कतै तपाईको बच्चालाई अटिजम त भएको छैन ? यस्तो हुन्छ लक्षण

56 Hits

काठमाडौं, १९ चैत ।

हुर्कंदै गरेका बालबालिका परिवार तथा अन्य व्यक्तिसँग घुलमिल हुन रुचाइरहेका छैनन् । एक्लै बस्न मनपराइरहेका छन् वा आफन्तसँग पनि घुलमिन हुन र सामाजिक व्यवहार गर्न कठिनाइ मानिरहेका छन् भने त्यस्ता बालबालिकालाई अटिजम भएको हुन सक्छ ।

अटिजम मस्तिष्कका स्नायु कोषहरुको स्वाभाविक विकासमा अवरोध वा स्नायुहरुको विकासमा हुने अवरोधका कारण देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो ।

अटिजम भएका बालबालिकाले अन्य सामान्य बालबालिकाभन्दा भिन्न व्यवहार देखाउँछन् । सिर्जनशील र जिज्ञासु हुनुपर्ने उमेरका बालबालिका एक्लै बस्ने, निर्जिव बस्तुसँग ज्यादा खेल्ने, आफन्तको पनि मतलब नराख्ने तथा अञ्जान व्यक्तिसँग पनि डर नमान्ने स्वभावका हुन्छन् । बिनाकारण हाँस्ने, रुने, चिन्तित हुने, ढिपी कस्ने जस्ता व्यवहार देखाउँछन् ।

बालबालिकाको यस्तो व्यवहारलाई धेरैले सुस्तमनस्थिति वा मानसिक रोग भनेर बुझिदिन्छन् । वास्तवमा उक्त समस्या अटिजमको हो । अटिजमबारे धेरैलाई जानकारी नहुँदा बच्चामा देखिने फरकपनालाई मानसिक रोग वा सुस्तमनस्थिति भनेर अभिभावकले निच मारिदिन्छन् ।

ग्रामीण भेगमा त अटिजम भएका बालबालिकालाई अभिभावकाले दाम्लोले बाँध्ने, थुन्ने गरेका घटना प्रसस्त भेटिन्छ । त्यसमाथि उपचारका लागि स्वास्थ्य संस्था पुग्नु भन्दा धामीझाँक्री र झारफुकमै अल्झिने गरेका छन् ।

अटिजमलाई मस्तिष्कको अव्यवस्थित विकास अन्तर्गत ‘न्युरो डेभलपमेन्ट डिसअर्डर’ भनेर राखिएको छ । यो रोग भने होइन । यसलाई विगतमा वौद्धिक अपाङ्गता भनिन्थ्यो । तर यो वौद्धिक अपाङ्गता र मनोवैज्ञानिक विकार पनि होइन । अटिजम बालबालिकामा देखिने एक प्रकारको अवस्था वा अपाङ्गता हो । यो अवस्थामा रहेका बालबालिकालाई सामान्य मानिस सरह जिउन कठिनाइ हुन्छ ।

अटिजम जन्मजात आउने अवस्था हो र जन्मेको १८ महिनादेखि ३ वर्षभित्र पहिचान गर्न सकिन्छ । तर यो समस्या भने जीवनभर रहन्छ । त्यसैले शुरुवाति अवस्थामै बच्चालाई विशेष शिक्षा, तालिम, व्यावहारिक ज्ञान र सामाजिक अन्तर्घुलनबारे अभ्यस्त बनाउन सके धेरै हदसम्म बच्चामा सुधार आउँछ ।

हामीले नाम सुनेका विश्वप्रख्यात व्यक्तिहरु जस्तैः लियोनार्दो दा भिन्ची, अल्बर्ट आइन्सटाइन, स्टेफेन हकिङ्ग, बिल गेट्स, लियोनन मेस्सीलाई पनि अटिजमको समस्या थियो । उनीहरुले समयमै आवश्यक हेरचाह र उपचार पाएका कारण आज विश्वप्रख्यात हुन सफल भएका छन् ।

नेपालमा कति ?
विश्व स्वास्थ्य संगठनले अटिजमलाई विश्वव्यापी जनस्वास्थ्य संकटका रुपमा लिएको छ । संगठनका अनुसार विश्वभरका १ प्रतिशत मानिसमा अटिजम छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन कार्यालयले विश्वभर जन्मने ६८ जना बच्चामध्ये एक जनालाई अटिजम हुने जनाएको छ । दक्षिण कोरियाको तथ्यांक अनुसार त्यहाँ २ दशमलव ६ प्रतिशतमा अटिजमको समस्या छ । भारतमा ८ करोड र श्रीलंकामा २ लाखमा अटिजम रहेको अनुमान गरिएको छ ।

