बारा र मकवानपुरका सडक क्षेत्रमा पर्ने १२ हजार रूख काटिए

111 Hits

काठमाडौं–

निजगढ फास्ट ट्र्याक बनाउने जिम्मा लिएको सेनाले बारा र मकवानपुरका सडक क्षेत्रमा पर्ने १२ हजार रूख काटिसकेको छ । आठ किमि सडकमा माटोसमेत भरिरहेको छ ।

प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार सडकमा पर्ने झन्डै ३० हजार रूख काट्नुपर्नेछ । निजगढबाट पश्चिम नौ किमिसम्म सडक क्षेत्रमा पर्ने नौ हजार नौ सय २३ रूख काटिएको छ । हाल मकवानपुरको बुदुने र लामडाँडामा रूख कटान भइरहेको सहायक रथी भरतबहादुर खड्काले बताए ।

सो क्षेत्रमा करिब ८ हजार रूख कटान हुनेछ । अहिलेसम्ममा करिब ४ हजार रूख कटान भएको खड्काले बताए । रूख कटानपछि बुदुनेमा सडक निर्माण सुरु हुने सहयक रथी खड्काले बताए ।

सामुदायिक वनबाट काटिएका रूख उपभोक्ता समिति र राष्ट्रिय वनबाट काटिएका सम्बन्धित जिल्लाको वन कार्यालयलाई बुझाउने प्राविधिक सेनानी राजेशकुमार देवले बताए । अहिलेसम्म काटिएका रूख बुझाइसकेको उनेको भनाइ छ ।

सेनाले निजगढको मोहरीमा क्याम्प खडा गरेर फास्ट ट्र्याक बनाइरहेको छ । तोकिएको समय दुई वर्षभित्रै सडक बनाइसक्ने लक्ष्य रहेको सहयक रथी खड्काले बताए ।

सेनाले बारामा पर्ने चुरे क्षेत्रको आठ किलोमिटर सडकमा माटो पनि भरिरहेको छ । हाल निजगढ जिरो किलोमिटरदेखि आठ किलोमिटरसम्म माटो भर्ने र सम्याउने काम भइरहेको प्रमुख सेनानी भरतलाल श्रेष्ठले जानकारी दिए । सडक क्षेत्रमा पर्ने माटो परीक्षण पनि भइरहेको उनको भनाइ छ ।

सेनाले निजगढकै मोहरीमा पहाड कटान पनि गरिरहेको छ । श्रेष्ठले भने, ‘हाल यो क्षेत्रको करिब ३५ प्रतिशत काम सकिएको छ ।’ सेनाले यसअघि खोलिएको ट्र्याक सफा गर्ने र मोडहरू मिलाउने काम पनि गरिरहेको उनको भनाइ छ ।

फास्ट ट्र्याक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को सबै प्रक्रिया पूरा नभए पनि काम गर्न कुनै समस्या नरहेको प्रमुख सेनानी श्रेष्ठले बताए । ‘डिपिआर डिजाइन सेनाले नै गरिरहेको छ, त्यही डिजाइनअनुसार निर्माण पनि भइरहेको छ,’ उनले भने ।

स्थानीयवासी र व्यवसायी उत्साही
फास्ट ट्र्याक निर्माण सुरु भएसँगै मधेस क्षेत्रका बासिन्दा र व्यवसायी उत्साही छन् । निजगढका स्थानीय तिलक घलानले भने, ‘राष्ट्रिय अर्थतन्त्रमा ठूलो महत्व राख्ने फास्ट ट्र्याक निर्माणमा नीति–निर्माण तहबाटै नेपाली सेनालाई काम गर्ने सहज वातावरण बन्नुपर्छ, तोकिएकै समयमा पूरा होस् भन्ने हाम्रो माग छ ।’

अहिले पूर्वी तराईलाई राजधानी काठमाडौं जोड्ने राष्ट्रिय राजमार्ग लामा र खर्चिला भएको तथा दुर्घटनाको उच्च जोखिमसमेत रहेको स्थानीय दिनेश खतिवडाले बताए । फास्ट ट्र्याक बनेपछि समय र ढुवानी खर्च तथा पेट्रोलियम पदार्थ खपत जोगिने उनको भनाइ छ ।

यस्तो हुनेछ फास्ट ट्र्याक
नेपाली सेनाका प्राविधिक सेनानी राजेशकुमार देवका अनुसार फास्ट ट्र्याक चार लेनको आधुनिक र सुविधासम्पन्न हुनेछ । ७६.२ किलोमिटर लामो हुने सडकको चौडाई पहाडी क्षेत्रमा २५ मिटर र तराईमा २७ मिटर हुने उनले बताए ।

निजगढदेखि काठमाडौंसम्म ९९ वटा पुल बन्ने देवले बताए । सडकको अनुमानित लागत एक खर्ब १२ अर्ब रहेको देवको भनाइ छ । फास्ट ट्र्याक ललितपुरको खोकनाबाट सुरु हुनेछ ।

काठमाडौंको चाल्नाखेल तथा दक्षिणकाली, मकवानपुरको इपागढी, छतिवन र धियाल हुँदै बाराको निजगढस्थित पूर्व–पश्चिम राजमार्गमा जोडिनेछ ।

मन्त्रीद्वारा अनुगमन
रक्षामन्त्री ईश्वर पोखरेलले फास्ट ट्र्याक निर्माणको कार्यप्रगति सन्तोषजनक रहेको बताएका छन् । फास्ट ट्र्याकको अनुगमन गर्न बिहीबार निजगढ आएका पोखरेलले समयमा नै निर्माण सकिने बताए ।

सेनालाई दिइएको समयसीमाअनुसार अब दुई वर्षमा सडक बनिसक्नुपर्नेछ । मन्त्री पोखरेलसँगै अनुगमनमा रक्षासचिव विनोद केसी, सेनाका रथी पूर्णचन्द्र थापा, आयोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाण, वन मन्त्रालयका सचिव युवराजध्वज जिसीलगायत थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी