अब्बासीको नेपाल भ्रमणको सार्थकता

184 Hits

नेपालको वैदेशिक सम्बन्धमा कमै महत्व राख्ने पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासी दुईदिने नेपाल भ्रमण सकेर हिजो स्वदेश फिर्ता भए । प्रधानमन्त्री ओलीलाई बधाई दिने एक मात्र औपचारिक कार्यसूची देखाएर नेपाल आएका अब्बासीको भ्रमणलाई यस क्षेत्रमा नेपालको बढ्दो रणनीतिक महत्वको संकेतका रूपमा धेरैले अथ्र्याएका छन् ।

नेपालका प्रधानमन्त्रीको भारत भ्रमणलाई खासै महत्व र स्पेस नदिने भारतीय मिडियाले अब्बासी भ्रमणलाई भने निकै महत्वसाथ हेरेको देखिनुले पनि यस भ्रमणको महत्व द्विपक्षीय मात्र नभएर बहुपक्षीय रहेको अर्थ लाग्छ । अब्बासीको नेपाल भ्रमणले एकातिर वर्तमान वाम गठबन्धनले सरकार बनाउने भएपछि छरछिमेकमा यसका तरंग सिर्जना भएका छन् भन्ने देखाउँछ, अर्कातिर सरकारले आफ्नो विदेश नीति र त्यसको कार्यान्वयनमा सतर्कतासाथ सक्रियता देखाउनुपर्नेतिर पनि संकेत गर्छ । वास्तवमा यसप्रकारको क्षेत्रीय कूटनीतिक सक्रियताको आभास सरकार गठन हुनुपहिले नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले गरेको भ्रमणले नै गराइसकेको थियो । अब्बासीको भ्रमणले त्यसको थप पुष्टि गरेको मात्र हो।

अब्बासीको भ्रमण वर्तमान सरकार गठनपछिको पहिलो उच्चस्तरको विदेशी भ्रमण हो । पाकिस्तान र नेपालबीच उच्चस्तरीय भ्रमणहरूको आदानप्रदान निकै कम हुने गरेको छ । १७ वर्षअघि एयर इन्डियाको एउटा विमान काठमाडाैंबाट अपहरण भएपछि पाकिस्तानी विमानले भारतीय आकाश हुँदै नोपलसम्म उडान भर्न पाएका छैनन् । नेपालको पाकिस्तानसँगको व्यापारिक सम्बन्ध पनि निकै कमजोर छ । उता भारतीय तथा पाकिस्तानी गुप्तचर संस्थाहरू काठमाडांैलाई थलो बनाएर एकअर्का देशका नागरिकको हत्या, अपहरणलगायत काममा सक्रिय हुने गरेका छन् । यसले नेपालको आन्तरिक सुरक्षामा समेत समस्या उत्पन्न गर्ने गरेको छ । पाकिस्तान सार्क क्षेत्रमा सैन्य र आर्थिक शक्तिका दृष्टिले दोस्रो ठूलो देश भए पनि यस क्षेत्रका अरू देशसँगको उसको सम्बन्ध त्यति गाढा छैन । त्यसमाथि भारत लामो समयदेखि उसलाई यस क्षेत्रबाट अलग राख्ने दिशामा सम्पूर्ण शक्तिसहित सक्रिय रहेको छ । यस क्षेत्रमा नेपाल नै पाकिस्तानको सबैभन्दा भरपर्दो मित्र हो । यसैले पाकिस्तानका प्रधानमन्त्रीले क्षेत्रीयस्तरमा आफ्ना सम्बन्धलाई अलि विस्तार गर्न काठमाडौंलाई गन्तव्य बनाएका हुन सक्छन् ।

नेपाल यतिवेला सार्कको अध्यक्ष छ । भारत–पाक सीमामा तनाव उत्पन्न भएको बहाना बनाएर भारतले पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन स्थगित गराइराखेको छ । पाकिस्तानलाई एक्ल्याउने रणनीतिअन्तर्गत त्यस्तो प्रतिक्रियात्मक रूपमा भारत अघि सरेको भए पनि यसले भारतलाई समेत क्षेत्रीय प्रभाव विस्तारमा अवरोध गरिरहेको छ । पाकिस्तानका लागि सार्क शिखर सम्मेलन आफ्नो देशमा नै गर्नु प्रतिष्ठाको विषय पनि हो । सम्भवतः आफ्नो क्षेत्रीय वर्चस्वमा चीनबाट भइरहेको अतिक्रमणको प्रयासबाट तर्सिएको भारत पनि अब सार्क शिखर सम्मेलन रोकिरहने अवस्थामा छैन । यसैले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको काठमाडौं भ्रमण सार्क शिखर सम्मेलन पाकिस्तानमा छिटै आयोजना गर्न काठमाडौंले कूटनीतिक भूमिका खेलोस् भन्ने इच्छा व्यक्त गर्न पनि भएको हुनुपर्छ । भारतले अलि मनोमानीपूर्ण ढंगले यस क्षेत्रमा जे–जस्तो प्रभाव पार्न खोजेको छ, त्योभन्दा सार्थक संवाद नै उपयुक्त बाटो हो । सार्क शिखर सम्मेलन सहज रूपमा हुन दिने प्रयास गरेर मात्रै भारतले यस क्षेत्रमा आफ्नो पक्षमा सद्भाव सिर्जना गर्न सक्छ । अब्बासीको भ्रमणपछि सो प्रयासमा पाकिस्तान र नेपालले मिलेर काम गर्ने आशा गर्न सकिन्छ । सम्भवतः अब्बासी भ्रमणको सार्थकता पनि त्यसैमा छ ।-नयाँ पत्रिकाबाट

Loading...

Related News

संविधान : अाधा भरि, अाधा खाली – डा. भट्टराई

संविधान बनेकाे ३ वर्ष पुग्दैछ । त्यही संविधान निर्माणकाे मुख्य अभिभारा निर्वाह गरेका पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान लाई…

पत्रकार राजु वस्नेत विरुद्ध उजुरी दिने शुशीलको यस्तो बकपत्र

-सुशील खनाल- पत्रकारिताका नाममा केहीले गरिरहेको बार्गेनिङ, ब्लाकमेलिङले सिंगो पत्रकारिता नै आज नकारात्मक बनेको छ । लोकतन्त्रमा पत्रकार र पत्रकारिता…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी