अझै १३ हजार क्षयरोगी उपचारविहीन, अरबौं खर्च बालुवामा पानी

106 Hits

काठमाडौं –

देशव्यापी उपचार सुरु भएको २२ वर्ष बितिसक्दा पनि अझै १३ हजार क्षयरोगी उपचारको दायरामा आएका छैनन्। यसले क्षयरोग फैलिने दर घटाउन चुनौती देखिएको छ।

चिकित्सकका अनुसार एउटा क्षयरोगीले एक वर्षमा कम्तीमा १० देखि १४ जनालाई क्षयरोग सार्न सक्छ। जस्तो किटाणु बोकेको बिरामी छ उसले त्यस्तै खालको क्षयरोग सार्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपालमा प्रत्येक वर्ष ४५ हजार क्षयरोगी थपिने र झन्डै ५० प्रतिशत जनसंख्या क्षयरोगको जोखिममा छन्। नयाँ तथा पुराना क्षयरोगीको संख्या आधार मान्दा नेपालमा ६० हजार क्षयरोगी भएको आँकलन छ।

नेपालमा गत वर्ष मात्र ३१ हजार ७ सय ६४ जना क्षयरोगी उपचारको दायरामा आएका थिए। क्षयरोगीको पहिचान प्रभावकारी नहुनु, निजी अस्पतालबाट सेवा लिइरहेका बिरामीको सही आकडा सरकारले संकलन गर्न नसक्नु र उपचारमा आएका बिरामीलाई पनि टिकाउन नसक्नुजस्ता कारणले नेपालमा क्षयरोगको जोखिम कम गर्न नसकिएको हो।

डब्लुएचओका अनुसार वार्षिक १ हजार ५ सय औषधि प्रतिरोधी (एमडिआर) का बिरामी थपिने गरेकोमा ४ सय बिरामी उपचारको दायरामा आएका छन्। यो संख्या निकै न्यून हो। एमडिआर क्षयरोगको उपचारमा पनि ४६५ बिरामीमा प्रमुख औषधिले काम गर्न छाडेका छन्। यस्तो अवस्थामा कुनै पनि औषधिले काम नगर्ने क्षयरोग (एक्सडिआर) विकास हुन्छ। जुन निकै चुनौतीपूर्ण भएको विज्ञ बताउँछन्।

सामान्य श्वासप्रश्वासबाट सर्ने क्षयरोगको उपचारका लागि पहिलोपटक १९९८ सालमा टोखा सेनेटोरियाम अस्पताल स्थापना गरेर उपचार सुरु भएको थियो। जनस्वास्थ्य समस्याको रुपमा रहेको क्षयरोग उपचार तथा सेवा विस्तारका लागि सन् १९८५ मा राष्ट्रिय क्षयरोग केन्द्र स्थापना र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन कार्यक्रम डट्स २०५२ सालदेखि सुरु भएको हो।

हाल एउटा क्षयरोगी पत्ता लगाएर निको पार्न झन्डै १९ हजार रुपैयाँ खर्च लाग्ने गरेको छ। देशव्यापी संस्थागत संरचना, औषधि उपचार सेवा उपलब्ध हुँदा पनि क्षयरोग निवारणमा ठोस उपलब्धि नदेखिनु आफैंमा चुनौतीपूर्ण भएको विज्ञ बताउँछन्। हाल रकारले क्षयरोगको सम्पूर्ण उपचार निःशुल्क र उपचारमा आएका लागि ३ हजार पोषणभत्ता दिने गरेको छ। यसैगरी औषधि प्रतिरोधी क्षयरोगीलाई आवाससहित उपचार कार्यक्रम सञ्चालनमा छ।

राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. केदारनरसिंह केसीले पर्याप्त जनचेतना नहुनु र उपचार गरे रोग निको हुने भए पनि समाजले हेय दृष्टिकोणले हेर्ने कारणले सबै बिरामी राष्ट्रिय कार्यक्रमको दायरामा नआएको बताए। ‘धेरै बिरामी निजी अस्पताल र क्लिनिकमा पुगेका छन् र आफ्नै खर्चमा औषधि किनेर खाइरहेका छन् भन्ने हाम्रो अनुमान छ,’ केसीले भने।

नेपालमा प्रत्येक वर्ष ५ देखि ७ हजारको मृत्यु क्षयरोगबाट हुने गरेको छ। शरीरका फोक्सो, पाठेघर, पेट, कलेजो, मिर्गौंला, मस्तिस्क, हड्डीलगायत भागमा क्षयरोग लाग्ने गरेको पाइएको छ । तीन साता वा सोभन्दा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, श्वासप्रश्वासमा बाधा हुने, साँझपख ज्वरो आउने, अकस्मात धेरै तौल घट्नु, बढी थकान महसुस हुनु क्षयरोगका लक्षण हुन्।

दुर्गम क्षेत्रमा सेवाको पहुँच नपुग्नु, पर्याप्त जनचेतना नहुनु, बिरामी उपयुक्त औषधि उपचार नगरी अन्य उपचारमा लाग्नुजस्ता कारणले पनि क्षयरोगमुक्त नेपालको परिकल्पना साकार हुन अझै धेरंै समय लाग्ने देखिन्छ।

लुकेका क्षयरोगी पत्ता लगाएर उपचारको दायरामा ल्याउन नसक्दासम्म क्षयरोग निवारणको लक्ष्यमा पुग्न कठिन हुने केन्द्रका पूर्वनिर्देशक डा. राजेन्द्र पन्त बताउँछन्। सन् २०३५ सम्ममा नेपाललाई क्षयरोगमुक्त बनाउने सरकारी लक्ष्य छ। ‘सरकारी कार्यक्रम र उपचारको सफलता दर ९० प्रतिशत छ तर पनि किन बिरामी निजी स्वास्थ्य संस्थामा उपचार गराउन गइरहेका छन् त भन्ने कारण हामीले खोज्नुपर्छ,’ पन्तले भने।

निर्देशक डा. केसीले क्षयरोगको उपचारका विषयमा समीक्षा गर्नुपर्ने बेला आएको बताए। स्वस्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन (डट्स) कार्यक्रम नै चुनौती हो कि भन्ने हरेको केसीले बताए। ‘प्रत्येक दिन स्वास्थ्य संस्था खुल्ने समयमा आएको औषधि सेवन गर्नुपर्छ,’ उनले भने। तोकिएको समयसम्म औषधि अनियमित भएमा औषधि प्रतिरोधी क्षयरोग हुने जोखिम हुन्छ।

क्षयरोगको किटाणु शरीरमा प्रवेश गरेपछि प्रतिरोध क्षमता कम्जोर भएको अवस्थामा रोग देखिन्छ। धुमपान, लागुऔषध तथा बढी मदिरासेवन र अनियमित औषधि सेवनले रोग लाग्ने र जटिल हुने दरसमेत बढी हुन्छ।

नेपालमा हाल एकिकृत स्वास्थ्य प्रणाली अन्र्तगत ४ हजार ३ सय एक्काईस उपचार केन्द्रहरु, ९६ वटा शहरी डट्स केन्द्रसँगै ६ सय ४ रोग निदान केन्द्र, २७ वटा जीन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय प्रेषण प्रयोगशाला संचालनमा छन्। क्षयरोगको औषधी काम गर्ने अवस्था प्रतिरोधी क्षयरोगका विरामीलाई राख्न २८ वटा उपचार केन्द्र र ८१ वटा उपचार उपकेन्द्रसमेत संचालनमा छन्।

सरकारले क्षयरोग अन्त्यका लािग पाँच वर्षे रणनीति बनाएर लागू गरेको र क्षयरोगको विशिष्ठ उपचार सेवा विस्तारका लागि केन्द्रीय स्तरको छाती रोग अस्पतालको निर्माण कार्यको शुरुवात गरेको केसीले बताए।

क्षयरोगीको संख्या र अवस्था यकीन गर्न पहिलोपटक क्षयरोग प्रिभ्यालेन्स सर्भे समेत सुरु भएको केन्द्रले जनाएको छ । करिव ६० हजारको अवस्था पहिचान गरेरै गरिने भएकोले सर्वेमार्फत् बेखबर क्षयरोगीको खोजीमा समेत मद्दत मिल्ने केन्द्रले जनाएको छ। विश्वमा हरेक वर्ष ८० लाख नयाँ क्षयरोगका बिरामी थपिने गरेका छन् भने र हरेक वर्ष क्षयरोगबाट विश्वमा २० लाख मानिसको मृत्यु हुने गरेको छ।

विश्वभरि प्रत्येक वर्ष २४ मार्चका दिन विश्व क्षयरोग दिवस मनाइन्छ। नेपालमा यो वर्ष ‘सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नारासहित यो दिवस मनाइयो ।- नागरिक दैनिकबाट

Related News

पेटमा जुका परेमा के गर्ने ?

-डा. ललितकुमार मिश्र- धेरै जसो केटा/केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकहिं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् ।…

डाक्टरले दुर्गम राेज्न थालेपछि काठमाडाैंका सरकारी अस्पतालमा डाक्टर अभाव

काठमाडौं १९ साउन । सुगम मात्र रोज्ने डाक्टरहरु पछिल्लो समय दुर्गममा जान हानथाप गर्न थालेपछि काठमाडाैंका सरकारी अस्पतालमा डाक्टर अभाव…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी