सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक

136 Hits

काठमाडौँ, १ चैत ।

बिहीबार चैत १ देखि सार्वजनिक सडकमा २० वर्ष पुराना सवारीसाधन चलाउन रोक लगाइएको छ । सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन बन्द गर्ने सरकारी निर्णय प्रभावकारी कार्यान्वयनका लागि यातायात व्यवस्था विभागले बिहीबारबाट देशैभर अनुगमन टोली परिचालन गरेको छ ।
विभागका अनुसार देशभर २७ वटा समूह निर्माण गरी अनुगमन थालिएको छ । बिहीबार काठमाडौँमा बिहान ९ बजेदेखि र काठमाडौँ बाहिर बिहान ७ बजेदेखि अनुगमन गरिने छ । २० वर्ष पुराना सवारीसाधन चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइने विभागका महानिर्देशन रूपनारायण भट्टराईले जानकारी दिनुभयो ।

महानिर्देशक भट्टराईले भन्नुभयो, २० वर्ष पुराना गाडी चलाएको पाइएमा तत्काल गाडी नियन्त्रणमा लिइन्छ, सवारीधनीलाई करचुक्ता गर्न लगाइन्छ र सो गाडीलाई पत्रु बनाइन्छ, पुनः प्रयोग गर्न नमिल्ने बनाइन्छ । अनुगमनका लागि विभागले आफ्ना कर्मचारी सहित ट्राफिक प्रहरी र मिडियालाई अनुगमन समूहमा राखेको छ ।


तर यातायात व्यवसायीले भने सरकारी निर्णय मान्य नहुने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले बुधबार केन्द्रीय समितिको बैठकमा २० वर्ष पुराना गाडी चलाउन व्यवसायीलाई निर्देशन दिएको छ । चल्न नसक्ने सवारीसाधनलाई आफूहरू हटाउन तयार रहेको तर एकतर्फी सरकारी निर्णय मान्य नहुने महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव सरोज सिटौलाले भन्नुभयो, काम नलाग्ने गाडी हामी हटाउँछौँ तर वर्ष तोकिनु भएन कुनै गाडी १० वर्षमै काम नलाग्ने हुन्छ, कुनै गाडी २०÷३० वर्ष चल्छ त्यसकारणले यो मापदण्ड वैज्ञानिक र व्यवहारिक भएन ।
सवारीसाधनको चेकजाँच वैज्ञानिक तरिकाले गरेर गाडीको अवस्था हेरेर मात्र हटाउनुपर्ने महासचिव सिटौलाले बताउनुभयो । उहाँले भन्नुभयो, केन्द्रीय कमिटिको बैठकबाट निर्णय गरेर हामी गाडी चलाउन निर्देशन दिइसक्यौँ, हामीसँग सल्लाह नै नगरी निर्णय गरियो एकतर्फी निर्णय हामी मान्दैनौँ ।
२०७३ फागुनदेखि काठमाडौँबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यका बाहिरका रुटमा सञ्चालन भएपछि विभागले देशभर रोक लगाउने भएको हो । चैतमा २० वर्ष पुगेका गाडीलाई विभागले कुनै पनि रुटमा चल्ने इजजात रोक्नेछ । पुराना सवारीको नामसारी रोकिने र बिक्री वितरणमा पनि प्रतिवन्ध लगाइने विभागले जनाएको छ ।
महानिर्देशक भट्टराईले भन्नुभयो, २० वर्ष पुराना गाडी कुनै पनि हालतमा चल्न दिँदैनौ, यसले दुर्घटना र वातावरणमा ठूलो असर गरेको छ, सामान्यता नेपालको सन्दर्भमा गाडीको आयु २० वर्ष हुने गरेको छ ।
२० वर्ष पुगेको सार्वजनिक सवारीसाधन हटाउँदा व्यवसायीलाई कुनै असर नगर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, सार्वजनिक सवारीको हकमा सिधा हिसाब गर्दा पनि १२ वर्षको अवधिमा लगानी उठिसकेको हुन्छ, बाँकी आठ वर्ष त नाफा कमाइसकेको हुन्छ, यसमा व्यवसायी नमान्नु पर्ने कुनै कारण छैन नमाने कारबाही गर्छौँ ।
देशभर झण्डै १० हजारको सङ्ख्यामा २० वर्ष पुराना सवारीसाधन रहेको विभागले जनाएको छ । हाल विभागले नयाँ सवारीसाधन दर्ता गर्दा पनि २० वर्ष आयु तोक्नेगरेको छ । पुराना गाडीले यात्रु बोक्न निकै जोखिम हुने र वातावरण प्रदूषण पनि हुने हुँदा निषेध गरिएको हो । साथै सहरी सुन्दरतालाई पनि ध्यानमा राखिएको विभागले जनाएको छ । पुराना गाडी नियन्त्रण नगर्दा मर्मतसम्भार गरेर चलाउने गरेको र दुर्घटना हुने विभागको दाबी छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी