प्रधानमन्त्रीले किन बोलाए राजदूतहरुलाई वालुवाटारमा ?
काठमाडौं, १३ चैत ।
युरोपियन युनियनको प्रतिवेदनलाई लिएर सरकार र विदेशी कुटनीतिक नियोगसँगको सम्वन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज कुटनीतिक निकायका प्रतिनिधिलाई निवासमा बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वामपन्थी सरकारको भावी योजना तथा वैदेशिक नीतिका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई ब्रिफिङ गर्ने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालयको संयोजनमा प्रधानमन्त्रीले नेपालस्थित कुटनीतिक नियोगका प्रमुख, पदाधिकारी र विकास साझेदारहरुलाई आफ्नो सरकारको नीतिबारे सामुहिक ब्रिफिङ गर्न लागेका हुन् ।प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार कुटनीतिक नियोगसँग सामुहिक छलफलको प्रबन्ध परराष्ट्र मन्त्रालयले मिलाएको हो ।
मध्याह्न प्रधानमन्त्री निवास बालुवाटारमा हुने ब्रिफिङमा ओलीले नेपालको विदेश नीतिका साथै नेपालमा अब स्थिर सरकार बनेकाले विकासमा साझेदारीको आह्वान समेत गर्ने बताइएको छ । युरोपियन युनियनको निर्वाचन पर्यवेक्षण प्रतिवेदन विवादमा परेका बेला सरकारले काठमाडौंमा रहेका सबै कुटनीतिज्ञहरुसँग सामुहिक छलफल गर्न लागेको हो ।