यो १५ महिनामा कम्तीमा नौवटा फिल्म अस्वीकार गरेँ- राजेश हमाल

139 Hits

काठमाडौं २८ फागुन/

आधा शताब्दी पार गरेको नेपाली सिनेमाका सबैभन्दा ठूला स्टार हुन्, राजेश हमाल । तर, उनको ‘स्टारडम’ नेपाली सिनेमाको फड्कोका लागि कामयाबी हुन सकेन । फिल्मको ‘गुण’भन्दा ‘संख्या’लाई उनले सधैँभरि प्राथमिकतामा राखे । यी अनेक सीमाका बीच हमाललाई केही सकारात्मक योगदानका लागि जस पनि जान्छ । नेपाली सिने उद्योगमा उनको प्रवेशसँगै कम्तीमा फिल्म बनाउने लहर छायो । चलचित्र पेसाका रुपमा स्थापित भयो । बजार फराकिलो भयो । खासगरी निम्न र निम्नमध्यम वर्गले हमालका चरित्रमा आफूलाई पायो । सोही वर्गले उनलाई ‘सामाजिक आक्रोशको विम्ब’का रुपमा स्वीकार्‍यो । नेपालको सबैभन्दा चिनिएको अनुहार सम्भवत: उनै हुन् । लगातार तीन दशक एउटै क्षेत्रमा सक्रिय र सफल भएकाले हुनुपर्छ, उनलाई महानायक मान्नेहरुको कमी छैन ।

तपार्इं आफ्नो पढाइ सकेर अभिनयमा आउँदा नेपाली सिनेक्षेत्र उद्योगका रूपमा विकास भइसकेको थिएन । तैपनि, यसैमा करिअर बनाउँछु भन्ने सोच कसरी आयो ?

युवा अवस्थामा अद्भुत आत्मविश्वास हुन्छ । सबैमा नहोला, ममा थियो । यही एउटा तत्त्वले काम गरेको थियो । मेरो चलचित्र यात्रा नितान्त एक्लो यात्रा हो । ‘गु्रपिज्म’ गरिनँ । पक्ष/विपक्षमा लागिनँ । कसैलाई च्याप्ने, कसैलाई पाखा पार्ने गरिनँ । पहिलो फिल्म युगदेखि युगसम्म खेल्न समस्या भएन । त्यसपछि भावनात्मक संघर्ष धेरै भयो । परिवारको साथ शून्य मात्र होइन, असाध्यै नकारात्मक थियो । युगदेखि युगसम्मले नेपाली फिल्म र मेरो करिअरमा सानोतिनो क्रान्ति नै गर्‍यो तर त्यसको प्रिमियर सोमा एक्लै गएको थिएँ । यही फिल्मका कारण दर्शकले मलाई खुला हृदयले स्वीकारे । धेरै चिट्ठी/गिफ्ट आउँथे, त्यो मायाले जिम्मेवारीबोध गरायो । अहिले फर्केर हेर्दा, करिअर छ भनेर आएको थिइनँ । त्यसबेला एउटै झिनो दूरदर्शिता थियो, रेडियो, टेलिभिजन, पत्रिकाजस्ता मिडिया फैलिरहेका थिए । सिनेमा पनि मिडिया भएकाले कसो विस्तार नहोला भन्ने लाग्थ्यो । मैले फिल्म खेल्न सुरु गर्दा काठमाडौँमा जम्मा पाँचवटा सिनेमा हल थिए । अहिले पाँचवटा पर्दा एउटै हलमा हुन्छन् । हल पनि बढ्ने थोरै आशा थियो ।

यो २८ वर्षमा तपाईंको व्यक्तिगत करिअरको तुलनामा नेपाली फिल्मले अपेक्षाकृत उपलब्धि हासिल नगरेको हो ?

हामीले ‘ग्राउन्ड कभर’ गरेका छौँ । मैले सुरु गर्दा फिल्म पेसा बन्न सक्छ/सक्दैन, अन्योल थियो । पहिलो चलचित्र गरेपछि दोस्रो कहाँबाट आउँछ, थाहा थिएन । भाग्यवश पहिलो फिल्म रिलिज भएको १५–१६ महिनाभित्र १७–१८ घन्टा व्यस्त हुन थालेँ । त्यतिबेला सीमित क्यामेराम्यान थिए, दुई जना मेकअपम्यान हुन्थे । सबैले मलाई धेरै फिल्म गर्‍यो भन्छन् तर मैले एक्लै काम गरेको होइन । त्यसमा पूरा ‘मेकानिज्म’ परिचालित हुन्छ । मैले वर्षमा १० वटा फिल्म गर्दा त्यसलाई चाहिने जनशक्ति उत्पादन हुँदै गयो । क्यामेराम्यान, मेकअपम्यान, लाइटम्यान, स्पटब्वाइ थपिए । फिल्म छायांकनका लागि एउटा युनिटमा ४०–४५ जनाको टिम चाहिन्छ । यो त प्राविधिक पक्ष भयो । कलाकार पनि थपिन्थे, म एक्लैले फिल्म खेल्ने होइन । म मात्र होइन, आमाको भूमिका गर्ने शुभद्रा अधिकारी, सुशीला रायमाझी, वसुन्धरा भुसालहरू पनि व्यस्त भए । बुबा बन्ने नीर शाह, टीका पहारीहरू व्यस्त । डान्स, फाइट डाइरेक्टरलाई भ्याइनभ्याइ । त्यसैले मेरो करिअर र चलचित्र क्षेत्र समानान्तर रूपमा विस्तार भयो भन्ने लाग्छ ।

तर, पछिसम्मै तपार्इं गुणात्मक सिनेमाको सट्टा संख्यामै रमाइरहेको टिप्पणी हुने गर्छ !

नेपाली फिल्म सन् २००० सम्म जुन शैली र रफ्तारमा बनिरहेका थिए, एकदमै राम्रा थिए । समाजको स्वाद र शैली अनुरूप फिल्म बनिरहेका थिए । कसैले मुनाफा कमाउन खोज्थे, कसैले यत्तिका वर्ष काम गरेँ, अब फिल्म बनाउँछु, तपार्इं खेलिदिनुपर्‍यो भन्थे, खेल्नै पर्‍यो । नयाँ निर्देशकलाई म खेलिदिए प्रस्थानबिन्दु राम्रो हुन्छ भन्ने हुन्थ्यो । त्यसैले यसलाई नितान्त व्यावसायिक रूपमा मात्र हेर्न मिल्दैन । बाहिरका मान्छेले हेर्दा राजेश हमालले टन्न फिल्म खेलिरहेको छ, पैसा कमाइरहेको छ भन्ने हुन्थ्यो होला तर त्यहाँभित्रको कथा अर्कै हुन्थ्यो । म आएको ५–६ वर्षपछिसम्म पनि जोसँग पुँजी थियो, त्यही निर्माता हुन्थ्यो । अन्य क्षेत्रबाट पैसा कमाएको मान्छे निर्माता बन्थ्यो । तर, पछि चलचित्रभित्रकै व्यक्तिले आफ्नो खल्तीमा धेरै पैसा नभए पनि फिल्म बनाउने माहोल बन्यो । मेची, कोसी, मध्य नेपाल, पश्चिमबाट मैले फिल्म खेल्ने भनेपछि पहिल्यै पैसा आउँथ्यो । भिडियो हलले पनि मेरा फिल्मलाई धेरै डिमान्ड गर्थे । मलाई लिएकै कारण खल्तीमा पैसा नभए पनि निर्माता हुन्थे । मैले खेलिदिँदा दुई–चार पैसा कमाइ हुन्थ्यो । यो भावनात्मक पक्षलाई बेवास्ता गर्न मिल्दैन ।

नयाँ शताब्दी सुरु भएसँगै प्रविधि नयाँ भित्रिए, अन्तर्राष्ट्रिय क्षेत्रमा खिच्ने, प्रस्तुत गर्ने तरिका सिनेम्याटिक रूपमा फरक हुँदै गयो । भारतले पनि परिवर्तन गर्दै लग्यो । सन् ’९० को दशकसम्म हेर्नुहुन्छ भने भारत र हाम्रा सिनेमा शैलीमा खास भिन्नता छैन । हामी पनि बगैँचामा नाच्थ्यौँ, उनीहरू पनि बगैँचामै नाच्थे । उनीहरूका तीन सय कोरस हुन्थे भने हाम्रा ३० जना । फरक यत्ति हो, ‘ग्रामर’ उस्तै । तर, सन् २००० पछि उनीहरूको प्रस्तुतीकरणमा फरक आउँदै गयो । त्यतिबेलै परिवर्तन गर्नुपर्नेमा हामीचाहिँ उही पुरानै शैलीमा खिच्दै गयौँ ।

हो, त्यो परिवर्तन गर्ने दायित्वबाट तपाईं चुक्नुभएको होइन ? किनभने, तपार्इंसँग अध्ययन–अनुभव थियो । तपाईंलाई विश्वास गर्ने निर्माता/निर्देशक पनि थिए !

फिल्म निर्माण ‘टिम वर्क’ हो । टिम नै तयार छैन भने एक जनाले मात्रै धेरै कुरा गर्न खोज्यो भने प्रत्युत्पादक हुन सक्छ । लहरसँगै बगेर स्वत:स्फूर्त रूपमा परिवर्तन गर्नु जरुरी छ । जुन एउटा बिन्दुमा मेरा तर्फबाट नभए पनि अर्कोतर्फबाट भयो । समयले माग गरेपछि परिवर्तन हुन्छ, हुन्छ । हो, हामीले पुरानोलाई नै पछ्याइरहेका थियौँ । तर, एउटा गति थियो, ठप्प भएको थिएन । जबसम्म फिल्म बनिरहन्छ, नयाँ मोड आइहाल्छ ।

त्यतिबेला नयाँ ढंगले सोचेको भए पछिल्लो डेढ दशकमा फड्को मार्न सकिन्थ्यो भन्ने लाग्छ ?

लाग्छ, त्यस बेलामा फिल्ममेकरले सोच्नुपथ्र्यो ।

अभिनेता फिल्मको एउटा भाग मात्र हो तर कति अभिनेतामा सिंगो फिल्म र निर्मातालाई बाटो देखाउने क्षमता र छवि हुन्छ । विदेशमा यस्ता धेरै उदाहरण छन् । निर्माताको शैली/सोच बदल्ने दायित्वबाट आफू विमुख भएजस्तो लाग्दैन ?

इमानदारी साथ भन्छु, त्यो बेलाका निर्देशक तयार थिएनन् । सिनेमा निर्देशकीय माध्यम नै हो । निर्देशकको भिजनले फिल्मलाई उचाइ दिलाउने हो । तर, हामीकहाँ सिनेमालाई गहिरो रूपमा बुझेका र विषयवस्तुलाई उठान गरेर सिनेम्याटिक हिसाबले व्यक्त गर्न सक्ने निर्देशक छैनन् । हिजो पनि यस्तै भन्थेँ, आज पनि यही भन्छु ।

निर्देशकहरू बजारसँग डराए, हो ?

म बजारलाई दोष दिन्नँ । आजको जमानामा बजार र लगानी एक–आपसमा अन्तर्सम्बन्धित हुन्छन् । सिनेमा भनेको घर बनाएजस्तै हो । ३० लाखमा पनि बनाउन सक्नुहुन्छ, ३० करोड पनि लाग्न सक्छ । अब्बल आर्किटेक्चर, गुणस्तरीय सामग्री छ भने ३० लाखको घर पनि चिटिक्क हुन्छ । चलचित्र पनि त्यस्तै हो ।

तपाईंमा भएजति क्षमता निर्देशकहरूले सदुपयोग गर्न सकेनन् भन्न खोज्नुभएको ?

यो २८ वर्षमा तीन सयभन्दा बढी चलचित्रमा काम गरेँ । तर, मभित्रको कलाकारिता तृप्त छैन । अझै अतृप्त छु । अब आफैँ बुझ्नूस् । हामी विशुद्ध ‘आर्ट जनरा’को फिल्म बनाइरहेका थिएनौँ । मनोरञ्जनात्मक र ‘लार्जर देन लाइफ’ फिल्म बनायौँ । विदेशी साथीले ‘तिम्रा फिल्म हेरौँ’ भने भने उनीहरूका चाहना पूरा हुने फिल्म छैनन् । यो अभाव मलाई पनि खट्किन्छ ।

त्यसो भए अरूले बनाएनन्, म आफैँ प्रयत्न गरौँ भन्ने लागेन ?

अबचाहिँ लागिरहेको छ ।

तर, तपाईंले निर्देशन गर्छु भनेकै एक दशक बित्यो होइन ?

त्यति त भएको छैन होला (हाँस्दै) । खासमा निर्देशन गर्नुलाई सजिलो रूपमा हेर्दिनँ । एउटा फिल्म निर्देशन गरेर ‘ट्राइ’ गरौँ भन्ने मनस्थितिबाट गुज्रन चाहन्नँ । निर्देशन गरेपछि अहिले गरिआएको कामभन्दा भिन्नै होस् भन्ने लाग्छ । विषयवस्तु पनि त्यस्तै चयन गर्नुपर्‍यो । ‘फियर फ्याक्टर’ छ नै ।

‘सोलिड ब्रेक’ लिऊँ भन्ने त छैन ?

छैन ।

हाम्रा सिनेमाले नेपाली समाजभित्रको अन्तरविरोध, प्रवृत्तिलाई कत्तिको देखाउन सकेका छन् ?

सिनेमा विभिन्न कारणले बन्छन् । सुरुआतबाटै हामीले मनोरञ्जनलाई प्रधान मान्यौँ । विशुद्ध सामाजिक विषयवस्तु देखाएर फिल्म बनाउँदा दर्शकको रुचि त्यति हुँदैन भन्ने लाग्यो । तर पनि सुरुआतका केही चलचित्रमा सामाजिक मुद्दालाई थोर–बहुत छोयौँ । मेरो लोकप्रियता हुनुको कारण पनि, मैले नेपाली समाजको उपेक्षित पक्षलाई प्रतिनिधित्व गरेँ । आमनेपालीले मेरो पात्रमा कहीँ न कहीँ आफ्नो भावना, चाहना र जीवनशैली पाए । चलचित्रको काम आफ्नो कालखण्डको सामाजिक मनोविज्ञान, स्वाद र दृष्टिकोण प्रतिविम्बित गर्ने न हो । एउटा कालखण्डमा बनाएको चलचित्रले अर्को कालखण्डलाई प्रतिविम्बित नगर्न सक्छ । संगीत, साहित्य, पेन्टिङजस्ता अन्य कलाको हकमा पनि यही । चलचित्र या अन्य कुनै कला अनन्तकालसम्म टिक्न सम्भव नै छैन ।

नायकको कुरा गरौँ । के–कस्ता तत्त्वहरू मिलेपछि ‘नायक’ बन्दो रहेछ ?

एउटा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्ति हुनुपर्‍यो । त्यो चलचित्र मात्र होइन, कुनै परियोजना वा आन्दोलन पनि हुन सक्छ । चलचित्रमा जुन नायक हुन्छ, त्यसले सम्पूर्ण कथालाई गति दिइरहेको हुन्छ । त्यहाँ खट्केका कुराहरू सुल्झाउँछ । विकृति, विसंगतिविरुद्ध लडेको हुन्छ । नराम्रा पक्षलाई उजागर गरेको हुन्छ । ऊ खराब व्यक्ति भए पनि त्यहाँबाट निस्केर असल व्यक्ति हुन सक्छ । यसका लागि विभिन्न उदाहरणीय मानवीय पक्षहरू देखाइएको हुन्छ । यसैलाई नायक भनिएला ।

वास्तविक जीवनमा त्यस्ता नायकको अपेक्षा कत्तिको गर्नुहुन्छ ?

सिनेमालाई विम्बात्मक रूपमा मात्र हेर्नुपर्छ । सिनेमाको काम अभिप्रेरणा जगाउने हो । नयाँ सोचाइको रोपाइँ गर्ने हो । पिकासोले भनेका छन्, ‘आर्ट इज अ लाई ।’ (कला झुटो हो ।) जुन सत्य हो । सिनेमा वा कुनै कलामा देखाएका कुरा आधारभूत रूपमा झुटा हुन् तर यस्तो झुटलाई हेर्नले झुटमार्फत आफ्नो सत्यता पत्ता लगाउन मद्दत गर्छ । एउटा भ्रम हुँदाहुँदै पनि कलाको शक्ति त्यही हो । सिनेमामा ‘पोएटिक जस्टिस’ अढाइ घन्टामा दिइन्छ, जो वास्तविकतामा आजीवन नपाइन पनि सक्छ । ००७ देखि आजसम्म हेर्दा यस्तै देखिन्छ । त्यसैले सिनेमामा झैँ वास्तविक जीवनमा नायक हुन्छ/हुनुपर्छ भन्ने सोच्नु अव्यावहारिक हुन्छ ।

तपाईंलाई ‘महानायक’ भनिन्छ । आफू यसका लागि उपयुक्त पात्र हुँ भन्ने लाग्छ ?

यसका लागि असाध्यै मिहिन रूपमा नेपाली चलचित्रको इतिहास बुझ्नु जरुरी छ । थाहा छैन, कतिले प्रयास गरेका छन् । यदि नेपाली चलचित्रको इतिहासबाट राजेश हमाललाई निकालिदिनुभयो, त्यसको गति, व्यावसायिकता, नेपाली जनसमुदायले नेपाली भाषाको चलचित्र ग्रहण गर्ने मनोविज्ञान के हुन्थ्यो ? आपैँm सोच्नूस् । योग्य छु/छैन, कस्तो चलचित्र गरेँ भन्दा यसरी मूल्यांकन गर्नुभयो भने उत्तर पाइन्छ । हेर्नूस्, आइन्स्टाइन, गान्धी, नेल्सन मण्डेलादेखि मार्टिन लुथर किङजस्ता महान् व्यक्तिले अनन्तकालसम्म भयंकर परिवर्तन गर्ने होइन । हरेक यस्ता व्यक्तिले आफ्नो अवधिमा सोच र प्रभाव छाड्ने हो । त्यसले अगाडि बढ्ने आधार र बाटो पाउँछ । तर, कसैले आफ्नो जीवनकालमा अनन्तकालसम्म लागि तार्किक निष्कर्ष दिन सक्दैन । यो त रिले दौड हो । उहाँहरूको तुलनामा म त धेरै सानो मान्छे । त्यसैले कुन परिस्थितिमा सुरुआत गरेँ, कस्ता अन्योल चिर्दै आएँ । कसरी आफ्नो बाटो आफैँ खन्दै आएँ ? यो कोणबाट पनि हेर्नुपर्ला ।

तत्कालीन परिवेशबाट अलि धेरै थिचिनुभएको हो ?

हामी चल्ने नै परिवेश अनुसार हो । म बनिबनाउ क्षेत्रमा आएको होइन । भारतको फिल्म उद्योग संसारमा दोस्रो थियो । त्यही हेरेर हुर्केको पुस्तालाई नेपाली भाषामा फिल्म हेर्न बानी गराउनै मुस्किल थियो । ‘मैं तुम्हे प्यार करता हँु’ सुन्दै आएकालाई ‘म तिमीलाई माया गर्छु’ भनेर सुन्दा त अनौठो लाग्थ्यो । पहिले डायलग भन्नासाथ हिन्दी फिल्मको हुन्थ्यो । तर, पछि ‘साथीका लागि यो हात सलाम, दुस्मनका लागि यो हात फलाम’ भनेर मुखमा झुन्डियो । यस्ता दृष्टान्तलाई नजरअन्दाज गर्न मिल्दैन ।

तपार्इंको मोडलिङ मुम्बईबाट सुरु भएको थियो । उतै बलिउडको महासागरमा पौडिन मन लागेन ?

त्यस्तो मन भएन । म यहाँ असफल भएको भए, उता प्रयास गर्थें होला कि ! तर, मेरो रफ्तार कस्तो रह्यो, अघि भनिहालेँ । यताउता हेर्ने समय नै भएन । यहाँ युगदेखि युगसम्म रिलिज भइरहँदा गोपीकृष्ण सुटिङ गर्न मुम्बई गएको थिएँ । फर्किएर भैरहवा आइपुग्यौँ, युवाको भीड लागेको रहेछ । मलाई उचालेर काँधमा राखे । जबकि, त्यतिबेला मसँगै आएका सिनियर कलाकारलाई त्यति वास्ता थिएन । मेरो लोकप्रियता देखेर उनीहरू छक्क । १० वर्षसम्म निरन्तर १६–१८ घन्टा काम गरेँ । न शनिबार, न त अरू बिदा । खालि काम । त्यसैले बलिउडका बारेमा सोच्ने फुर्सद नै पाइएन ।

त्यतिविघ्न काम गर्दा पट्यार लाग्दैनथ्यो ?

अहिले सोच्दा अचम्म लाग्छ । एकैपटक तीन–चार सेड्युलमा काम भइरहेको हुन्थ्यो । दसैँमा पनि जम्मा एक दिन विश्राम लिन्थेँ । तर, कहिल्यै पट्यार लागेन ।

यस्तो बेला कुनै भूमिका पाइसकेपछि कुन प्रक्रियाबाट काम गर्नुहुन्थ्यो ?

यहाँ मात्र होइन, छिमेकी मुलुकमा पनि काम गर्ने प्रक्रिया उस्तै थियो । कलाकार भएपछि धेरै भूमिका एकसाथ गर्न तयार हुनैपर्छ । हरेक पात्रलाई न्याय दिनु कलाकारको जिम्मेवारी हो ।

यसरी काम गर्दा चरित्र जीवन्त होइन, सतही हुन्थ्यो होला नि ?

अरू के गर्छन्, थाहा छैन । मचाहिँ ‘सेन्स अफ इम्पेथी’ (समानुभूति) बाट काम गर्छु । कलाकारको सबैभन्दा ठूलो औजार भनेको अरूको जीवन, दृष्टिकोण हेर्ने क्षमता हो । १० दिन भोकाएको मान्छेको भूमिका गर्न १० दिनै भोकाउनुपर्छ भन्ने लाग्दैन । मलाई ‘मेथड एक्टिङ’मा विश्वास छैन, ग्रहणशीलता भए पुग्छ । मैले नेपालका हरेक समुदाय, जात, भरिया, गोठालो सबै भूमिका गरेको छु । त्यसका लागि मैले त्यो जीवन जिउनैपर्छ भन्ने छैन । मेरो चरित्रमा मान्छेहरू आफ्नो प्रतिविम्ब कसरी देख्थे भन्ने दुई घटना सुनाउँछु । पहिलो, एकपटक चितवन गएको थिएँ, फिल्मको सोमा । मेरो गाडी वरपर मान्छेको भीड थियो, निस्कन सकिरहेको थिइनँ । त्यहीँबेला एउटा नाम्लो बोकेको मान्छे भीड छिचोल्दै गाडी नजिक आएर मेरो हात समाउँदै भन्नुभयो, ‘तिमी पनि हामीजस्तै मान्छे रहेछौ ।’ किनभने, उहाँले मेरो भरिया फिल्म हेर्नुभएको रहेछ । दोस्रो घटना, सुटिङबाट फर्किंदा राती ठमेलका सडक बालबालिकालाई गाडीमा राखेर आइसक्रिम खुवाउँथेँ, सहर घुमाउँथेँ अनि त्यही ठाउँमा लगेर छाडिदिन्थेँ । एकचोटि एउटा फुच्चेले भन्यो, ‘तिमीहरूलाई थाहा छ, राजेश दाइले हामीलाई किन यस्तो माया गर्नुहुन्छ ?’ अर्कोले ‘थाहा छैन’ भन्यो । त्यही केटाले फेरि भन्यो, ‘उहाँ पनि खाते हो नि !’ यी दुई क्षण मेरा लागि सबैभन्दा ठूला अवार्ड हुन् । चरित्र जीवन्त नभएको भए यो कसरी सम्भव भयो ?

तपाईंको जस्तो ‘स्टार पावर’लाई कतिपय विदेशी कलाकारले बृहत्तर उद्देश्यका लागि प्रयोग गर्ने गरेको देखिन्छ । तपार्इंलाई पनि यस्तो गरौँ भन्ने लाग्दैन ?

सामाजिक सेवा भनेर एकदमै संगठित हिसाबले गरेको छैन । व्यक्तिगत तवरबाट केही गरिरहेकै छु । पन्छिएर बसेको छैन ।

फाउन्डेसन खोल्ने कुरा थियो नि ?

फाउन्डेसनबाट काम गर्नु विशुद्ध स्वार्थरहित होइन । त्यसका आफ्नै नियम–कानुन हुन्छन् । अरूका होइनन्, आफ्नै स्वार्थ जोडिन्छन् । फाउन्डेसन भनेको अन्तिममा अरूको पैसाको प्रयोग हो, आफू प्रशासक वा संयोजकजस्तो भइन्छ । कुनै सामाजिक क्षेत्रमा काम गरौँ भन्ने छ । तर, फाउन्डेसनप्रति आकर्षित छैन । अरूको पैसाबाट सञ्चालन गर्दा अति नै जिम्मेवार हुनुपर्छ, स्वतन्त्र भइन्न । सुनियोजित हिसाबबाट प्रचार गरेर सामाजिक सेवामा जोडिन्नँ ।

प्रचारकै कुरा गर्दा, हिजोआज प्रचारप्रतिको भोक कत्तिको हुन्छ ?

मेरो करिअरलाई नियाल्दा थाहा हुन्छ, राम्रो कामका लागि कहिल्यै मिडिया प्रयोग गरिनँ । नराम्रो कामका लागि त गर्नैपर्दैन, आइहाल्छ ।

मिडियाले नकारात्मकतालाई बढावा दिन्छन् भन्ने तपाईंको बुझाइ हो ?

त्यस्तो होइन । तर, मिडियालाई मैले प्रचारका लागि प्रयोग नगरेकाले न मेरा लागि सकारात्मक भयो, न नकारात्मक । व्यावसायिक सम्बन्ध मात्र रह्यो ।

कतिपय कलाकार राजनीतितिर आउने चाह राख्छन् । तपाईंलाई पनि त्यस्तो आकांक्षा छ कि ?

हरेक व्यक्ति परिपक्व भएपछि आफ्नो फिल्डमा मात्र सीमित हुन्न । समाजका हरेक क्षेत्रमा चासो राख्नुपर्छ भन्ने जिम्मेवारीबोध हुन्छ, जुन ममा छ । म राजनीतिमा असाध्यै चासो राख्छु । राजनीति गतिशील छैन भने सबैतिर बाधा देखापर्छ । त्यस्तै, हिजो मैले निर्वाह गरेका थिचोमिचोमा परेका चरित्रका वास्तविकताले पनि प्रभाव पार्छ ।

कहिलेकाहीँ राजनीतिक मैदानमा ओर्लिएर आफ्नो भूमिका देखाउँजस्तो लाग्दैन ?

राजनीति सिनेमाको पात्रजस्तो अतिरञ्जित हिसाबले हुन्न । मलाई लाग्छ, राजनीति त्यही व्यक्तिले गर्नुपर्छ, जसले आफ्नो जीवनको पहिलो खुड्किला राजनीतिमा राखेको हुन्छ । अहिले सामाजिक सञ्जालमा विभिन्न क्षेत्रमा नाम कमाएका आदर्श व्यक्तिलाई राखेर मन्त्रिमण्डल बनाइएको हुन्छ । त्यो निराशा र आक्रोशको अभिव्यक्ति हो ।

पछिल्ला दिनमा वामपन्थीहरूसँग नजिक हुनुभयो भन्छन् !

मेरो चाहना राजनीति राम्रोसँग चलोस्, स्थिरता कायम होस्, राम्रो व्यक्ति नेतृत्वमा पुगोस् भन्ने हो । मै जानुपर्छ भन्ने होइन । बाहिरबाट भन्दा अहिले भएकै मध्येबाट कसले राम्रो काम गर्न सक्छ, छान्नुपर्छ । यदि कुनै पक्षले राम्रो गरिरहेको छ, भू–राजनीति र आन्तरिक राजनीतिप्रति सकारात्मक सोच लिएको छ भने उत्प्रेरित गर्नुपर्छ । मलाई सोध्नुहुन्छ भने म कम्युनिस्ट होइन, विशुद्ध डेमोक्र्याटिक मान्छे हुँ । राम्रो/नराम्रो जे भए पनि प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो ।

चुनाव नतिजालगत्तै केपी ओलीसँग भेट्नुभएको थियो, के कुरा भयो ?

जुन जनमत पाउनुभएको छ, त्यसलाई राष्ट्रको हितमा लगाउनूस् भनेँ ।

उहाँले पार्टीमा काम गर्न आग्रह गर्नुभएन ?

त्यस्तो भएन ।

अरू पार्टीबाट ?

चुनावताका प्रस्ताव आएका थिए । कांग्रेसदेखि नयाँ शक्तिसम्मका विभिन्न पार्टीका प्रतिनिधिसँग भेटघाट र छलफल भए ।

फेरि फिल्ममै फर्किऔँ, तपाईंले फिल्म नखेलेको डेढ वर्ष भयो । प्राय: अभिनेताको फिल्म नखेल्ने/नपाउनेबित्तिकै व्यस्तता स्वाट्टै घट्छ तर तपार्इंलाई ब्रान्ड प्रमोसनदेखि स्टेज सोसम्म भ्याइनभ्याइ छ । यसले तपाईंको अभिनेताभन्दा व्यक्तित्व माथि रहेको देखाउँछ, होइन ?

व्यक्तित्व निर्माणमा मेरो पेसाको धेरै हदसम्म भूमिका छ । मेरो पढाइ र अन्य पक्ष सुनमा सुगन्ध भयो होला । तर, त्यो सबै देखाउने ‘प्लेटफर्म’ कलाकारिता नै हो । समयको आफ्नै गति र शैली हुन्छ । अहिलेको मेरो फेज स्वाभाविक प्रक्रिया हो । अन्य पेसामा भएको भए त ‘रिटायर्ड’ भइसक्थेँ होला । यो अकस्मात् आएको झट्का वा निराशा होइन । हरेकको जीवनमा क्रसरोड आउँछ, त्यस्तो बेला कता जाने, निर्णय गर्नुपर्छ । जिन्दगी नै त्यही हो । म त्यही क्रसरोडमा छु ।

सिनेमा निर्माण शैलीमा आएको परिवर्तनले तपाईंलाई पाखा पारेको हो कि ?

समय अनुसार मनोविज्ञान अलग–अलग हुन्छ । आजको सिनेमा फरक छ । हिजो किन यस्तै सिनेमा बनेनन् भन्नु मूर्खता हो । त्यसबेला हामीले त्यही समय र समाज अनुसारका फिल्म बनाएका हौँ ।

पात्रका रूपमा तपाईंले माया गर्ने, हँसाउने, रुवाउने, रिसाउने अनेक चरित्र निर्वाह गर्नुभयो । तर, त्यो व्यक्तित्वबाट रिस र आक्रोशको पक्षलाई अलि बढी रुचाइएको देखिन्छ । तपाईंमाथि बन्ने ट्रोलमा त्यस्तै देखिन्छ । यसबाट नेपाली समाजमा रिस र आक्रोश बढी रहेछ भनी बुझ्न मिल्छ ?

हो, विशेषगरी युवामा आक्रोश छ । चाहेको कुरा भन्न र गर्न नसकेको अवस्था छ । गुम्सिएको भावना थियो । प्रणाली र थिचोमिचोका विरुद्धमा थिए । मेरो पात्रले त्यसकै आवाज उठायो । त्यही आक्रोशको विम्बका रूपमा मलाई रुचाइयो । मैले जमिनदारको अगाडि गएर ‘हे…’ भन्दा पनि धेरै नै प्रभाव पाथ्र्यो युवामा । उनीहरूले त्यसमै शक्ति देख्थे ।

नेपाली डायस्पोरामा तपाईंका फिल्म चल्दै–चलेनन् भन्दा हुन्छ । तर, त्यहाँ हुने ‘स्टेज सो’मा तपाईंको बढी डिमान्ड हुन्छ । फिल्म नचल्ने, व्यक्ति हिट हुने । कस्तो विरोधाभास है ?

कलाकार दुई किसिमका हुन्छन् । एउटा, आँखाले ग्रहण गर्ने । अर्को, मनले महसुस गर्ने । आँखाले ग्रहण गरेकाहरू आँखाअगाडि भइन्जेल मात्र याद हुन्छ । तर, एकपटक दर्शकको मनमा बसेको कलाकार आँखाबाट टाढा भए पनि मनमा भइरहन्छ । त्यस अर्थमा म आफूलाई भाग्यमानी ठान्छु ।

नायक शक्तिशाली देखिन्छन् तर नायिका किन त्यति शक्तिशाली नदेखिएका ?

यसमा केही सत्यता छ तर शतप्रतिशत होइन । मैले सुरुआतबाटै खेलेका फिल्म भाउजु, देउकी, माइली, वसन्ती, छोरीबुहारी नारीप्रधान हुन् । त्यतिबेला ममा ‘हिरोइज्म’ हुँदा पनि महिलाप्रधान फिल्म खेलेँ ।

तर, ती फिल्ममा पनि सम्झिने त तपाईंको नायक भूमिकालाई नै हो ?

मलाई सम्झिए पनि कथावस्तु महिलाको निस्कियो नि ! म थिइनँ भने महिलालाई मात्र राखेर यसले आकर्षित गर्दैनथ्यो होला ।

संघर्षशील हुन नसक्ने, सम्झौता गर्ने महिला तर तिनका उद्धारकचाहिँ पुरुष पात्र ?

यसमा आंशिक सत्यता छ । चलचित्रले समाजलाई देखाउने हो । समाजमा पनि नारीको भूमिका उत्तिकै छ । हामीले कल्पनामा ‘सुपर वुमन’ बनाउने हो भने अलग्गै कुरा । पश्चिमा फिल्म उद्योगमा पनि धेरै ‘सुपरम्यान’ बनेपछि बल्ल एउटा ‘सुपरवुमन’ बनाइएको छ ।

अहिले तपार्इंलाई फिल्म खेल्न प्रस्ताव नआएको कि नखेलेको ?

यो १५ महिनामा कम्तीमा नौवटा फिल्म अस्वीकार गरेँ । यसको कारण छ, पछिल्ला दुई चलचित्र वाग्मती र शकुन्तलाबाट असाध्यै निराश भएँ । वाग्मती कथा र टिम अनुसार फिल्म बनेन, बिग्रियो । तर, फिल्म चलाउने पूरै जिम्मेवारी मेरो काँधमा राखियो । आफ्नो कमजोर प्रोडक्ट बेच्न मेरो प्रयोग गरियो । कलाकारका रूपमा मलाई बेफाइदा भयो । शकुन्तलामा पनि चुनौतीपूर्ण भूमिका थियो । सुरुमा राम्रैसँग बनाउने अठोट गरे उनीहरूले । तर, सुटिङको दोस्रो दिनमै मलाई थाहा भयो, फिल्म राम्रो बन्दैन । त्यतिबेला छाड्न मिलेन । हो, यसपछि मैले खेल्नकै लागि मात्र फिल्म नखेल्ने निधो गरेँ ।

यो त धेरै ढिला भएन र ?

हरेक कुराको समय हुन्छ । ढिला भएको छैन । पहिले करिब उही ‘फम्र्याट’मा फिल्म बन्थे । अहिले त निर्देशक अनुसार विषयवस्तु, प्रस्तुति अलग हुन्छ । अहिले कुनै टिम मन पर्दैन, कुनै पात्र । वाग्मती र शकुन्तलाबाहेक अन्य फिल्मसँग कत्ति पनि पश्चात्ताप छैन ।

‘महानायक’को मान राख्ने कुनै पाँच सिनेमा ?

मान्छेहरू सोच्छन्, मेरा फिल्म उस्तै–उस्तै छन् । तर, जुन परिधि र परिवेशमा फिल्म बनाइन्थ्यो, कलाकारका रूपमा मैले जस्तो विविधता सायदै कुनै कलाकारले दिन सक्छ । त्यसका लागि पहिले मेरा चलचित्रहरू हेर्नूस्, अध्ययन गर्नूस् अनि मूल्यांकन गर्नूस् । तपाईंलाई बताउँछु, पहिलो फिल्म युगदेखि युगसम्ममा लभरब्वाइ बनेँ । अधिकारमा प्रहरी अधिकृत, कसममा सहरको आवारा केटा, गोपीकृष्णमा दोहोरो भूमिका थियो । भाउजू र देउकीजस्ता नारीप्रधान फिल्म खेलेँ । विद्रोही र क्रान्तिकारी चलचित्रमा काम गरेँ । देउता, चट्याङजस्ता चलचित्र आए । एक्सन गर्दागर्दै संघर्षशील कविको भूमिकामा जीवन संघर्ष खेलेँ, त्यसमा फाइट नै थियो । ऐतिहासिक चलचित्र वसन्ती गरेँ । फिल्मवृत्तमा निराशा छाएका बेला हामी तीन भाइजस्तो हिट फिल्म खेलेँ । अझै कत्ति भन्नू ?

फेरि उही प्रश्न उठ्छ, जे भूमिका खेले पनि सारमा राजेश हमालको व्यक्तित्व नै हाबी हुन्थ्यो । चरित्रलाई स्टारडमले थिच्नु गर्व गर्नलायक उपलब्धि हो र ?

आजको चस्माबाट तपार्इंले जसरी सिनेमालाई हेर्नुहुन्छ, २० वर्षअगाडि अलग थियो । त्यसबेला नायकबाट कहीँ न कहीँ नायकत्व देखियोस् भन्ने अपेक्षा राखिन्थ्यो । भरिया, कान्छा, पाखे जेहोस्, ‘हिरोइज्म’ हुनुपथ्र्यो । मैले भरियाको भूमिका गरेर विशुद्ध भरियाजस्तो काम गरेको भए स्वयं भरियाले रुचाउँदैनथे । किनभने, विशुद्ध भरिया त उनीहरू आपैँm छन् । उनीहरू भरियाले मनको भावना, आवेगलाई व्यक्त गरिदियोस् भन्ने चाहन्थे । मालिकले शोषण गर्दा थर्कायो भने मात्र वास्तविक भरियाले रुचाउँछन्, आनन्द मान्छन् । चुप लागेर ‘हस् हजूर’ भन्यो भने उनीहरूकै निराशा झल्किन्छ । त्यहाँ आशा खोइ त ? ‘हिरोइज्म’ पछ्याइनु भनेको आशा छर्नु हो ।

तपाईं आपैँmचाहिँ फिल्मी यात्रामा कहिल्यै निराशामा फस्नुभयो ?

मेरै करिअरकै लागि निराश भइनँ । तर, फिल्म मेकिङको शैलीसँग असन्तुष्ट भएँ, सन् २००० तिर । ‘मनोटोनस’ भइरहेको थियो, परिवर्तन गर्ने समय आएको थियो तर त्यस्तो भएन ।

तपाईंले भनिरहनुभएको समयको सेरोफेरोमा दरबार हत्याकाण्ड भयो, सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो । फिल्मसँगै हरेक उद्योग डामाडोल भइरहेका थिए । त्यसको अप्रत्यक्ष पीडा थियो कि ?

फिल्मका लागि ०५६ देखि ०५८ लाई हामी सुनौलो समय भन्छौँ । त्यतिबेला हरेक फिल्मले नाफा कमाउँथे । तर, त्यसपछि माओवादी युद्ध चर्कियो । डर पैदा भयो । मान्छेले रात्रि सो हेर्न छाडे । घरबाहिर निस्कनै डर हुन्थ्यो । खुसी हुने मनोविज्ञान नै हरायो । कति भिडियो हलहरू गोदाममा परिणत भए । चलचित्र भवनहरू बन्द भए । धेरै कलाकार असुरक्षित भएर विदेश गए । अहिले आएकाहरू पनि त्यतिबेला दुई–चार वर्ष विदेश बसे । तर, त्यतिबेला पनि म आफूलाई भाग्यमानी ठान्थेँ । किनभने, मेरा चलचित्र र चरित्र थिचोमिचोविरुद्ध हुन्थे । जसले विद्रोहीलाई प्रत्यक्ष/अप्रत्यक्ष प्रेरणा दिइरहेको हुन्थ्यो । कतिपय माओवादी प्रभावित क्षेत्रमा जाँदा विद्रोही युवाहरू आफ्नो कथा सुनाउन इच्छुक हुन्थे । किनभने, म फिल्ममा समाज परिवर्तनका लागि लडेको हुन्थेँ । यता, सरकारी सुरक्षा निकायको चेकपोस्टमा सेनाहरू ‘दाइ, आफ्ना दाजुभाइबीच काटाकाट बन्द हुने सन्देश दिने फिल्म बनाउनूस् न’ भन्थे । यसले मलाई कलाकार र नागरिकका रूपमा भाग्यमानी महसुस गराउँथ्यो । त्यसैले पनि फिल्ममा निरन्तरता दिएँ । जबकि, मलाई विदेश जानबाट केहीले छेकेको त थिएन ।

विदेश जान मन लागेन ?

अहँ । आदर्श सुनिएला, म राष्ट्रवादी मान्छे हो । राष्ट्र र परिवेशसँग गाँसिन चाहन्छु । त्यस्तै पात्रका रूपमा परिचित भएँ ।

तपाईंको बौद्धिक व्यक्तित्वबाट जोकोही प्रभावित हुन्छन् । तर, त्यो बौद्धिकता फिल्म र चरित्रमा देखिएन भन्छन् नि ?

म कहिल्यै द्विविधामा रहिनँ, मेरा फिल्म र चरित्र आमनेपालीको रोजाइभन्दा बाहिरका छन् भनेर । मेरो इच्छा ठूलो समुदायमा पुग्ने, उनीहरूको प्रतिनिधित्व गर्ने थियो । त्यही गरेँ ।

स्टारडममा तपार्इंभन्दा माथि सायदै कोही थिए । तर, अभिनय कौशलमा अन्य समकालीन अभिनेतासँग आफूलाई कहिल्यै तुलना गर्नुभयो ?

मलाई आफ्नो अभिनय कौशलमा कहिल्यै द्विविधा रहेन । स्टारडम नभएका कलाकारको अभिनयमा मात्र ध्यान दिइन्छ तर स्टारडम हुनेसँग अभिनय मात्र नभई उसको लबज, शैली, चार्ममा पनि केन्द्रित भइन्छ । फरक यत्ति हो । पोख्त अभिनय क्षमता नभई स्टारडम बनाउन र निरन्तरता दिन असम्भव छ । स्टारडम नभएको व्यक्तिले अनेकथरी तिक्तता पोख्न सक्छ । भारतमै हेर्नूस्, आजसम्म पनि नसिरुद्दिन शाहले अमिताभ बच्चनका बारेमा तिक्तता पोख्छन् । तर, आमनेसामने राखिदिने हो भने आजका दिनसम्म अमिताभ नै अब्बल कलाकार हुन्, चाहे स्टारडमले नै किन नहोस् ।

कहिलेकाहीँ स्टारडम भारी लाग्दैन ?

स्टारडम नहुँदो हो त सुरुआतमै सफलता मिल्थेन । जब चलचित्रमा व्यस्त हुन थालेँ, दिग्गज भनिएका निर्देशकहरूले ‘नेपाली सिनेमा हिरोले गर्दा कसरी चल्छ ?’ भनेर छलफल गरे । मेरो स्टारडमलाई अस्वीकार र अविश्वास गरे । पछि के भयो, सबैलाई थाहा छ ।

भनेपछि विगतमा गरेका कुनै कामप्रति पश्चात्ताप छैन ?

छैन । कहिल्यै असुरक्षित महसुस गरिनँ । त्यतिबेला धेरैजसो नयाँ हिरोहरू मेरो फिल्मबाटै चम्किन्थे । मैले चाहेको भए उनीहरूसँग काम नगर्न सक्थेँ । अरूलाई होच्याउने, हेप्ने वा कम आँक्ने काम गरिनँ ।

रंगमञ्चमा आउनुभयो, फेरि नाटक गरौँ भन्ने लाग्दैन ?

नाटकबाट कलाकारलाई धेरै सन्तुष्टि मिल्छ । तर, समय असाध्यै खान्छ । मञ्चन भइरहेका बेला पूरै बाँधिनु पर्छ । व्यावसायिक रूपमा पनि त्यस्तो केही हुन्न । तपार्इंहरूलाई कोर्टमार्सल मात्र थाहा होला । तर, त्यसभन्दा अगाडि पनि मैले नाटकमा अभिनय गरेको छु । युगदेखि युगसम्ममा काम गर्नेबित्तिकै काठमाडौँमा ह्याम्स थिएटर गु्रपको रिचर्ड थर्ड भन्ने शेक्सपियरको नाटकमा मुख्य भूमिका निर्वाह गरेको थिएँ । याक एन्ड यती होटलमा मञ्चन भएको नाटकमा ‘बेस्ट कम्प्लिमेन्ट’ पाएको थिएँ । त्यो नाटकमा अरू नेपाली कलाकार थिएनन् । तर, समय अभावका कारण नाटकलाई निरन्तरता दिन मुस्किल पर्‍यो ।

कतिपय आलोचकहरू ‘राजेश हमाल एरा’ नेपाली फिल्मको प्रभावहीन काल हो भनी आरोप लगाउँछन् नि ?

चलचित्रले आ–आफ्नो कालखण्डको स्वाद, परिस्थिति र मनोविज्ञानलाई झल्काउँछन् । र, तपाईंलाई एउटा कुरा ठोकुवासाथ भन्छु, मेरो प्रवेशदेखि सन् २००० सम्मका फिल्मका विषयमा आज जे–जस्ता टीका–टिप्पणी भए, हेर्दै जानूस् कालान्तरमा त्यसलाई एउटा ऐतिहासिक पलका रूपमा चिनिनेछ । ‘क्लासिक फेज’का रूपमा जीवित हुन्छ । सामाजिक परिस्थिति, मनोविज्ञान, शैली, संस्कृति, परिदृश्य, लोकेसन आदि विभिन्न कोणबाट अध्ययन हुनेछ ।

अहिले जुन कथा, पात्र र शैलीका फिल्म निर्माण हुन्छन् । त्यसमा तपाईंको असन्तुष्टि हो ?

छैन, यो पनि एउटा रफ्तार हो । तर, २० वर्षपछि फर्केर हेर्दा यी पनि पुराना हुन्छन् । झन् आलोचित हुन सक्छन् ।

हिजो तपाईंले जस्तै आज फिल्मलाई बोक्ने खुबी भएका कोही प्रतिनिधि कलाकार देख्नुहुन्छ ?

भन्न सक्दिनँ किनभने यसमा कसैलाई नकार्न चाहन्नँ । सम्भावनाचाहिँ छ । सबैभन्दा सुखद पक्ष, ‘गुड, ब्याड अर अग्ली’ जस्तो भए पनि चलचित्र बनाइरहेका छौँ । जबसम्म रफ्तार हुन्छ, भावना हुन्छ, तबसम्म भविष्य हुन्छ ।

-नेपाल साप्ताहिकबाट

 

Loading...

Related News

श्रृङ्खला खतिवडा बनिन् मिस नेपाल, अरु के के बने ?

काठमाडौं २९ चैत । यो बर्षको ‘मिस नेपाल वल्र्ड श्रृङ्खला खतिवडा बन्न सफल भएकी छीन् । प्रतिस्पर्धामा सहभागी अन्य २४…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी