जाजरकोट : पटक–पटक महामारी

163 Hits

कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोटमा पटक–पटक महामारी फैलिएर दर्जनौँको मृत्यु हुने गरेको छ । पछिल्लो शृंखलाका रूपमा कुसे गाउँपालिकाको मजकोट, कोर्ताङ, गर्खाकोटलगायत गाउँमा केही महिना पहिले फैलिएको मौसमी एन्फ्ल्युएन्जाले १३ जनाको ज्यान गयो ।

०७२ चैतमा साबिकका नौ गाविसमा स्वाइनफ्लुको प्रकोपले २९ जनाको ज्यान गयो । त्यसअघि ०६६ सालमा फैलिएकोे झाडापखालाले दुई सय तीसजनाको मृत्यु भयो ।

जाजरकोटमा पटक–पटक फैलिने प्रकोपलाई नियन्त्रण गर्न तत्कालीन र दीर्घकालीन समाधानका लागि ठोस योजना जरुरी छ । उपरोक्त विषयमा ध्यानाकर्षण नभएको पनि होइन । सरकार दौडिरहेको छ तर दूरी पार भइरहेको छैन ।

विज्ञानको अर्थमा परिणाम नआउनु काम होइन । सरकारसँग न त दीर्घकालीन योजना छ, न आकस्मिक आइलाग्ने विपत् व्यवस्थापनको प्रभावकारी संयन्त्र नै । छ त खालि कर्मकाण्डीय संयन्त्र र औपचारिकतामुखी कार्यशैली ।

भौगोलिक बनावट
उच्च पहाडी क्षेत्रमा अवस्थित जाजरकोटको भूक्षेत्र विवधतायुक्त छ । हिउँ पर्ने उच्च पहाडदेखि पहाडी भूभाग र नदीकिनारका बेसी पनि छन् । जिल्ला पाश्र्वचित्र ०५९ अनुसार जिल्लामा सयभन्दा बढी स्थायी स्रोत भएका नदीनाला छन् ।

यसबाट जाजरकोटको भूक्षेत्र ज्यादै भिरालो रहेको स्पष्ट देखिन्छ । जिल्लाको आधा भाग हिउँले ढाकेको उच्च भूभाग र ज्यादै भिरालो छ । जिल्लामा वन, भिर, चट्टान, घाँसे मैदान तथा चरन क्षेत्र छ । यहाँको ५५ प्रतिशतभन्दा बढी भूभाग वनजंगलले ढाकेको छ । खेतीयोग्य भूभाग करिब १६ प्रतिशत छ ।

जिल्लामा अवस्थित विभिन्न डाँडाकाँडाको उचाइ, फैलावट, भिरालोपनका कारण हावापानीमा विविधता छ । जिल्लाको तलतिरको भागमा उष्ण तथा अर्धउष्ण किसिमको हावापानी पाइन्छ । मध्यभागमा समशीतोष्ण तथा माथिल्लो भागमा लेकाली किसिमको हावापानी पाइन्छ ।

स्वास्थ्य अवस्था
जिल्लास्थित अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी र आयुर्वेदिक औषधालयका स्वास्थ्यकर्मीको दरबन्दी र कार्यरत संख्या न्यून छ ।

भौगोलिक रूपमा विकट, आवतजावतमा असुविधा, कार्यमैत्री वातावरण अभाव, भौतिक उपकरण तथा अन्य सुविधाहरूको कमीका कारण स्वास्थ्यकर्मी जिल्ला र स्थानीय तहमा नबस्ने समस्याले जाजरकोटलाई पिरोलेको छ ।

यसका लागि सुविधाका प्याकेजसहित कम्तीमा पाँच वर्षका लागि दुर्गम क्षेत्रमा बसेर सेवा प्रदान गर्ने कर्मचारीलाई विशेष सहुलियत प्रदान गर्ने कार्यक्रम ल्याएर स्वास्थ्य सेवाजस्तो मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयमा विशेष जोड दिनु आवश्यक छ ।

जाजरकोटमा अहिले तीनजना मेडिकल डाक्टर, ३६ जना हेल्थ असिस्टेन्ट, तीन स्टाफ नर्स, ७१ अहेव, ७३ अनमी र चार ल्याब टेक्निसियन कार्यरत छन् । यो जनसंख्याको अनुपातमा निकै कम हो ।

भौगोलिक जटिलता र भौतिक स्रोत–साधनको कमीका कारण जिल्लामा स्वास्थ्य सेवा पहुँचको अवस्था कमजोर छ । स्थानीय स्वास्थ्य संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीको कमी, औषधि तथा उपकरणको अपर्याप्तताका कारण जनताहरूले अपेक्षाकृत स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अवस्था देखिँदैन ।

शिक्षाको अवस्था
जाजरकोट जिल्लामा पाँच वर्षभन्दा माथिको जनसंख्या एक लाख ५३ हजार सात सय १५ छ । तीमध्ये ५७ दशमलव तीन प्रतिशत साक्षर छन् । तर, पुरुष र महिलाको साक्षरता दरको अन्तर उल्लेख्य छ । महिला साक्षरता दर ५३ प्रतिशत र पुरुष साक्षरता दर ६९ प्रतिशत छ ।

जिल्लाभरि उच्च मावि १७ र स्नातक तहको पढाइ हुने क्याम्पस तीनवटा सञ्चालित छन् । मावि ६२, निमावि ७६ र प्रावि २७५ छन् । विद्यालयमा विद्यार्थी चाप उति धेरै छैन । एक विद्यालयमा सरदर एक सय ३१ जना मात्र छन् । प्रत्येक ३८१ जना जनसंख्यामा एक विद्यालय छ ।

यसमध्ये प्रत्येक ६५१ जनामा एक प्राथमिक विद्यालय, १५ सय ६३ जनामा एक निम्न माध्यमिक विद्यालय, २७ सय ४८ जनामा एक माध्यमिक विद्यालय र १२ हजार २ सय ६० मा एक उच्च माध्यमिक विद्यालय रहेको देखिन्छ ।

विद्यार्थी र शिक्षक अनुपातको हिसाब गर्दा १ शिक्षकबराबर ४५ विद्यार्थी पर्न आउँछ । शिक्षक विद्यार्थी अनुपात अन्य जिल्लाको तुलनामा कम देखिए पनि भौगोलिक विकटताका कारण विद्यालय संख्या बढाउनुपर्ने र त्यसअनुसार शिक्षकको व्यवस्था गर्नुपर्ने विशेष अवस्था जिल्लाको छ ।

अशिक्षा र अभावका कारण जाजरकोटका विकट गाउँमा घरगोठ सँगै छन् । पशुवस्तु र मानिस एकै ठाउँमा बस्ने भएको हुँदा व्यापक फोहोर र झिंगा भन्किने अवस्था छ । त्यस्तै दूषित पानी पिउनु अशिक्षा नभई उनीहरूको बाध्यता हुनु सरुवा रोगको कारण बन्यो ।

महामारीका कारण
उपरोक्त तथ्यांकले समेत जाजरकोटको अभाव, गरिबी, स्वास्थ्यको अवस्था र शैक्षिकस्तरलाई प्रस्ट पार्छ । यद्यपि, उपरोक्त तथ्यांक विगत १० वर्षको तुलनामा सकारात्मक परिवर्तन हुँदै आएका हुन् । तर, किन १९९० सालको महामारीप्रति गएको ९ वर्षयता पटक–पटक महामारीजन्य प्रकोप दोहोरिरहन्छन् ? यसका कारण खोज्नुपर्ने जरुरी छ ।

जाजरकोटको औसत शैक्षिकदर ५७.३ प्रतिशत देखाइए पनि कतिपय स्थानमा शैक्षिकदर ३२ प्रतिशतसम्म छ । यसैमध्येका शिक्षित युवाको ठूलो हिस्सा रोजगारीका लागि विभिन्न सहर तथा मुलुकबाहिर छन् । गाउँ करिब युवाविहीन छन् ।

वृद्धवृद्धा, अशक्त, महिला र बालबालिका मात्र गाउँमा छन् । अशिक्षा र अभावका कारण जाजरकोटका विकट गाउँमा घरगोठ सँगै छन् । पशुवस्तु र मानिस एकै ठाउँमा बस्ने भएको हुँदा व्यापक फोहोर र झिंगा भन्किने अवस्था छ । त्यस्तै दूषित पानी पिउनु अशिक्षा नभई उनीहरूको बाध्यता हुनु सरुवा रोगको कारण बन्यो ।

सबै घर र गोठमा धुवाँसहितको चुलो र दाउराको प्रयोग, कक्कड, चुरोट र खैनीजस्ता धुम्रपानको नियमित सेवन, घरेलु तथा कतिपय कम्पनीहरूको स्तरहीन मदिराको प्रयोगले मानिसहरूको स्वास्थ्य कमजोर पार्दै जानु र रोगसँग लड्ने क्षमता कमजोर हँुदै जानु अर्को कारण हो ।

जाजरकोटीको जीविकोपार्जनको मुख्य आधार कृषि मानिए पनि कृषिको उत्पादन घट्दो छ । उत्पादक शक्ति काम गर्न सक्ने उमेर समूहका मानिस रोजगारीका लागि सहर जाने, भारतमा ज्याला मजदुरी गर्न जाने वा वैदैशिक रोजगारीका लागि अन्य मुलुक गइसकेको र गाउँमा रहेको जनशक्तिले हिजोको जस्तो खेती गर्न सकेन ।

उत्पादन कम भयो, ठूलो मात्रामा उत्पादन हुने मकै घोडा खच्चडको दानाका लागि बिक्री गर्ने र कोदो घरेलु मदिरा उत्पादनमा प्रयोग हुने भएकाले मानिसले बाहिरबाट आउने गुणस्तरहीन चामल र तरकारीका रूपमा सोयाबिन र चाउचाउ खान थाले ।

बिस्तारै गाउँमा पाउने तरकारी, सागपात पनि खान छाड्दै गएका छन् र पशुपालन व्यवसाय पनि बिस्तारै छाड्दै गएकाले दूधदही, घ्यू पनि खाना छाडेका कारण कुपोषण हुनु, स्वास्थ्य कमजोर हुनु र रोगप्रतिरोधात्मक क्षमता कमजोर हुनु संक्रमण फैलिनुको अर्को मुख्य कारण हो ।

गरिबी र अभावका कारण फलफूल तथा पौष्टिक आहार नपाउनु, अचेतनाका कारण स्वास्थ्यमा ध्यान नदिनु अर्को महत्वपूर्ण कारण हो ।

गाउँ–गाउँमा पर्याप्त स्वास्थ्य चौकी नहुनु, जहाँ सवास्थ्य चौकी छन्, त्यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्र्मी नहुनु र चाहिने औषधि नपाउनु, कमजोर आर्थिक हैसियतका कारण सुविधा सम्पन्न ठाउँमा उपचार गर्न आउन नसक्नु माहामारी फैलिनुको अर्को महत्वपूर्ण कारण हो ।

उपरोक्त कारणले स्वास्थ्य कमजोर भएका जाजरकोटका बस्तीमा महामारीको रूप लिने खतरा अझै विद्यमान छ । केही समयपहिले देखिएको स्वाइनफ्लुको प्रकोप नियन्त्रणका लागि सरकारका तर्फबाट चाल्नुपर्ने कदम प्रभावकारी भइरहेका छैनन् ।

आफ्नो रणनीति नबनाउने, जहाँ–जहाँ सञ्चारमाध्यमले औँल्याउँछ, उतै कुद्ने र प्रदर्शनको शैलीमा हल्लाखल्ला गर्ने कार्यले सहानुभूति त पाइएला तर स्थायी समाधान हुनेछैन ।

समाधानका उपाय
जिल्लामा समय–समयमा देखापर्ने प्रकोपको अवस्थालाई मध्यनजर गर्दै यसको दीर्घकालीन समाधानका लागि पौष्टिक आहार, स्वास्थ्य, शिक्षा, खानेपानी र जनचेतनासहित ‘विशेष स्वास्थ्य कार्यक्रम जाजरकोट’ घोषणा गरी लागू गर्नुपर्छ ।

जिल्लाको भौगोलिक विकटता, बढ्दो जनसंख्या र बिरामीको चापलाई समेत दृष्टिगत गर्दै हाल ५० शøयाको अस्पताललाई नाम मात्रको भन्दा पनि साँच्चै सेवामूलक र साधनस्रोतसम्पन्न बनाउन जरुरी छ ।

ताकि ल्याब टेस्टको नमुना लिन काठमाडांैबाट हेलिकोप्टर लिएर पुग्ने अवस्था फेरि नआओस् । जिल्लाका सातवटै स्थानीय तहको केन्द्रमा पर्ने गरी एक–एकवटा १५ शइयाको साधनस्रोतसम्पन्न अस्पताल निर्माण गरी पर्याप्त प्राविधिक जनशक्ति (डाक्टर, नर्स, ल्याब टेक्निसियनसहित) सञ्चालन गरिनुपर्छ ।

नत्र, फेरि पनि जाजरकोटवासीले आधारभूत स्वास्थ्य सेवाको अभावमा अकाल मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य हुने देखिँदैन । -नयाँ पत्रिकाबाट

Related News

विधयेक माथेमा कार्यदलमै आधारित छ, पहिले डा. केसीको उपचार चाहन्छु : मन्त्री पोखरेल

काठमाडौं, ३ साउन । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संसदमा पेश भएको विधयेक माथेमा कार्यदलकै मर्म र भावना समेटेर आएको दावी गरेका…

विदेश पढेका डाक्टरहरु नेपालमा फेल, कस्ता जान्छन विदेशमा डाक्टर पढ्न ?

काठमाडौं, ३२ असार एमबिबिएस पढेर डाक्टर भएकाहरूलाई बिरामी जाँच्ने लाइसेन्स दिन नेपाल मेडिकल काउन्सिलले परीक्षा लिन्छ । गत वर्ष १६…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी