दुई अध्यक्षसहित एकीकृत पार्टीको संरचना, बन्यो विधान, अब के छ बाँकी ?

196 Hits

काठमाडौं, १५ चैत ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापश्चात बन्ने पार्टीमा दुई जना अध्यक्ष रहने भएका छन् । यस अघि सह अध्यक्षमात्रै रहने चर्चा चलेको भएतापनि विधान मस्यौदा कार्यदलले एमाले अध्यक्ष के पी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबैलाई अध्यक्ष बनाउने गरी संरचनालाई अन्तिम रुप दिएको हो ।
गृह मन्त्रालयमा बुधबार बसेको बैठकले पार्टीको केन्द्रीय समिति २ सय ९९ बनाउने तथा पार्टी संचालनको लागि आवश्यक नीति र विधिको समेत टुंगो लगाएको छ ।

कार्यदलका सदस्य तथा माओवादी नेता जनार्दन शर्माले कार्यदलले विधानलाई करिब अन्तिम रुप दिएको र केही पृष्ठभुमि लेखेर एकता संयोजन समितिमा बुझाई बताए । विविसी नेपाली सेवामा अन्तरवार्ता दिंदै शर्माले पार्टी एकताको लागि भने केही समय लाग्ने बताए ।
एकता छिटो गर्नकै लागि आफूहरुले दिन रात नभनी काम गरिरहेको बताउँदै उनले भने पार्टी उकता त्यति सामान्य विषय होइन । उनले प्रधानमन्त्री के पी ओलीको भारत भ्रमण र एकताको विषय फरक फरक भएकाले त्यससँग जोडेर एकतालाई प्रचार गर्न आवश्यक नभएको बताए ।
यस्तो बन्दैछ एकीकृत पार्टीको संरचना ।

एकीकृत पार्टीमा ३३ सदस्यीय स्थायी समिति, ९९ सदस्यीय पोलिटब्युरो र करिब ८ सय सदस्यीय राष्ट्रिय परिषद् सदस्य रहनेछन् । दश तहको संरचनामा बाँडिएको कमिटी हुनेछ । महानगर, उपमहानगर र गाउँपालिका कमिटीको हैसियत समान रहनेछ ।

७० वर्षको उमेरहद नलाग्ने
महाधिवेशनमा केन्द्रीय कमिटी र कार्यकारी पदको उम्मेदवार बन्न ७० वर्षको उमेर हदबन्दी नलाग्ने भएको छ । ७० भन्दा कम उमेरको हुनुपर्ने हदबन्दी राख्ने कि नराख्ने विषयमा दुई दलका नेताबीच विवाद भए पनि अन्तिममा खुला राख्ने सहमति भएको हो । ‘पार्टी अध्यक्षले नै एकताका वेलामा २–४ जना नेता नसमेटिने स्थिति आउन सक्ने भएकाले किन मन दुखाउने भन्नुभएकाले अन्तिममा खुला राख्ने सहमति भयो,’ कार्यदलमा एमालेतर्फका एक सदस्यले भने, ‘पार्टी अध्यक्षले एकता महाधिवेशनमै छलफल गरेर यो कुरा टुंगो लगाउँला भन्नुभएको हो ।’ एमाले उपाध्यक्ष वामदेव गौतमले उमेरहद खुला राख्नुपर्ने लबिङ गर्दै आएका थिए ।

यसरी जुट्यो संख्यामा सहमति
केन्द्रदेखि प्रारम्भिक तहसम्म दश तहको कमिटीको संरचना र संख्यामा पूर्ण सहमति भएको छ । गोकर्ण रिसोर्टमा बनेको मस्यौदामा संख्या खाली राखिए पनि कार्यदलका नेताहरू रामबहादुर थापा र ईश्वर पोखरेलले पार्टी अध्यक्षहरूसँग परामर्श गरेपछि सबै तहका कमिटीको संख्या पनि तोकिएको हो । कार्यदलमा सहमति जुट्नुअघि प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा पटक–पटक छलफल भएको थियो । नेताहरूकै निर्देशनअनुसार कार्यदलले संख्यासहितको प्रतिवेदनको मस्यौदा लगभग टुंगो लगाएको हो ।

कार्यदलमा रहेका एमालेतर्फका नेताहरूलाई मंगलबार बालुवाटार बोलाएर ओलीले संख्यासहित राखेर प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए भने प्रचण्डले पनि कार्यदलमा रहेका आफ्ना पार्टीका सदस्यलाई उही निर्देशन दिएका थिए । एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा ५ जना राजकीय मामिला र १ जनाको मृत्यु भएकाले २ सय केन्द्रीय सदस्य एकीकृत पार्टीमा रहने सम्भावना छ । माओवादीका ९९ सदस्यीय सचिवालय सदस्य केन्द्रीय कमिटीमा रहने सम्भावना रहेको स्रोतले जनाएको छ ।

दुई दिनभित्र संयोजन समितिलाई प्रतिवेदन
केन्द्रदेखि प्रारम्भिक तहसम्मको संरचना र संख्यासमेत टुंगो लागिसकेकाले संगठनसम्बन्धी छोटो प्रतिवेदनको मस्यौदा लेख्ने जिम्मा कार्यदल सदस्य बेदुराम भुसाललाई दिइएको छ । सामान्य पृष्ठभूमि लेखेर प्रतिवेदन तयार भइसकेपछि दुई दिनभित्र पार्टी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाइनेछ । चुनाव चिह्न र जनयुद्ध शब्दको पनि निरूपण नभए अन्तिम टुंगो लगाउने जिम्मेवारी संयोजन समितिलाई नै दिने तयारी छ ।

विधानको प्रस्तावनामा जबजको अन्तर्वस्तु
विधान मस्यौदाको प्रस्तावनामा जनताको बहुदलीय जनवादका १४ विशेषतालाई मूल अन्तर्वस्तुका रूपमा उल्लेख गरिएको छ । ती विशेषतामा आधारित भएर समाजवादको आधार तयार गर्ने कार्यदिशा हुने र रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख रहेको एक सदस्यले बताए ।

संख्या अनुपात संयोजन समितिले मिलाउने
कार्यदलमा दुई पार्टीबाट एकीकृत पार्टीको दशवटै तहमा कति संख्याको अनुपात रहने विषय उठे पनि अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी एकता संयोजन समितिलाई दिने सहमति भएको छ । यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले पनि निरन्तर संवाद गरिरहेका छन् । संयोजन समितिका नेताहरूबीच पनि अनौपचारिक छलफल चलिरहेको छ । कार्यदलमा संख्या अनुपातको विषय उठ्नेबित्तिकै माओवादीतर्फका नेताहरूले शीर्ष नेताहरूले नै टुंग्याउने भन्दै थप छलफलको औचित्य नरहेको बताएका थिए ।

तल्ला कमिटीमा दुई अध्यक्ष नहुने
केन्द्रीय कमिटीमा दुई अध्यक्षको व्यवस्था गरिए पनि त्यसभन्दा तलका कुनै पनि कमिटीमा दुई अध्यक्ष नरहने भएका छन् । माओवादीले केन्द्रबाहेक तलका सबै कमिटीमा दुई अध्यक्षको प्रस्ताव गरे पनि एकताको ‘स्पिरिट’ समाप्त हुने भन्दै एमालेले अडान राखेपछि अन्तिममा सहमति जुटेको थियो । केन्द्रमा दुई अध्यक्ष एकताको स्पिरिट, विशिष्ट अवस्था र व्यक्तित्वलाई ख्याल गरेर राखिए पनि तल राख्दा एकताको स्पिरिट खलबलिने एमालेले अडान राखेको थियो । त्यसअनुसार केन्द्रभन्दा मुनिका कमिटीमा एउटा पक्षको अध्यक्ष भए अर्को पक्षको सचिव कायम हुनेछन् । केन्द्रकै अनुपातमा तल्ला तहको नेतृत्वमा समझदारी जुट्ने बताइएको छ ।

शक्तिशाली संगठन विभागमार्फत जनसंगठनको एकीकरण
पार्टी एकतापछि बन्ने केन्द्रीय संगठन विभागमार्फत जनसंगठनहरूको एकताको अन्तिम टुंगो लगाउने सहमति भएको छ । संगठन विभागको नेतृत्वमा सम्बन्धित जनसंगठनहरूको नेतृत्व रहेको छुट्टै कार्यदल बनाउने र त्यसले पार्टी नीति र विधान नबाझिने गरी जनसंगठनको विधान बनाएर एकता प्रस्ताव तयार पार्ने सहमति भएको एक नेताले बताए । कार्यदलमा पनि सहमति नभए संगठन विभागले नै अन्तिम टुंगो लगाउनेछ ।

