शोधनान्तर घाटा हालसम्मकै उच्च (२४ अर्ब ७३ करोड), बजार भाउ वृद्धि ६ प्रतिशत

78 Hits

काठमाडौँ —

मुलुकको शोधनान्तर घाटा बढेर फागुन महिनामा २४ अर्ब ७३ करोड पुगेको छ । चार महिनादेखि बढिरहेको घाटा फागुनमा थप अकासिएको हो । यो घाटा सम्भवत: हालसम्मकै उच्च हो । यसअघि २०६६ फागुनमा शोधनान्तर घाटा २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो । त्यतिबेला उक्त घाटा २६ वर्षपछिको उच्च थियो ।

चालु आर्थिक वर्षको फागुन महिनासम्मको शोधनान्तर घाटा गत वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ०.९ प्रतिशत हुन आउछ । शोधनान्तर मुलुक भित्रने र बाहिरिने रकमबीचको फरक हो । भित्रनेभन्दा बाहिरिने रकम बढी भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ । शोधनान्तर घाटामा रहँदा खासगरी विदेशी लगानी निरुत्साहित हुनुका साथै स्वदेशी मुद्राप्रतिको विश्वास घट्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ,  कान्तिपुरमा खबर छ ।

विगतका तुलनामा पछिल्ला महिनामा देखिएको शोधनान्तर घाटा डरलाग्दो भएको र यसले समग्र अर्थतन्त्रमा नकारात्मक असर पार्ने राष्ट्र बैंकका पूर्व कामु गभर्नर कृष्णबहादुर मानन्धरले बताए । यसअघि शोधनान्तर घाटा उच्च रहेको जनाउँदै उनले भने, ‘०६६ सालको तुलनामा अहिलेको परिस्थिति फरक हो, त्यतिबेला सस्तो भन्सार दरका कारणले एकै वर्ष ठूलो मात्रामा सुन आयात भएको थियो । पछि भारतकै बराबर भन्सार दर बनाएपछि समस्या समाधान भएको थियो ।’ विगतमा जस्तो अहिलेको घाटा सजिलै समाधान गर्न सकिने अवस्था नरहेको उनले बताए ।

विगतमा व्यापार घाटाभन्दा धेरै रेमिटयान्स आउने गरेकाले त्यो घाटा सजिलै पूर्ति हुँदै आएको थियो । पछिल्ला वर्षहरूमा रेमिटयान्स घट्दो वा स्थिर अवस्थामा छ । यसले उच्च दरमा बढिरहेको व्यापार घाटालाई थेग्न नसक्दा घाटाको अवस्था आएको उनको बताए ।

राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको ८ महिनामा ६ अर्ब ३१ करोडले घाटामा रहेको चालु खाता गत फागुनसम्म बढेर १ खर्ब ५३ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा आयात तथा विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालु खाता उल्लेख्य घाटामा रहेको राष्ट्र बैंकले बताएको छ । ‘अघिल्लो वर्षको ८ महिनामा ५० अर्ब २ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँले घाटामा छ ।’

लगातार रूपमा शोधनान्तर घाटा चुलिँदै जानु अर्थतन्त्रका लागि जोखिमपूर्ण रहेको अर्थविद् केशव आचार्यले बताए । बढ्दो शोधनान्तर घाटाले मुलुकमा रहेको विदेशी विनिमय सञ्चिति खिइँदै (घट्दै) जाने भएकाले समग्र अर्थतन्त्रमा राम्रो नगर्ने उनले बताए । ‘शोधनान्तर घाटा बढिरहँदा यथार्थ विनिमयदरमा चाप पर्छ,’ उनले भने, ‘यसले विदेशी लगानीकर्तालाई निरुत्साहित गर्छ । स्वदेशी मुद्राप्रतिको विश्वास खलबलिन सक्छ ।’

आयात बढेको कारणले शोधनान्तर घाटामा गएको जनाउँदै उनले भने, ‘के–कस्तो वस्तु आयात भएको छ भन्ने मुख्य कुरो हो, पुँजीगत वस्तुको आयात बढेकाले शोधनान्तर घाटा बढेको भए खासै डराउनु पर्दैन । त्यसको विपरीत उपभोग्य र विलासिताका वस्तुको आयात बढेको भए त्यसको असर बढी हुन्छ ।’

मुलुकको शोधनान्तरमा चाप पर्ने संकेत अघिल्ला वर्षहरूमा प्रस्ट रूपमा देखिए पनि त्यसतर्फ सरकारले ध्यान दिन नसक्दा अहिलेको अवस्था आएको अर्का एक विज्ञले बताए । ‘सबै सरकार वा अर्थमन्त्रीहरूको ध्यान राजस्व बढाउनेतर्फ मात्र केन्द्रित भयो, मुलुकको अवस्थाबारे कसैले ध्यान दिन सकेन ।’ सरकारमार्फत आयात प्रतिस्थापनका लागि कुनै प्रभावकारी पहल नभएकै कारण यो अवस्था आएको र यसले दीर्घकालमा झनै असर पर्ने उनको भनाइ छ ।

शोधनान्तर र चालु खातामा गत वर्षदेखि नै चाप पर्न थालेको थियो । गत आर्थिक वर्ष पहिलो २ महिना (साउन र भदौ) मा पनि शोधनान्तर ऋणात्मक थियो । त्यसपछिका महिनाहरूमा शोधनान्तरमा सुधार देखिँदै आए पनि चालु खाता ऋणात्मक रहेको थियो । यो आर्थिक वर्षको सुरुका दुई महिनामा पनि पुरानै प्रवृत्ति दोहोरियो र शोधनान्तर ऋणात्मक बन्यो । त्यसपछिका दुई महिना (असोज र कात्तिक) महिनामा शोधनान्तर बचतमा देखिए पनि आकार घटदै गएको थियो । तर, मसिंर, पुस, माघ र फागुनमा शोधनान्तर अवस्था बढ्दो दरमा लगातार घाटामा छ ।

चुलिदो व्यापार घाटाले हुन गएको चालु खाता र शोधनान्तर घाटा समग्र अर्थतन्त्रका लागि सकारात्मक संकेत नभएको विज्ञहरूको भनाइ छ । यसले दीर्घकालमा ठूलो हानि पुर्‍याउने भएकाले नियन्त्रणका लागि अर्थतन्त्रका अन्य परिसूचकहरूमा आउन सक्ने दबाबलाई ध्यानमा राखी राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा समायोजन गर्नुपर्ने उनीहरूको सुझाव छ ।

गैरकृषि गतिविधितर्फ चालु आर्थिक वर्षको ८ महिनामा केही जलविद्युत् आयोजनाहरू सम्पन्न भएका र कुल विद्युत् उत्पादनमा ७२ मेगावाट विद्युत् थपिएको राष्ट्र बैंकले जनाएको छ । ‘फलामलगायत कच्चा पदार्थको आयातमा भएको वृद्धिका साथै ऊर्जा आपूर्तिमा आएको सुधारबाट औद्योगिक गतिविधिमा विस्तार आउने देखिन्छ,’ राष्ट्र बैंक अनुसन्धान विमाग प्रमुख नरबहादुर थापाले भने, ‘त्यसैगरी फलामजन्य वस्तु तथा सिमेन्टको आयातमा भएको वृद्धिबाट निर्माण तथा पुनर्निर्माण कार्यले गति लिएको प्रतिविम्बित हुन्छ ।’

बजार भाउ ६ प्रतिशत
राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य ६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यस्तो वृद्धिदर २.९ प्रतिशत थियो । चालु आर्थिक वर्षमा तरकारीजन्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा धेरै रहेको राष्ट्र बैंकले जनाएको छ । तर, आठ महिनासम्मको औसत मूल्य वृद्धिदर भने ४ प्रतिशत रहेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा खाद्य समूहअन्तर्गत तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घिउ तथा तेललगायतको मूल्य वृद्धिदर ५.६ प्रतिशतले बढेको छ । सोही अवधिमा गैरखाद्य वस्तुको मूल्य वृद्धिदर ६.३ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ५.६ प्रतिशत थियो । यो समूहमा पर्ने शिक्षा तथा घरायसी सामान, सेवालगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा बढी भएकाले गैरखाद्य वस्तुको मूल्य वृद्धिदर बढ्न गएको राष्ट्र बैंकले जनाएको छ ।

रेमिटयान्समा सुधार अघिल्ला महिनामा करिब दुई प्रतिशतले बढेको रेमिटयान्स आप्रवाहमा गत फागुनमा थप सुधार देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार गत फागुनसम्म ४ खर्ब ७१ अर्ब रुपैयाँ रेमिटयान्स भित्रिएको छ । गत वर्षको तुलनामा गत फागुनमा रेमिटयान्स आप्रवाह ४.९ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.३ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुन: श्रम स्वीकृतिबाहेक) समीक्षा अवधिमा ५.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ७.१ प्रतिशतले घटेको थियो ।

विदेशी विनिमय सञ्चिति घटदो
गत फागुनमा मुलुकको विदेशी विनिमय सञ्चिति १० खर्ब ४९ अर्ब रुपैयाँ छ । गत असारको तुलनामा यो २.८ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १० खर्ब ७९ अर्ब रुपैयाँ थियो । तर, गत माघको तुलनामा परिसूचकमा विदेशी विनिमय सञ्चितिमा खासै परिवर्तन नभएको राष्ट्र बैंकको तथ्यांक छ ।

चालु आर्थिक वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११ महिना १ दिन वस्तु आयात र ९ महिना ७ दिन वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ ।

व्यापार घाटा सवा ७ खर्ब चालु आर्थिक वर्षको ८ महिनामा मुलुकको व्यापार घाटा ७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलानमा यो २३ प्रतिशतले बढी हो । उक्त अवधिमा ५३ अर्ब ४२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा ७ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको राष्ट्र बैंकले जनाएको छ ।

Related News

सिजीले ल्यायो १० वर्षको वारेण्टीसहित अत्याधुनिक वासिङ्ग मेशीन, माग बढ्दो

काठमाडौं, १७ बैसाख । सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको…

‘पीपीए गरेर काम नगर्नेको लाइसेन्स खारेज गर्छाै।’-उर्जामन्त्री

काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण…

Comments are closed