राजनीतिमा भोकमरी

44 Hits

-किशोर नेपाल-

नेपालको राज्य व्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्रमा परिवर्तित भइसकेपछि नेपाली कांग्रेसको राजनीतिलाई विक्षोभको मनस्थितिले आहत तुल्याएको छ । एक हिसाबले भन्ने हो भने लस्करै सम्पन्न भएका स्थानीय तह, प्रादेशिक र संघीय चुनावमा कांग्रेसको हार स्वयं कांग्रेसका लागि मात्रै नभएर उसका प्रतिपक्षीहरूका लागि पनि उदेकलाग्दो थियो ।

जसले जे भने पनि जनआन्दोलनको मसाल त कांग्रेसले नै तेस्र्याएको थियो । तर, मतगिन्तीको पहिलो लहर अर्थात स्थानीय तहमै कांग्रेसले जित्ने छाँटकाँट देखाएको थिएन । ‘यो त कांग्रेसको गढ हो, नजित्ने कुरै भएन’ भन्ने कांग्रेसी कार्यकर्ताहरूले चुनावको पहिलो चरणमै मैदान छाडिसकेका थिए । हार्दा पनि कांग्रेस यसरी तेस्रो स्थानमा आउला भन्ने त कमैले चिताएका थिए । खेल सम्भावनाको भए पनि राजनीतिमा चिताएको कुरा हुँदैन । त्यस्तो हुने भए चुनाव र हारजितको कसरत आवश्यक नै पर्ने थिएन ।

पहिलो राष्ट्रिय जनआन्दोलनपछि देशमा चुनावको बानी बसिसकेको छ । चुनावमा निर्वाचित भएर आउने उम्मेदवारले आफू र आफ्नो पार्टीका तर्फबाट दिएका आश्वासनहरूको पोको फुकाउँदैनन् । यो प्रसंग एउटै पार्टीका लागि मात्र लागू हुने होइन । सबै पार्टीका सक्रिय कार्यकर्ता र टाठाबाठा जनताले यसको भेउ पाइसकेका छन् । राजनीतिको खेलमा सामान्य, तर निरन्तर गरिरहनुपर्ने नियमित काम स्थानीय तहका पालिकाहरूले पूरा गर्ने चासो देखाउलान् । यस्तो आशा त गर्नैपर्ला । तर, पूर्वाधार र अरू अनेक छेस्किनीले बन्द गरेको विकासको ढोका यति छिटो, भन्नासाथ, खुलिहाल्ला भन्ने विश्वास गर्न अलि मुस्किल पर्छ ।

यी त साह्रै सामान्य कुरा हुन् । स्थानीय तहको नेतृत्व सबल मानिसको हातमा पर्‍यो भने काम हुने हो । कांग्रेस, एमाले र माओवादीलगायत विभिन्न जातीय, क्षेत्रिय र सामाजिक आन्दोलनमा लागेका पार्टीका कार्यकर्ताले बाकसमा झरेको मतसंख्याको हिसाब–किताबमा अल्झिनुको कुनै अर्थ छैन । राजनीति गतिशील भयो भने यसले दिने परिणामले सबैलाई खुसी तुल्याउँछ । होइन प्राविधिक तर्कका आधारमा मात्रै राजनीतिलाई अघि बढाउन खोज्ने हो भने यस्तो विजय र पराजय आउने–जाने गरिरहन्छन् ।

एमाले र माओवादी केन्द्र वाम राजनीतिको वटवृक्ष हुर्काउने तयारी गरिरहेका बेला देशमा भएका वामपन्थी दल, व्यक्ति, समूह, अध्ययन केन्द्रलगायतका जेजति पनि संगठन छन्, तिनमा राजनीतिलाई सुविधाजनक अवस्थामा पुर्‍याउने हुटहुटी त्यतिकै उठेको छ । संघीय शासनका ठूला विरोधी भनेर नाम कमाएका चित्रबहादुर, आफ्नै किल्लामा नेमकिपाको स्वैच्छिक राजनीति गरिरहेका नारायणमान बिजुक्छे, एमाले र माओवादी केन्द्रको जस्केलोमा वार्ताको पहल गर्न उभिएका साना–ठूला र मध्यमस्तरका नेताहरू, यी सबै कुनै न कुनै हिसाबले कांग्रेसको आगामी भूमिकाको छनक पाउन खोज्दै छन् । हो, कांग्रेसले थोरै गाउँपालिका र नगरपालिका मात्र जितेको छ । तैपनि ‘इक्वेसन’ मिलाउन कांग्रेसी पथको भेउ पाउनु उनीहरूका लागि पनि उत्तिकै जरुरी छ ।

शेरबहादुर देउवा चुनाव र शासन दुवै गराउन सक्ने नेता होइन रहेछन् । कि उनले चुनाव गराउनुपथ्र्याे । कि सरकार चलाउनुपथ्र्यो । यो पटकको चुनावमा त्यो स्पष्ट देखियो । कुनै बेला पूरै सुदूर र मध्य नेपालमा उनको नाम ‘गोल्डेन कोटेड चमक’ चम्किइरहेको थियो । अहिले त्यो पुरानो साइनबोर्डबाट प्लास्टिक कोटेड रङ उप्किएजस्तो छ । अरू खासै त त्यस्तो केही देखिएको छैन । राजनीति रमाइलो चाहिं छ । कांग्रेस जति जति झगडा गर्छन्, वामपन्थीहरूको एकता उत्ति नै खुस्किन थाल्छ । अहिलेसम्म प्रधानमन्त्री केपी ओली र प्रचण्डबीच ‘वन टु वन’ कुरा हुनै पाएको छैन । आपस्तमै वन टु वन कुरा नभएपछि ओलीले के कुरा गरून् मोदीसँग ? नेपालका सबै कम्युनिस्ट पार्टी मिलेर एउटै पार्टी बनाउने हो भने पनि त्यसको धरातल साँघुरो छ । त्यसमा के गरून् मोदीले ?

नेपाली कांग्रेस आफैंमा पनि एउटा अगुवा पार्टी हो । यो पार्टीभित्र गरिब, धनी, पागल, सद्दे सबै अटाएका छन् । त्यहाँ मुख्य अटाउनुपर्ने चालीस प्रतिशत हुन् । जो अटाउँदैनन्, ती कार्यालय भवनबाहिर आएर भन्छन्, ‘मिलेको छैन है हजुर, मिलेको छैन । यता मिले त उता मिलिहाल्छन् ।’ कांग्रेसका नेताहरूमा आफ्नै किसिमको अहंकार छ । त्यो अहंकारको कुनै अर्थ छैन । जुन नेताका हातमा कार्यकर्ता छन्, त्यसलाई डामिहाले हुन्छ । राजनीतिमाथि कांग्रेसले मानौं कि काला जादु नै चलाएको होस् ।

पहिलो राष्ट्रिय जनआन्दोलनले नेपालमा राजनीतिक दलहरूको अधिकार स्थापित गर्‍यो । त्यो अधिकारको उपभोग धेरैले गरे । संविधान बन्यो । तर, त्यो संविधानले राजा र जनताका बीचको ठूलो खाल्डो पुर्न सकेन । अन्तत: राजाले राज्य छाडे । राजा र जनताले पूरै प्रजातान्त्रिक विधिअनुसार सार्वभौम शासन आफ्ना हातमा लिने चेस्टा गरेका थिए । यो पटक जनताले स्पष्ट भनिदिए, ‘राजा, भादगाउँले टोपी लगाएर निर्मल निवासमा बस्नु बेस होला ।

अहिले भर्खर सकियो तीन तहको चुनाव । कांग्रेसका नेता धेरैलाई थाहा थिएन होला, यसमा पनि शपथग्रहण गर्नुपर्छ । सत्तामा पुगेको एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा सदस्यको शपथ नै नलिई बडो निष्ठापूर्वक, ईश्वरलाई पन्छाएर, राष्ट्रपतिका सामु मन, वचन र कर्मले पद तथा गोपनीयताको शपथ लिए । पद, पैसा सुमर्न नपाउने ठाउँमा जागिर खानु वा निर्वाचन लड्नुउस्तै हो । तर, संघीयता त समावेशी हुन्छ । उसले सबैलाई समेट्नुपर्छ ।

नयाँ वर्ष नलाग्दै सबै मानिस घरतिर लागे । सांगे चुनावमा भोट हालेर, बूढीऔंलाको नङमा चुनावी पालिस दलेर निस्केको छ । ऊ एक्लै फतफताउँछ– यो भोट एकमुष्ठ बुझेर लैजानु नि । कसैले सोध्छ– भोट हालियो त ? सांगे बोलेन । लुसुक्क चुनावी रङ लागेको औंला देखाइदियो । त्योभन्दा बढी उसले केही बोल्न चाहेकै थिएन ।

कम्युनिस्टहरूले भनेका छन्– यो देशको शासन सबैभन्दा धेरै गरेको छ कांग्रेसले । ल, यहाँ हो त । १९९७ सालदेखि २०७४ सम्म एकुन्तार राज्य गरेको हो कांग्रेसले । यता बाटाघाटा थिएनन् । कहिले त हार्नुपर्छ । जनताले पनि हराउन पाओस् न यसो एक दुई पटक । अब, के राजनीतिक विश्लेषण हुन्छ योभन्दा बढी ? कांग्रेस किन लिखुरे भएको हो ? १७ महिना २०१५ सालमा । त्यसपछि त सत्ता बिरानो रह्यो कांग्रेसका लागि । सत्ता भनेको आफूले चलाउने हो । एमाले जोडेर, एमाले–माओवादी तोडेर, जोखना नै हेरेर, के चलाउनु सत्ता ?

देशमा म कम्युनिस्ट भएर मात्र बाँच्न पाउँm, म कांग्रेस भएर मात्र बाँच्न पाऊँ, म माओवादी भएर बाँच्न पाऊँ भन्ने अवस्था पनि छैन । कथित ध्रुवीकरणको ‘पूँज’ जति नै चहकिलो भए पनि ‘म उज्यालोलाई अँध्यारो कोठाभित्र बाँधेर राख्न चाहन्छु’ भन्न सक्दैन । नाकाबन्दीले नेपाली जनता निसासिएको अवस्थामा प्रधानमन्त्री ओलीले ठोरीको बाटो जनताले त्राण पाउने उपाय खोजेका थिए । अहिले नाकाको समस्या छैन । दुवै देशका जनता साधारण कदकाँठीका छन् । प्रधानमन्त्रीको अहिलेको भ्रमणमा कतैबाट पनि वातावरण दूषित हुन नपाओस् । हा मिलाइसकेपछि स्यानेटाइजर लगाउनु राम्रो होला ।

देशमा बस्ने हामी जनता सबैलाई थाहा छ– सीमित आम्दानीको भरमा जीवन चलाउनु कति कठिन छ । स्कुलदेखि अस्पतालसम्म न बालबालिका सुरक्षित छन्, न महिला । देश बनाउने हामीले नै हो । अहिलेको परिस्थितिमा हामीसँग केही छैन । राजनीतिका विवादभन्दा टाढा जनता सक्षम हुने कुनै विषय किन आउँदैन देशको सिंगल फ्रेममा ?- कान्तिपुरबाट

Related News

राष्ट्रवादको लेफ्ट–राइट मार्च

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनै बाँकी छ, तर उनको भ्रमण तालिकाको तरंग भने यत्रतत्र छाइसक्यो । हिन्दु…

आशंका कायमै, मोदी भ्रमणले बाम एकता झन टाढा की नजीक ?

मूलखबर विश्लेषण काठमाडौं, २७ बैसाख । नेपालको राजनीतिमा छिमेकी प्रभाव पछिल्लो परिघटना होइन । सुगौली सन्धी र त्यस अघिका कतिपय…

Comments are closed