जनसंगठन एकीकरण विधि
पार्टी केन्द्रीय कमिटीमा दुवै पार्टीबाट जति अनुपातमा सहभागिता हुन्छ, सोही अनुपातमा जनसंगठनको नेतृत्व र संख्या पनि बाँडफाँड गर्ने प्रारम्भिक समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।

जनसंगठनमा पदाधिकारी भागबन्डा हुने
एउटा पक्षले जनसंगठनको नेतृत्व लिए अर्कोले महासचिव/सचिव लिने गरी समझदारी भएको छ ।

तल्ला कमिटीमा यसरी बन्दै छ संरचना
केन्द्रभन्दा तल निर्वाचित कार्यकारी कमिटीहरू प्रदेश, जिल्ला, महानगर, उपमहानगर, नगर, गाउँपालिका, वडा र प्रारम्भिक कमिटीमा अध्यक्ष र सचिव रहनेछन् । त्यस्तै, समन्वयकारी निर्वाचन क्षेत्रीय कमिटीमा भने संयोजक र सचिव पदाधिकारीका रूपमा रहनेछन् । केन्द्र, प्रदेश र जिल्लाको विभागमा प्रमुख र सचिव पदाधिकारीका रूपमा रहनेछन् ।

केन्द्र र प्रदेशमा तीन आयोग
केन्द्र र प्रदेशमा अनुशासन, लेखापरीक्षण र निर्वाचन कमिटी गरी तीन आयोग राख्ने सहमतिअनुसार विधानको मस्यौदा बनेको छ ।

तीन प्रकारका पार्टी सदस्य
एकीकृत पार्टीमा तीन किसिमका सदस्य रहनेछन् । पार्टी सदस्य, संगठित सदस्य र मानार्थ सदस्य । दुवै पार्टीमा तीन प्रकारका सदस्य रहेकाले विधानमा त्यसैलाई समेटिएको छ ।

टुंगिन बाँकी तीन विषय
१. जनयुद्ध राख्ने कि नराख्ने ?
विधान मस्यौदाको प्रस्तावनामा ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने विषय टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

२. सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?
माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न बढी प्रभावकारी हुने एमाले नेताहरूको भनाइ छ ।

३. बाँडफाँड कुन अनुपातमा ?
दुई पार्टीका भागबन्डा कुन अनुपातमा गर्ने भन्ने टुंगो लागेको छैन । माओवादीले समानताको आधारमा एकीकरण हुनुपर्ने बताएको छ भने एमालेले बढीमा ६०–४० को अनुपातमा एकीकरण गर्न सकिने बताएको छ । यो विषयमा कार्यदल तहमा छलफल नै भएन । यसको टुंगो लगाउन दुई अध्यक्षबीच अनौपचारिक छलफल जारी छ । तर, दुवै पार्टी आ–आफ्नै अडानमा छन् ।

विवाद टुंग्याउन दुई नेतालाई जिम्मा
बुधबार बसेको कार्यदलको बैठकले ‘जनयुद्ध’ शब्द र चुनाव चिह्नमा उठेको विवाद मिलाउन एमाले महासचिव ईश्वर पोखरेल र माओवादी नेता बादललाई जिम्मा दिएको छ ।

 

Loading...

Related News

नेकपाले तोक्यो प्रदेश पदाधिकारीहरु (नामावलीसहित)

काठमाडौं। सत्तारुढ दल नेकपाले आफ्ना प्रदेश कमिटिका मुख्य पदाधिकारीहरु टुंगो लगाएको छ । आज प्रधानमन्त्री निवास वालुवाटारमा बसेको केन्द्रीय सचिवालयको…

शहीद रामवृक्ष यादवलाई सम्झींदै नेकपा अध्यक्षले भने -‘शहीदहरुको सपना पुरा हुँदैछ’

धनुषा, ३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री के पी शर्मा ओलीले शहीदहरुको सपना…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी