‘कार्यदलको प्रतिवेदन नआएकाले एकता प्रकृयामा ढिलाई भएको हो’-प्रचण्ड

81 Hits

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि बनेका दुई कार्यदलले काम नसक्दा जिम्मेवारी बाँटफाँटमा समस्या भएको बताएका छन्। उनले पार्टीको राजनीतिक कार्यदिशा तयार पार्न बनेको राजनीतिक प्रतिवेदन समिति र संगठनात्मक मस्यौदा समितिले तयार पारेको प्रतिवेदनलाई अन्तिम रूप दिन नसक्दा नेतृत्व व्यवस्थापनमा समस्या भएको बताए।

संघीय समाजवादी फोरम नेपालका पार्टी सचिव तथा प्रचार विभाग प्रमुख अजम्बर राई काङमाङ र नयाँ शक्तिका कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अब चाँडो संगठनको कस्तो बन्ने भन्ने ढाँचा तयार पार्ने बताए। उनले भने,‘पार्टी एकताका लागि बनेका यी दुई कार्यदलको प्रतिवेदन टुंगोमा नपुग्दा संगठन कस्तो रहने कसरी जम्मेवारी दिने भन्ने समस्या छ। एमाले र हाम्रो संगठन निर्माणको ढाँचा अब एउटै बनाउनुपर्छ।’ उनले निर्वाचनपछि ४१ वटा साना–ठूला समूह एकताका लागि आएको र एकतामा आएका नेताहरुलाई उचित जिम्मेवारी दिइन नसकिएको स्वीकार गरे। ‘निर्वाचन अभियानमा धेरै साथीहरु एकतामा आउनुभयो। त्यसले गर्दा पार्टीको स्कुलिङ गर्न भ्याएनौँ। अहिले आएर गरौँ भनेको एकता तत्काल हुने भएपछि एमाले र माओवादीको स्कुलिङ एउटै सेटमा लानुपर्छ’ । उनले भने,‘एकताका लागि बनेका अन्तरिम राजनीतिक प्रतिवेदन, समिति र संगठनात्मक समितिले दिएको सुझावलाई अन्तिम रूप दिनपर्ने छ। उहाँहरुले पर्सिसम्ममा प्रतिवेदन बुझाउनुहुने छ। अनि अन्तिम रूप दिन्छौँ।

केही ढिला भएको छ, साथीहरुले जिम्मेवारी लिएर काम गर्न पाइएन भन्नेर घचघच्याइरहनुभएको छ। हाम्रो ध्यान त्यहाँ छ’ प्रचण्डले भने । पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले दुवै कार्यदलले आफ्नो प्रतिवेदन पार्टी नेतृत्वलाई दिएको र तत्काल बैठक बसेर टुंग्याउने बताए। अब नेपालका कम्युनिस्ट पार्टी एक हुनुको विकल्प नरहेको बताए। प्रचण्डले भने,‘२०१९ साल देखि कम्युनिस्ट पार्टीमा फुट आयो। त्यसपछि २०४६ सालको आन्दोलन पछि केही एकता त भए। तर गुणत्मक भएनन्। एमाले संसदतिर लाग्यो माओवादी क्रान्तितिर लाग्यो अब नेपालमा रहेका सबै कम्युनिस्ट पार्टी एक भएर समाजवादी क्रान्तिको बाटोतर्फ लाग्नुको विकल्प छैन।’ अध्यक्ष प्रचण्डले अब अधिकार प्राप्तिका लागि हिंसाको बाटो अपनाउन नपर्ने बताए। उनले सात दशक लामो जनताको संघर्षबाट बनेको नेपालको संविधानले परिवर्तन र अधिकारका लागि बाटो खुल्ला गरेको दाबी गरे। उनले भने,‘ अब अधिकार प्राप्तिका लागि पहिलाको जस्तो हिंसात्मक बाटो अपनाउनुपर्ने आवश्यकता छैन। हाम्रो संविधानले प्रस्ट संशोधन गरेर अधिकार लिन सक्ने व्यवस्था गरेको छ। अहिलेसम्म दुई पटक संशोधन भइसकेको छ।’

मधेसी दलहरुसँग संविधान संशोधनका लागि सहमति भइसकेकाले अब अलग रहनुपर्ने अवस्था नरहेको बताए। उनले भने,‘ मधेसवादी दलहरुसँग पनि संविधान शंसोधनका लागि मोटामोटी सहमति भएको छ। अब अलग बस्नुपर्ने अवस्था छैन।’ अध्यक्ष प्रचण्डले अब समाजवादी क्रान्तिको बाटो वैधानिक भइसकेको बताए। उनले भने,‘पहिला त समाजवादी क्रान्ति भनेर कम्युनिस्टले मात्र भनेको जस्तो हुन्थ्यो तर, अहिले संविधानमानै अबको बाटो समाजवादीको हुने भनेर लेखेपछि अब वैधानिक भइसक्यो।’ यस्तै, माओवादीमा प्रवेश गर्दै अजम्बर राई काङमाङले एकल विविधतालाई मात्र बोकर हिँड्दा निरपेक्षसंक्रिणतामा फसिने भएकाले माओवादीमा प्रवेश गरेको बताए। उनले आफू पनि लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा क्रियाशील भएको र अहिले फेरि कम्युनिस्ट आन्दोलनमै फर्किएको बताए। अब कम्युनिस्ट पार्टीले मात्र देशको विकास गर्न सक्ने दाबी गरे। उनले भने,‘अब एम्युनिस्ट पार्टी एक हुँदैछन्। यो पार्टीले मात्र देशको विकास गर्न सक्छ। हुन त म एमालबाट राजनीतिमा गरेको मान्छे हुँ। पछि फोरममा गएँ। केही साथीले एमालेमा प्रवेश गरेको भए हुँदैन थियो भन्नुभयो। तर अब एमाले–माओवादी एक हुने भएपछि दुईमध्ये एक जुनैमा प्रवेश गरे पनि त एकै होइनर?’

Related News

Comments are closed