार पाँच पटक लुम्बिनी आइन् । “विश्वभर अस्तित्वमा रहेका बौद्ध कला र संस्कृति बुन पनि लुम्बिनी आइरहन मन लाग्छ”, उनी भन्छिन् ।

चैतको पहिलो साता भूटानका कर्मा साङ्गलगायत २१ जनाको टोली लुम्बिनी आइपुग्यो । टोलीले लुम्बिनीमा तीन दिन बिताउने क्रममा तिलौराकोट, देवदह तथा रामग्राम पुगेर पूजा आराधना गर्‍यो ।

दुष्कर्म पखालिने, सत्कर्म आर्जन हुने अपेक्षासहित बौद्ध संस्कृति सिक्न लुम्बिनी आउने र आउन चाहने धेरै छन् । तर उनीहरूको अपेक्षा लुम्बिनीले पूरा गर्न सकेको छैन । खोजेजस्तो विकास लुम्बिनीमा हुनसकेको छैन ।

“लुम्बिनीप्रति विश्वको ठूलो अपेक्षा र आस्था छ । तर यहींबाटै काम हुनसकेको छैन”, लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव रामलाल श्रेष्ठ भन्छन् ।

लुम्बिनीमा धार्मिक, सांस्कृतिक, प्राकृतिक र मनोरञ्जनात्मक पर्यटन प्रवद्र्धनका प्रशस्त संभावना छन् । यसका लागि आसपासका बौद्ध क्षेत्रसँगै महत्वपूर्ण अन्य क्षेत्र पनि जोड्न सकिन्छ ।

यसका लागि पर्यटन मन्त्रालयले सन् २०१४ मा १० वर्षे कार्यक्रमको योजना पनि बनाएको छ । जसमा मुख्यतः लुम्बिनी क्षेत्रलाई बौद्ध गन्तव्यसँगै आसपासका क्षेत्र जोडेर धार्मिक, पर्वतीय र वन्यजीवन पर्यटनको गेटवेको रूपमा विकास गर्ने योजना छ ।

स्वदेशी पर्यटक ।

मनोरञ्जन पर्यटनका लागि रूपन्देहीको तिनाउ, रोहिणी र डण्डा खोलामा स्वीमिङ स्थल गैंडहवा, गजेडी र कपिलवस्तुको जगदीशपुर तालमा वोटिङ तथा पाल्पाको श्रीनगर र वसन्तपुर प्याराग्लाइडिङ स्थल बनाउन सकिन्छ ।

तिनाउ नदी र गुल्मीको रिडीमा बञ्जीजम्प, पाल्पाको दोभान क्षेत्रमा साइकल राइडिङ स्थल र नुवाकोटमा केबलकार राख्न सकिन्छ । “तर योजना कार्यान्वयन नहुँदा लुम्बिनीप्रति घात भइरहेको छ” संस्कृतिविद् विमलबहादुर शाक्य भन्छन्, “विश्वकै ध्यान खिच्ने संभावनाप्रति खेलाँची भइरहेको छ ।-हिमालखबर

Related News

वैदेशिक रोजगारीको क्षेत्रलाई कामदारमैत्री बनाउने कसरी ?

-अनुराग देवकाेटा- सरकारले बजेटमा वैदेशिक रोजगारीको सुधारबारे कैयन शब्द खर्च गरेको छ । वैदेशिक रोजगारीको क्षेत्रलाई कामदारमैत्री बनाउने विगतका सरकारी योजना…

हिन्दुले फेर्नुपर्ने मृत्यु संस्कार

-किरण विक- पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरा प्रकाशको आकस्मिक मृत्युपछि १३ दिने मृत्यु संस्कार र आफ्नो परिवारलाई पनि…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी