उर्जा मन्त्रालय र प्राधिकरणका कर्मचारीलाई निर्देशन दिंदै मन्त्री पुनले के भने ?

92 Hits

काठमाडौँ, चैत ५ गते ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आगामी १० वर्षमा कम्तीमा पनि १० हजार मेगावाट विद्युत् उत्पादन गर्नैपर्ने बताएका छन् ।
प्राधिकरणमा सोमवार आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै मन्त्री पुनले भने -‘सबैको सकारात्मक र सार्थक प्रयत्नबाट मात्रै त्यो लक्ष्य हासिल हुनेछ ।’
उनले परिणाम निकाल्ने गरी काम गर्न नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई निर्देशन दिएका थिए ।

उनले प्राधिकरणको प्रणालीमा रहेको चुहावट नियन्त्रण गर्न, लामो समयदेखि रोकिएका आयोजना तत्काल सम्पन्न गर्ने वातावरण बनाउन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सरकारले एकाध वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको भन्दै त्यसको आधार ऊर्जा नै भएकाले इमान्दार भएर काम गर्न प्राधिकरणका कार्यकारी निर्देशकलगायत सबै कर्मचारीलाई मन्त्री पुनले निर्देशन दिएका थिए ।

माओवादीका प्रभावशाली नेता समेत रहेका मन्त्री पुनले भने “लामो समयदेखि कुलेखानी तेस्रो निर्माण सम्पन्न हुन सकेको छैन । माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको अवस्था उस्तै छ । माथिल्लो तामाकोशी आयोजनासमेत लयमा छैन भन्ने सुनेको छु । अब कुनै पनि आयोजना रोकिनु हुँदैन । समयमा सकिनु पर्छ ।” उनले ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउन पनि जलविद्युत् क्षेत्रमा विशेष लगानी जरुरी रहेको बताएका थिए ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै वर्षेनी रु एक खर्ब बराबर विदेशिने गरेको तथ्यांक पेश गर्दै मन्त्री पुनले नेपाली जनताको चुलोसम्म प्रभाव पर्ने विषयमा गम्भीर भएर काम गर्न निर्देशन दिए । उनले अगाडि थपे “वर्षेनी रु एक खर्ब बराबरको पेट्रोलियम पदार्थ आयातमात्रै रोक्न सकियो भने मात्रै पनि व्यापार घाटा कम गर्न सकिन्छ ।”

राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड दिने प्रणालीको विकास गरिने उल्लेख गर्दै मन्त्री पुनले सरकारको भावना, जनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिए ।

बत्ती बालेरमात्रै समृद्धि नआउने भएकाले ऊर्जाको विविधीकरण तथा प्रयोगको दायरासमेत बढाउनुपर्ने उनले बताए । उनले नेपाललाई समृद्ध र आर्थिक रुपमा सबल बनाउनका लागि महत्वपूर्ण भूमिका ऊर्जा क्षेत्रकै हुने भएकाले सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजनाका साथ काम गर्ने बताए ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षदेखि पूर्णरुपमा लागू भएको विद्युत्भार कटौतीले सकारात्मक प्रभाव पारेको भन्दै अब व्यवस्थित र विद्युत् विस्तार प्रणालीमा जोड दिएका थिए ।
मन्त्रीका सबै योजनाहरु र निर्देशनलाई तदारुकताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले कर्मचारीहरुलाई पनि त्यस दिशामा दृढ भएर लाग्न आग्रह गरेका थिए ।

Related News

झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त, कसरी भयाे सम्भव ?

लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ,  ३१ वैशाख  । झन्डै १५ वर्षपछि नेपाल लोडसेडिङमुक्त देश भएको छ । नेपाल विद्युत् प्राधिकरणले सन् २००३…

नेपालीलाई ५ वर्षमा सम्वृद्ध राष्ट्रका सुखी जनता बनाउने मन्त्री पुनको प्रतिबद्धता, यस्ताे छ श्वेत पत्र

काठमाडौं, २५ बैशाख । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले आगामी ५ वर्षमा नेपालीलाई ५ वर्षमा सम्वृद्ध राष्ट्रका सुखी जनता…

Comments are closed