उत्तर र दक्षिण कोरियाबीचको युद्ध ६५ वर्षपछि ‘अन्त्य

59 Hits

 उत्तर र दक्षिण कोरियाबीचको युद्ध ६५ वर्षपछि ‘अन्त्य

 

एजेन्सी, काठमाडौं, वैशाख १५, २०७५ – उत्तर र दक्षिण कोरियाबीच औपचारिक रूपमा युद्ध अन्त्य गर्ने सहमति भएको छ । दुई देशबीच युद्ध भएको ६५ वर्षपछि उत्तर कोरियाली नेता किम जोङ–उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले शुक्रबार संयुक्त शिखर बैठक गरेर युद्ध अन्त्य गर्ने वाचा गरेपछि संसारभर प्रशंसा भएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन डिमिलिटराईज जोनको आ–आफ्नो क्षेत्रमा उभिएर हात मिलाउँदै । तस्बिर : एपी ।

आफ्नो सिमानाबाट टोलीसहित निक्लिएका किमले केही मिटर परबाट एक्लै दक्षिण कोरियाली भूमितिर पाइला बढाउँदाको क्षणलाई संसारभर चासोका साथ प्रत्यक्ष प्रसारणमा हेरिएको थियो । जब उनले स्थानीय समयअनुसार ९:३० मा दक्षिणको भूमिमा पाइला टेके, तब साढे ६ दशकदेखि छिमेकीसँग हुर्किरहेको तनावपूर्ण सम्बन्धलाई हर्षाेल्लासमा परिणत गरिदिए ।

उनलाई सिमानामा स्वागत गर्न बसेका थिए दक्षिण कोरियाका राष्ट्रपति मुन । ६५ वर्षपछि कुनै उत्तर कोरियाली नेताले दक्षिणको भूमिमा पाइला टेकेको यो नै पहिलो क्षण थियो । उत्तरले लगातार मिसाइलहरू परीक्षण गर्दा आणविक युद्धको सन्त्रासमा कोरियाली प्रायद्वीप निसास्सिएका बेला इतिहास रचिएको त्यस क्षणलाई दुवै देशका उच्च पदस्थ अधिकारीले सिमानामा उभिएर लामो समयसम्म ताली बजाएर स्वागत गरेका थिए । आफ्नो भूमिमा आएका किमलाई मुनले प्रफुल्ल मुद्रामा स्वागत गर्दै कुशल मंगल सोधेपछि आफ्नो देशतिर जान आग्रह गर्नुअघि भनेका थिए, ‘मचाहिँ तपाईंको देशमा कहिले पाइला टेक्ने होला ?’ प्रत्युत्तरमा उत्तिकै प्रसन्नताका साथ किमले मुनको हात समातेर भने, ‘लौ अहिल्यै टेक्नुस् ।’ अनि दुवै नेताले हात समातेर नि:शस्त्रीकरण गरिएको सीमारेखालाई पार गर्दै उत्तरको भूमिमा टेके । त्यहाँ किमले मुनलाई हार्दिकताका साथ स्वागत गर्दै छिट्टै आफ्नो देश घुम्न आउन निम्तो दिँदा दुवै देशवासीमा खुसीको सीमा थिएन । ‘सन्काहा केटो’ का रूपमा चित्रण गर्दै आइरहेका पश्चिमा सञ्चार माध्यमले दक्षिणका नेतालाई आफ्नो भूमिमा टेक्न लगाउने किमको यो कदमलाई चाहिँ ‘कूटनीतिक चातुर्यताले भरिएको एक उच्चस्तरको सुझबुझ’ भनेर टिप्पणी गरेका छन् ।

किमले कुशलतापूर्वक यसरी आफ्नो भूमिमा लगेर प्योङयाङ घुम्न दिएको निम्तो मुनले हर्षपूर्वक स्विकारेपछि दुवैजना दक्षिण कोरियाली भूमिमा प्रवेश गरे, जहाँ दुई नेतालाई दुई बालबालिकाले पुष्पगुच्छा दिएर स्वागत गरे ।

त्यसपछि वार्तास्थल ‘शान्ति गृह’ लगिएको थियो, जहाँ दुवै नेताहरू युद्ध अन्त्य गर्ने, एकअर्का देशमा सम्पर्क कार्यालय स्थापना गरी कूटनीतिक सम्बन्ध अघि बढाउने, युद्धका समयमा छुट्टिएका नागरिकहरूको पारिवारिक मिलन गराउने र डेढ महिनापछि अर्काे उच्चस्तरीय बैठक गर्न सहमत भएका थिए ।

त्यहाँ किमले अतिथि पुस्तकमा, ‘इतिहासको प्रस्थानविन्दुमा अब एक नयाँ इतिहास सुरु भएको छ’ लेखेर हस्ताक्षर गरेका थिए । उनीहरू दुवैले हालै पुन:संरचना गरिएको भवनमा बैठकका लागि पस्नुअघि सञ्चारकर्मीसँग कुराकानी गरेका थिए । त्यसक्रममा किमले शान्ति र समृद्धिको नयाँ इतिहास लेख्न लागेको यो क्षणमा मुनसँग मिलेर आफूले ‘एक ज्योति बालेको जस्तो अनुभव भइरहेको’ अभिव्यक्ति दिएका थिए । उनले दुवै कोरिया एकै देशका रूपमा पुनर्एकता हुने पनि बताएका थिए । त्यसपछि दुवै नेता सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको बैठकमा दुई घण्टासम्म शिखर वार्तामा बसेका थिए । उनीहरूले ‘कोरियाली प्रायद्वीपमा शान्ति समृद्धि तथा एकीकरणका लागि पान्मुन्जोम घोषणा’ मा पनि हस्ताक्षर गरेका छन् । बैठकपछि किम ‘नि:शस्त्रीकरण क्षेत्र’ को आफ्नै भूमिमा खाना खान मोटर चढेर फर्केका थिए । उनी चढेको मोटर वरपर अंगरक्षकहरू घेरा बनाएर दौडिएका थिए ।

खाना खाइसकेपछि दुवै देशको माटो र पानीले दक्षिणको भूमिमा किम र मुनले बिरुवा रोपेका थिए र ढुंगामा ‘शान्ति र समृद्धिको रोपण’ भनेर लेखी हस्ताक्षर गरेका थिए । त्यसपछि इनले किमलाई रात्रिभोजमा लगेका थिए । किमको भोजनमा स्वीस आलुको रोस्टी भन्ने परिकार पनि सामेल थियो, जो उनी स्विट्जरल्यान्डमा विद्यार्थी भएर बस्दा खाने गर्थे । रात्रिभोजमा उत्तर कोरियाको प्रसिद्ध खाना चिसो नुडल र रक्सी पनि सामेल गरिएको थियो ।

के–के भए सहमति ?
-औद्योगिक भवनहरू चलाउँदै आएको उत्तर र दक्षिण कोरियाको काएसङ क्षेत्रमा संयुक्त सम्पर्क कार्यालय खोल्ने
-सबै राष्ट्रिय मेलमिलाप र एकतालाई प्रोत्साहन दिन सबै तहमा सक्रियतापूर्वक सहकार्य, आदानप्रदान, भ्रमण र सम्पर्क बढाउने
-आगामी जुन १५ मा विशेष बैठक गर्ने
-यो वर्ष इन्डोनेसियामा हुने एसियाली खेल र अरू यस्तै खेलहरूमा संयुक्त रूपमा भाग लिने
-अगस्ट १५ मा दुवै देशले कोरियाली प्रायद्वीपमा युद्धका क्रममा छुट्टिएका परिवारको मिलन गराउने
-सिमानामा ठूलो आवाज निकालेर विस्फोट गर्ने हर्कत रोक्ने
-रक्षा मन्त्रीबीच बैठक बस्ने
-अमेरिका र चीनसँगको त्रिपक्षीय वार्तामा दुवै देश बस्ने
-दुवै देशले सिमानालाई सडक र रेलमार्गले जोड्ने


स्वागत र प्रशंसा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई कोरियाली नेताको मिलन हुँदै गर्दा ट्वीट गरेर त्यसलाई सतर्कताका साथ स्वागत गरेका थिए । ‘मिसाइल प्रक्षेपण र आणविक हतियारको परीक्षणको एक आवेगपूर्ण वर्षपछि दक्षिण र उत्तर कोरियाका नेताबीच ऐतिहासिक बैठक भइरहेको छ,’ ट्रम्पले ट्वीटमा भनेका छन्, ‘असल काम भइरहेको छ, तर त्यो समयले नै बताउनेछ ।’ चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि भेटलाई ऐतिहासिक घटना भन्दै प्रशंसा गरेका थिए ।

उत्तर कोरियाली नेता किम जोङ–उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन शुक्रबार दुई देशको सीमा पान्मुन्जोममा हात मिलाउँदै

यसरी सम्भव भयो शान्तिवार्ता
लामो समयदेखि शत्रुतापूर्ण सम्बन्ध रहेका दुई देश यति छिट्टै सद्भावपूर्ण विन्दुमा आइपुग्लान् भनेर सायदै कसैले कल्पना गरेका थिए । एकपछि अर्काे क्षेप्यास्त्र परीक्षण गर्दै आएको उत्तर कोरियाका कारण पूर्वी एसिया मात्रै नभएर पूरा विश्व नै सन्त्रस्त बनेको स्थितिमा अचानक गएको हिउँदमा किमले आफू दक्षिणसँग वार्ताका लागि तयार भएको सार्वजनिक उद्घोष गरेका थिए ।

दक्षिण कोरियाको भूमिमा बिरुवा रोप्दै

त्यसपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले केही मध्यस्थता प्रयास गरे भने दक्षिणले पनि किमको आह्वानलाई सकारात्मक रूपमा लिँदै आफू पनि मित्रताको हात अघि बढाउन व्यग्र रहेको सूचना प्योङयाङ पठाएको थियो । लगत्तै दुवै देशका खेलाडीले हिउँदे ओलम्पिकमा संयुक्त झन्डामुनि भाग लिएका थिए । गत महिना किमले दक्षिण कोरियाका अधिकारीलाई भेटेलगत्तै उनले आफ्ना कट्टर आलोचक र जानी दुश्मन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि भेट्न इच्छुक रहेको खुलासा गरेका थिए ।
दक्षिण कोरियाले माग गरेअनुरूपै किमले गत साता आणविक परीक्षण स्थगित गरिएको घोषणा गरेपछि एकाएक वार्ता प्रक्रियाले गति लिन पुग्यो । यसबीचमा अमेरिकी सीआईए प्रमुख माइक पोम्पियोले किमसित भेटवार्ता गरेका थिए ।

वार्ता सफल होस् भन्ने कामना गर्दै दक्षिण कोरियाको सोलमा प्रार्थना गर्दै बौद्ध भिक्षु–भिक्षुणी तथा सर्वसाधारण

 

-कान्तिपुरबाट

Related News

Comments are closed