नेपालमा दुई लाख ५० हजारदेखि ३ लाखसम्ममा अटिजम रहेको अनुमान गरिएको छ । यद्यपि नेपालमा अटिजम सम्बन्धी विस्तृत तथ्यांक भने छैन । नेपालमा अटिजमबारे चिकित्सकहरुले विस्तारै जानकारी गराउँदै आइरहेका छन् । अटिजमबारे धेरैलाई जानकारी नभएकाले विश्वभरि हरेक वर्षको अप्रिल २ लाई अटिजम दिवसका रुपमा मनाइन्छ ।

नेपालमा पनि यो समस्याबारे चेतना जगाउन दिवस मनाउन थालिएको छ । अटिजम किन हुन्छ भन्ने आजसम्म निश्चित कारण पत्ता लागेको छैन । हालसम्म अटिजम भएका बालबालिकाको अवस्थाका आधारमा यो बढी मात्रामा वंशाणुगत कारणले हुने गरेको पाइएको छ । केही अटिजम वातावरणीय र मनोवैज्ञानिक कारणले पनि हुने गरेको अनुसन्धानले देखाएका छन्।

अटिजम भएका सबै व्यक्ति फरक–फरक हुन्छन् र उनीहरुको सिक्ने क्षमता पनि फरक हुन्छ । अटिजम भएका बालबालिकामा मूलत तीन वटा कुरामा समस्या देखिन्छ । पहिलो, संवाद गर्न र कुरा बुझ्न कठिन । दोस्रो, सामाजिक गतिविधि र संस्कार बुझ्न मुस्किल । र तेस्रो, बोली तथा क्रियाकलाप दोहोर्‍याउन समस्या ।

अटिजम भएका बालबालिका कि अति चकचक गर्नेखालका, कि निस्क्रिय बसिदिने स्वभावका हुन्छन् ।

कल्पना गरेर खेल्न नसक्ने, अभिभावक र शिक्षकको आँखामा आँखा जुधाएर कुरा नगर्ने, अरु केटाकेटीसँग घुलमिल नहुने, बोलाउँदा नबोल्ने, कान नसुनेजस्तो गरिदिने, असुहाउँदो तरिकाले हाँस्ने, मन परेको वस्तु वा खेलौना माग्न नसक्ने जस्ता अटिजमका लक्षण हुन् ।

कुनै काम राम्रो गर्न सक्ने तर त्यसलाई प्रस्तुत गर्न नसक्ने, शब्द वा वाक्य दोहोर्‍याइरहने, कुनै वस्तु र खेलौना घुमाइरहने, चोटपटकप्रति वास्ता नगर्ने, सामान्य शिक्षण विधाबाट नसिक्ने, अरुले छुँदा वा अँगालो हाल्दा मन नपराउने, कुनै स्थानमा उभिएका बेला हल्लिरहने, उफ्रिरहने वा हात–खुट्टा नचाइरहने जस्ता व्यवहार अटिजम भएका बच्चामा देखिन्छ । त्यस्तै, अटिजम भएका मानिस इमान्दार, साँचो बोल्ने, मन परेको काममा विशेष चासो राख्ने स्वभावका हुन्छन् ।

केटीहरुको तुलनामा केटाहरुमा बढी
अटिजमको समस्या केटीहरुको तुलनामा केटाहरुमा बढी हुन्छ । अटिजम भएकालाई सामान्य जीवनमा फर्काउन परामर्शदाता, मनोविज्ञ तथा मनोचिकित्सकलले सामूहिक अन्तर्वार्ता, अध्ययन लगायतका विधिबाट सुधार गर्न सक्छन् ।

उपचार विधि पनि व्यक्तिपिच्छे फरक– फरक अपनाउने गरिन्छ । शिक्षण विधि र व्यावहारिक थेरापीबाट उनीहरुको अवस्थामा सुधार ल्याउन सकिन्छ । अहिले बजारमा औषधि पनि पाइने भएकाले अवस्था हेरेर चिकित्सकको सल्लाहमा औषधि लिन सकिन्छ ।

बच्चामा अटिजमका कुनै पनि लक्षण देखिएमा अभिभावकले अलिकति पनि हेलचेक््रयाइँ नगरी परामर्शदाता वा चिकित्सकको सल्लाह लिन ढिलो गर्नु हुँदैन । सामान्य मानिसजस्तो व्यवहार नदेखाए पनि अटिमज भएका बच्चाले कुनै काममा एकोहोरो लागेर प्रसिद्धि कमाउन सक्छन् ।- स्वास्थ्यखबरबाट, राजकाजी प्रजापति, मनोपरामर्शदाता

Related News

Comments are closed