यसरी हुँदैछ बैसाख १ बाट आर्थिक गणना

94 Hits

काठमाडौं, २२ चैत ।

नेपालमा २०७५ वैशाख १ बाट पहिलोपटक आर्थिक गणना सुरु हुँदै छ । त्यसका लागि खटिने कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्ने काम भइरहेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

विभागले अहिले हरेक १०–१० वर्षमा जनगणना र कृषिगणना गर्दै आएको छ । त्यस्तै, ५–५ वर्षमा औद्योगिक क्षेत्रको गणना गर्दै आएको छ । यस्ता गणनाले मात्र देशको दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक नीति, योजना, कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्न आवश्यक तथ्यांक आपूूर्ति हुन नसकेको भन्दै विभागले आर्थिक गणना सुरु गर्न लागेको हो ।

देशभर सञ्चालित साना व्यवसायदेखि ठूला औद्योगिक घरानाबाट सञ्चालित व्यवसाय, उद्योग प्रतिष्ठान र संघसंस्थालाई समेटेर पहिलोपटक बृहत् आर्थिक गणना गर्न लागिएको महानिर्देशक अर्यालले जानकारी दिए । विवरण संकलनको काम जेठ मसान्तसम्म चल्नेछ । त्यसपछि नेपालमा क्रियाशील सबै प्रकारका आर्थिक एकाइ (प्रतिष्ठान तथा व्यवसाय)को वास्तविक चित्र क्रमशः सार्वजनिक गर्ने उनले बताए । महानिर्देशक अर्यालका अनुसार आगामी असोज–कात्तिकसम्म संकलित सबै तथ्यांक सार्वजनिक गरिनेछ ।

३ हजार ५ सय कर्मचारी परिचालन
दुई महिनासम्म चल्ने आर्थिक गणना ७७ वटै जिल्लामा एकसाथ सुरु गर्ने विभागको तयारी छ । आर्थिक विवरण संकलनका लागि देशभर करिब ३ हजार ५ सय कर्मचारी खटिनेछन् । विभागले यी कर्मचारीको व्यवस्थापन काज या करार प्रक्रियाबाट गरेको हो । नेपालको तथ्यांकीय इतिहासमा पहिलोपटक हुन लागेको यसप्रकारको गणनामा कागजी प्रश्नावली फारामका साथै अनलाइन सर्वेक्षणमार्फत पनि उत्तरदाताले आफ्नो व्यवसायको विवरण आफैँ भर्न सक्ने विभागले जानकारी दिएको छ । कागजी प्रश्नावली फारामबाहेक गणकमार्फत ट्याबलेट कम्प्युटरका माध्यमबाट पनि विवरण भर्न सक्ने विधि अपनाइँदै छ ।

अर्थतन्त्रको वास्तविक चित्र प्राप्त हुने
आर्थिक गणनाबाट प्राप्त हुने तथ्यांकले देशभर अहिले सञ्चालनमा रहेका सबै प्रकारका व्यावसायिक क्रियाकलापको वास्तविक अवस्था झल्काउनेछ । यसबाट आधारभूत तथ्यांक उपलब्ध हुने र केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारलाई योजना तर्जुमासहित नीति–निर्माणमा पनि सहयोग पुग्ने महानिर्देशक अर्यालले जानकारी दिए । उनका अनुसार यो गणनापछि नेपालमा तथ्यांकीय व्यावसायिक रजिस्टर निर्माणको आधार बन्नेछ । जसका कारण राष्ट्रिय लेखाप्रणाली सुदृढ गर्न सहयोग पुग्नेछ ।

तथ्यांकलाई सम्बन्धित क्षेत्रका व्यवसायी, प्राज्ञिक अनुसन्धानकर्ता र तथ्यांक प्रयोगकर्ताले नीति योजना तर्जुमा गर्न प्रयोग गर्ने बताइएको छ । सानो व्यवसायबाट स्वरोजगार बनेकादेखि रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गरेका ठूलो क्षमताका व्यावसायिक प्रतिष्ठानको विवरण संकलनबाट नेपाली अर्थतन्त्रले अहिले सिर्जना गरेको रोजगारीको समेत यथार्थ चित्र प्राप्त हुनेछ ।

४० करोड बजेट
बृहत् आर्थिक गणनाका लागि झन्डै ४० करोड रुपैयाँ खर्च हुने अनुमान विभागको छ । आर्थिक गणनाले समेट्ने क्षेत्र कृषि, वन तथा माछापालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित आपूर्ति, पानी आपूर्ति, ढल, फोहोर व्यवस्थापन तथा प्रशोधन क्रियाकलाप, निर्माण, थोक तथा खुद्रा व्यापार, मोटर गाडी, मोटरसाइकल मर्मत, यातायात तथा गोदाम, आवास सुविधा तथा खाना व्यवस्थाका क्रियाकलाप, सूचना तथा सञ्चार, वित्तीय तथा बिमासम्बन्धी क्रियाकलाप, घरजग्गा कारोबार, पेसागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलाप, प्रशासनिक तथा सहयोगी क्रियाकलाप, शिक्षा, मानव स्वास्थ्य तथा सामाजिक कार्यका क्रियाकलाप, कला मनोरञ्जन तथा मनोविनोदसम्बन्धी क्रियाकलाप र अन्य सेवाहरू आर्थिक गणनामा समेटिनेछन्।

कस्ता विवरण गणनामा समेटिन्छ ?
राष्ट्रिय योजना आयोगले १ चैत २०७४ मा राष्ट्रिय आर्थिक गणना २०७५ को आदेश, २०७४ राजपत्रमा प्रकाशित गरेको छ । आदेशअनुसार झन्डै तीन दर्जन प्रश्नको उत्तर उत्तरदाताले भर्नुपर्नेछ । यसमा आर्थिक क्रियाकलापको ठेगाना, दर्ता तथा स्वामित्व स्थिति, व्यवसाय सञ्चालन अवधि, व्यवसायको प्रकार, व्यवसायको शाखा–उपशाखाको स्थिति, मुख्य आर्थिक क्रियाकलाप, रोजगारी स्थिति, पुँजी लगानी, ऋणमा पहुँचजस्ता विवरण समेटिएका छन् । संकलित विवरण गोप्य रहने र केवल सामूहिक तथ्यांकीय प्रयोजनमा मात्र उपयोग गर्ने विभागले जानकारी गराएको छ ।-नयाँ पत्रिकाबाट

Related News

प्रदेश ४ : श्रोतमा धनी तर विकासमा पछाडि ! कसरी होला विकास

जीवन बस्नेत काठमाडौं, बैसाख नेपालका संघिय संरचना अनुसारको प्रदेश नं ४ प्राकृतिक श्रोतले हराभरा छ । जलश्रोत र जंगल तथा…

ऊर्जामा १ खर्ब ५ अर्ब रुपैयाँ अमेरिकी लगानी प्रस्ताव

काठमाडौं, ३० चैत – एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी