पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एक मिनेट पनि ढिला नहुने- पर्यटनमन्त्री

47 Hits

पोखरा –

पर्यटनमन्त्री रविन्द्र अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एक मिनेट पनि ढिला नहुने बताएका छन् /

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहयोग समितिको ११ औं तथा अन्तिम बैठकलाई शनिबार साँझ सम्बोधन गर्दै मन्त्री अधिकारीले जस्तोसुकै समस्या आएपनि निर्माण कार्य नरोकिने बताए ।

केन्द्रका कारण विमानस्थल निर्माणमा एक वर्ष ढिलाई भएको बताउँदै उनले भने, ‘स्थानीयका कारण विमानस्थल निर्माणमा ढिलाई भएको होइन, केन्द्रको कारण ढिलाई भएको हो । अब जस्तोसुकै समस्या वा कठिनाईका बाबजुद एयरपोर्ट बन्छ, अब एक मिनेट पनि ढिलो हुने छैन ।’

समितिका संयोजक समेत रहेका मन्त्री अधिकारीले २०२१ जुलाई १० तारिखभित्र विमानस्थल बन्नु पर्ने बताए । उनले भने, ‘तोकिएको मितिमा एयरपोर्ट बनाउने कुरामा कसैसँग सम्झौता गर्न सकिन्न, यो काम सक्ने सबैको जिम्मेवारी हो, सबै मिलेर सम्पन्न गरौं ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल योजनाका हिसाबले देशकै १ नम्बर मोडल भएको बताउँदै उनले सानासाना समस्या आइरहँदा सर्वसाधारणमा विमानस्थल बन्दैन कि भन्ने आशंका उब्जिएको बताए । उनले भने, ‘मूख्य समस्याहरु सबै समाधान भएका छन्, अब साना साना समस्या मात्र बाँकी छन्।’

उनले विमानस्थलको एयर रुट चाँडै टुंगिने बताए । पोखरा विमानस्थलको धावन मार्ग २ हजार ५०० बाट ३ हजार मिटर पुर्‍याउन सकिने र त्यसका लागि पैसाको अभाव नहुने बताए ।

विमानस्थलको आयोजना प्रमुख बिनेश मुनकर्मीले ७ प्रतिशत काम सक्दापनि निर्माणकर्ता सीएएमसी कम्पनीलाई पैसा दिन नसकिएको बताए ।-अनलाइनखबरबाट

 

Related News

Comments are closed